सूचना प्रविधि

सीसी क्यामरा प्रयोगविहीन

- कान्तिपुर संवाददाता , दमक

फाल्गुन ३, २०७३-नगरमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा अलपत्र बनेका छन् । शान्ति सुरक्षामा सहयोग पुग्ने उद्देश्यले जडान गरिएका सीसी क्यामेरा मर्मत सम्भार अभावमा प्रयोगविहीन बनेका हुन् । 

विभिन्न ८ स्थानमा जडान गरिएका सीसी क्यामेरा चल्न छाडेको ८ महिनाभन्दा बढी भइसकेको छ । बिग्रिएका क्यामेरा कसले मर्मत गर्ने ? स्पष्ट नहुँदा १० लाखभन्दा बढीको लगानी बालुवामा पानी भएको छ । दमक उद्योग वाणिज्य संघको पहलमा ०७१ को अन्त्यतिर उक्त क्यामेरा जडान गरिएको थियो । 

नगरपालिकाको ५ लाख, वाणिज्य संघको ३ लाख ५० र सीसी क्यामेरा जडान समन्वय समितिको २ लाख लागतमा राखिएको हो । जडान गरेको एक वर्षसम्म जेनतेन चले पनि त्यसपछि सबै चल्न बन्द भएका छन् । सबैजसो क्यामेरा बिग्रिएको लामो समय बित्दा पनि सरोकारवाला निकाय बेवास्ता रहेको स्थानीयले बताए ।

वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल सीसी क्यामेरा संरक्षण जिम्मा नगरपालिकाको भएको बताउँछन् । उनले यसप्रति नगरपालिकाले आवश्यक चासो नदेखाउँदा उपयोग गर्न नपाएको बताए । क्यामेरा जडान ठेक्का पाएको अनलाइन कम्प्युटर सप्लायर्सको कमजोरीका कारण पनि छिट्टै चल्न छाडेको ढकालको आरोप छ । उनले सप्लायर्सले कमसल जडान गरिदिँदा छिट्टै बिग्रिएको दाबी गरे । ढकालले बिग्रिएको थाहा पाएलगत्तै आफूले तत्काल बनाउन भने पनि सप्लायर्सले अहिलेसम्म बेवास्ता गर्दा प्रयोगविहीन बनेको जनाए ।

नगरपालिका समाज कल्याण शाखा प्रमुख डम्बर बराल भने सीसी क्यामेरा संरक्षणको जिम्मा वाणिज्य संघकै भएको बताउँछन् । उनले भने, ‘यो कार्यक्रम वाणिज्य संघले नै ल्याएको हो । हामीले केही सहयोग मात्र गरेका हौं ।’ बरालले जडानपछिको मर्मत सम्भारबारे नगरपालिकासँग कुनै सम्झौता नभएको जानकारी दिए । 

प्रकाशित: फाल्गुन ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार