ब्लग

नेपालमा ट्रम्पीय यथार्थको आतंक

- जीवन क्षेत्री, काठमाडौं

फाल्गुन ३, २०७३- यसपल्टको साहित्य महोत्सवमा भाग लिएपछि पोखराबाट चितवन फर्कन मैले अलि अनौठो बाटो रोजें । त्यहाँबाट पर्वत सदरमुकाम कुष्मा पुगेपछि त्यहाँदेखि बुटवलसम्म पैदल पुगें । सडकमार्ग त्यस्तै २२० किलोमिटर रहेकोमा मैले पहाडको अर्कै फेरो लगाएर कम्तीमा २०० किमि हिँडेछु । हाम्रा बाबुबाजेले वर्षको एकपल्ट नुन, मट्टितेल र लुगाफाटो किन्नलाई धाउने गरेको बाटो थियो त्यो । 

यात्रा नयाँ कुरा सिक्ने र अनुभव गर्ने गजबको अवसर हो । यति लामो एकल पदयात्रा मेरा लागि पहिलो अनुभव थियो । तर यो समग्र यात्राको सबैभन्दा स्मरणीय सिकाइ पदयात्रा सकेको बेलुका बुटवलमा हुन गयो । बीसौं वर्ष बुटवल क्षेत्रमा बसेका एउटा प्रमुख पार्टीको एक भातृ संगठनका केन्द्रीयस्तरका नेताले कुरै कुरामा भने, खै, अब बुटवलमा बस्न सुरक्षित होलाजस्तो छैन । त्यो वाक्यबाट सुरु गरेर एक घण्टा जति त्यसै विषयमा हामीले बहस गर्र्‍यौं । त्यसले नेपालको सामाजिक मनोविज्ञानको महत्वपूर्ण पाटो बुझ्न मलाई सघायो । 

बुटवल असुरक्षित भन्ने कुरा व्यंग्य हो कि भनेर उनको अनुहार हेरेँ तर उनी गम्भीर थिए, भन्दै गए- अब बुटवल–भैरहवा चितवनजस्तो सुरक्षित रहेन । 

किन त?, मैले सोधेँ । 

अब यो क्षेत्रमा जति पनि अलि गरीब छन्, ती सबैको जमिन भारत सरकारले आफ्नो पैसा लगाएर किनाउँछ र उताबाट मान्छे ल्याएर राख्छ, अनि बिस्तारै हडप्छ, उनले यसरी भने मानौं यो अब हुने कुरा हैन विगतमा आफ्नै आँखा अगाडि भइसकेको कुरा हो । 

  •     नयाँ के कुरा भयो र, जसले गर्दा तपाइँ यो निस्कर्षमा पुग्नुभयो? 
  •     संघीयता र सीमांकनको विवाद यही भएर भएको त हो, नत्र पाल्पा, गुल्मी र अर्घाखाँचीलाई किन बुटवलसित छुट्याउन खोज्थे र?
  •     संविधान पढ्नुभएको त छ? त्यसमा केन्द्र, प्रदेश र स्थानीय निकायका के के अधिकार छन्? 

मैले प्रतिप्रश्न गरेँ र संविधानको अनलाइन भर्सन खोज्न मोबाइल तानेँ । तर उनको अनुहार हेरेपछि लाग्यो तथ्य अघि सार्नुको कुनै तुक छैन, हामी ‘वैकल्पिक सत्य’को अर्कै संसारमा विचरण गरिरहेका छौं । तथ्यको व्यर्थता बोध भएसँगै मैले संविधान खोज्ने कष्ट गरिनँ । 

संघीयता र स्वायत्त प्रदेश त्यसैलाई त चाहिएको हो, एक चोटि प्रदेश छुट्टिएपछि संविधानमा के लेखिएको छ कसले हेर्छ र? भारतले खोजेको जमिन, चुरे र पानी त हो, उनको आत्मविश्वासपूर्ण उत्तर । 

भैरहवा र बुटवलको चुरे र पानीसित के सम्बन्ध छ? हाम्रो संविधानअन्तर्गत बन्ने प्रदेशहरु के वास्तवमा स्वायत्त हुनेछन्? जंगलमा हराएको मानिसजस्तै भएको मैले उनको मनोविज्ञान अझै उधिन्न चाहेँ । 

यहाँसम्म आएपछि पेलिहाल्छन् नि अनि, संविधानमा जे लेखे पनि के मतलब हुन्छ र, उनको सोझो उत्तर थियो । 

बिलखबन्दमा परेको मैले फेरि सोधेँ- मानौं कि भारत जग्गा किन्न आयो रे, अनि यहाँका मान्छेले पुस्तौंदेखि बसेको थातथलो बेचेर उसलाई बाटो खोलिदिन्छन् त?

पैसा भएपछि यहाँ के हुँदैन, सबै काम हुन्छ, हामीले देखेकै कुरा हो । त्यसमाथि सिंगो लुम्बिनी क्षेत्र भारतको निशानामा छ, यो त छाड्दै छाड्दैन, उनको उत्तर । 

अमेरिकामा डोनाल्ड ट्रम्पले किन र कसरी चुनाव जिते भन्ने प्रश्नको आधा उत्तर मैले जेफ्री स्याक्सको ‘दि प्राइस अफ सिभिलाइजेसन’ नामक किताबमा भेटेको थिएँ- उदारवादी भनिने अमेरिकी संस्थापनको निरन्तर बेवास्ता र तिरस्कारका कारण जनसंख्याको ठूलो हिस्सामा राज्य संस्थापनप्रति चरम वितृष्णा पैदा भएको थियो र त्यसलाई भजाउन सक्ने जो कोहीले, जति खराब भए पनि राजनीतिको पासा पल्टाउन सक्ने स्थिति बनेको थियो । यो कुरा स्याक्सले २०१२ मा प्रकाशित पुस्तकमा मज्जाले व्याख्या गरेका थिए । 

तर ट्रम्पलाई जिताउन त्यो मात्र काफी थिएन । धेरै मान्छेले साँचो ठान्ने झुठ र दिग्भ्रमको सिंगो संसार सिर्जना गरेर ट्रम्पले अमेरिकी लोकतन्त्रको धज्जी उडाएका थिए, उडाइरहेका छन् । यहाँ मेरै सामू ट्रम्पीय विश्वका ‘वैकल्पिक सत्य’हरु एकपछि अर्को आउँदै थिए र ट्रम्पको निर्वाचनबारे मैले बुझ्न बाँकी कुरा यहाँ आएर बुझेजस्तो लाग्यो । 

वार्तालापको अन्तसम्म पनि मैले यो व्यंग्य हो कि भनेर उनको मन चोर्ने कोशिस गरेँ तर अँहँ, त्यो व्यंग्य थिएन ।

जीवनमा मैले कमैपल्ट यस्तो अनुभव गरेको छु । ती व्यक्तिको मनोविज्ञानबारे मेरो विश्लेषणचाहिँ के रह्यो भने, ५ नं प्रदेशको सीमा फेर्ने संविधान संशोधन प्रस्ताव विरुद्ध भएको आन्दोलनमा मानिसहरुलाई ध्रुवीकृत गरेर सडकमा उतार्न जुन कथानक बनाएर आतंक सृजना गरियो, कालान्तरमा त्यो सिर्जना गर्नेहरु आफैंले पनि त्यसलाई पत्याउन थालेछन् । त्यसबाहेक सो आन्दोलनको समस्या के रहेको देखिन्छ भने आन्दोलनको अवधि, जनधनको क्षति र अर्थतन्त्रमाथिको मार जति बढ्दै गयो, आन्दोलनको औचित्यका लागि त्यति नै उग्र र क्रान्तिकारी एजेण्डा उराल्दै जानुपर्ने बाध्यता भयो । 

अर्थात्, वाण हानिसकेपछि निशाना खोज्ने क्रममा आन्दोलनको औचित्य अनेक तरिकाले खोज्न थालियो । जबकि आन्दोलनकै बेला सो मुद्दा अदालतमा विचाराधीन थियो र संसदमा एक तिहाइ पुर्‍याएर त्यसलाई असफल पार्ने विकल्प आन्दोलनरत पक्षसित मौजुद थियो । अझै पनि उक्त संशोधन प्रस्ताव के हुनेछ भन्ने टुंगो छैन । त्यसपछिको नियत कति राष्ट्रवादी वा राष्ट्रघाती थियो भन्ने प्रश्नलाई मैले यहाँ छोएकै छैन तर राजनीतिक दाउपेचमा त्यसलाई राष्ट्रघाती सिद्ध गर्न सिर्जना गरिएको विषाक्त सामाजिक र मनोवैज्ञानिक वातावरण त्यस क्षेत्रमा अझै कायम रहेछ । 

नेपालमा भारतका अनेक जायज र नाजायज स्वार्थ रहेको, बेलाबेलामा उसले पेल्ने गरेको, आफूले चाहेजस्तो सरकार बनाउन मात्र नभई काठमाडौंमा हुने अनेक ठूला निर्णय आफ्नो स्वार्थअनुरुप गराउन चलखेल गर्ने गरेको कुरा साँचो हो । मधेसवादी मात्र नभई नेपालका सबैजसो राजनीतिक पार्टीहरुसित उसको देखिने एक खालको र नदेखिने अर्कै खालको सम्बन्ध भएको पनि साँचो हो । त्यो समस्या नेपालको मात्र नभएर ठूला र बलिया छिमेकीसित जोडिएर बस्ने बाध्यता भएका विश्वभरका धेरै साना मुलुकहरुको हो । त्यस्ता मुलुकहरुमध्ये कतिले छिमेकीको बलमिच्याइँको जवाफमा आफूलाई समृद्ध र तन्दुरुस्त बनाएर डटेर सम्मानपूर्वक बाँचेका छन् भने अरु कति पिछडिइरहेर, आत्मसम्मान गुमाएर परनिर्भरता र गरिबीमा बाँचिरहेका छन् । 

समग्रमा नेपाली समाजको कुरा गर्दा त भारतको त्यस खालको प्रभाव जटिल यथार्थको एउटा पाटो मात्र हो । त्यसबाहेक नेपालमा भारत के चाहन्छ भन्ने कुरामा ती व्यक्तिको संशय धेरै हदसम्म जायज हुँदाहुँदै उनीबाट मुखरित हुन पुगेको अखण्ड ५ नं आन्दोलनको समस्या के थियो भने, भारतीय अतिक्रमणको त्रासलाई फरक समुदायप्रति अविश्वासमा लगेर छुट्याउनै नमिल्ने गरी मिसाइएको थियो । 

मलाई त्यस खालको चिन्तनमा चित्त नबुझ्ने व्यवहारिक कारण के पनि भने, म आफैं भैरहवामा ७ वर्ष बिताएर त्यो ठाउँ छाडेको ५ वर्ष मात्र भएको छ । पहिलो मधेस आन्दोलनका बेला मध्ये तराइमा माओवादीहरु आन्दोलनकारीको निशानामा परिरहँदा भैरहवामा माओवादीको जुलुसमा सबैजसो मधेसीहरु नै भएको मैले देखेको थिएँ । दोस्रो आन्दोलनसम्म आउँदा अवस्था फेरिए पनि समुदायहरुबीच तिक्तता मध्य तराइमा जति कहिल्यै पुगेन । संविधान जारी हुने बेलाको आन्दोलनमा चाहिं अपवादहरु देखिए पनि त्यो मूलतः राज्य भर्सेस मधेस द्वन्द्वमा नेपाल भर्सेस भारत द्वन्द्व मिसिन पुगेको थियो, सम्प्रदायगत टकराव र तिक्तता कमै थियो । पहाडमा हिंड्नेजस्तै तराइमा साइकल चलाउने मेरो सोख थियो त्यसैले भैरहवा वरपर टाढाको देहातसम्म साइकल चलाएर घुम्थें । बर्खा याममा भारतले सीमापारि बाटोका रुपमा बनाएको बाँधले नेपालपट्टि महिनौं डुबान भएर धानको रोपो कुहेको अनि भारतपट्टि विशाल फाँटमा नियन्त्रित रुपमा सिंचाइ भएर लहलह धान फलेको मैले देखेको छु । त्यो सब पीडा नेपाली अर्थात मधेसीहरुले भोगेको पनि मैले मेरै आँखाले देखेको छु । पहाडीहरुले आफैं छिमेकीहरुलाई ‘मधेसी’ र ‘नेपाली’ भनेर वर्गीकरण गरेको पनि देखे–सुनेको छु ।

बुटवलमा बसेको मानिसले भारतको डिजाइनअनुसार गरीब मधेसीहरुले हजारौंको संख्यामा जग्गा बेचेर भारतीयहरुलाई आउन बाटो खोलिदिन्छन् र देश टुक्रिन्छ, त्यसैले पाँच नम्बर प्रदेश टुक््रयाउनबाट रोक्न आन्दोलन गरौं भन्ने आफैंमा विचित्र तर्क थियो त्यो । आफ्नै देशका नागरिकहरुलाई त्यति अविश्वास गरेकै कारण होला, नेपालको भविष्यबारे उनमा एक किसिमको अत्यास भेटिन्थ्यो । देशको भविष्यबारे अत्यास मलाई पनि छ तर म चाहिं फरक समुदायका मानिसले धोका देलान् कि भनेर हैन हाम्र दलहरुको नालायकी र हाम्रै समुदायका मानिसहरुको यस्तो चिन्तन पद्धतिले देश अन्तहीन अस्थिरता र द्वन्द्वमा फस्ला कि भनेर चिन्तित छु । 

त्यसबाहेक, फरक समुदायका नागरिकहरु भारतसित मिलेर देश टुक््रयाउन उद्यत छन् भन्ने उनको धारणा आफैंले आफैंलाई निषेध वा पराजित गर्ने, ‘सेल्फ–डिफिटिङ’ थियो । भारतले चुरेसम्मको पानी र जमिन ताक्ने अनि दशकौंदेखि भारतीय बाँधका कारण डुबान र गरिबी सहेर सीमामा बसेका मधेसी ‘प्राकृतिक रुपमै’ भारतीय अतिक्रमणको गोटी बन्ने निश्चित छ भने त सीमित अधिकारसहित बन्न लागेका प्रदेशको सीमांकनको मुद्दालाई लिएर हप्तौंसम्म देशको एउटा भुभागलाई नै बन्द गर्नुको के तुक थियो? सिंगो विश्वले मान्यता दिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा वास्तवमै त्यति तरल छ भने नेपालभित्रका प्रदेशबीच खिचिएको सीमाले चाहिं के भारतलाई परै राख्ला?

यस अगाडि मलाई यस्तै अनुभव भएको थियो २०६९ सालमा । पहिलो संविधान सभा भंग हुने बेला अखण्ड सुदुर पश्चिमको आन्दोलन उत्कर्षमा थियो । बच्चाहरुले समेत अर्को समुदायविरुद्ध सुन्नै नसकिने अपशब्द प्रयोग गरेर हिंसाको वकालत गरेको सुन्दा मेरो आङमा काँडा उम्रन्थे तर त्यहाँका मानिसहरुका लागि त्यो सामान्य दैनिकी भइसकेको थियो । त्यो अवस्थाको न्यायोचित समाधान नखोज्दा २०७२ सालसम्म आउँदा अवस्था कति बिग्य्रो जगजाहेरै छ । अझै पनि कैलाली र कञ्चनपुरमा त्यो घाउ आलै छ, भलै हामी त्यसलाई बिर्सिसकेको वहाना गरौं । 

बुटवल बसाइको नमिठो अनुभवपछि घर फर्किनु अघि म गाडीमा भैरहवा पुगें । त्यहाँ कार्यरत अर्का एक जना दाइको बन्दै गरेको घर निर्माणको अन्तिम चरणमा थियो । मैले देश टुक्रिने र भैरहवा–बुटवल असुरक्षित हुने किस्सा सुनाएँ, दाइले त्यसलाई गम्भीरताका साथ लिन छाडेर अट्टहास छाडेर हाँसेपछि लाग्यो अखण्ड ५ नं आन्दोलनको ट्रम्पीय कथानकको प्रभाव भैरहवामा कम रहेछ । 

सुरक्षाको अनुभुत गर्नु वा नगर्नु बोलीले भन्दा पनि व्यवहारले देखाउने कुरा हो । दाइको बन्दै गरेको घर भैरहवा बजारमै पहाडीहरुको कलोनीमा रहेछ तर त्यो पटक्कै अनौठो हैन । चितवनमा समेत धेरै जसो ठाउँमा बाहुनक्षेत्री र जनजातिहरु अलग अलग टोल र कलोनी बनाएर बसेको तथा नयाँ मान्छे आउँदा सजातीय कलोनी हेरेर आउने गरेको देखिन्छ । त्यसलाई फरक समुदायहरुबीच कायम दुरी वा विद्वेष भन्दा पनि सांस्कृतिक समरुपताका कारण दैनिक जीवन चलाउन सहज हुने हिसाबले हेर्दा उचित हुन्छ । 

भैरहवाबाट बुटवलतिर फर्किनुको सट्टा म परासीको लोकल बस चढेर भूमही निस्केर त्यहीँबाट चितवनतिर लाग्ने विचार गरेँ । आफू छाडेको अलि वर्ष भएकाले ऊबेला कायम फरक समुदायहरुबीचको सम्बन्ध र सद्भाव वास्तवमै कम भयो कि भनेर म सचेत भएर हेरिरहेको थिएँ । अँहँ, केही बदलिएको थिएन । बसको चालक मधेसी र खलासी पहाडी थिए, गाडीमा भोजपुरी र नेपाली बराबर जस्तो बोलिन्थ्यो तर त्यसले एक आपसमा संशय वा तिक्तता हैन खाली मिठासपूर्ण विविधता ल्याएको मैले महसुस गरेँ । त्यो किन पनि होला भने अर्ध–लयमा बोलिने भोजपुरी मलाई सांगितिक भाषा जस्तो लाग्छ । अझै पनि अनौपचारिक बोलीचालीमा मैले ‘बबुवा’, ‘मर्दे’ जस्ता शब्द र ‘का हाल बा’ जस्ता वाक्यांश प्रयोग गर्छु । गाडीमा रहेका दुवै समुदायका मान्छेको गुनासो एउटै थियो- गाडी ठाउँ ठाउँ विना कारण आधा घण्टा जति रोकिएर समय बर्बाद गरिदिन्छ । 

त्यो गाडीको अनुभवलाई लिएर नेपालमा फरक समुदाय र भाषाहरुबीच समस्या छैन भनेर सरलीकरण गर्नु हुँदैन तर के सत्य हो भने मेरो ठाउँमा नेपाली भाषा र दौरा सुरुवाललाई राष्ट्रियताको मानक मान्ने अनि भोजपुरी बोल्ने र धोती लगाउनेहरुलाई राष्ट्रियताविरोधी सम्झने कोही मानिस हुन्थ्यो भने उसलाई त्यो यात्रामा उकुसमुकुस हुन्थ्यो । मलाई जहाँ भाषाको मिठास र समुदायहरुबीचको आत्मीयता नजर आयो, उसलाई फरक भाषाको तिक्तता र फरक नश्लको अतिक्रमण नजर आउँथ्यो । 

हाम्रो देशमा अहिले अनेक समस्या छन् तर एउटा प्रमुख समस्या भनेको एउटा समुदायमा रहेका र आफूले मात्र राष्ट्रियता बचाउने ग्यारेन्टी लिएको ठान्ने मानिसहरुको असाध्य साँगुरो मानिसकता र अर्को समुदायका मानिसलाई हेर्ने दोषी नजर हो । यो निस्कर्ष निकाल्दै पदयात्रा सुरु गरेको छैठौं दिनमा प्युठानबाट आएको माइक्रोबस चढेर म चितवन पुगेँ । 

प्रकाशित: फाल्गुन ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार