अर्थ / वाणिज्य

पौरखका पाइला

- गोकर्ण अवस्थी, काठमाडौं
अर्थोपार्जनका सम्भावित क्षेत्रहरु, प्रक्रियागत पक्ष, सेवा, सुविधा र सहुलियतलगायतका पाटाहरु उजागर गर्ने प्रयत्न हो, ‘आर्जन’ । अगाडि बढ्न चाहनेका लागि यसले एउटा प्रारम्भिक निर्देशिकाका रुपमा काम गर्ने विश्वास छ ।

फाल्गुन ६, २०७३- नेपालमा ८ वर्षअघि केन्टुकी फ्राइड चिकेन (केएफसी) ले पसल खोल्दा स्वाद चाख्न पुगेका सर्वसाधारणको भीड व्यवस्थापन गर्न प्रहरीले हस्तक्षेप नै गर्नुपर्‍यो । विश्वका करिब एक सय २० मुलुकमा सञ्जाल रहेको यस कम्पनीको विस्तार जति लोभलाग्दो छ यसका संस्थापकको जीवनी त्यति नै मार्मिक छ । कर्नेल हल्र्यान्ड स्यान्डर्स केएफसी खोल्नुअघि दर्जनभन्दा बढी काममा असफल भइसकेका थिए । सिकर्मी, रेल कर्मचारीे, खानी कहाँ मात्रै काम गरेनन् तर असफल । ५ वर्षको हुँदा बुबा गुमाए । जन्मेको २ वर्षमा छोरा रहेन । सधैं असफल र रूखो भएकाले पत्नीले समेत साथ छाडिदिइन् । अमेरिकाको केन्टुकी राज्यमा काम थालेका स्यान्डर्सले ४० वर्ष कटेपछि चिकेन फ्राई गर्ने रेस्टुरेन्ट खोले पनि सफलता भने ६० वर्ष कटेपछि मात्रै मिल्यो । 

यसको अर्थ सबै असफल भएर मात्रै सफल हुन्छन् भन्ने पनि होइन । कलेज प्रोजेक्टका रूपमा विकास गरेको फेसबुकले नै मार्क जुकरवर्गलाई विश्वकै धनीको सूची पुर्‍यायो । नाम र दाम दुवै दियो । हटमेललाई आजभन्दा १९ वर्षअघि नै ४० करोड डलर (अहिलेको प्रचलित दरअनुसार ४० अर्ब रुपैयाँ) मा बेचेका सबिर भाटिया, गुगलका निर्माता पनि चाँडै सफल भएका उदाहरण हुन् । 

अरू कसैले नगरेको काम गरे मात्रै नाम र दाम कमाउन सकिन्छ भन्ने पनि होइन । फेसबुक आउनुअघि नै हाइफाइभ, माइस्पेसजस्ता साइट आइसकेका थिए । तर, ग्राहकलाई सजिलो बनाएका कारण फेसबुक अगाडि आयो । कहीँ नभएको नयाँ कुरा हुँदैमा चल्ने ग्यारेन्टी भने हुँदैन । जस्तो नेपालकै सफल सूचना प्रविधि व्यवसायी विश्वास ढकालको निकै नै नयाँ र आकर्षक क्यास अन एड सफ्टवेयर यहाँ त्यति नचलेपछि व्यवसाय विविधीकरणमा लागेका छन् । लगनका साथ व्यवसाय थाल्ने र त्यसमा खटिरहने असफल भएका कमै उदाहरण छन् ।

अस्ट्रिचपालक सीपी शर्मादेखि दैनिक ४० हजारभन्दा बढी ग्राहक आउने भाटभटेनी सुपरस्टोर अर्को उदाहरण हो । 
अवसरले महिला–पुरुष हेर्दैन । जस्तो इन्द्रा के नोई पेप्सी कम्पनी चलाइरहेकी छन् । भारतको ‘स्टेट बैंक अफ इन्डिया’ की अध्यक्ष अरुन्धती भट्टाचार्य छन् । विधान संशोधन भएर वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने भएकाले भवानी राणा आगामी चैत २८ देखि उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष हुँदै छिन् । आर्जनको अवसर व्यवसायमा मात्रै छैनन् । रोजगारीमा पनि छन् । अब वस्तुजस्तै दिमागको पनि किनबेच हुन्छ । जसरी स्वच्छ नयाँ र गुणस्तरीय वस्तुको मूल्य धेरै हुन्छ त्यसैगरी उत्कृष्ट दिमागको भाउ बढी हुन्छ । 

वैदेशिक रोजगारीबाट हुने आयलाई कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्ने हो भने ३० प्रतिशत हाराहारी छ । रेमिटयान्सले मुलुकलाई टाट पल्टिनबाट जोगाएको छ । यसलाई सम्मानित र सुरक्षित बनाउनुपर्छ । वैदेशिक रोजगारीले सामाजिक विखण्डन ल्यायो भनेर युवालाई अत्याउने समाजशास्त्री र उनीहरूले अनुत्पादक क्षेत्रमा खर्च गरिरहेका छन् भन्ने अर्थशास्त्रीहरू अज्ञानी हुन् । यहाँ कमाइ गर्नेले चाहिँ के पूर्वाधार बनाइरहेका छन् त ? 
यहीँको रोजगारीबाट पनि सन्तोषजनक जीविका चलाएका धेरै उदाहरण हाम्रै वरिपरि छन् । बैंक वित्तीय क्षेत्रका प्रमुख कार्यकारीको त कुरै छाडौं, अन्य कर्मचारीको पनि जीविका लोभलाग्दो नै देखिन्छ । 

कम त सरकारी जागिर पनि छैन । अर्थविद् भोला चालिसे सरकारी जागिर खाएर ठूलो इज्जत कमाएका व्यक्ति हुन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको व्यवस्थापकीय क्षमताका अगाडि मुलुक नै नतमस्तक छ । फेरि सरकारी जागिरमा निरन्तर भइरहेको तलब वृद्धि र अन्य वृत्ति विकासका अवसरले सम्भावना धेरै देखाएको छ । यसमा इमानदारी नयाँ युवाबाट सम्भव छ । इमानदारी त व्यवसायमा पनि चाहिन्छ । राजस्वमा गरिने छली र सामाजिक उत्तरदायित्व बिर्सिने धेरै कम्पनी निमिटयान्न भएका पनि छन् । 

कुनै व्यवसाय र काम थाल्दा आफ्नो गुण–दोष केलाउनुपर्छ । जस्तो कि गोबरको गन्ध सहन सकिँदैन भने गाईपालनमा आम्दानी नै देखिए पनि जानु हुँदैन । सेवा भाव छैन भने डाक्टर भइँदैन । छुच्चो बोली छ भने मार्केटिङ गर्न सकिँदैन । लालच बढी छ भने पत्रकारिता, सरकारी जागिर आदिमा जानु हुँदैन । आफूलाई जाँच्ने सबैभन्दा चुस्त जाँचकी आफूभन्दा अरू हुन सक्दैन । 

हो, यहाँको प्रणालीमा काम गर्न कठिन छ । पाइला–पाइलामा घुसखोरी, नातावाद, कृपावादले अगाडि बढ्न रोकिरहेको छ । नेताहरू गैरजिम्मेवार छन् । अन्यत्र यी सबै थोक होलान् तर मातृभूमि त अर्को छैन नि । 
अमेरिकामा ट्रम्पको उदय, बेलायतको युरोपियन युनियनबाट बाहिरिने निर्णय आदिले आआफ्नो मुलुक सुधार नगरी नहुने अवस्थामा विश्व पुगेको छ । हामी यहीँ लडेर भिडेर सुधार गर्न छाड्दै गयौं भने कसले गरिदिन्छ ? समृद्धिको आधार भनेको सही र सफल व्यवसाय/उद्यम/कर्म हो अर्थात् इमानदारीपूर्वक आयआर्जनको खोजी हो । 
हो, त्यही आयआर्जनका केही सम्भावनाका पाटाहरू हामीले खोतल्ने प्रयास गरेका छौं । 

आर्जनका सम्भावित क्षेत्रहरू, त्यसका लागि आवश्यक प्रक्रियागत पक्ष, त्यसमा पाइने सेवा, सुविधा र सहुलियतलगायतका पाटाहरू उजागर गर्ने प्रयत्न हो, कान्तिपुरको चौबीसौं वार्षिकोत्सव विशेष ‘आर्जन’ । अगाडि बढ्न चाहनेका लागि यसले एउटा प्रारम्भिक निर्देशिकाका रूपमा काम गर्नेछ भन्ने विश्वास छ । सफलताका लागि सुरुआत गर्ने कि ?

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार