सूचना प्रविधि

चलेन टेलिकमको वाइम्याक्स, व्यवस्थापन र बजारीकरण मुख्य समस्या

  • वाइम्याक्स सुरु भएको ४ वर्षमा ग्राहक संख्या १६ हजार पनि पुगेन
  • एउटै ब्यान्डको फ्रिक्वेन्सीले भारतमा तहल्का मच्चाउँदै ‘रिलायन्स जियो’
- विष्णु पोखरेल, काठमाडौं

फाल्गुन १, २०७३- भारतको दूरसञ्चार कम्पनी ‘रिलायन्स जियो इन्फोकम’ ले ‘जियो’ ब्रान्डमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सुरु गरेको एक महिना नबित्दै १ करोड ६० लाखभन्दा बढी ग्राहक बनाएर विश्व रेकर्ड बनायो । 

गत सेक्टेम्बरमा सुरु भएको ‘जियो’ ले सित्तैमा कल गर्ने सुविधासहित डाटामा केन्द्रित रही व्यापार बढाउँदा अन्य भारतीय दूरसञ्चार कम्पनीलाई कतिपय स्थानमा अहिले बजार जोगाउन हम्मेहम्मे परेको छ । ‘जियो’ र नेपाल टेलिकमबीच एउटा महत्त्वपूर्ण समानता छ, त्यो हो उनीहरूले पाएको फ्रिक्वेन्सी । उही फ्रिक्वेन्सीमा ‘जियो’ ले अरूलाई बढार्दै अघि बढिरहेको छ भने नेपाल टेलिकमले सोही ब्यान्डको फ्रिक्वेन्सीमार्फत सुरु गरेको सेवा बामे सर्नसमेत सकेको छैन । 

नेपाल टेलिकमले २ हजार ३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सी पाएर चार वर्षअघि नै वाइम्याक्स सेवा सुरु गरेको थियो । झन्डै फोरजीकै गति हुने वाइम्याक्स सेवालाई टेलिकमले विस्तार गर्न सकिरहेको छैन । ताररहित इन्टरनेट सेवा वाइम्याक्सका ग्राहक चार वर्षमा १६ हजारसमेत पुग्न सकेका छैनन् । 

जियोले भने २ हजार ३ सय ब्यान्डमै पाएको २० मेगाहर्ज फ्रिक्वेन्सीले भारतमा तहल्का मच्चाइरहेको छ । उसले ८ सय र १ हजार ८ सय ब्यान्डमा ५/५ मेगाहर्ज फ्रिक्वेन्सी पाएपछि २ हजार ३ सय ब्यान्डमा भारतका २९ मध्ये २६ राज्यमा फोरजी चलाउन पाउँछ । अरू ब्यान्डको फ्रिक्वेन्सी भने सबै राज्यमा चलाउन पाएको छैन । 

अम्बानी समूहको ‘जियो’ को चुस्त व्यवस्थापन र आक्रामक बजारीकरणले अरू निजी कम्पनी नै आतंकित भइरहेका छन् । टेलिकमले भने चार वर्षअघि नै सुरु गरेको सेवालाई समेत व्यवस्थापन र बजारीकरण गर्न नसक्दा त्यसबाट आम्दानीभन्दा पनि सेवा चलाउने ग्राहक नै नहुने अवस्था आउनसक्ने देखिएको छ । 

‘भारतमा एउटै फ्रिक्वेन्सी ब्यान्डमा जियोले त्यत्रो गर्न सक्दा नेपालमा टेलिकमले चाही केही गर्न नसक्नु व्यवस्थापनकै कमजोरी देखिन्छ,’ यही माघ तेस्रो साता टेलिकमको वार्षिक साधारणसभामा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भनेका थिए, ‘तपाईहरू चुस्त व्यवस्थापन गर्नु भएन भने जियो जस्तै कम्पनी आएर यसलाई खान बेर लगाउँदैनन् ।’ 

टेलिकमले ०६९ कात्तिक २७ मा वाइम्याक्स सेवा सुरु गरेको थियो । त्यसबेला नेपालमा भित्रिएका ताररहित प्रविधिमध्ये उच्च गतिको इन्टरनेट सेवा दिने गरी सुरु भएको यो सेवाका ग्राहकको वृद्धि एकदमै नगण्य देखिएको छ । दूरसञ्चार प्राधिकरणको गत पुसमा प्रकाशित व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार हाल टेलिकमको वाइम्याक्सका ग्राहक १५ हजार ९ सय ३ जना रहेका छन् । 

त्यसभन्दा अघि निस्किएको प्रतिवेदनमा यो संख्या १५ हजार ८ सय ३ जना रहेको थियो । यसले एक महिनामा वाइम्याक्सका ग्राहक १ सयको हाराहारीमा बढेको देखाउँछ । 

गत वर्ष फागुनमा करिब १३ हजार ग्राहक रहेको वाइम्याक्स सेवाका प्रयोगकर्ता एक वर्षमा जम्मा ३ हजारले बढेको देखिन्छ । टेलिकमकै जीएसएम मोबाइल सेवाका ग्राहक भने हरेक महिना ३ लाखको हाराहारीमा बढिरहेका छन् । 

टेलिकमका अनुसार उच्चतम २ मेगाबाइट् प्रतिसेकेन्ड (एमबीपीएस) गतिसम्मको इन्टरनेट लिन पाइने वाइम्याक्स सेवा सोलुखुम्बु, रुकुम, जाजरकोट, डोल्पा, मुगु, हुम्ला र बझाङबाहेकका सबै जिल्लामा पुगिसकेको छ । सातवटा जिल्लाबाहेक सबैमा सेवा विस्तार भएको भए पनि वाइम्याक्स सेवालाई टेलिकमले लोकप्रिय बनाउन सकेको छैन ।

किन चलेन वाइम्याक्स ? 
ताररहति ब्रोडब्यान्ड चलाउन उपयुक्त हुँदाहुँदै वाइम्याक्स नचल्नुमा मुख्य दोष टेलिकम व्यवस्थापनको देखिएको छ । यो सेवालाई प्रचारप्रसार गर्न र ग्राहकलाई लोभ्याउने खालका व्यावसायिक योजना नल्याउँदा वाइम्याक्स नचलेको टेलिकमका अधिकारीहरू बताउँछन् । ‘हामीले वाइम्याक्सलाई प्रचारप्रसार नै गरेका छैनौं, अफरहरू पनि दिएका छैनौं,’ टेलिकमका एक अधिकारीले भने, ‘अहिलेको जमानामा सस्तो र विभिन्न अफर नल्याई कुनै पनि सेवा विस्तार हुँदैन ।’ 

उनका अनुसार वाइम्याक्स विस्तार नहुनुमा अर्को कारण हो, मोबाइलजस्तो सजिलो सेवा नहुनु । वाइम्याक्स चलाउनका लागि ‘कस्टमर प्रिमाइसेस इक्युपमेन्ट (सीपीई)’ वा यूएसबी डंगोल आवश्यक पर्छ । यी उपकरणबाट फोन गर्न मिल्दैन इन्टरनेट चलाउने मात्र हो । त्यसले गर्दा ग्राहकको आकर्षण यसमा नभएको ती अधिकारी बनाउँछन् । 

यी उपकरणको मूल्यसमेत महँगो पर्ने भएकाले ग्राहक आकर्षित हुन नसकेका हुन् । अनलिमिटेड सेवा उपलब्ध नभएको वाइम्याक्सम भोल्युमका विभिन्न प्याकेज लिँदा घरभित्र राख्ने सीपीईको मूल्य न्यूनतम ५ हजार २ सयदेखि १३ हजारसम्म र बाहिर राख्ने सीपीईको मूल्य ९ हजार ५ सय ५५ देखि २३ हजार ८ सय ८८ सम्म पर्ने टेलिकमको वेबसाइटमा उल्लेख छ । 

यसैगरी यूएसबी डंगोलको मूल्य ३ हजार ५ सय ६० पर्छ । ५ सय जीबीको एकवर्षे प्याकेज लिँदा भने यो डंगोल सित्तैमा पाइन्छ । वाइम्याक्सको १ वर्षे ५ सय जीबीको प्याकेज लिँदा करबाहेक २० हाजर तिर्नुपर्छ भने निजी क्षेत्रले २० हजारभन्दा कम भाउमै उत्तिकै गतिको अनलिमिटेड इन्टरनेट सेवा दिइरहेका छन् । यस्ता उपकरणको भाउ घटाएर अनलिमिटेड प्याकेज दिन सकेमा मात्र ग्राहक आकर्षित हुन सक्ने टेलिकमकै अधिकारीहरू बताउँछन् ।
 
टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले भने मोबाइलका ग्राहक वृद्धिलाई हेरेर वाइम्याक्ससँग तुलना गर्न नहुने बताउँछन् । ‘मोबाइल फोन एउटाले चलाउने हो, वाइम्याक्स त एउटा घरमा जोडेपछि धेरैले चलाउँछन्,’ उनले भने, ‘हामीले गाविस र स्कुलमा जोडेका छांै, त्यहा त एउटै लाइनबाट सय जनाले पनि चलाएका हुन सक्छन् ।’ यसका आधारमा १ सय जना ग्राहक बढदा पनि धेरैले चलाएको हुन सक्ने अधिकारीको दाबी छ । 

उनले अहिले गाउँगाउँमा वाइम्याक्स पुर्‍याउन टेलिकमले पहल गरिरहेको जानकारी दिए । ‘भूकम्प प्रभावित जिल्लामा पनि हामीले वाइम्याक्समार्फत नै सेवा विस्तार गरिरहेका छौं,’ उनले भने, ‘त्यसले वाइम्याक्समा आकर्षण छैन भन्न मिल्दैन ।’ उनले सीपीई पनि सहुलियत दरमा बिक्री गरिरहेकाले त्यसलाई महँगो भन्न नमिल्ने बताए ।

प्रकाशित: फाल्गुन १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार