प्रवास

परराष्ट्रमन्त्री डा महतले भेटे युरोपेली आयोग अध्यक्ष जंकर

काठमाडौं

फाल्गुन ५, २०७३-परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन-क्लड जंकरसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन् । 

भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली संघको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरे । 

युरोपेली संघको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउँदै अध्यक्ष जंकरले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिएका थिए । 

नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायुसेनालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जंकरलाई अनुरोध गरे । अध्यक्ष जंकरले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि डा महतलाई आश्वासन दिलाए । 

डा महतले अध्यक्षलाई नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे पनि जानकारी दिए । डा महतले आज लक्जेम्बर्गमा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री तथा विकास सहयोगमन्त्रीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस

प्रकाशित: फाल्गुन ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार