ब्लग

लभ इन कश्मीर

- विष्णु पोखरेल
दुई वर्षे बसाइमा युनिभर्सिटी र बाहिरसमेत धेरै “कश्मीरी” साथी बन्न पुगे । त्यसमध्ये केही “कश्मीरी कली” समेत थिए । उनीहरूसँगको संगत र अन्तरंग भलाकुसारीले तिनका प्रेम सम्बन्धबारे बुझ्ने मौका पाइयो ।

फाल्गुन ३, २०७३- बिदा हुने दिनको चिसो बिहानी । कसलाई पो बेड छाड्ने मन हुन्छ र ? घामका किरण फैलँदै गर्दा ज्यान गुडुल्की पर्दै जान्छ र खुम्चन थाल्छ– सिरक । एक वर्षअघि ‘फेब्रुअरी फोट्टिन’ अर्थात् भ्यालेन्टाइन डेको बिहानी म चिसोलाई ‘च्यालेन्ज’ गर्दै सिरकमा गुटमुटिएँ । मीठो ‘मोर्निङ स्लिप’ बाट त्यसबेला झसंग भएँ– जब साईसाई र सुईसुईको आवाज झ्यालको सिसा छेडी भित्र छिर्‍यो । लाग्यो– ‘आज फेरि प्रोटेस्ट सुरु भएछ ।’ 

म सुतिरहेको थिएँ कश्मीर युनिभर्सिटीस्थित आईकेएस होस्टलको रुममा । ‘इन्डियन एड्मनिस्ट्रेड’ कश्मीरमा करिब दुई वर्षको ‘स्टडी’ सकी म ‘डिजर्टेसन’ बुझाउने तयारीमा थिएँ । केही दिनदेखिको ‘स्नोफल’ ले वरपरका डाँडाहरू सेताम्मे थिए । राति ‘माइनस’ मा झरेको ‘टेम्पेरेचर’ को पारो उक्लिसकेको थिएन, होहल्ला र गुनुमुनुको पारो भने माथि चढिहरेकै सुनिन्थ्यो । 

‘सन्डे लिभ’ को आनन्दमा म ९ बजेतिर मात्र उठें । बाहिरको कल्याङकुलुङ जारी नै थियो । पर्दा हटाएर झ्यालबाट चिहाएँ । होस्टल अगाडिको ग्राउन्ड र सडक छेउको पर्खालमा केही जोडी युवायुवती बसिरहेका थिए । जोडी बाँधेर सडकमा हिँड्नेहरू पनि देखिए । अक्सर भारतविरोधी प्रदर्शन भइरहने कश्मीरमा त्यसदिन भेला भएका युवायुवतीचाहिँ एकदम फरक मुडमा देखिए– प्रेममय । 

‘सन्डे इज स्याड डे,’ सार्क मुलुकबाट भेला भएका हामी साथी आपसमा भन्ने गथ्र्यौं । त्यसको कारण थियो–बिदाका दिन युनिभर्सिटीमा छाउने सन्नाटा । 

‘इट्स लाइक अ ग्रेभयार्ड,’ बंगालादेशी साथी जकरिया भन्ने गथ्र्यो । ‘नो जकरिया, थिंक पोजेटिभ्ली, इट्स लाइक मेडिटेसन सेन्टर,’ फिस्स हाँस्दै म भन्थें । अचम्म, आज ‘सन्डे’ भएर पनि पहिले जस्तो सन्नाटा थिएन । युनिभर्सिटीमा चहलपहल थियो– त्यो पनि युवायुवतीको ।

मैले त्यस दिन भ्यालेन्टाइन डे हो भन्ने भुलिरहेको थिएँ । उठेर चियाको चुस्की लिँदै मोबाइलमै ट्वीटर खोलें । ट्वीटरमा भ्यालेन्टाइन डेको शुभकामना सन्देश देखेपछि बल्ल बुझें, युनिभर्सिटी भित्र ‘सन्डे’ मा पनि किन चहलपहल छ भनेर । ‘भ्यालेन्टाइन डे’ भन्ने थाहा पाएपछि बाहिर ननिस्किरहन सकिनँ । युनिभर्सिटी परिसर एक फन्को लाउँदा ठाउँठाउँमा युवायुवती जोडी बसेका देखिए । तिनलाई पुलिस आएर घरिघरि उठाउँथ्यो । फेरि जोडी ठाउँ सर्दै स्पर्शको धुनी जगाइहाल्थे । कठोर मुस्लिम समाज र द्वन्द्वको रापबीच पुलिसलाई त्यसरी अल्लारे दिवानाहरू एक ठाउँ बसेको खतरा सूचक हुने नै भयो । तर प्रेम र प्रणयको ‘फायर’ को अगाडि कसको के लाग्छ ? चलिरह्यो पुलिस र प्रेमीहरूको लुकामारी । 
...

‘नेचुरल ब्युटी’ का लागि कश्मीर जति ‘फेमस’ छ, उत्तिकै चर्चित छ सुन्दर युवती अनि सुगठित युवकका लागि । कश्मीरबाट फर्केको भन्नेबित्तिकै ‘ओहो, कश्मीर की कली’ भन्दै आँखा झिम्क्याएर जिस्काउनेहरू हुन्छन् । तर सुरक्षा घेरा, काँडेदार र कफ्र्युमा जेलिएको कश्मीरमा प्रेम गर्न पनि कहाँ सजिलो छ र ? एकातिर बिहान घरबाट निस्किएको ज्यान बेलुका सकुशल फर्कला, नफर्कलाको चिन्ता र अर्कोतिर कडा ‘इस्लामिक अनुशासन’ लाई छल्दै गरिने प्रेम चुनौतीपूर्ण हुने त भइहाल्यो, रोमाञ्चकसमेत बन्दोरहेछ । सन् १९९० ताका सल्किएको हिंसात्मक आन्दोलनको राप र ‘प्योरेटेरियन इस्लामिक ग्रुप’ को बढ्दो प्रभावले कश्मीरी समाजमा धेरै कुरा सहज छैनन् । जहाँ सामान्य दैनिकी सहज हुँदैन, त्यहाँ लुकेर गाँसिने माया पिरती सजिलो हुने कुरै भएन । 

‘तुमको पता नही, मेरे बापको पता चलेगा तो कुर्बान करदेङ्गे,’ कश्मीरी प्रेम सधैं खुकुरीको धारमा हुन्छ भन्ने बुझाउन एक दिन सँगै पढ्ने एउटी साथीले भनिन्, ‘वि चिट फादर, ब्रदर एन्ड इभन मदर फर आवर लभ ।’ उनी आफ्नै घर नजिकैको युवकसँग प्रेम गर्थिन् । हरेक दिन जस्तो ‘फस्ट क्लास’ पछि ‘कलेज बंक’ गरेर ‘ब्वाई फ्रेन्ड’ सँग डेटिङ जान्थिन्, अनि ‘लास्ट क्लास’ सकिने बेला युनिभर्सिटी आएर घर फर्कन्थी । ‘डेटिङबाट सीधै घर नगएर किन युनिभर्सिटीमा ?’ कहिलेकाहीँ जिस्क्याउँदा भन्थिन्, ‘हम् अच्छे बच्चे है, युनिभर्सिटी आते है, पढाइ करते है, फिर घर जाते है, बीचमे क्या कर्ते है, किसको पता ?’
कडा सुरक्षा घेराको तारबार होस् या एकदमै कडा पारिवारिक अनुशासन, प्रेम छेकेर छेकिने रहेनछ भने उदाहण थियो हाम्रो क्लास रुम । एउटै क्लासमा पढ्ने हामी २२ जनामध्ये ८ गल्र्स र ५ ब्वाइज गरी १३ जना कश्मीरी थिए । तीमध्ये सात गल्र्स र तीन ब्वाइज रिलेसनसिपमा थिए । एउटा सानो क्लास रुमको तथ्यांकलाई आधार मान्दा कश्मीरको ठूलो युवा जमात् लुकिछिपी नै सही प्रेमलाई उजागर गरिरहेको देखिन्थ्यो । 

दुई वर्षे बसाइमा युनिभर्सिटी र बाहिरसमेत धेरै ‘कश्मीरी’ साथी बन्न पुगे । त्यसमध्ये केही ‘कश्मीरी कली’ समेत थिए । उनीहरूसँगको संगत र अन्तरंग भलाकुसारीले तिनका प्रेम सम्बन्धबारे बुझ्ने मौका पाइयो । युवाहरूलाई जत्ति युवतीलाई ‘फ्रिडम’ नभए पनि कश्मीरमा छोरीलाई कम्तीमा मास्टर्स लेभल पढाएर मात्र बिहे गरिदिने चलन छ । जसले दिएको छ– धेरै युवतीलाई कडा अनुशासनभित्र पनि प्रेमको गाँठो कस्ने अवसर । पितृसत्तात्मक समाजमा युवाहरूलाई त यो अवसर पाउन कुनै मुस्किलको काम भएन । 

बन्द समाजमा बाँधिएका युवतीहरू युनिभर्सिटी आउन पाउँदा ‘फ्रिडम’ महसुस गर्छन् भने होस्टल बस्न पाउँदा ‘हाइपर फ्रिडम’ । होस्टल बस्ने युवतीको प्रेम अरूको तुलनामा केही उन्मुक्त हुने देखिन्छ । मुस्लिम बहुल कश्मीरी समाजमा युवतीहरू केस नछोपी हिँड्न रुचाउँदैनन् । अग्ला र गोरा युवतीहरू हेजाव (कपाल छोप्ने स्कार्फ) मा पनि सुन्दर देखिन्छन् । काठमाडौंमा जस्तो समरका बेला टिसर्ट–पाइन्ट वा वानपिसमा कमै देखिने कश्मीरी युवतीहरू प्राय: अभया (कालो गाउन जस्तो देखिने ड्रेस) मा देखिन्छन् । लङ कुर्ता र प्लाजु पनि उनीहरूले मन पराउने समर गार्मेन्ट हो ।

विन्टरमा भने ओभरकोटसँग जिन्स र बुट लगाउने युवती धेरै हुन्छन् । चुरीदार कुर्ता सलवार र बुट एवं फेरन (स्थानीय पहिरन) र जिन्स पनि उनीहरूको फेभरेट विन्टर ड्रेस हो । अधिकांश कश्मीरी युवती यी ड्रेसमा मात्र भने हुँदैनन्, उनीहरू नोजपिस (आँखामुनि नाक र मुख छोपेर कानको पछाडि लगी बाँध्ने कालो कपडा) ले आफ्नो अनुहारसमेत ढाक्छन् । समूहमा हिँडेका बेला पूरा अनुहार नदेखिने भए पनि गाजलु आँखाले चिहाउँदै केटालाई आँखा झिम्क्याई दिन भने उनीहरू पछि पर्दैनन् । 

१९९० को हिंसात्मक विद्रोहपछि कश्मीर भ्यालीमा फिल्म हल छैनन् । काठमाडौंका जस्ता आधुनिक सपिङ मलको मज्जा लिन सकिँदैन । यहाँभन्दा फरकचाहिँ त्यहाँ टोलैपिच्छे ठूला पार्कहरू छन्, बगैंचा र ताल छन् । र, तिनै स्थानहरू भरिने गर्छन्– प्रेमिल जोडीहरूले । हामीकहाँ बिदाका दिन जोडीहरू घुम्न जान्छन्, कश्मीरमा भने ठीक उल्टो बिदाका दिन घर बस्छन्, पढाइ हुने दिन ‘कलेज बंक’ गरेर डेटिङ जान्छन् । ‘किन बिदाका दिन डेटिङ नगएको ?’ स्थानीय अखबारमा काम गर्ने गर्लफ्रेन्डधारी एक पत्रकार साथी रियाजलाई सोधे, ‘आवर सोसाइटी इज भेरी स्ट्रिक फर गल्र्स, दे क्यान्ट म्यानेज टु कम आउट फ्रम होम,’ उसले भन्यो । लभ परेपछि प्रेमिकाबिना त डेटिङ हुने कुरै भएन, अनि कसरी जानु बिदाको दिन ? 

कश्मीरी बन्द समाजमा प्रेमभित्रको सबैभन्दा रोचक पाटो हो– प्रेमी–प्रेमिकाबीच हुने सम्पर्क र वार्तालाप । घर परिवारदेखि समाजसम्म लुक्नुपर्ने भएपछि उनीहरूबीच सहजै मोबाइलमा समेत वार्तालाप हुन कठिन हुन्छ । उनीहरूकै भनाइमा युवतीका बाआमा वा दाजुभाइले नियमित जस्तो मोबाइल ‘चेक’ गर्ने गर्छन् । त्यसलाई छल्न, युवतीहरूले पनि जुक्ति निकालेका छन्– प्रेमीलाई नै सिमकार्ड र फोन किनाउने, जसलाई लुकाएर बोक्न सकियोस् । ‘वि क्यारी वान लिगल एन्ड वान इलिगल फोन,’ ‘छोटा लन्डन’ भनिने कश्मीरको सोपुरकी एक साथी भन्थी, ‘जिस नम्बर बापको पता हो ओ लिगल है, जो मेरे वो...को पता है, ओ इलिगल है ।’ 

प्राय: सबै युवायुवती सोसल मिडिया विशेषगरी फेसबुकमा एक्टिभ भए पनि कमैले मात्र प्रोफाइलमा आफ्नो तस्बिर राख्छन् । आफ्नो तस्बिर दुरुपयोग नहोस् भनेर यस्तो गरेको उनीहरूको तर्क हुने गर्छ । अधिकांश युवतीको फेसबुक भने ब्वाई फ्रेन्डको कब्जामा नै हुन्छ । उनीहरूबीच केही गरी मनमुटाव भयो भने फेसबुकको पासवर्ड चेन्ज गरिदिएर दु:ख दिने ब्वाई फ्रेन्ड पनि हुन्छन् । ‘विष्णु क्यान यु हेल्प मी ?’ एक दिन एउटी क्लासमेटले भनी । 
‘ह्वाट टाइप अफ हेल्प ?’

‘प्लिज हेल्प मी टु चेन्ज माई फेसबुक एन्ड जिमेल पासवर्ड ।’

‘ह्वाई ?’

‘मे बी आई एम गोइङ टु फाइट विथ माई बीएफ टुनाइट । ही मे चेन्ज माई पासवर्ड, सो आई वान्ट टु चेन्ज इट बिफोर हिम ।’ 

किन पासवर्ड दिएको भन्दा उसको सिम्पल रिप्लाई थियो– ‘विथवाउट गिभिङ पासवर्ड नो कश्मीरी ब्वाई ट्रस्ट अ गर्ल ।’ यो उसको मात्र समस्या थिएन । धेरै युवतीहरू ब्रेकअप भएपछि सबैभन्दा बढी चिन्तित हुने कारण थियो– एक्स बीएफले सोसल मिडियाको दुरुपयोग नगरिदियोस् । भारतमै धेरै चलाइने ह्वाट्सएपमा भने कश्मीरी युवायुवती दुवै झुन्डिने गर्छन् । उनीहरूको मुख्य सेयरिङ र केयरिङ आदानप्रदान हुने भनेकै ह्वाट्सएप मार्फत नै हो । 

क्लासको बीचमा हुने ब्रेकमा युनिभर्सिटीभित्र देखिने एउटा रमाइलो दृश्य हो– जोडीहरूको लन्च । क्लास आउँदा सबैले लन्चबक्स बोकेर ल्याउँछन् । जोडी जोडी बनेर लन्च खानेहरूले चउर ढाकेका हुन्छन् । द्वन्द्वले मनोरञ्जनका लागि जाने ठाउँहरूसमेत सीमित पारिदिएको कश्मीरमा युवायुवतीको डेटिङ तरिका पनि अन्यत्रभन्दा फरक छ । कलेज वा युनिभर्सिटी लागेका दिन ‘क्लास बंक’ गरेर युवायुवती डेटिङमा निस्कन्छन् । धेरैको कार भइहाल्छ, नहुनेले पनि साथीको कार मागेर लान्छन् । रेस्टुरेन्टबाट खानेकुरा किन्छन् र कारमा एकान्त स्थानतर्फ घुम्न जान्छन् । धेरै युवतीको अनुहार छोपिएको हुँदा उनीहरू कारमै दुई–चार घण्टा घुमेर युनिभर्सिटी वा कलेज फर्कन्छन् । 

कारमा सफर गर्दै गरिने डेटिङबाहेक युवायुवतीहरू पार्कमा जाने, दल लेकमा गएर बोटिङ गर्ने, रेस्टुरेन्टमा बसेर घण्टौं गफिने तथा क्याफे कफी डे (सीसीडी) जस्ता कफी सपमा बसेर रमाउनेसमेत गर्छन् । श्रीनगरमा प्रेमी–प्रेमिकाका लागि यस्ता घुम्ने स्थान हुन्– निगिन, सालिमार, निसाद र चिनार पार्क । 

मुस्लिम समुदायमा आफ्नै काका, मामा, फुपू, सानिमालगायतका छोराछोरीबीच वैवाहिक सम्बन्ध हुने भएकाले धेरैको परिवारले सानैदेखि तेरो जोडी यो हो भनेर भनिदिएका हुन्छन् । बन्द समाजमा परिवारका सदस्यले सानैदेखि जोडी मिलाउने कोसिस गरे पनि अहिलेको युवा जमात् स्वतन्त्रता चाहन्छ । आफूले रोजेको जोडीसँगै जीवन बिताउन चाहन्छ । त्यसले धेरैको घरमा मनमुटाव ल्याउने गर्छ । रियाज आफैं त्यसको ‘भिक्टिम’ हो । ऊ आफैंसँग काम गर्ने पत्रकार केटीसँग रिलेसनसिपमा छ । उसको परिवारले भने सानैदेखि उसकी सानीआमाकी छोरीलाई जोडी बाँधिदिने सपना सजाएर राखेको छ । उसकी प्रेमिकाका लागि पनि परिवारले उनकै ‘कजन’ लाई जोडी बाँधिदिने बताइरहेको छ । 

यो सम्बन्धबारे रियाजकी प्रेमिकाकी आमालाई भने थाहा छ । उनी छोरीको खुसीका लागि रियाजलाई ज्वाइँ बनाउन चाहन्छिन् । उनले घरका अरू सदस्यलाई मनाउन सक्छिन् वा सक्दिनन्, त्यसमै उनीहरूको विवाहको भविष्य जोडिएको छ । बन्द समाज भएकाले कश्मीरमा केटीको घरमा नाता पर्नेबाहेकका केटा र केटाको घरमा केटी जान पाउँदैनन् । आफ्ना प्रेमी–प्रेमिका बिरामी भएका बेला वा अरू कुनै अप्ठ्यारो परेका बेलासमेत उनीहरू मन बाँधेर बस्न बाध्य हुन्छन् । हाम्रै युनिभर्सिटीमा पढ्ने एउटी साथीको प्रेमीकी आमा खसिन् । शोकको घडीमा उनी प्रेमीको घर जान चाहन्थिन् । तर, केटाका घरमा जान न उनको परिवारले अनुमति दिन्छ, न केटी आएको उनको प्रेमीकै घरमा रुचाइन्छ । 

कश्मीरी प्रेम जोडीका लागि अर्को तगारो हो ‘सेक्ट’ र ‘बिरादरी’ । दर्शनका हिसाबले इस्लाममा कुनै जात वा ‘सेक्ट’ छैन । व्यावहारिक हिसाबले भने मुसलमान समुदाय सिया र सुन्नी ‘सेक्ट’ मा विभाजित छ । सियाको सुन्नीसँग वा सुन्नीको सियासँग लभ पर्‍यो भने कश्मीर नै छाडेर हिँडेमा मात्र विवाह सम्भव छ । नत्र परिवारले कुनै पनि हालतमा स्विकार्दैन । नस्विकार्ने मात्र होइन, भेटेसम्म छुटाउन नै खोज्छ । 

‘सेक्ट’ पछिको अर्को अप्ठ्यारो हो– ‘बिरादरी’ । कश्मीरको ‘बिरादरी’ भनेको हिन्दु समुदायको जात नै हो । कश्मीरका मुसलमानहरू पहिले हिन्दुबाट परिवर्तन भएर मुस्लिम बनेका हुन् । धार्मिक हिसाबले उनीहरू मुस्लिम बने पनि उनीहरूको थर र जात भने हिन्दुकै कायम छ । थरका आधारमा पहिलेको जातीय प्रणाली त्यहाँ जारी नै छ । कश्मीरमा सइदले पिर वा भुखारीसँग वैवाहिक सम्बन्ध राख्न चाहेनन् भने वानीले भाटसँग वा साहले अरूसँग पनि वैवाहिक सम्बन्ध राख्दैनन् । प्रेमी– प्रेमिकाले जतिसुकै बल गरून्, सेक्ट र बिरादरी नमिले विवाह सम्भव छैन । 

‘हामी लामो समयदेखि मुस्लिम त भयांै, तर सांस्कृतिक रूपमा हिन्दुबाट रूपान्तरण हुन सकेका छैनौं,’ कश्मीर युनिभर्सिटीमा जेन्डर स्टडिजकी उपप्राध्यापक हुमैरा सौकत भन्ने गर्छिन्, ‘अरू बेला कतै नदेखिने जातीय विभाजन विवाहका बेला भने देखिन्छ, त्यसैले अधिकांश प्रेम विवाहमा परिणत हुनै सक्दैनन् ।’ 
सौकतले भनेझैं कश्मीरमा प्रेम सफल भएर विवाहमा परिणत हुने संख्या न्यून भए पनि गोला, बारुद, कफ्र्यु, हिंसा र कडा धार्मिक एवं पारिवारिक नियमलाई तोड्दै युवायुवतीले आफ्नो प्रेम यात्रालाई जारी राखेका छन् । 

प्रकाशित: फाल्गुन ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार