कुराकानी

'वर्गको विकल्प !'

  • ‘अमेरिकी राजनीतिमा विशेषत: जे भइरहेको छ, अन्य मुलुकहरूमा पनि त्यही चलिरहेको छ– वर्गको विकल्पमा राष्ट्रियता वा नश्ल वा जातिका आधारमा पहिचान ।’

फाल्गुन १, २०७३- सन् १९८९ मा ‘नेससनल इन्ट्रेस्ट’ मा छापिएको राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाको निबन्ध ‘द एन्ड अफ हिस्ट्री ?’ ले पश्चिमी प्रजातन्त्रको निकै प्रशंसा गरेको थियो, ‘हामीले जे देखिरहेका छौं, यो शीतयुद्धको अन्त्य मात्रै होइन वा युद्धपछिको विशेष समयको इतिहास पनि होइन । जुन प्रकारले पश्चिमी उदार प्रजातन्त्र नै मानवीय सत्ताको अन्तिम बिन्दु हो भन्ने विषयको विश्वव्यापीकरण भयो, त्यो नै मानिसको विचार उत्पादनको अन्तिम बिन्दु हो र एउटा इतिहासकै अन्त्य हो ।’ तर तिनै फुकुयामाका लागि डोनाल्ड ट्रम्पको विजय र हिलारी क्लिन्टनको पराजय— ‘पपुलिस्ट राष्ट्रियताको नयाँ युगको सुरुआत हो । यो अमेरिकी राजनीतिको मात्र नभएर पूरै विश्व व्यवस्थाका लागि पानीढलो हो ।’ अन्य विज्ञहरू अमेरिकी राष्ट्रपतिको चुनावी नतिजाका करणहरू खोजिरहँदा फुकुयामाको विश्लेषण भने जबर्जस्त रूपमा वर्गको धारणामा केन्द्रित छ । चुनावपछिका केही अवसरहरूमा उनले वर्ग विभाजनले पहिचानसँग गाँसिएका अन्य सबै विभाजनलाई किनारा लगाउने कुरा दृढताका साथ राख्दै आएका छन् । फाइनान्सियल टाइम्समा छापिएको एक विश्लेषणमा उनले लेखेका छन्, ‘आजको औद्योगीकरण तथा बढ्दो बजारको युगमा समाजमा विभाजन ल्याउने थुप्रै विषयमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिसको पढाइको स्तर भएको छ । यसले मानिसको सामाजिक वर्गको पनि व्याख्या गर्छ ।’ यसै क्रममा अमेरिकन डेमोक्रेटिक पार्टी अब ‘पहिचानको राजनीति गर्ने पार्टी : महिला, अफ्रिकी–अमेरिकी, हिस्प्यानिक (अमेरिकामा बसोबास गर्ने दक्षिणी अमेरिकी), वातावरणवादी, तेस्रोलिंगी तथा समलिंगीहरूको गठबन्धन’ बनेको छ जसले आर्थिक विषयहरूमा आफ्नो ध्यानभंग गरेको छ । यिनै सेरोफेरोमा फकुयामासित पत्रकार नटलिया कौलिंकाले गरेको यो अन्तर्वार्ता ‘ओपन डेमोक्रेसी डट नेट’ बाट साभार गरिएको हो ।

वर्गको अवधारणा पुन: विजयी भएर प्राज्ञिक तथा सार्वजनिक बहसको विषय बनेर फर्किने सम्भावना छ ?
यो निकै जटिल छ । मेरो विचारमा मानिसले राजनीतिबारे जुन प्रकारले सोच्छन्, त्यसलाई वर्गले प्रभाव पार्छ । शिक्षादेखि सबै कुरा राम्रो पाउने सम्भ्रान्त वर्गसँग आर्थिक रुपमा प्रगति गर्न नसकेको वर्गको रिस वास्तविक हो । यद्यपि धेरैले आफूलाई मजदुर वर्गमा गणना गर्न रुचाउँदैनन् । उनीहरूले आफूलाई आर्थिक रूपमा भन्दा पनि जातिय पहिचानका आधारमा परिचित गराउँछन् । त्यसैले अमेरिकी र अन्य देशको राजनीतिमा जे भइरहेको छ त्यो वर्गको विकल्पमा राष्ट्रियता वा नस्ल वा जातीय पहिचानका रूपमा अगाडि आएको छ । थोरै शब्दमा भन्नुपर्दा वर्ग पहिचानको विकल्पमा विविध पहिचान । त्यसकारण अमेरिकाका धेरै मजदुर वर्गका मानिसले हिलारी क्लिन्टन र डेमोक्रेटिक पार्टीलाई मन पराउँदैनन् । किनकि उनीहरूको विचारमा प्रजातान्त्रिक पार्टी भनेको अल्पसंख्यकहरूको पार्टी हो । र, उनीहरूलाई लाग्छ ‘विभिन्न समूह र समुदायले आफूहरूभन्दा बढी फाइदा पाइरहेका छन् । उनीहरूले विशेष व्यवहार पाइरहेका छन् तर आफूहरू गोरा भएकैले त्यो पाएका छैनन् ।’ यस प्रकारको तर्कबाट उनीहरू अल्पसंख्यकहरूबाट आफू पेलिएको वा भेदभावमा परेको महसुस गर्छन् । अर्को शब्दमा भन्नुपर्दा सामाजिक वर्ग र मानिसले सोच्ने तरिका बीचको आधारभूत सत्यमै भिन्नता छ । यो नयाँ घटना भने होइन । सन् १९१४ मा, पहिलो विश्व युद्धताका समाजवादी र कम्युनिस्ट दुवैले पूरै विश्वका मजदुर एक हुन्छन् भनेर सोचेका थिए । तर, ती सबै अंग्रेज वा फ्रेन्च वा जर्मनका रूपमा अगाडि आए । वर्ग विभाजनमा धेरै शक्ति भए पनि राष्ट्रिय पहिचानद्वारा निर्देशित शक्तिको उदाहरण हो त्यो । राष्ट्रिय पहिचानप्रतिको ठूलो आकर्षणको व्याख्या भनेको यसले सजिलै मानिसलाई रोमाञ्चित हुन प्रभावित पार्छ । सबै समान हुन् भन्ने समाजवादको सिद्धान्तले भने त्यसलाई केही हदसम्म प्रतिरोध गर्छ ।
त्यसमा म सहमत छु ।

अमेरिकी चुनावी नतिजामा शिक्षाको प्रभावबारे तपाईंको बुझाइलाई अझै व्याख्या गरिदिनुस् न । तपाईंले मानिसको शिक्षाको स्तरले प्रभाव पार्‍यो तर अन्य विषयले भने फरक पारेन भन्न खोजेको हो ?
होइन । अन्य विषयले पनि फरक पार्छ । तर आजको अमेरिकी अर्थतन्त्रमा मानिसले कस्तो प्रकारको काम पाउँछ भन्ने कुरा उसले प्राप्त गरेको शिक्षामै निर्भर गर्छ । उच्च शिक्षामा पनि विज्ञान वा गणित विषय लिएर पढेको छ भने राम्रो काम पाउने सम्भावना रहन्छ । उच्च शिक्षा राम्रो छैन भने राम्रो काम पाउन मुस्किल हुन्छ किनभने अहिले हरेकजसो काममा प्रविधिको प्रयोग हुन्छ ।  यसरी मानिसको राजनीतिमा शिक्षाले अप्रत्यक्ष प्रभाव पार्छ । शिक्षाले नै मानिसको आर्थिक हैसियत र उनीहरूले मत दिने मानसिकतामा फरक पार्छ ।

तपाईंले कतै लेख्नुभएको छ, ‘मुख्य प्रश्न भनेको पपुलिजम किन २०१६ मा अगाडि आयो, किन यो प्रकट हुन यति लामो समय लाग्यो भन्ने हो ?’ तपाईं यसलाई कसरी वर्णन गर्नुहुन्छ ?
अमेरिकी राजनीतिक संस्कृतिमा नेताहरूले जनतालाई आफू उनीहरूको प्रतिनिधित्व गर्न सक्षम रहेको, उनीहरूको समस्याबारे अवगत रहेको र त्यसलाई समाधान गर्नेबारे विश्वस्त पार्नुपर्छ । यो परिप्रेक्ष्यमा, दुवै पार्टीका उम्मेदवारले मजदुर वर्गका लागि केही पनि गरेका थिएनन् । डेमोक्रेटिक समूहले धेरै मजदुर वर्गबाट आफ्नो पकड निकै पहिल्यै गुमाइसकेको छ भने रिपब्लिकन पार्टीमा कर्पोरेट अमेरिकाको वर्चस्व छ । खासमा भएको के हो भने, राजनीतिज्ञले जनतालाई कुनै एउटा विषयमा केन्द्रित गराउने अवसर समात्ने प्रयास गरिरहन्छन् । उनीहरूले कुनै समूहसँग कुराकानी गरिरहेका बेला अचानक त्यो त्यो समूहले महसुस गर्छ, ‘हो, हामी यो व्यवस्थाका पीडित हौं । सम्भ्रान्तहरूले हामीविरुद्ध षड्यन्त्र गरिरहेका छन् ।’ मेरो विचारमा डोनाल्ड ट्रम्पले गरेको पनि त्यही हो ।

मजदुर वर्गका लागि एक अर्बपतिलाई आफ्नो प्रतिनिधिका रूपमा स्विकार्नु दु:खको कुरा होइन र ?
मलाई यसले केही प्रभाव पार्छजस्तो लाग्दैन । यो मुख्य रूपमा सन्देश मात्रै हो । उनी व्यक्तिगत रूपमा धनी छन् भन्ने कुराले केही अर्थ राख्छ भन्ने मलाई लाग्दैन । यो सन् १९३० मा सम्भ्रान्त वर्गमा जन्मिएका, राम्रो शिक्षा–दीक्षा प्राप्त गरेका फ्रयांकलिन रुसबेल्टले कल्याणकारी समाज निमार्ण गर्न पपुलिस्ट आन्दोलन गर्दै वाल स्ट्रिट र बैंकहरूमा धाबा बोलेजस्तै हो । मानिसहरूलाई रुसबेल्टले आफ्नो समस्या बुझेका छन् र उनीहरूको राम्रो प्रतिनिधि हुन्छन् भन्नेमा विश्वास थियो ।

तपाईंले लेख्नुभएको छ, ‘अमेरिकामा बेलायत, युरोप र अन्य देशको प्रभावसँगै राजनीतिक व्यवस्थाको प्रजातान्त्रिक भागको वर्चस्व उदार भागभन्दा बढी देखिन थालेको छ । त्यसले कानुनी रूपमै खुला समाज निर्माणका लागि अगाडि धकेलिरहेको छ ।’ यसको मतलब प्रजातन्त्र दुईथरीको हुन्छ ?
प्रजातन्त्र दुई किसिमको हुँदैन । तर त्यसको भाग दुई किसिमको हुन्छ । प्रजातान्त्रिक भागले चुनाव र प्रतिनिधि चयन गर्छ । उदार भागले भने कानुन, अधिकारहरूको सुनिश्चिततातर्फ केन्द्रित रहन्छ । मलाई लाग्छ पूर्ण प्रजातन्त्र हुन यी दुवै भाग आवश्यक पर्छ । अर्को हिसाबमा भन्नुपर्दा, मानिसहरूले आफ्नो प्रतिनिधि चयन गर्न पाउनुपर्छ तर उनीहरूको चयन प्रक्रिया साझा समझदारीमा राजनीतिक सीमाको आधारमा कानुनले निर्देशित गरेको हुनुपर्छ ।

‘उदार प्रजातन्त्र’ मा उदार भागको अनुपातमा प्रजातान्त्रिक भाग कति छ ?
चुनावले प्रजातान्त्रिक भाग माथि छ भन्ने देखाइसकेको छ । यद्यपि राजनीतिमा पैसाको बढ्दो प्रभाव छ । र, मलाई लाग्छ धरै अमेरिकीले यसलाई समस्याकै रूपमा बुझेका छन् । तर, यदि पैसाले मात्रै चुनावी नतिजामा फरक पाथ्र्यो भने जेब बुस रिपब्लिकनको उम्मेदवार चयन हुनुपर्ने हो । र बर्नी स्यान्डर्स हिलारीको अगाडि उभिन पनि नसक्नुपर्ने हो । हिलारीसँग पराजित भए पनि स्यान्डर्सले निकै राम्रो चुनौती दिएका थिए । तर, बाजी ट्रम्पले मारे । ट्रम्पले पनि आफ्नो पैसा खर्च गरेकाले चुनाव जितेका भने होइनन् । उनले व्यक्तिगत पैसा त निकै कम खर्चे । मलाई लाग्छ विश्वको कुनै पनि देशमा गरिब जनतासँग कमै मात्र राजनीतिक शक्ति हुन्छ, किनभने उनीहरूलाई आफ्नो स्वार्थका लागि कसरी संगठित हुने भन्ने थाहै हुँदैन । कर्पोरेसन, मजदुर संगठन र यस्तै अन्य समूहलाई भने राजनीतिक व्यवस्थालाई आफूअनुकूल कसरी प्रयोग गर्ने भन्ने थाहा हुन्छ । 

प्रकाशित: फाल्गुन १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार