ब्लग

[ब्लग] धुलोमा उडेका युद्धका सपना

- गंगा बीसी, काठमाडौं

फाल्गुन १, २०७३-

माओवादीले २०५२ फागुन १ गते सुरु गरेको युद्धलाई एक्काइस बर्षपछि झवाट्ट सम्झदा त्यो एउटा त्रासदीजस्तो लाग्छ  । माओवादीका लागि त्यो ‘महान जनयुद्ध’ थियो, अरु पार्टीका लागि त्यो एउटा ‘राजनीतिक आतंक’ थियो र सर्वसाधारणका लागि दु:ख, कष्ट र असाध्य अप्ठ्याराहरुको बेला थियो । 

माओवादीले युद्धका बेला भयङ्कर सपनाहरु देखेको थियो र देखाएको थियो । ती सपनामा रम्नेमध्ये केही ‘सहिद’ भइसके । नाफाको जिन्दगी बाँच्नेहरुका सपना कति फूले ? कति अवसान भए ? गम्भीर लेखाजोखा गर्ने फुर्सद सत्ताको नेतृत्व गर्ने माओवादी केन्द्र र त्यसका कमाण्डर प्रचण्डलाई छैन । 

सडकमा भएका केही माओवादीले अझैं ती सपना अलाप्दै छन् । माओवादीबाट अलग भएका वैद्य माओवादी र चन्द माओवादीले युद्धका सपना अझैं पूरा नभएको भन्दै क्रान्तिको कुरा गरिरहेका छन् । जुन माओवादीले जे भने पनि माओवादीका सपनामा तुषारापात भएको अवस्था यो हो ।

माओवादी युद्धमा प्रत्यक्ष सहभागी भएर मारिने र बेपत्ता हुनेहरुले नेपालमा सुखी शासन व्यवस्था ल्याउने सपना पालेका थिए । भनौ, उनीहरुलाई त्यो सपना देखाइएको थियो । त्यही सपना बोकेर उनीहरु मार्न र मर्न अग्रसर भएका थिए । उनीहरुका त्यो सपना साकार नभइ माओवादी युद्ध विसर्जन भयो । त्यसपछि सुरु भयो, सपनाको खेती । 

माओवादीले २०५२ मा सुरु गरेको सपनाको खेतीमा त्यतिबेला तुषारो पर्‍यो, जतिबेला माओवादी नेताहरुले माओवादीलाई रगत, पसिना र अन्य सहयोग दिएका जनतालाई भुले । उनीहरुले ती सपना ठूला तारे होटल, दरबारमार्गका क्याफेमा विसर्जन गरे । उनीहरुको मुखमा सर्वहाराको नारा र जीउमा महंगा ब्राण्डका कपडा परे ।

तर, माओवादीहरुलाई कुनै पश्चाताप भएन कि उनीहरुले माओवादी युद्धमा मारिनेहरुका सपनालाई रातारात धुँवामा उडाए । यसको अर्थ सशस्त्र युद्ध कायम राख्नु पथ्र्यो भन्ने कदापी होइन ।

माओवादीहरु शान्ति प्रक्रियामा आइसकेपछि ठूलै अपेक्षा थियो । हिंसात्मक युद्ध अन्त्य गर्ने निर्णयले आम नेपाली खुशी नहुने कुरै थिएन । कम्तिमा शान्तिको सास फेर्न पाइने कुराले खुशीको तरङ्ग ल्याएको थियो । पहिलो संविधानसभामा जनताले माओवादीलाई पहिलो पार्टी बनाउनुको पछाडि अरु केही कारण नभएर मुलुकमा शान्ति स्थापना हुने आशा थियो । केही परिवर्तन भइहाल्छ कि भन्ने अपेक्षा थियो । साथै, २०४६ सालदेखि संसदीय राजनीतिमा चलखेल गरेका कांग्रेस, एमालेको गतिविधिले वाक्क भएका जनताले माओवादीको पक्षमा मतदान गरे । 

पहिलो संविधानसभामा मतदान गर्ने सबै माओवादी समर्थक थिएनन् । तर माओवादीले त्यो कुरा बुझेन । संविधानसभामा सबभन्दा ठूलो पार्टी बनेपछि माओवादी साँढे जस्तै उफ्रिन थाल्यो । जनताका सपनाहरुलाई यसरी कुल्चना थाल्यो कि उसलाई युद्धमा बाँडिएको ‘नयाँ नेपाल’ को सपना पूरा गर्न जनताले जिम्मेवारी दिएका हुन् भन्ने हेक्का पनि भएन ।  शासकले जनताका सपना बुझ्न सक्दैनन् भन्ने कुरा माओवादीले चरितार्थ गरिदियो ।

पहिलो र दोस्रो संविधानसभाको पाँच वर्षको अवधिमा माओवादी यसरी स्खलित भयो कि दोस्रो संविधानसभामा आइपुग्दा ऊ पहिलोबाट तेस्रो पार्टीमा झर्नुपर्‍यो । अझै पनि माओवादीले युद्धका सपना साकार नभएको भनिरहेको बेला सत्ताको छायाँमा रहेका नेता तथा कार्यकर्ताले त्यसलाई व्यंग्य गरिरहेका छन् । 

शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले तीनपटक सत्ताको नेतृत्व गरिसकेको छ । दुई दर्जनभन्दा बढी नेता मन्त्री भइसकेका छन्, सयबढी नेता सभासद/सांसद छन् । युद्धमा भएको बलिदान, बगेका रगत र पसिनाको मूल्य थियो, जनताको पक्षमा काम गर्ने । 

पहिलो संविधानसभामा निर्वाचनपछि जनताको पक्षमा काम गर्न माओवादीको चेत खुलेन, दोस्रो संविधानसभा निर्वाचनपछि धेरै ढिला भइसकेको थियो, अर्थात् काम गर्न सक्ने क्षमता उसँग थिएन । यतिबेला माओवादी आधा दाँत र नङ्ग्रा भाच्चिएको बाघजस्तो भएको छ । उसले रवाफ देखाउन खोज्छ तर जनताले पत्याइरहेका छैनन् । 

शान्ति प्रक्रियामा आएको एक दशकमा माओवादीले बिगतको आधारभूमी बलियो बनाउन त सकेन नै भएको आधारभूमिलाई समेत बेवास्ता गर्‍यो । माओवादी युद्ध न बुद्धमा परिणत हुन सक्यो, न शुद्ध हुनसक्यो ।

शान्ति प्रक्रियामा आइसकेपछि गणतन्त्र अन्त्य गरी संविधान जारी गर्न मूल माओवादीको भूमिका उल्लेख्य रह्यो । यो बाहेक, जनताको प्रश्नको उत्तर माओवादीसँग छैन । 

जनताका प्रश्न सरल हुन्छ, सिधा हुन्छ तैपनि शासकलाई बुझ्न धेरै कठिन हुन्छ । सायद माओवादी केन्द्रलाई त्यस्तै भइरहेको छ ।

माओवादी युद्ध दिवसका सन्दर्भमा माओवादीप्रति जनताको धारणा छ :१० वर्ष लडेको ब्याज दश वर्षसम्म खाइसक्यौं । अब आगामी दिनमा जनतालाई विश्वास दिलाउनु उसलाई फलामको च्यूरा चपाउनुसरह हुनेछ । 

बाँडेका सपना बिलाउन थालेपछि माओवादीप्रति प्रश्नैप्रश्न तेर्सिइरहेको छ । सत्तामा भएका बेला जनताका प्रश्नले खासै नघोचे पनि आगामी निर्वाचनमा ती झन् तिखा भएर आउनेछन् । 

सत्तामा भएको माओवादीका लागि आगामी दिन झन् चुनौतीपूर्ण छन् नै सडकमा भएका माओवादीका लागि पनि सहज छैन । फेरि युद्धका सपना पत्याउने आधार छैन । माओवादी युद्ध धेरैका लागि तितो र माओवादीका लागि मिठो, नमिठो इतिहास हो । 

यसलाई इतिहासको पानामा रहन दिनु उचित हुनेछ । यो इतिहास हो । यसका आआफ्नै ब्याख्या हुन सक्छन् । र, इतिहास सत्य नहुँन सक्छ तर, माओवादी युद्धका मिठा सपनाहरु काठमाडौंको धुलोजसरी उडिरहेको भने सत्य हो ।

प्रकाशित: फाल्गुन १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार