मनोरञ्जन

कावागुची खोज्दै काठमाडौं

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन ४, २०७३-नेपाल आइपुगेका पहिलो जापानी हुन्, इकाई कावागुची । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा भारत हुँदै नेपाल आइपुगेका यी बौद्ध भिक्षु तथा लेखकको सम्मानमा सरकारले चौध वर्षअघि हुलाक टिकटसमेत प्रकाशित गरेको थियो । नेपाल–जापान सम्बन्धको प्रथम सेतु मानिने यिनको योगदानको खोजी गर्दै यतिबेला नाति मिचुतानी मासाओ काठमाडौं आइपुगेका छन् । चार दिनअघि आइपुगेका मिचुतानी हजुरबाले १ सय १८ वर्षअघि यात्रा गरेको पोखरा आसपास घुमेर आइतबार काठमाडौं फर्केका छन् । सोमबार उनी बौद्ध महाचैत्य अघिल्तिर राखिएको कावागुचीको भित्तेमूर्ति दर्शन गर्न पुगे । 

‘हजुरबाको नेपाल यात्रा हामीलाई त रोमाञ्चक दन्त्यकथाझैं लाग्छ,’ उनले भने, ‘उहाँले लेख्नुभएको जापानी भाषाका किताबहरूमा नेपालका थुप्रै ठाउँ, रोचक घटना र त्यतिबेलाको नेपाली समाजबारे चर्चा गरिएको छ । तिनै पुस्तक पढेकै आधारमा नेपाल आएको हुँ ।’ उनका अनुसार ३४ वर्षको उमेरमा जापानबाट सन् १९९७ मा कुनै पनि पथप्रदर्शक र नक्साबिनै कावागुची बौद्ध दर्शन अध्ययन गर्न टोकियोबाट नेपाल हिँडेका थिए । सन् १८९९ मा उनी भारतको कोलकाता, असम, दार्जिलिङ हुँदै हिँडेर नेपाल आइपुगेका थिए । यसपछि उनी सन् १९०२, १९१३ र १९१५ मा गरेर चारपटक नेपाल आएको देखिन्छ । सोही वर्ष काठमाडौंमै भोट भाषा अध्ययन गरेर तिब्बत पुगेका उनले ‘थ्री इयर्स इन तिब्बत’ पुस्तकमा नेपालको भ्रमणका केही सन्दर्भ उल्लेख गरेका छन् । ‘यो यात्रा क्रममा लेखिएका ६ वटा पुस्तक जापानी भाषामा छन्,’ नाति मिचुतानीले भने, ‘तिनलाई नेपाली भाषामा ल्याउन सके त्यतिबेलाको नेपालबारे धेरै तथ्यहरू बाहिर आउँथ्यो ।’

जापानी दूतावासको वेबसाइट प्रकाशित आलेखअनुसार कावागुचीले मुस्ताङको टुकुचे र मार्फामा लामो समय बिताए । त्यहीँबाट कावागुची धौलागिरि हिमालको खोंच हुँदै तिब्बत पुगेका थिए । तिब्बत पुगेर बौद्धधर्म र दर्शनसम्बन्धी थुप्रै संस्कृत पाण्डुलिपि अध्ययन गरेका उनले काठमाडौं फर्केर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई जापानबाट ल्याइएका संस्कृत पाण्डुलिपिहरूसमेत हस्तान्तरण गरेका थिए । सन् १९१२ को तेस्रो भ्रमण क्रममा उनले संस्कृत पाण्डुलिपिको अध्ययन र संरक्षणसम्बन्धी चन्द्रशमशेरलाई लेखेको लामो चिठी मदन पुस्तकालयमा संरक्षित छ । बुद्धको जन्मस्थलवरिपरि लुम्बिनीमाा त्यतिबेला हुने पशु बलिलाई कावागुचीकै अनुरोधमा चन्द्रशमशेरले हटाउन लगाएका थिए । ‘हजुरबाले त्यो योगदान अहिलेको समय झन् अर्थपूर्ण बन्दै गइरहेको छ,’ नाति मिचुतानीले भने, ‘यसलाई नयाँ ढंगले प्रवद्र्धन गर्ने सोचाइ हाम्रो छ ।’ सन् १९४५ मा दिवंगत भिक्षु कावागुचीले जीवनभर बिहे गरेनन् । मिचुतानी कावागुचीका भाइतिरका नाति हुन् ।

मुस्ताङको टुकुचे र मार्फामा हजुरबुबा कावागुचीको बसेको घर अझै सुरक्षित रहेको मिचुतानीको दाबी छ । यसपटक प्राविधिक कारणले मार्फासम्म पुग्न नसकेकोले विस्तृत योजनासहित छिट्टै नेपाल आउने उनले बताए । ‘यो प्रारम्भिक भ्रमण हो,’ उनले भने, ‘अर्कोपटक धौलागिरिको फेदसम्म पुगेर अनुसन्धानमा जुट्नेछौं ।’ 

प्रकाशित: फाल्गुन ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार