विचार/विश्‍लेषण

सुदृढ लोकतन्त्रका लागि खुला बहस

- निरोज कट्टेल
नेपालमा ‘पब्लिक स्फेयर’ नभएका होइनन् । तर कसैले कुनै भय नराखी तर्क र तथ्यमा आधारित बहस गर्ने थलो ती बनेनन् ।

फाल्गुन ५, २०७३- सूचना, तर्क र तथ्यका आधारमा गरिने बहसले समाज परिवर्तनलाई सघाउँछ भन्ने उदाहरण दुनियाँमा प्रशस्त छन् । युरोपेली समाजमा धर्म, साहित्य, कला, शासन व्यवस्था, राजनीतिक प्रणालीका विषयमा बहस हुनथालेदेखि नै यी सबै विषयमा नयाँ दृष्टिकोण निर्माण हुँदै गए । पुनर्जागरण कालमा सुरु भएको धर्म र धार्मिक अधिकारमाथिको बहसले गर्दा सामाजिक आन्दोलनहरू जागृत भए । ती आन्दोलनहरूकै कारण इसाई धर्म र पादरीहरूको एकाधिकारबाट राज्य मुक्त भयो । विशेषाधिकार प्राप्त वर्गविरुद्ध भएको विद्रोहले फ्रान्सेली क्रान्तिको प्रादुर्भाव गर्‍यो । आन्दोलनको बलमा फ्रान्सेली राजतन्त्रको अन्त्यमात्र भएन, विश्वलाई समानता, स्वतन्त्रता र भ्रातृत्वको नारासमेत दियो । 

विमर्श र संघर्षबाट नि:सृत यस्ता नाराले फ्रान्समात्र होइन, समग्र युरोपमा पुनर्जागरणको अभियानलाई घनिभूत बनाउँदै लग्यो । त्यहाँ चलेका सामाजिक आन्दोलनले दुइटा महत्त्वपूर्ण काम गरे । पहिलो, परम्परागत शासन प्रणालीको अन्त्य गर्दै नवीन शासन प्रणालीको विकास गर्‍यो । अर्थात लोकतन्त्रको विजारोपण गर्‍यो भने अर्कोतर्फ सबै प्रकारका विचार सार्वजनिक बहसको विषय बन्न पुगे । यसैका आधारमा कला, साहित्य, गीत–संगीतको क्षेत्रमा सामाजिक आन्दोलन परावर्तित हुनपुग्यो भने कलाका विभिन्न विधाको प्रादुर्भावले आन्दोलनलाई पनि बल पुग्यो । यसले गर्दा पुनर्जागरणकालीन युरोपका कला, साहित्य, गीत, संगीतमा ती सामाजिक आन्दोलनका कथाहरू प्रस्ट रूपमा लेखिन पुगे । 
तर क्रान्ति क्रमश: प्रतिक्रान्तितर्फ उन्मुख हुनथालेपछि क्रान्तिकारी शक्तिहरू नै प्रतिक्रान्तिका मतियार हुनपुग्दा रहेछन् । सामन्तवाद विरुद्ध उठेको आन्दोलनले स्थापित गरेको वर्ग जब सत्तामा पुग्यो, फ्रान्सेली राज्यक्रान्तिले उठाएका समानता, स्वतन्त्रता र भ्रातृत्वका नारालाई क्रमश: तिलाञ्जली दिन पुगे । फेरि पनि शासक र शासितको पुरानो परिभाषा दोहोरियो, तर आन्दोलनले नै स्थापित गरेका कला, साहित्य, गीत, संगीत र सामाजिक मूल्यले समाजमा राम्रो प्रभाव पारेका कारण परिवर्तनको सौन्दर्य जनताबाट अलग हुन सकिरहेको थिएन । त्यो विषय कथामा पढिन्थ्यो, गीत–संगीतमा सुनिन्थ्यो, चित्रकलामा रंगिन्थ्यो । त्यहाँ जटिलताका बीच लोकतन्त्रका नयाँ–नयाँ अवधारणहरूको खोजी हुनथाल्यो । नयाँ अवधारणा र राज्यसत्ता बीचको द्वन्द्वले नवीन विचारको खोजी गर्‍यो र नवीन विचारका कारण लोकतन्त्र सुदृढ बन्दै गयो । यसका लागिसमेत खुला छलफल र बहसले ठूलो सहयोग गरेको सहजै बुझिन्छ । 

खुला छलफल र बहसका कारण पेचिला मुद्दा र विषयमा गहिरो चिन्तन गर्ने मानिसहरूको संख्या बढ्यो । चिन्तन प्रणालीले नयाँ आलोचनात्मक चेतको विस्तार गर्‍यो । फराकिलो चेतना भएका कारण युरोपेली समाजले आफ्नै सामाजिक जटिलतामाथि गहन छलफल गर्‍यो । त्यसको निदान पनि आफ्नो सामाजिक परिस्थिति अनुसारै खोज्यो । तर त्यसको प्रभावचाहिँ विश्वव्यापी रूपमा पर्नगयो । फ्रान्सेली राज्यक्रान्तिदेखि आधुनिक युरोपमा उदाएको चिन्तन प्रणालीबाट हामीले धेरै विषयहरू प्राप्त गरेका छौं । मन्टेस्कयु, रूसोजस्ता विद्वान्हरूले राज्य र समाजका बारेमा लेखे, चिन्तन गरे, त्यसमाथि गहन छलफल भयो, त्यसको फाइदा हामीलाई समेत भएको छ । 

युरोपमा दुई–तीन सय वर्षअघि भएका छलफल र बहसहरू हाम्रो समाजमा उठ्नका लागि निकै समय लाग्यो । २०६२/६३ सालको आन्दोलन र त्यसवरपर भएका सबै आन्दोलनले नेपालमा पनि अढाई सय वर्षअघि स्थापित शाहवंशीय राजतन्त्रलाई समाप्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यो । त्यतिका वर्ष सत्तामा रहेको राजतन्त्रलाई समाप्त पारेर गणतन्त्र स्थापना गर्नु चानचुने कुरा थिएन । त्यसैले यो राजनीतिक संघर्षको आफ्नै विशिष्टता छ । यो परिवर्तनको आफ्नै किसिमको सौन्दर्यमूल्य थियो । तर एक दशकअघि भएको यो परिवर्तनलाई हामीले संस्थागत गर्नसकेका छैनौं । यद्यपि आन्दोलनले उठाएका मुद्दाहरू पुरै किनारा लागेका भने छैनन् । सत्य के हो भने जुन स्तर र गम्भीरताका साथ ती विषयमाथि विमर्श र चिन्तन जरुरी थियो, त्यो भएन । हामीले त्यस्तो चिन्तनलाई बौद्धिक जागरणको अभियानकै रूपमा अघि बढाउनुपर्ने थियो होला, त्यो हुन सकेन । 

घनिभूत बहस र छलफलको सिलसिला र लोकतान्त्रीकरणको अभियानलाई सँगसँगै लैजान नसक्दा ६ दशकमा हाम्रा उपलव्धिहरू न्युन भए । भएका उपलव्धि संस्थागत हुन सकेनन् । पुनर्जागरणकालीन युरोपमा जस्तो हाम्रोमा कला, साहित्य, गीत, संगीतमार्फत यस्ता जटिल विषयलाई स्तरीय अभिव्यक्ति दिन सकिने अवसरबाट पनि हामी चुक्दै त छैनौं भन्ने प्रश्न उठाउन जरुरी भइसकेको छ । लोकतान्त्रिक आन्दोलन वा अन्य कुनै सामाजिक जागरणहरूले स्थापित गरेका मूल्यलाई हाम्रो साहित्य, गीत, सङ्गीत, कलाका माध्यमबाट अर्को पुस्तामा हस्तान्तरण गर्न नसक्दा हाम्रो लोकतान्त्रिक आन्दोलनले दिएको उपलव्धिको उचित सम्मान र जगेर्ना हुन सकिरहेको छैन । 

हामीकहाँ आन्दोलन भइरहने, परिवर्तन पनि भएको देखिने, तर अनुभूत गर्नचाहिँं नपाउने अवस्था छ । अनुभूत गर्न नपाउने लोकतन्त्र कागजी लोकतन्त्र हुन्छ । यस्तो बारम्बार किन भइरहन्छ भन्ने कुरालाई चाहिंँ हाम्रो सामाजिक जटिलताको दृष्टिकोणबाट हेर्नुपर्छ होला । हाम्रो सामाजिक संरचनाका अप्ठ्याराहरूलाई हामीले आत्मसात् गर्न नसक्दा यस्ता आन्दोलन प्रत्येक दशकमा भइरहने र प्रत्येक दशकमा युवा भएको पुस्ता सडकमा उत्रिरहनुपर्ने बाध्यता दोहोरिइरहेको छ । हाम्रो लोकतान्त्रिक प्रणाली बारम्बार असफल हुन्छ । ठूलो लगानीपश्चात पुनर्बहाल गरिएको लोकतान्त्रिक प्रणाली संस्थागत रूपमा नचल्ने हो भने त्यस्तो लोकतन्त्रले जनताको जीवनस्तरमा कुनै गुणात्मक फरक पार्दैन । त्यसैले प्रत्येक दशकमा एउटा पुस्ता आन्दोलन गर्ने दस्ताका रूपमा सीमित हुनपुग्छ । त्यसरी थुप्रै मानिसहरूका सिर्जनात्मक क्षमता केवल राजनीतिक आन्दोलन सफल पार्नमा लगानी हुन्छ, गर्न सकिने अरू थुप्रै कामबाट उनीहरू विमुख हुन्छन् । 

हामीले हाम्रो सामाजिक, सांस्कृतिक आन्दोलनलाई बौद्धिक जागरण आन्दोलन समेतका रूपमा उठान गर्न सकेनौं, जसले गर्दा समग्र समाजको अध्ययन गर्ने, समस्या र खास अन्तरविरोधहरूको सही पहिचान गर्ने, त्यसबाट निस्केका निचोडमाथि छलफल, बहस गर्ने र समाधानका बाटा पहिल्याउने काम अत्यन्त कम भए । यसको अभावमा बलियो लोकतान्त्रिक संस्कार र समाजको गुणात्मक प्रगतिमा ठूलो योगदान गर्न सकेनौं । भाषण गर्नकै लागि लोकतान्त्रिक मूल्य—मान्यताका गफ हामीसँग लोभलाग्दा मसला बनिइरहे, तर गतिलो विमर्शका लागि चाहिने सहिष्णुता, फरक मतप्रतिको सम्मान, र धैर्यपूर्वक सुन्ने/सोच्ने अभ्यास कसैको प्राथमिकतामा परेन । राज्य र समाजको मूलधारमा प्रचारित नभएका पनि विचार छन्, तिनले अंकुराउने ठाउँ पाउँदा सिंगो समाज नै समृद्ध बन्छ भन्ने सवाल लोकतन्त्रका अभियन्ताहरूलाई नै सकसपूर्ण लाग्नु विडम्बना हो । 

२००७ सालको आन्दोलनलाई हामीले संगठित आन्दोलनको रूपमा लियौं भने नेपालमा सामाजिक परिवर्तनको मुद्दामा संगठित काम भएको ६५ वर्षभन्दा पनि धेरै भएछ । आन्दोलनको यो लामो शृङखलामा यसले स्थापित गरेका सामाजिक, सांस्कृतिक मूल्यलाई बौद्धिक जागरणको आन्दोलनसँग प्रत्यक्ष गाँस्न नसक्दा हाम्रोमा अभ्यास गरेको लोकतन्त्र जहिल्यै अपुरो भएको छ । बौद्धिक जागरणले बहसको सिर्जना गर्छ र बहसले अप्ठ्यारा र जटिल प्रश्नहरू उठ्ने ‘स्पेस’ बनाउँछ । त्यसले लोकतन्त्रलाई कसरी सुन्दर बनाउने भन्ने विषयको खोजीसमेत गर्छ । त्यसैले उन्नत समाजले जहिल्यै पनि विचारको तीव्र घर्षणका लागि चाहिने स्पेसको खोजी गर्दा चियापसलदेखि अध्ययन–अनुसन्धान केन्द्रहरूसम्मको आवश्यकता महसुस गर्दोरहेछ । ‘पब्लिक स्फेयर’जस्ता अवधारणा समाज विज्ञानमा त्यसरी नै स्थापित भएका हुँदारहेछन् । नेपालमा पब्लिक स्फेयर नभएका होइनन् । तर यी स्पेस कसैले कुनै किसिमको भय नराखी खुला, सूचित, तर्क र तथ्यमा आधारित बहस गर्ने थलोका रूपमा विस्तारित हुने वातावरण बनाउन जरुरी छ । त्यसो हुन नसक्दा अनेक खाले संकीर्णतामा हामी फँसिरहन्छौं । हाम्रो लोकतन्त्र कपटी नेताको फजुल भाषणजस्तो मात्रै बनिरहन्छ । 

कट्टेल खुला बहस र अन्तरक्रिया गर्दै आएको संस्था ‘रिडर्स झापा’सँग आबद्ध छन् ।

प्रकाशित: फाल्गुन ५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार