समाचार

हात्ती भगाउने यो हो काइदा...

  • बर्दिया निकुञ्जमा नेपालमै पहिलोपटक स्वचालित साइरन र एसएमएस सुविधासहितको पूर्वसूचना प्रणाली जडान
- कमल पन्थी, गुलरिया (बर्दिया)

फाल्गुन ६, २०७३-स्थानीयका मोबाइलमा एकसाथ एसएमएस बर्सियो । छिनमै साइरन बज्यो । गाउँलेहरू जर्‍याकजुरुक उठेर आगो बाले । अनि टिन ठटाउन थाले । यति बेलासम्म डल्लास्थित निकुञ्ज सुरक्षाका लागि तैनाथ नेपाली सेना र कर्मचारी पनि तम्तयार भइसकेका थिए । र, यो तयारी थियो, गाउँ पस्ने जंगली हात्तीको बथानबाट जनधन सुरक्षा गर्ने । 

गत बिहीबार साँझ ८ बजे सूर्यटुवास्थित पत्थरबोझी गाउँतिर लम्कँदै थिए जंगली हात्ती । ३५–४० मिनेट परैबाट यो संकेत पाएपछि सबैले सावधानी अपनाइहाले । सेनाले हवाई फायर गर्दै हात्तीलाई फेरि जंगलतिरै फर्काइदियो । 

स्वचालित साइरन र एसएमएस सेवा सुरु भएपछि वर्षौंदेखि हात्तीले सताइएका स्थानीयले ठूलो राहत महसुस गरेका छन् । अहिले हात्ती आउनासाथ समुदायका अगुवाले अग्रिम सूचना पाउने गरेका छन् । साइरन बज्नासाथ निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली जंगल पुगेर हात्ती लखेट्ने गरेको स्थानीय शालिकराम योगीले बताए । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको सूर्यपटुवास्थित पत्थरबोझीनजिक जंगलमा करिब एक महिनाअघि साइरन र एसएमएस सेवा सञ्चालन गरिएको हो । अन्तर्राष्ट्रिय जैविक मार्गमा रहेको पत्थरबोझीमा स्वचालित यन्त्र जडिएपछि हात्तीका गतिविधि निगरानी गर्न पनि सहज भएको छ ।  

एक वर्षको अवधिमा हात्तीले तीन जनाको ज्यान लिनुका साथै सम्पत्ति नाश गरिदिएको पत्थरबोझी जंगलनजिकैको मचानमा स्वचालित सेन्स यन्त्र जडान गरिएपछि अप्रिय घटना भएको छैन । चारैतिर जंगलले घेरिएको उक्त क्षेत्रमा जंगली जनावरको जोखिम उच्च छ । यन्त्र जडानपछि पत्थरबोझी र डल्ला गाउँआसपास जंगली हात्तीको गतिविधि न्यूनीकरण हुदै गएको स्थानीयले बताए । डल्ला होमस्टेका अध्यक्ष परशु चौधरीले साइरन र एसएमएस सेवाले जंगली हात्तीबाट हुने क्षती घटेको बताए । 

त्यसअघि भने हात्तीले दर्जनौं घरका साथै सय बिघाभन्दा बढी जग्गामा लगाइएको अन्नबाली नष्ट गरेको निकुन्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए । ‘मचानमा स्वचालित सेन्स यन्त्र जडान गरिएको छ,’ उनले भने, ‘हात्ती आउनासाथ यन्त्रले अग्रिम सूचना दिन्छ,  साइरन बज्नुका साथै मोबाइलमा सूचना पठाउँछ ।’ उक्त यन्त्रले बाढीको पूर्वसूचना पनि दिन्छ । बाढीको सूचना दिने साइरन समूहका सदस्यले बजाउने गरे पनि जंगली जनावर आएको जानकारी भने स्वचालित छ । 

साइरन बज्नासाथ सुरक्षाका लागि तैनाथ नेपाली सेनासहित निकुन्जका कर्मचारी परिचालन हुने गरेका छन् । एसएमएस सुविधा निकुञ्ज कर्मचारी, सेना र स्थानीयलाई उपलब्ध गराइएको छ । पहिलोचोटि पत्थरबोझीमै प्रयोग गरिएको यो प्रविधि सफल भए जंगली जनावर आक्रमणको जोखिम रहेका अन्य स्थानमा पनि जडान गरिने निमित्त प्रमुख संरक्षण अधिकृत थापाले बताए । 

२०५८ यता मध्यवर्ती क्षेत्रमा हात्तीबाट २४, बाघबाट ४, चितुवाबाट ३, गैंडाबाट ५ र बँदेल आक्रमणबाट एक गरी ३७ जनाको ज्यान गएको निकुन्जको मुख्यालय ठाकुरद्वाराले जनाएको छ ।  

मध्यवर्ती क्षेत्र र भारतसँग जोडिएको राजापुर क्षेत्रमा एक वर्षको अवधिमा जंगली हात्तीले करिब तीन सय घर भत्काइसकेको छ । स्थानीयमाथि हात्ती आक्रमण रोक्न राष्ट्रिय प्रकृति संरक्षण कोषले सन् २०११ देखि ०१६ सम्म करिब एक करोड रुपैयाँभन्दा बढीको लगानीमा विद्युतीय तारबार लगाएको थियो । करिब ६० किमि तारबार गरिएको पूर्वी क्षेत्रका केही ठाउँमा हात्ती प्रवेश रोकिएको छ । यस वर्ष अम्रेनीदेखि सैनावारसम्म १७ किमि र सुर्यपटुवाको छोटी टडुवासम्म ३ गरी २० किमि तारवार गरिएको कोषका प्रमुख अम्बिका खतिवडाले बताए । 

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार