ब्लग

के. आई सिंह पुलमुनि दुई 'भ्यालेन्टाइन'

- सावित्री गौतम, काठमाडौं

फाल्गुन २, २०७३- परिवारको ‘मर्जी’ विपरीत उनीहरु एक अर्कालाई प्रेम गर्छन् । यिनीहरुबाटै आफ्नो प्रेमलाई बचाएर ट्रक चढेर भाग्छन् कुनै टाढाको गाउँमा । त्यहीँको नदी किनारमा एउटा सुन्दर ‘कटेज’ बनाएर बस्छन् ।

अस्तिको प्रेमी यानिकी आजको लोग्नेचाहिँ कमाउन जान्छ । अस्तिकी प्रेमिका यानिकी आजकी स्वास्नीचाहिँ घरमा उसलाई कुरेर बस्छे । कामबाट आउँदा मिठो मुस्कानले स्वागत गर्छे । घरबाट भाग्ने, नदी किनारमा छाप्रो बनाएर बस्ने, केटा बञ्चरो बोकेर बाहिरिने, केटी कुरेर बस्ने, साँझ मुस्कानले स्वागत गर्ने । सिनेमाहरुमा यति रुमानी र आकर्षक तरिकाले देखाइन्छ यी दृश्यहरु कि लाग्छ उनीहरुलाई जीवनभर अन्य भौतिक आवश्यकता पर्ने नै छैन ।

२०४९ सालमा पोखराको के.आई सिंह पुलमुनि छाप्रो बनाएर बस्न सुरु गर्दा नरबहादुर दर्जी र जैसरा मगरको जिन्दगी पनि कुनै प्रेमकथामा आधारित फिल्मका नायक-नायिकाको भन्दा कम पक्कै नहुँदो हो । दिनभरि काम गर्न जाने नरबहादुरलाई छाप्रोमा कुरेर बस्दी हुन् जैसरा । चिच्याएर बग्ने सेती नदी कम्तीमा ५० फिट तल छ उनीहरुको छाप्रोबाट । तर त्यतिबेला आफ्नो प्रेमको मधुर ध्वनिको अगाडि कतै बिलाएजस्तो लाग्दो हो उनीहरुलाई सातो जाने गरी चिच्याएर बग्ने सेतीको गडगडाहट पनि ।

विस्तारै उनीहरुले छाप्रो वरिपरिको खाली जमिनमा मौसमी तरकारी, फलफूल र बोटबिरुवा लगाएर हरियाली बनाए । सन्तान भएनन् । कहिले घर बनाउने सिकर्मी त कहिले काठको काम गर्ने डकर्मीको काम गर्दै आएका नरबहादुर अहिले ७७ वर्ष पुगे । आँखा देख्न छाडेपछि अहिले उनी ती काम गर्न सक्दैनन् । ८३ वर्षकी जैसरा अझै पनि छरछिमेकमा भाँडा माझ्ने काम गरेर बिहान बेलुकाको अन्नको जोहो गर्छिन् । कहिलेकाहीं शरीरका सबै हाड दुखेर उठ्नै नसक्ने हुन्छिन् तर पनि घरघरका जुठाभाँडा नमाझे भरे पतिपत्नीले नै हात जुठो गर्न पाइने छैन भन्ने उनलाई थाहा छ ।

बुढ्यौली, बेरोजगारी, भोक, अभाव र रोगबीच भएपनि प्रेमको रथ घिसारिरहेको यो जोडीमाथि अचानक बज्रपात आइपर्‍यो २०७३ साल पुस २५ गते । स्थानीय टोलसुधार समितिका पदाधिकारी उनीहरुको छाप्रोमा आइपुगे । ‘यहाँ फोहर भयो अब हामी पार्क बनाउँछौ’ भन्दै ।

पुलकै पारिपट्टिको सेती नदीको सरकारी सुरुङमा पनि एक नीजि कम्पनीले बार लगाएर ‘कारोबार’ गरिहेको छ । सरकारी योजनाको सुरुङ हेर्न सर्वसाधारण टिकट काटेर छिर्नुपर्छ । अब वारिपट्टि पनि बार लगाएर आयआर्जन गर्ने टोल विकासको योजना छ । सरसफाइ कार्यक्रमकै बहानामा उनीहरुले दर्जी दम्पतिले रोपेका बिरुवा काटिदिए, लसुन-प्याज र अरु तरकारी बारी फाँडिदिए, फलेका केराका चार पाँचवटा थम्बा ढालिदिए । कोहीले त ‘तिमीहरु छोडेर जाओ, नत्र डोजर लगाएर छाप्रो भत्काइदिन्छौं’ भनेर धम्की दिए । ‘टोलभरिका दुखी गरीब र मगन्तेहरुको ठेक्का टोल विकासले किन लिने’ समेत भनेर गए । समाजले निर्माण गरेको उमेर, जात र वर्ग मिलाएर गर्नुपर्ने ‘प्रेम’को परम्परागत ‘फ्रेम’ वर्षौंअघि भत्काउने हिम्मत गरेका जैसरा र नरबहादुरको हिम्मत यतिखेर नराम्ररी भत्किएको छ । कुनबेला टोलबासी आउँछन् र छाप्रो भत्काइदिन्छन् भन्ने त्रासमै यतिखेर दुइजना आतंकित छन् ।

टोल विकासले उनीहरुलाई धम्क्याउने मुख्य आधार हो नदीकिनारको ५० मिटर आसपास कुनै निर्माण गर्न नपाउने सरकारी मापदण्डको नियम । नजिकै अर्को पक्की घर पनि छ । त्यो पनि उही ५० मिटरको मापदण्डभित्रै पर्दछ । छाप्राबासी बृद्ध दम्पतिलाई डोजर लगाएर भगाउने धम्की दिएका टोलबासी उक्त पक्की घरबारे भने मौन छन् । के.आइ. सिंह पुलकै स्थानीय आशिमा थापा एकजना छन् जसले उनीहरुलाई यो सबैमा खुलेर सहयोग गरिरहेकी छन् । ‘अशक्त बृद्धबृद्धालाई उठीबास लगाउन हुँदैन’ भन्नेमा टोलकै अरु दुईचारजना पनि सहमत छन् तर अगाडि आएर भन्न सक्दैनन् ।

आशिमा कुनै अधिवक्ता, अभियन्ता वा अधिकारमुखी गैरसरकारी संस्थाकी कारिन्दा होइनन् । गृहिणी हुन् । श्रीमान पोखराबाहिर काम गर्छन् । स्कुल पढ्ने छोरी र बृद्ध ससुराको साथमा उनी पोखरामा बस्छिन् । उनका रोगी ससुराको हातमा पिसाबको थैलो छ, नजिकै कोपरासहितको कुर्सी छ । नरबहादुर र जैसरालाई वर्षौंअघिदेखि चिन्ने उनले मानवीय संवेदनाका आधारमा मात्रै उनीहरुलाई सहयोग गरिरहेकी छन् । आशिमाका अनुसार २०५२ सालमै ‘खोला किनारमा नबस’ भनेर पोखरा नगर परियोजना कार्यान्वयन समितिले पत्र काटेको पनि रहेछ । तर परियोजनाकै तत्कालीन कर्मचारी ओमबहादुर केसीले ‘घर नभएका विचराहरु’ भनेर त्यही ठाउँमा बसिराख्ने मौखिक अनुमति दिएको आशिमा बताउँछिन् । त्यही मौखिक अनुमतिलाई नै सर्वोपरी ठानेर नरबहादुर र जैसरा छाप्रोमा बसिराखे । सुकुम्बासी परिचयपत्रजस्ता प्रक्रियाका लागि उनीहरुले कोशिसै गरेनन् ।

यतिखेर टोलविकासले उठीबास लगाउन आँटे भनेर नरबहादुर र जैसरा आफ्नै सामू रोएको देखेपछि  ‘न्याय पाउँ’ भनेर उनीहरुको तर्फबाट आशिमाले नगरपालिकामा निवेदन पेश गरिदिइन् । ‘पुलमुनि बसेकालाई अनावश्यक दु:ख नदिनु’ भनेर नगरपालिकाले टोल विकासलाई पत्र लेखिदियो । त्यसपछि टोलविकासले उनीहरुलाई सुरक्षित ठाउँमा राख्ने र पार्क बनाउने भनेर आशिमा र दर्जी दम्पतिसँग मौखिक सहमति गरे ।

‘म विकासविरोधी होइन’ भन्दै आशिमाले सहमति जनाइन् । तर आशिमा त्यतिबेला जिल खाइन् जब उनीहरुका लागि टोलविकासले ‘सुरक्षित’ भनेर बनाइदिएको ब्लकको टहरो पोखरा बजारका लागि पुलबाटै ल्याइएको पानीका दुइवटा ठूल्ठूला पाइपमाथि अड्याएर बनाइएको देखिन् । कैयौंपटक बर्खामा ती पाइप फुटेको देखेका दर्जी दम्पतिलाई डर छ-अबको बर्खामा त्यसैगरी उनीहरुका लागि बनाइएको घरभित्रै पाइप फुट्यो भने बगेर उनीहरु सेतीमा यसरी मिसिने छन्, हाडखोर पनि भेटिने छैन । मापदण्ड मिचेर बसेको गल्तीबापत त्यहाँबाट हट्न उनीहरु तयार छन् । तर उनीहरुको एउटै प्रश्न छ, ‘हामीलाई लाग्ने कानून पक्की घरकालाई चाहिं किन नलाग्ने ?’

आशिमाका अनुसार नगरपालिकाका वातावरण शाखाका कर्मचारीले उनीहरुलाई ‘अहिले पार्क बन्दैन नआत्तिनुस, हामीले टोलबासीलाई बनाउन सुरु गर भनेकै छैनौं’ भनेर आश्वासन दिएका छन् । तर टोलविकासले त्यहाँ धमाधम ढुंगा बोकाएर पर्खाल लगाउन सुरु गरिसकेको छ । आफ्नो छानोमुनिबाटै बडाबडा ढुंगा बोकेर कामदारहरु हिंडेको देख्दा आतंकित बनेका दर्जी दम्पति राम्ररी उभिन पनि नमिल्ने र बत्ती नभएको छाप्रोमा कोचिएर सुत्छन् । कोही भेट्न गए ‘सन्चो नभएर सुतेको’ भन्छन् । नागरिक समाजका प्रतिनिधि, मानव अधिकार आयोगका कर्मचारी, दलित सांसद वा दलित सिडिओ सबैलाई अनुरोध गरेर आशिमा थाकिसकेकी छन् । जब यी दलित दम्पतिको हालतबारे बताउँदै गर्दा आत्तिएर उनी रुनरुन खोज्छिन् तब मेरो पनि घाँटीमा किक्लिक्क अड्किन्छ ‘सर्वहाराको अधिनायकवाद’ भन्ने नारा । बारम्बारको व्यवस्था परिवर्तन र युगौंको पर्खाइपछि अब कम्तीमा निमुखाहरुलाई समाज सामाजिक न्यायतर्फ अघि बढ्दैछ भनेर कम्तीमा अनूभूतिसम्म त हुन पाउनुपर्ने हो ।  

देशैभरि कुनै खोलाको किनार वा चौर जस्ता सार्वजनिक ठाउँलाई कुनै टोलविशेषमा अवस्थित क्लब, समूह वा नीजि ठेकेदार कम्पनीहरुले बार लगाउने र शुल्क लिने गरेको देख्न पाइन्छ । चौतारीमा सुस्ताउन, चौरमा पल्टिन वा खोला किनारमा बिसाइ फेर्नका लागि पनि दिनहुँ शुल्क तिर्न चाहने वा सक्ने नागरिक हुन्छन् कि हुँदैनन्, यसरी सार्वजनिक ठाउँलाई सर्वसाधारणको पहुँचबाहिर राख्न पाइने कि नपाइने, ती ठाउँमा निर्बाध हिँड्डुल गर्ने वा उपयोग गर्ने सर्वसाधारणको नैसर्गिक अधिकार खोसिएको मानिने कि नमानिने भनेर नै बहस गर्नुपर्ने बेला भैसकेको छ । एक त हिजोसम्म उभिएर खोला हेरिरहेको डिलमा आजबाट कसैले फलामे बार लगाइकन पैसा तिरेर मात्र हेर्न पाउने बनाइएको हुन्छ ।

दोस्रो सम्बन्धित संस्थाहरुले ती ठाउँहरुमा कहिलेकाहीं महिनौं तालासमेत लगाइदिन्छन् । र, पैसै तिरेर भएपति सर्वसाधारण खुला ठाउँमा निस्कनबाट बञ्चित बन्छन् । के. आइ सिंह पुलका दर्जी दम्पतिले छाप्रोको वरिपरि मौसमी तरकारी, केरा र अन्य फलफूल लगाएर एक प्रकारले पार्क नै बनाएका थिए । भैरहेका बिरुवालाई फोहर भयो भनेर मास्नु र नजिकैको पक्की घरलाई केही नगर्नुमा टोलविकासलाई उही दर्जी दम्पतिको छाप्रो मात्रै ‘फोहर’ लागेको हो भन्ने स्पष्ट  हुन्छ । दर्जी दम्पतिको यो अवस्थालाई के ले सम्बोधन गर्छ, जेष्ठ नागरिक वा दलितसम्बन्धी कुन चाहिँ ऐन, नियम ,वा कानूनअन्तर्गत उनीहरु संरक्षित छन्, यो कुरा ससुरा र छोरीको स्याहारमा रातोदिन ब्यस्त आशिमा थापालाई थाहा छैन । उनलाई ८० नाघेका असक्त र बेसहारा बृद्धबृद्धालाई सरकारी नियम वा सरसफाइको कारण देखाएर सेतीमा खसेर मर्न दिनुहुँदैन भन्नेसम्म चाहिँ थाहा छ ।

भ्यालेन्टाइन्स डे को चहलपहल छ । गुलाफ दिवस, प्रस्ताव दिवस, चकलेट दिवस, टेडी दिवस हुँदै भ्यालेन्टाइन्स सप्ताह समापनको संघारमा आइपुगेको छ । कविहरुले राता कपडा लगाएर, हातहातमा गुलाफ समातेर प्रेमका कविता वाचन गरेका छन् । रेडियो, टिभी र रेष्टुरेन्ट समेतले भ्यालेन्टाइन्स विशेष गजल वाचन, भ्यालेन्टाइन्स डिनर खाने जोडी आदि प्रतियोगिता सञ्चालन गरेका छन् ।

राताम्य प्रेमोपहारले उपहार पसल र चकलेट वा गुलाब समातेका युवकयुवतीका फोटोले सामाजिक सन्जाल रंगिएका छन् । तर यो त्यही देश हो जहाँ अझै पनि प्रेम वर्जित छ र प्रेमका उपहारको बिक्री भने विशेष छुटमा हुन्छ । यदि समाजमा निशर्त प्रेम स्वीकार्य हुँदो हो त कथित माथिल्लो जातिकी युवतीसँग प्रेम गरेकै ‘अपराध’मा काभ्रेका १८ वर्षीय अजीत मिजार गएको असारमा धादिङमा मृत फेला नपर्दा हुन् । आफूभन्दा बढी उमेरकी मगर्नी जैसरालाई लिएर गाउँबाट भागेका नरबहादुर दर्जी जीवनको उत्तरार्द्धमा ओतबिहीन हुने अवस्थामा नआइपुग्दा हुन् । नेपाल प्रहरीका ‘सेलिब्रिटी’ अफिसरहरु भ्यालेन्टाइन्स स्पेसल अपरेसन सञ्चालन गरेर कतिजना प्रेमी जोडीलाई लछारपछार गर्दै पक्राउ गर्‍यौं भनेर कीर्तिमान राख्ने होडबाजीमा नहुँदा हुन् । नेपाली समाजको ‘अघि बढाई’ एकांगी छ र यो अझै पनि विरोधाभासी मान्यताबाट ग्रसित छ भन्न डराउनुपर्ने केही कारण छैन ।
 
लुकिचोरी र जोखिमका साथमै भएपनि रोज डे, प्रमिस डे, किस डे जस्ता दिन पार गरिसकेर चौध फेब्रुअरीका दिन पार्कमा, मन्दिरका भित्तामा, होटेलका कोठाहरुमा र यस्तै पुलहरु मुनि भ्यालेन्टाइन्स डे उत्कर्षमा पुगिछाड्नेछ । यो दिनलाई  के. आई सिंह पुलमुनि बसेको नरबहादुर र जैसराको भ्यालेन्टाइन्स जोडीले कसरी मनाउला ।

यतिका वर्ष सेतीको गहगडाहटलाई नै माथ गरेको उनीहरुको मुटुको प्रेम धुनलाई आज टोलविकासको धम्की र छाप्रोनजीकै उठिरहेको गाह्रोमा बज्रिरहने ढुंगाले विस्थापित गरिसकेका छन् । ‘प्रेमको महिना’ भनिने फेब्रुअरी महिनाभित्रमा फिल्मका नायक-नायिकाले झैं गरी वर्षौंअघि उनीहरुले प्रेमपूर्वक निर्माण गरेको पुलमुनिको ‘लभ कटेज’ कुन हालतमा पुग्ला ?

प्रकाशित: फाल्गुन २, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार