अर्थ / वाणिज्य

क्यानभासमा धरणीधरको गाउँ

- कान्तिपुर संवाददाता , काठमाडौं

माघ २५, २०७३-जागरण कवि धरणीधर कोइरालाको १ सय २५ औं जयन्ती कविकै जन्मगाउँ कुशेश्वर दुम्जामा मनाइएको छ । सहरमा बिर्सिइँदै गएका यी स्रष्टाको सम्झना दुम्जामा भने भिन्न रूपमा गरिएको धरणीधर स्मृति पुस्तकालयले जनाएको छ ।

केहीअघि चित्रकारहरूले राजधानीबाट धरणीधरको गाउँमै पुगेर बनाएका सिर्जनाहरूलाई कलाकारहरूले सम्झनाको माध्यम बनाए भने कविता वाचनदेखि सांस्कृतिक प्रस्तुतिसम्मका कार्यक्रम भए । 

पुस्तकालय र देवीस्थान माविले सोमबार ‘दुम्जा कलायात्रा–२०७३’ का क्रममा तयार पारिएका चित्रकला तथा मूर्तिकलालाई प्रदर्शनी गरेका हुन् । चित्रकारहरू सुरेम देशार, सुरेन्द्र अधिकारी, राजेन्द्र देशार, अनिल महर्जन र जयराम महर्जनले दुम्जाको प्राकृतिक सौन्दर्य, जनजीवन झल्कने गरी कोरेका चित्रहरू प्रदर्शनीमा राखिए । गाउँका ज्येष्ठ नागरिकदेखि महिला र बालबालिकासम्मले निकै रुचिपूर्वक चित्र अवलोकन गरेको पुस्तकालयले जनायो । चित्रलाई नै साक्षी राखेर कार्यक्रममा कविहरू नारायणबहादुर कोइराला, अमन्तिनाथ कोइराला, अनिता श्रेष्ठ, नारायण दुम्जाली, सुरेम देशार लगायतले रचनापाठ पनि गरे ।

 

धरणीधरको जन्मगाउँ दुम्जालाई पर्यटकीय थलोको रूपमा विकास गर्न आफूहरू लागिरहेको स्थानीय बलराम कोइराला बताए । चित्रकार देशारले पनि सही थापे । कुशेश्वर विद्यापीठका प्रधानाध्यापक विनोद कोइरालाले राणा शासनविरुद्ध जनतालाई जागरुक हुन झकझक्याउने धरणीधरलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासो गरे ।

माधवप्रसाद न्यौपाने, अर्जुन खड्का, विकास भण्डारी, राजेन्द्र देशारलगायतले भाषा, साहित्य र शिक्षाका क्षेत्रमा धरणीधरको योगदानको चर्चा गरे । रोशनी घिसिङ, अस्मिता लामा, मनीषा श्रेष्ठ, यादव रायमाझी, विकास लामा, रमेश श्रेष्ठ, निशा भण्डारी, प्रीति दोङले लोक नृत्य देखाए । 

प्रकाशित: माघ २५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार