फिचर

‘धन्न, खुसी लुटिएन’

  • विधवा महिलाले दोस्रो बिहेबारे सोच्न पनि नसक्ने समाजमा गुड्डीले यो साहस देखाएकी थिइन्
- पर्वत पोर्तेल, राजगढ (झापा)

फाल्गुन ४, २०७३-मधेसी समुदायकी एकल महिला गुड्डी जैसवालका लागि पुन: विवाह गर्नु त परको कुरा, सोच्न पनि मुस्किल थियो । तर, उनले आफैंभित्र आत्मविश्वास जगाइन् । परिवार र समाजको कटाक्ष पन्छाउँदै फेरि आफ्नो संसार बसाइन् ।

व्यक्तिले आफ्नो जीवनको निर्णय आफैं गर्न सक्ने अधिकार प्रयोग गर्दै उनले २०७१ चैतमा कुमरखोद २ का गायकप्रसाद राजवंशीसँग बिहे गरेकी हुन् । ‘अहिले हामी खुसीसाथ बाँचेका छौं’, राजगढ ६ नयाँबजारस्थित कपडा पसलमा भेटिएकी गुड्डीले सुनाइन्, ‘नत्र झन्डै हाम्रो खुसी लुटिसकेका थिए ।’ 

गुड्डीको यो पसल राजगढकै पुरानो हो । बजार लागेका दिन बिक्रीबट्टा राम्रै हुन्छ । पसलकै आम्दानीबाट तीन छोराछोरीको पढाइ खर्च र घरखर्च टरेको छ । व्यापारमा पतिको भरपुर साथ छ उनलाई । ‘एक्लै बाँच्न गाह्रो भएर पुन: विवाह गरेकी हुँ,’ गुड्डी हँस्यौली गर्छिन्, ‘सघाउनु त परिहाल्यो नि पतिले ।’   

दोस्रो बिहे गर्नु उनका लागि कम्ती चुनौतीपूर्ण थिएन । गाउँले र परिवारका सदस्यले मार्नेसम्मको धम्की दिएका थिए । उनका पूर्वपति दिनेश भगतको मिर्गौला बिग्रेर मृत्यु भएको थियो । त्यसपछि तीन छोराछोरी हुर्काउने दायित्व उनको एक्लो काँधमा आइपर्‍यो । त्यही बेला संयोगले गायकप्रसाद उनको जीवनमा आइपुगे । मन मिल्यो । गुड्डीले तत्काल पुन: विवाह गर्ने निधो गरिन् । ‘विधवा महिलाले पुन: विवाह गर्नु हुन्न भन्ने कुन कानुनमा लेखेको छ ?’, उनले भनिन् । 

 

सासूससुरा र परिवारका अन्य सदस्यसँग विवाहबारे कुरा गर्दा झन्डै ज्यानै गुमाउनुपरेको थियो उनले । परिवारको अस्वीकृतिलाई बेवास्ता गर्दै उनले विवाह गरेरै छाड्ने निधो गरिन् । छरछिमेकमा कार्ड पनि बाँडिन् । विवाहको तयारी हुँदै थियो, परिवारका सदस्यहरूसहित हूल बाँधेर गाउँले घर घेर्न आइहाले । उनले भागेर ज्यान बचाइन् । 

‘खासमा पतिको नामको सम्पत्तिको लोभ थियो परिवारलाई,’ उनले भनिन्, ‘त्यसैले मेरो विवाह हुन नदिने तयारी गरेका थिए तर सकेनन् ।’ गुड्डीले घर, जमिनसहित सम्पूर्ण सम्पत्ति छोराछोरीका नाममा गरिदिएकी छन् । उनका नाममा पौने एक कट्ठा जमिन छ । 

गाउँबाट विस्थापित भएपछि मानव अधिकारीकर्मीको सहयोगमा जिल्ला प्रशासन कार्यालय झापाको प्रवेशद्वारमै पुन: विवाह गरेकी थिइन् गुड्डीले । ‘त्यसबेला प्रहरी प्रशासनले कुनै सहयोग गरेन,’ उनले भनिन्, ‘मानव अधिकारवादी र मिडियाकै कारण मेरो विवाह सफल भयो ।’ 

परिवार र गाउँलेको आक्रमण प्रयासपछि विस्थापित यो जोडी केही समय एकीकृत विकास प्रतिष्ठान (आईडीएफ) को आश्रयमा बस्यो । अधिकारकर्मी र मिडियाकै पहलमा उनलाई गाउँमा पुन:स्थापित गरिएको थियो ।

प्रकाशित: फाल्गुन ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार