खेलकुद

मधेसको सान दंगल

- भूषण यादव/मनोज पौडेल

फाल्गुन ७, २०७३-अरूको सोख के सोख ! वीरगन्जका ७२ वर्षीय रामक्षत्री यादवको सोख जो छ– गाउँ नजिकै कुस्ती खेल हुने भयो कि उत्साहसाथ पुगिहाल्ने । यो उमेरमा पनि दंगलप्रति उनको चाख त्यसै पलाएको होइन । यसको जरो उनको जवानीसम्म पसेको छ । पर्साको नगरदाहा गाविसका यिनी आफ्ना जमानाका राम्रा ‘खलिफा’ पहलमान मानिन्थे । ‘शरीरले साथ दिएसम्म कुस्तीको साथ छाड्दिनँ,’ उनी भन्छन्, ‘कुस्ती हुँदै छ भन्ने थाहा पाउनासाथ नगई मनले मान्दैन ।’

हरेक वर्ष छठ पर्वको अन्तिम दिन पूजापाठ सकेर यादव साइकल चलाएर गाउँभन्दा करिब १५ किलोमिटर दक्षिणमा पर्ने धोरेमा दंगल हेर्न पुग्छन् । त्यस दिन यस क्षेत्रका कुस्तीका पारखीहरूको ठूलो ‘जमावडा’ हुने गर्छ धोरेमा । स्थानीय आयोजकले चन्दा संकलन गरेर भव्य रूपमा दंगल गर्दै आएका छन् । नेपाल र भारतका पहलमानहरू कुस्ती खेल्न सहभागी हुन्छन् । सबैलाई नगद पुरस्कारको व्यवस्था हुन्छ । उद्घोषकले माइकमा नाम फलाक्नेबित्तिकै अखडामा प्रवेश गर्ने क्रममा पहलमानले तिघ्रालाई धाप मार्दै प्रतिस्पर्धीलाई स्वागत गर्छन् । उनीहरूको अभिप्राय: चोट पुर्‍याउने हुँदैन । उनीहरूको उद्देश्य केवल आफ्नो शक्ति प्रदर्शन र दर्शकलाई आनन्दित पार्ने हुन्छ । उनीहरूमा विरोधको भावना हुँदैन । पहलमानको शक्तिसँगै साहस, आँट र सीपको प्रदर्शनले दर्शक रोमाञ्चित हुन्छन् । 

तराई–मधेसमा दंगल शैलीमा कुस्ती खेलिन्छ । विशेषगरी पर्सा, बारा, रौतहट, सिरहा, सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, नवलपरासी, रूपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, दाङलगायतका जिल्लामा यो खेल खेल्ने परम्परा छ । ठूलो चौर वा खेतको बीचमा बनाइएका ‘अखडा’ मा खलिफाहरू शरीरमा कछाड मात्र लगाएर कुस्ती खेल्छन् । मनपर्ने खलिफाले प्रतिस्पर्धीलाई अखडामा पछार्दा दर्शक हौसिन्छन् । जित्ने खलिफालाई नगद इनामसमेत दिइन्छ । चाडपर्व र कुनै धार्मिक स्थलमा मेला लागेका बेला हुन्छन् यस्ता आयोजना । पहिले मनोकामना पूरा भए पूजासँगै दंगल गराउने भाकल नै गर्थे तराईवासी । साउनको नागपञ्चमीदेखि पुसको मध्यसम्म कुस्ती खेल हुने गर्छ । 

गाउँमा हुने यस्ता खेलबाट उत्पादन हुन्छन् यस क्षेत्रका खेलाडी र प्रशिक्षकहरू । राष्ट्रिय खेलकुद परिषद्बाट ०५२ मा प्रशिक्षक नियुक्त ५० वर्षीय धर्मराज यादव कक्षा ९ पढ्दाखेरि पहिलो पटक साग (पहिले साफ गेम्स) मा सहभागी हुन श्रीलंका पुगेका थिए । पहिलो प्रतिस्पर्धामै कांस्य जितेका उनी त्यसपछि कुस्तीमै रमाए । कुस्ती खेल्ने युवा स्वस्थ हुन्थे र कुलतबाट बच्थे । शरीर बलियो बनाउनैपथ्र्यो त्यसका लागि स्वस्थकर खाना अनिवार्य छ । सुन्दर शरीर, नाम र सानका लागि कुस्ती खेलिन्थ्यो । ‘सानैदेखि घरमा कुस्तीको माहौल थियो,’ बाल्यकाल सम्भिंmदै उनी भन्छन्, ‘बुबा र हजुरबुबाले पनि कुस्ती खेल्नु हुन्थ्यो ।’ उनले पनि आफ्नो कान्छो छोरा उदयराजलाई कुस्तीको प्रशिक्षण दिइरहेका छन् । 

दंगलबाट राम्रा खेलाडी छनोट गरी फ्रि–स्टाइल (ओलम्पिक स्पर्धा) को प्रशिक्षण दिने गरिएको छ । १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी सबै (आठ) नेपाली पुरुष खेलाडी तराई मूलका थिए । गाउँघरमा खेलिने कुस्तीबाटै पहलमान छनोट गरी देश–विदेशमा हुने प्रतियोगितामा सहभागी गराइने प्रशिक्षक यादवले प्रस्ट्याए । उनका अनुसार प्रतियोगितामा खेलिने फ्रि–स्टाइल कुस्ती र अखडाको कुस्तीमा सामान्य फरक हुन्छ ।  अखडाको कुस्तीमा पहलमानले कछाड मात्र लगाउँछन् । फ्रि–स्टाइलमा रेसलिङ जुत्ता र ड्रेस लगाएर म्याटमा खेल्छन् ।

अखडाको दंगलमा प्वाइन्टलाई जित/हारको आधार मानिंदैन । जसले बढी पछार्छ उसले जित्छ । कुस्तीका पुराना पारखीका अनुसार पारम्परिक कुस्तीमा एक पहलमानले अर्कोको शक्ति ठीकसँग नाप्न सक्छन् । आधुनिक फ्रि–स्टाइल कुस्तीमा त्यो सम्भव हुन्न । फ्रि–स्टाइल कुस्तीको २–३ मिनेटको राउन्ड सकिएको सिठी बज्नेबित्तिकै खेल रोकिन्छ । जबकि अखडाको कुस्ती एक घण्टासम्म पनि चल्न सक्छ, जबसम्म हार–जित हुँदैन । पहलमान भिडिरहेका हुन्छन्, यस्तो रोमाञ्चक प्रतिस्पर्धा फ्रि–स्टाइलमा हुन्न । 

कुस्ती प्रशिक्षणका लागि आउने नवयुवकलाई पहलमान बनाउन कम्तीमा ३ वर्ष कडा मिहनेत लाग्ने गरेको यादव बताउँछन् । ‘कडा अभ्यासले मात्र हुँदैन,’ उनले भने, ‘पहलमान बन्न खान्की पनि त्यहीअनुसारको चाहिन्छ । बिहान/साँझ २/२ लिटर भैँसीको दूध, सय ग्राम बदाम र मिश्री, ५० ग्राम काजु/किसमिस, २ सय ग्राम मासु र शरीर मालिस गर्न २ सय ग्राम करुवा तेल आवश्यक पर्छ ।’ 

  पहिले राजा–महाराजाले पहलमानको संरक्षण गर्थे । खेलाडीको जसरी नै पालनपोषण गर्थे । आवश्यक खुराक उपलब्ध गराउँथे । जवाफमा चाहेको समयमा पहलमानले राजाका लागि काम गर्थे । राजा–महाराजापछि पहिलेका जमिनदार र केही मुखियाले पनि पहलमानको संरक्षण गर्थे । रामक्षत्री यादवका अनुसार पहिले सडकमा ख्याति कमाएका कुनै पहलमान हिंड्दा मानिस गर्व र सहानुभूतिले हेर्थे । पहलमान ठूलै सेलिब्रिटी हुन्थे । सबै चिनजान गर्न खोज्थे । उसको शारीरिक बनोट देखेर खुसीले झुमिन्थे । पहलमानको जस्तै शरीर बनाउने चाहना राख्थे । ‘अहिले भने नाम चलेका पहलमानलाई पनि गुजारा चलाउन धौ/धौ छ,’ उनले भने, ‘सानोतिनो काम गर्न बाध्य छन्, दया नै लाग्छ ।’ 

१२ औँ सागमा कांस्य जितेका पर्साका सरोज यादवको गुनासो पनि उस्तै छ, ‘आफ्नै खर्चमा मिहिनेत गरेर देशका लागि पदक जितेर ल्याउँदा पनि प्रोत्साहन पाइएको छैन । सीमावर्ती भारतका पहलमानले पदक जित्दा जागिर पाइहाल्छन् । हाम्रोमा चाहिँ जितेर घर फर्किएपछि अर्को प्रतियोगिता नआउन्जेलसम्म वास्तै हुन्न ।’ २०४४ सालमै कुस्ती संघ स्थापना भए पनि यसले खेलको संस्थागत विकासमा प्रभावकारी काम गरेको छैन । आफ्नै पहलमा गत कात्तिकमा १० जना खेलाडीलाई भारतको उत्तरप्रदेशको नन्दनीनगरमा ६ महिना प्रशिक्षणका लागि पठाएको उनले बताए ।

 

यस्ता गुनासोका बावजुत स्थानीयस्तरमा कुस्तीलाई पुनर्जीवन दिने प्रयास पनि भइरहेका छन् । सरस्वती पूजाका अवसरमा ८ दशकदेखि सप्तरीको तिलाठीमा लाग्ने पाँचदिने मेलाअन्तर्गत पाँच वर्षयता कुस्ती प्रतियोगितासमेत सुरु गरिएको छ । पारिश्रमिक लिएर नेपाल तथा भारतका महिला र पुरुष गरी ८० पहलमानले चार दिनसम्म तिलाठीमा आफ्नो पहलमानी कौशल देखाए । 

 यस्तै, पुस पहिलो साता रूपन्देहीको छोटकीरामनगर–६ स्थित मझौलीमा सम्पन्न अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिताको उपाधि भारत हरियाणाका पहलमान अमितकुमार यादवले जिते । उपाधिसँगै उनले १ सय ५० सीसीको मोटरसाइकल पनि पाए । प्रतियोगितामा नेपाल र भारतका १ सय ७० कुस्तीबाज भिडेका थिए । 

मंसिर २४–२६ सम्म कपिलवस्तुको जितपुरमा आयोजित खुला दंगल प्रतियोगिताका नायक बने नवलपरासीका वसन्त थापा । नेपाल र भारतका नाम चलेका पहलमानलाई हराएर उनले उपाधि जिते । ३० बढी पहलमान मैदानमा भिडेका थिए । उपाधिसँगै उनलाई दर्शकले हौसिएर नगद इनाम दिए । एक–एक जनाले दिएको सय, पचास र पाँच सय रुपैयाँ गरी एकछिनमै २० हजार बढी उठ्यो । शरीरलाई हतियार मानेर खेलिने कुस्तीमा महिला पनि उल्लेख्य सहभागी थिए । २० प्रतिस्पर्धीमध्ये भारत, हरियाणाकी पुनम सिंह प्रथम भइन् ।

गतवर्ष माघ १६–१८ सम्म नवलपरासीमा सम्पन्न अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली खेलाडी केशवदास नागाबाबाले सबैभन्दा धेरै १ लाख २५ हजार रुपैयाँको विशेष पुरस्कार जिते ।

कुस्ती हेर्न भारतबाट समेत गरी १५ हजार बढी दर्शक ओइरिए । प्रतियोगिता आयोजना गर्न १० लाख रुपैयाँ खर्च भयो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताका संयोजक रामभवन यादवले बताए ।

नवलपरासी, कपिलवस्तु र रूपन्देहीमा चाडपर्वका बेला कुस्ती प्रतियोगिता हुँदै आएको छ । त्यसबाहेक औद्योगिक, व्यापारिक, सांस्कृतिक र कृषि मेला महोत्सवको ब्रान्ड बन्दै गएको छ । 

भर्खरै सम्पन्न बुटवल, भैरहवा र कपिलवस्तुका महोत्सवमा पनि कुस्ती प्रतियोगितालाई विशेष महत्त्व दिइएको थियो । त्यहाँ धेरैले आफ्नो कला देखाए । आठांै कपिलवस्तु महोत्सव संयोजक यज्ञप्रसाद भट्टराईले दर्शकको मागलाई ध्यानमा राख्दै क्षेत्रीय कुस्ती छनोट र खुला दंगल प्रतियोगिता मेलामा समावेश गरिएको बताए । ‘पौराणिक र मौलिक खेल हो कुस्ती,’ नवलपरासीका चर्चित कुस्तीवाज वसन्त थापाले भने, ‘तर यो खेलमा जीवन बिताउनेलाई राज्यले बेवास्ता गरेको छ ।’ 

तराईमा कुस्ती ‘ब्रान्ड’ बन्दै गएको छ बेलाबेला कपिलवस्तुमा बर्सेनि कुस्ती आयोजना गर्दै आएका अवध संस्कृतिका जानकार रामदयाल ठाकुर भन्छन्, ‘जिल्लामा कुस्ती हँुदा उत्सवकै रूपमा लिने गरिएको छ ।’ 

स्थानीयस्तरमै सही, तराईमा दंगलका जति पनि प्रतियोगिता भइरहेका छन्, त्यसले यहाँको परम्परामात्र धानिएको छैन, स्थानीयले खेलको ‘अर्गानिक’ आनन्द पनि लिइरहेका छन् ।

प्रकाशित: फाल्गुन ७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार