समाचार

उपचार पाउँदैनन् कुपोषित बालबालिका, उपचार नहुँदा अधिकांसको ज्यान खतरामा

  • मध्यम र कडा खालको कुपोषण भएका १ हजार ३ सय २५ मध्ये ७ सय ६१ बालिका छन्
- बसन्तप्रताप सिंह, बझाङ

माघ २९, २०७३- सैनपसेला गाविस वाइकोटकी शान्ति जप्रेलको घर पुगेका जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृतले उनकी ३ वर्षे छोरी अस्मितालाई कडा खालको कुपोषण भएको पत्ता लगाए । कुपोषित बालिकाको उपचार निशुल्क गरिने भन्दै जिल्ला अस्पतालको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना गर्न अनुरोध गरे । 

छोरीको उपचारको लागि स्थानीय बैद्यकोमा ७/८ हजार खर्च गरिसकेको भएपनि निको नभएकाले आफुले छोरीको माया मारिसकेको भन्दै स्वास्थ्यकर्मीको अनुरोध शान्तिले अस्विकार गरिन । श्रीमान ४ वर्ष देखि मलेसिया गएको, घरमा ससुरा आफु र तीन छोराछोरी मात्र भएकाले उनको कुरुवा वस्दा घरको काम अलपत्र हुने भन्दै उनले छोरीको उपचार गर्न मानिनन् । पोषण अधिकृत इन्द्र कार्कीले अस्मितालाई उपचारका लागि भर्ना नगरे प्रहरीमा उजुरी गर्ने धम्की दिए । उनले बाध्य भएर छोरीलाई जिल्ला अस्पतालमा ल्याइन ।

दुइ दिन अस्पताल वसिन । तेस्रो दिन दिउंसो खाजा खाने निहुं पारेर छोरीलाई लिएर शान्ति गायब भइन । विरामी हराएपछि अस्पतालमा खैलाबैला मच्चियो । उनको खोजी गरिदिन अस्पतालले प्रहरी गुहार्‍यो । खोज्दै जाँदा उनी भागेर घर गएको खुल्यो । पुसको अन्तिम सातानै बालिका अस्मिताको मृत्यू भैसकेको रहेछ ।

‘तीन दिन सम्म अस्पताल बस्दा घरमा गाइबस्तु र घरको काम डामाडोल भैसकेको थियो । बुढा ससुराले घर धान्न सक्ने कुरा भएन । मरे मर्ली बांचे बांच्ली भनेर अस्पतालबाट भागेर आए । घर पुगेको भोली पल्ट छोरी मरि,’ शान्तिले भनिन् । अस्पताल जानु अघि नै छोरी मर्छे भन्ने आफुलाई पक्कापक्की भएकाले अस्पताल जान नमानेको उनले बताईन । 

पुसको पहिलो साता खिरातडी गाविसकी साढे ४ वर्षिया बालिका करिश्मा कुवंरको पनि कुपोषण कै कारण ज्यान गयो । स्वास्थ्यकर्मीले उनको परिवारलाई उपचार गर्नका लागि धेरै सम्झाए । ‘छोरी मरे अर्काे जन्माउला । अस्पतालमा गएर हप्तौ उपचार गर्दा घरको काम विग्रन्छ’ भनेर परिवारले उपचार गर्नै मानेन । जिल्ला स्वास्थ्य कार्यालयको शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममा प्रमुख डा. सुनिल गजुरेलले भने, ‘जति सम्झाउदा पनि परिवारले मानेन । हेर्दा हेर्दै तिनको पनि ज्यान गयो ।’

यी दुबै गाउँबाट सदरमुकामस्थित जिल्ला अस्पताल आउजाउ गर्न एक दिन लाग्छ । तर, जिल्ला अस्पताल सिमखेतबाट करिब ५ सय मिटर दुरीको रिठापाटा गांउमा पनि यस्तै घटना भयो । स्थानीय तुलसी नेपाली का ३ छोरीमा कडा खालको कुपोषण छ । ३ मध्ये पनि दुइ वर्षकी सरस्वतीको समयमा उपचार भएन भने ज्यानै जाने खतरा छ । स्वास्थ्यकर्मी घरमै गएर दशौ पटक उपचारको लागि अनुरोध गर्दा पनि उनले मानेकी छैनन् । 

‘मेरो जेठो छोरा पनि सानोमा यस्तै थियो । अहिले बैङलोर गएर पैसा कमाउने भैसक्यो । हाम्रो नाम बेचेर पैसा खानलाई दिन दिनै अस्पताल भर्ना गर्नु पर्छ भनेर हैरान पार्छन । धेरै दिन गाली गरेर पठाइसके आउन छाडेका छैनन,’ तुलसीले भनिन् । 

रिठापाटा गाविसमा काम गर्ने जिल्ला स्वास्थ्य कार्यलयकी पोषण अधिकृत सविता शाही ठकुरीले तुलसीलाई घरमै गएर धेरै पटक उपचार गर्न सम्झाएको तर उनले उल्टै गाली गरेर पठाउने गरेको सुनाइन । सविताले भनिन, ‘मरे मेरै छोरी मर्छन । तिमिहरुलाई के पर्‍यो भनेर उल्टै हप्काउँछन । बच्चीको अवस्था हेरेर दया लाग्छ । डाक्टरहरुले पनि सम्झाउदा मान्दै मानेकी छैनन ।’

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार हालसम्म जिल्लाभर मध्यम र कडा खालको कुपोषण भएका कुल १ हजार ३ सय २५ वालवालिका मध्ये ७ सय ६१ बालिका छन । अभिभावकले उपचार गर्न नमान्दा यी मध्ये अधिकांस बालिकाको ज्यान खतरामा छ । 

‘छोरा र छोरीमा यो हद सम्मको विभेद होला भनेर कल्पना सम्म गरेको थिइन,’ जिल्ला स्वास्थ्य कार्यालयको शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रममा प्रमुख डा. सुनिल गजुरेल भन्छन, ‘निशुल्क उपचार हुन्छ । कुरुवालाई पनि खाना वस्नको व्यवस्था हामी नै गछौ भन्दा पनि छोरीको उपचार गर्न मान्दैनन । यो मरे अर्की जन्माउला भनेर सजिलै भन्छन । म त छक्क परेको छु ।’

अस्पतालमा उपचार गराउनुको साटो कुपोषित बालिकाहरुलाई स्थानीय बैद्य र धामी–झाक्रीलाई देखाउने चलन छ । बान्द्रे लागेको भन्दै जिउ भर बांदरको दिशा दलिदिने प्रचलन समेत रहेको डा. गजुरेलले बताए । जिल्लामा गरेको सर्वेक्षणमा खाद्यान्न अभाव, अशिक्षा, अन्धविश्वास र असुरक्षित खानपान लगायत व्यवहारका कारण यहांका धेरै जसो बालबालिकामा कडा खालको कुपोषण रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

कुपोषित मध्ये पनि आधा भन्दा बढी बालिका रहेका छन् । छोरा छोरीमा गरिने विभेदका कारण उपचार नपाउदा धेरै जसो बालिकाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. विण्णु खतिवडाले बताए । ‘जिल्लामा उपचार नहुने खालका विरामीलाई हामी नै खर्च दिन्छौं । उपचार गर्न जाउ भन्दा पनि मान्दैनन्,’ उनले भने,  ‘घरको काम अलपत्र पर्ने बाहाना देखाएर अस्पतालबाट भाग्छन ।’ 

घरमा खानपान र हेरचाहमा हुने विभेदका कारण पनि बालिकामा बढी कुपोषण हुने गरेको छ । दलित महिला संघकी अध्यक्ष आसा विक भन्छिन, ‘छोरा भए मिठो मसिनो खाना दिने, सुत्केरीलाई पनि माया गर्ने गर्छन । छोरी पाउदा परिवारले खानपिन र हेरचाहमा खासै वास्ता गर्दैनन । जन्मने वितिकै विभेदमा पर्ने भएकोले बालिकाहरुमा कडा खालको कुपोषण बढी देखिएको हो ।’

 

प्रकाशित: माघ २९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार