अर्थ / वाणिज्य

स्थायी जागिरजस्तै चिया

- विप्लव भट्टराई
ठूला कारखानालाई हरियो पत्ति नै बिक्री गर्ने गरेकाले कृषकलाई बजार खोज्ने झन्झट छैन । कतिपय कृषकले भने आफैं स–साना चिया कारखाना सञ्चालन गरेका छन् ।

फाल्गुन ६, २०७३-दिगो खेती भएकाले चियालाई स्थायी जागिर जस्तै ठानिन्छ । तराई र पहाडी क्षेत्रमै उत्पादन हुने चिया हजारौंको रोजीरोटीको माध्यम बनेको छ । बिरुवादेखि बगान हुँदै कपसम्म पुग्दा चिया निर्भरको संख्या उल्लेख्य छ । १९२० सालमा गजराजसिंह थापाले इलाम बजार छेउमा रोपेपछि सुरु भएको चिया खेती अहिले मुलुकका विभिन्न जिल्लामा विस्तार भएको छ । चैतदेखि कात्तिकसम्म निरन्तर टिपाइ हुने भएकाले चिया दिगो आम्दानी स्रोत हो । चिया क्षेत्रमा ४५ हजारभन्दा धेरैले रोजगारी पाएका छन् भने ५० हजारभन्दा धेरै कृषक छन् । नेपालमा १७ हजारभन्दा धेरै हेक्टरमा चिया खेती हुन्छ । कुल उत्पादन २० हजार मेट्रिक टनभन्दा धेरै छ । वार्षिक अढाई अर्बको हाराहारीमा चियाले विदेशी मुद्रा आर्जन गर्छ । 

जमिनको अवस्था

पहाडी जिल्लामा पाखा बारी, डाँडाकाँडा र टार बारीमा पनि चिया रोप्न सकिन्छ । चिया खेतीका लागि उपयुक्त माटो नै सफलताको आधार हो । बलौटे, दोमट र चिम्टिया माटोमा चिया खेती गर्न सकिन्छ । यसका लागि माटोको पीएचमा भने ध्यान दिनु अनिवार्य छ । चिया रोपणका लागि माटोको पीएच ४.५ देखि ५.५ सम्मलाई उपयुक्त मानिन्छ । चियालाई खाद्य तत्त्व पुर्‍याउन पनि माटो परीक्षण अनिवार्य छ । हरेक दुई वर्षमा माटो परीक्षण गर्नुपर्ने विज्ञको सुझाव छ । जसबाट माटोमा चियालाई आवश्यक पर्ने तत्त्व पुर्‍याउन सकिन्छ । माटो परीक्षणका लागि चिया तथा कफी विकास बोर्डले फिक्कलमा प्रयोगशाला निर्माण गरेको छ । त्यो उति प्रभावकारी नभएकाले अन्य प्रयोगशालामा लगेर पनि परीक्षण गर्न सकिन्छ । माटोको उर्वरा शक्ति व्यवस्थापनमा ध्यान पुर्‍याउन जरुरी हुन्छ । लगातार खेती गरिएको जमिनमा प्रांगारिक पदार्थको मात्रा घट्दै जाने हुनाले माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ । खेतीका लागि आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस र पोटासजस्ता तत्त्वहरू गोबर मल, गहुँत, पिसाबलगायत विभिन्न वनस्पतिबाट प्राप्त हुने भएकाले त्यसको प्रयोग गरिनुपर्छ । 

बिरुवा तयारी 

बिरुवा तयार गर्न चियाको बुटा छुट्याएर राखिन्छ । नियमित पत्ति नटिपिएपछि चियाको हाँगा ठूलो भएर जान्छ । त्यही हाँगालाई बर्खायाममा कटिङ गर्नुपर्छ । हाँगालाई पनि आँखा मिलाएर कटिङ गरिन्छ । नर्सरीका लागि आवश्यक मल मिलाएर बेग्लै स्थान तयार पार्नुपर्छ । काटिएका स–साना टुक्रालाई गाडेपछि बिरुवा तयार हुन थाल्छ । त्यही टुक्राले जरा हाल्ने गर्छ । डेढ वर्षको अन्तरालमा बिरुवा तयार हुन्छ । यसरी तयार भएको बिरुवा प्रतिगोटा पाँच रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री हुन्छ । चिया तथा कफी विकास बोर्डअन्तर्गतका चिया विस्तार आयोजनाको मुख्य काम नै कृषकलाई नर्सरी राख्न प्रोत्साहित गर्नु हो । आयोजनाले कृषकलाई न्यूनतम मूल्यमा डाला वितरण गर्छन् । अनि कृषकले नर्सरी राखेर बिरुवा उत्पादन गर्छन् ।

इलामको फिक्कल, जस्बिरे, मंगलबारे, पाँचथरको लालीखर्क, धनकुटाको हिले, तेह्रथुमको सोल्मा र नुवाकोटको रानीपौवामा रहेका चिया विस्तार आयोजनाबाट डाला लिन सकिन्छ । ती आयोजनाले आफ्नै बगानमा बिरुवाका लागि बुटा छनोट गर्छन् । त्यस्तै कृषकले व्यक्तिगत ढंगले नर्सरी स्थापना गरेर पनि बिक्री गर्ने गरेका छन् । चिया रोप्दा चार फुटसम्म अन्तर राख्नुपर्छ । एक बाई एकको खाल्डो खनेर गोबर मल र माटो मिलाएर रोप्दा छिटो र राम्ररी उत्पादन दिने बुटा तयार हुन्छ । रोपेको एक वर्षदेखि नै सामान्य उत्पादन लिन सकिने भए पनि बुटा मजबुत हुन १० वर्षसम्म लाग्छ । 

काटछाँट अनिवार्य

चियालाई चैतदेखि कात्तिकसम्म टिप्ने गरिए पनि त्यसपछि काटछाँट अनिवार्य हुन्छ । अन्तिम चिया टिपाइ सकिएपछि हल्का ढंगले छास्नुपर्छ । उत्पादनलाई ह्रास हुन नदिन पहाडमा १५ अगस्ट र तराईमा सेप्टेम्बरको पहिलो हप्ता छास्नु उपयुक्त मानिन्छ । पत्ति नपलाउने हिउँदयाममा नै डिप कटिङ आवश्यकताअनुसार गर्नुपर्छ । यसलाई एलपी लाइट प्रुनिङ भनिन्छ । सामान्य कटिङ आवश्यकताअनुसार केही वर्ष बिराएर गरिए पनि हरेक पाँच वर्षमा एलपी लाइट प्रुनिङ आवश्यक हुन्छ । यस्तो कटिङमा बगानको अवस्था हेरेर ठुट्टै पारेर कटिङ गरिन्छ । तराई र पहाडमा एलपी लाइट कटिङको समय केही फरक हुन सक्छ । 

चिया यसरी बनाउने 

रोपण गरेको तीन वर्षपछि चिया पत्ति टिप्न मिल्छ । चैत दोस्रो सातादेखि कात्तिकभरसम्म चिया टिपाइ हुन्छ । दुई पात एक सुइरो कायम हुने गरी टिप्दा गुणस्तरीय हुन्छ । त्योभन्दा धेरै मात्राको पनि टिप्ने चलन छ । टिपाइ भइसकेपछि तत्काल कारखानासम्म पुर्‍याउनुपर्छ । स–साना बगान हुने कृषकले कारखाना नजिक नभएको अवस्थामा घाममा सुकाउँदै हातले माडेर पनि हाते पत्ति निर्माण गर्छन् । तर ठूलो मात्रामा यो सम्भव हुँदैन । कृषकले स–साना कारखाना खोलेर पनि चिया प्रशोधन गर्छन् । तर चियाको अधिक हिस्सा ठूला कारखानाले नै प्रशोधन गर्छन् । देशभर एक सय हाराहारीमा साना र तीन दर्जन ठूला अर्थोडक्स चिया कारखाना छन् ।

तयारी चियालाई सीटीसी र अर्थोडक्स गरी मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । दानादार चियालाई सीटीसी भनिन्छ । सीटीसी चिया पूर्वी तराई मुख्य गरी झापामा उत्पादन हुन्छ । कारखानाले आफ्नै बगान निर्माण गरेर यस्तो चिया उत्पादन गर्छन् । कतिपय कारखानाले इलाम, धनकुटा र झापामा कृषकस्तरबाट उत्पादन भएको हरियो चिया पत्ति पनि खरिद गरेर सीटीसी चिया बनाउँछन् । यसको आन्तरिक खपत धेरै छ । अर्थोडक्स चिया इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, ललितपुरलगायत जिल्लामा उत्पादन हुने चियाबाट बनाइन्छ । यसलाई विभिन्न प्रकारमा निर्माण गर्न सकिन्छ । प्रशोधन तरिका फरक हुन्छ । मेसिनरी औजार अर्थोडक्स चिया बनाउने छुट्टै हुन्छ । ब्ल्याक टी, ग्रिन टी, उलाङ टी जस्ता भेराइटीमा यो चिया बनाइन्छ । यस्तो चियाको आन्तरिक खपत कम छ । बाहिरी बजारमा यो चिया निर्भर छ । नेपालमा खेती गरिने तीन प्रजातिमध्ये आसामी र कम्बोडियाली चिया सीटीसी उत्पादनका लागि रोपिन्छ । चिनियाँ प्रजातिको चिया अर्थोडक्सका लागि उपयुक्त हो । 

बजारको अवस्था

नेपालमा उत्पादित चियाको मुख्य बजार भारत नै हो । जर्मनी, नेदरल्यान्ड, बेलायत जस्ता मुलुकमा पनि चिया निर्यात हुन्छ । अर्थोडक्स चिया कुल उत्पादनको ८० प्रतिशत भारतीय बजारमा जाने व्यवसायीहरू बताउँछन् । दस प्रतिशत आन्तरिक बजार र दस प्रतिशत अन्य मुलुकमा जाने गरेको छ । सीटीसी चियाको आधा हिस्सा भारत निर्यात हुन्छ । ठूला कारखानालाई हरियो पत्ति नै बिक्री गर्ने गरेकाले कृषकलाई तयारी चियाको बजार खोज्ने झन्झट हुँदैन । तर कारखानाले राम्रो मूल्य नपाएको भन्दै कृषकलाई कम मूल्य दिने गरेकाले भने हरियो पत्तिको मूल्य घटाउने गरेको कृषकको गुनासो छ । कतिपय कृषकले आफैं स–साना चिया कारखाना सञ्चालन गरेका छन् । उनीहरूलाई तयारी चियाको बजार अभाव छ । आन्तरिक बजारमा भर पर्नुपर्ने अवस्था छ । अर्गानिक हरियो चिया पत्तिको औसत मूल्य ५० रुपैयाँ हाराहारी रहँदै आएको छ भने नन अर्गानिकको २५ रुपैयाँ हाराहारी छ ।

कारखानाहरूले उत्पत्तिको प्रमाण पत्रसहित क्वारेन्टाइन परीक्षण गराएर तयारी चिया निर्यात गर्छन् । चियाको बजार राम्रो पाउन अर्गानिक बनाउनुपर्ने आवश्यकता खड्किएको छ । एउटा कृषकले मात्रै अर्गानिक बनाएर सम्भव छैन । अहिलेसम्मको अभ्यासमा पहाडी क्षेत्रबाट अर्गानिक चिया उत्पादन गर्ने केही कारखानाले सम्बन्धित संस्थामा अर्गानिक प्रमाणीकरण गरेर कृषकलाई अर्गानिकताको प्रमाणपत्र दिएका छन् । 

सुरु सिजनमा टिपिएको चिया ‘फस्ट फ्लस’ र अन्तिम सिजनको ‘अटम फ्लस’ गुणस्तरका हिसाबले राम्रो हुने भएकाले बढी मूल्यमा विक्छ । 

दर्ता प्रक्रिया

बगान विस्तार गरेपछि चिया तथा कफी विकास बोर्डमा दर्ता गराउनुपर्छ । त्यसका लागि जग्गाको क्षेत्रफल, नागरिकता र धनीपुर्जा आवश्यक हुन्छ । कारखानासमेत सञ्चालन गरेका बगानले कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराउनुपर्छ । घरेलुमा पनि दर्ता गराएर उद्योग सञ्चालन गर्न सकिन्छ । नागरिकताको फोटोकपी गाविसको सिफारिस, उद्योग भएको स्थानको धनीपुर्जालगायत कागजात यसमा चाहिन्छ । धेरै चिया कृषक सहकारीमा आबद्ध छन् । सहकारी गठनका लागि प्रारम्भिक भेला गर्नुपर्छ । भेलाले विधान निर्माणको जिम्मेवारी तोक्छ । दोस्रो प्रारम्भिक भेलाले विधान पास गर्दै सञ्चालक समिति र लेखा समिति चयन गर्छ । सबै सदस्यको नागरिकताको फोटोकपी र फोटो आवश्यक पर्छ । कम्तीमा २५ जना सेयर सदस्य कार्य क्षेत्रका हुनुपर्छ । दर्ता गरेपछि सरकारी र गैरसरकारी क्षेत्रबाट सुविधा लिने बाटो खुल्छ । चिया क्षेत्रमा सरकारका तर्फबाट सिधा लगानी देखिँदैन । तर उन्नति समावेशी परियोजना, व्यावसायिक कृषि विकास आयोजना जस्ता निकायले चिया कारखाना स्थापना, नर्सरी व्यवस्थापन लगायतमा सहयोग पुर्‍याएका छन् । 

रोगको प्रकोप

चियालाई क्षति पुर्‍याउने सक्ने किरा तीन सय प्रजाति र ढुसीजन्य रोग ५८ प्रजातिका रहेको तथ्यांक भए पनि कमै प्रजातिले मात्र उल्लेख्य क्षति गरेको पाइन्छ । चियालाई बढी क्षति पुर्‍याउने रोग किरामा फोके मरुवा प्रमुख हो । ओसिलो र कुहिरो बढी लाग्ने क्षेत्रमा देखिने यो रोगले पातको तल्लो भागमा सेतासेता फोका निर्माण गर्छ । यसको निदानका लागि छहारी कम गर्दै झार नियन्त्रण गर्नुपर्छ । चियामा लाग्ने अर्को रोग हो रोता सिन्दुरे । ढुसीजन्य यो रोगले पातको हरियो रंग हराउँदै जाने र पात झर्ने हुन्छ । यो रोग लाग्न नदिन छहारी र पानीको निकासको उचित प्रबन्ध गर्नुपर्छ । कोलर क्यांकर रोग अर्को समस्या हो । यो गहिरो गरी रोपिएको बिरुवामा देखा पर्छ । जमिनको केही माथि काण्डमा फुटेको जस्तो देखिने यो रोगको लक्षण हो । चियामा जरा कुहिने रोग, थ्रिप्स, चियाको लामखुट्टे, रातो माकुरो, सुल्सुले, खुम्रे किरा, लार्भा जस्ता किरा र रोग लाग्न सक्छ । यी सबै रोगको निदान जैविक विधिले गर्न सकिने विज्ञहरू बताउँछन् । नेपालमा पाइने तीन सय प्रजातिका औषधिजन्य बोटबिरुवामै सबै रोगको औषधि भएको उनीहरूको निष्कर्ष छ । तीतो, पिरो, टर्रो जातका निम, बकाइनो, खुर्सानी, वनमारा, गोदावरी, धतुरो, लसुन आदि जस्ता तत्त्वको लेदो वा झोल बनाएर नियमित लाउनाले रोगको संक्रमण हट्छ ।

‘चियामै भविष्य छ’

 - शरद सुब्बा, कृषक, इलाम

बुबा सूर्य सुब्बा अर्गानिक खेतीमा विश्वास गर्नु हुन्थ्यो । चिया खेतीलाई त्यहीअनुरूप लैजानुपर्ने उहाँको धारणा हुन्थ्यो । उहाँकै प्रेरणाले १८ वर्षको उमेरदेखि नै चिया बगान व्यवस्थापनमा लागें । १८ वर्षअघि यसमा लाग्दा अर्गानिक र ननअर्गानिक चियाको भेद कारखानाले छुट्याउँदैनथ्यो । अर्गानिक बनाउँदा लगानी केही बढी लाग्ने तर केही समय उत्पादन कम हुने भएकाले नोक्सानी बेहोर्नुपर्‍यो । धेरै समय यस्तै समस्या खेपेर पनि कारखानालाई चिया पत्ति बिक्री गरियो । यो बेला हातले नै माडेर पनि विभिन्न भेराइटीमा गुणस्तरीय चिया उत्पादन गरेर बिक्री गथ्र्यौं । त्यसले स्थानीय बजारमा राम्रै छाप छाड्यो । चियालाई परम्परागत शैलीमा मात्र उत्पादन गर्ने नभएर भेराइटी दिन सके राम्रो बजार लिन सकिने मेरो विश्वास थियो । 

यो दौरान चियाको प्राविधिक पक्षमा पनि धेरै जानकारी लिएँ । गाउँमै स्थापना भएको माई गुराँसे चिया कारखानामा काम गरें । यसबाट पनि अनुभव निखार्ने थप अवसर मिल्यो । 

हाते चिया मन पराएर एसएनभी नेपाल नामको प्रोजेक्टले सुकाउने ड्रायर सहयोग गर्‍यो । तर प्राविधिक पक्ष नमिल्दा उति प्रभावकारी भएन । घरेलु तथा साना उद्योग विकास समितिसँग मिलेर गाउँमै तालिम सञ्चालन गर्‍यौं । त्यसले अन्य कृषकलाई अर्गानिक उत्पादनमा लाग्ने प्रेरणा मिल्यो । आफ्नो बगान र अरू पनि कृषकले अर्गानिक उत्पादन गर्न थालेपछि पार्टनरसिपमा मझौला उद्योग स्थापना गर्‍यौं । राम्रै उत्पादन भए पनि पार्टनरसँग कुरा नमिल्दा परिवारले मात्रै चलाउन थाल्यौं । यसरी चलाएको दुई वर्ष भयो । वार्षिक पाँच हजार किलो तयारी चिया उत्पादन हुन्छ । ठूलो हिस्सा स्थानीय बजारमा खपत भए पनि नेदरल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी र अमेरिकासम्म निर्यात हुन थालेको छ । 

आफ्नै बगान ४० रोपनी क्षेत्रफलमा छ । डेढ सय रोपनी लिजमा लिएर बगान बनाएका छौं । ५५ लाख लगानी गरेर कारखाना सञ्चालन गरेका छौं । कारखानामा आधुनिक मेसिन खरिद गर्दै स्तरोन्नति गर्ने उद्देश्यले उन्नति समावेशी परियोजनाले ७० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । यो कार्यक्रम लागू गर्न आफैं ५५ लाख निकाल्नुपर्छ । त्यति भएपछि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्ने गरी विभिन्न भेराइटी निकाल्न सकिन्छ । अहिले ३५ भेराइटीमा चिया बनाउँछौं । फस्ट फ्लस, सकेन्ड, रेनी र अटम फ्लस गरी चारै सिजनको फरक भेराइटी पनि निकाल्ने गरेका छौं । फस्ट फ्लसमा स्प्रिङवाइट, ह्वाइट ओरेन्ज र ग्रिन टीको भेराइटी निस्कन्छ । सेकेन्ड फ्लसमा ह्वाइटहनी, क्लाउडवाइट, माउफिङग्रिन र मस्केटल भेराइटी तयार पार्छौं । रेनी सिजनमा माउन्टेनब्ल्याक, माउन्टेनग्रिन, रुबीब्ल्याकलगायत बन्छन् । अटम सिजनमा अटम उलङ, सुनकेशरी, अटमवाइट र क्लासिक ग्रिन बनाउने गरेका छौं । 

बगानमा १६ जना महिलालाई रोजगारी मिलेको छ भने कारखानामा छ जनालाई । कारखानालाई नयाँ ढंगले विस्तार गरेपछि वार्षिक उत्पादन २० किलो पुग्छ । स्थानीय हरियाली जैविक चिया उत्पादक सहकारी संस्थामा आबद्ध ९१ कृषकको चिया खरिद गर्ने गरेका छौं । कृषकलाई गुणस्तर हेरी हरियो पत्तिको प्रतिकिलो ६० रुपैयाँदखि सात सय रुपैयाँसम्म दिने गरेका छौं । हामीले उत्पादन गरेको तयारी चिया ६ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री भएको छ । 

आफ्नै प्रयासमा भर्खरै मात्र कारखाना सञ्चालन भएको र थप लगानी गर्नुपर्ने भएकाले ठूलो आम्दानी भएको छैन । तर बगान र कारखानाको उत्पादनले घर व्यवहार चलाउन र कर्मचारीलाई तलब खुवाउन समस्या छैन । उद्देश्यअनुरूप काम भए नमुनाका रूपमा बगान र कारखानालाई बनाउँदै सुन्दर भविष्य बनाउने छौं । 

जबसम्म कृषक आफैं मालिक बन्दैन तबसम्म ठूला कारखानाको मात्र भर पर्दा चिया कृषकको दिन फिर्नेवाला छैन । चियाको बुटा नै नदेखेका मालिकले चलाएको कारखानाले कहिल्यै पनि कृषकको समस्या बुझ्दैनन् । त्यही भएर पनि हिम्मत बटुलेर श्रम र लगानी बढाउनुपरेको छ । 

(कुराकानीमा आधारित)

प्रकाशित: फाल्गुन ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार