जीवनशैली

अपुरो हनिमुनको कथा

- मधु शाही, काठमाडौं

माघ २५, २०७३-उनी सहरकी केटी । काठमाडौंको केन्द्र न्युरोडमा थियो घर । लक्ष्मी माली त्यहीँ जन्मिन्, हुर्किन् । पढेर घरमै थन्किने युवतीमा लक्ष्मी पटक्कै थिइनन् । त्यसैले उनले त्यति बेला विकट मानिने नैकापमा शिक्षण पेसा अँगाल्ने निधो गरिन् । समय २०३४ तिरको हो । विद्यामन्दिर स्कुलमा शिक्षिका बनेर गएकी लक्ष्मी स्कुलको बेथिति देखेर खिन्न थिइन् । लेख्नलाई चक थिएन । कालोपाटी उक्किएको थियो । धुलो उड्ने कक्षाकोठा । औंलामा गनिने विद्यार्थीमध्ये एक जना पनि छोरी मान्छे छैनन् । यो सब देखेर लक्ष्मीमा खिन्नता छायो । 

उदासीमा सानो जुनकिरीको प्रकाश पनि ठूलो उज्यालो लाग्छ । एक दिन लक्ष्मीको जीवनमा कवि स्नेह सायमी जुनकिरी भएर आए । एकातिर लक्ष्मी शिक्षा दिन एक्लै संघर्ष गरिरहेकी थिइन्, उता नैकाप निवासी स्नेह पनि भोलेन्टियरकै रूपमा विद्यार्थी पढाउन सहयोग गर्न स्कुल आएका थिए । तन्नेरी ठिटा स्नेह त्यति बेला आफ्ना केही साथीसँग मिलेर स्कुल सुधार अभियानमा लाग्दै थिए ।

‘पहिलो भेटमै उहाँको सोचबाट प्रभावित भएँ,’ लक्ष्मीले सम्झिइन् । स्नेह पनि छोरीले स्कुल जान नपाउने उस बेलाको समाजमा लक्ष्मी जस्ती साहसी शिक्षिकाको साथ पाएर दंग थिए । यता साहित्यिक रुचिले पनि उनीहरूको मित्रताको बत्तीमा तेल थप्ने काम गर्दै थियो । उनीहरू सँगै हिँडडुल गरेको देख्नेहरूले खासखुस कुरा काट्ने पनि गर्थे । ‘सहरिया मिससँग खुब नजिकिन थाल्दै छस्’ भनेर स्नेहका साथीहरूले जिस्क्याउँथे रे । 

‘लक्ष्मी जागिरे, शिक्षित र सम्पन्न थिइन्,’ स्नेहले सुनाए, ‘म चाहिँ फिरन्ते ।’ गाउँमा चलेको हल्लाले एकअर्काप्रतिको प्रेमभावमा मलजल नै गरेछ । ‘अनि हामी मौन प्रेममा हराउन थालेछौं,’ उनले भने ।

दुई वर्षजति कुनै मौखिक प्रस्तावबिना स्नेह र लक्ष्मीको माया झाँगिँदै थियो । यता देशको राजनीति डरलाग्दो अवस्थामा पुग्दै थियो । २०३६ को विद्यार्थी आन्दोलन उठदै थियो । शिक्षालाई व्यवस्थित गर्नुपर्छ भन्ने मागसहित लक्ष्मी र स्नेह पनि आन्दोलनमा जुटे । 

आन्दोलनपछि स्नेह स्कुल पढाउन छाडेर बुबाको पुख्र्यौली व्यवसायमा साथ दिन वीरगन्ज पुगे । नजिकको मान्छे टाढा भएपछि मात्रै त्यसको महत्त्व हुन्छ । स्नेह टाढिएपछि मात्रै लक्ष्मीले यो कुरा बुझिन् । ‘अघिपछि गरिरहने उहाँले स्कुल छोडेर गएपछि अभाव महसुस गरें,’ उनले भनिन्, ‘अनि प्रेममा परेकी रहेछु भन्ने थाहा पाएँ ।’

त्यही वर्ष स्नेहले पहिलो कविता संग्रह ‘चौतारो बोल्यो’ प्रकाशन गरे । अनि पहिलो उपहारस्वरूप लक्ष्मीलाई हातमा थमाइदिए । पुस्तकको भित्री पानामा प्रेमभाव लेखेर दिएका थिए उनले । यो कृति लक्ष्मीले अहिलेसम्म पनि सम्हालेर राखेकी छन् ।

करिब पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरूले बिहे गर्ने निधो गरे । नेवार समुदायका भए पनि जात तलमाथि भएको भन्दै स्नेहका बुबाले बिहे स्वीकार गर्न मानेका थिएनन् । ‘लक्ष्मीसँग बिहे गर्ने विषयमा घरमा २० पटकसम्म मिटिङ बस्नुपरेको थियो,’ स्नेहले भने, ‘बुबाको असहमति भए पनि आमा र हजुरबाको साथ पाएँ ।’ 

लक्ष्मीको घरमा भने कुनै समस्या थिएन । स्नेहले चाहिँ लक्ष्मीसँग विवाह गरेकै कारण गुठीबाट छुट्टिनुपर्‍यो । यसलाई उनी प्रेमका लागि त्याग ठान्छन् । आफ्नो प्रेमको सम्मान नहुने समाजमा रहनुभन्दा नयाँ समाज नै निर्माण गर्न सहज हुने स्नेहले अठोट लिए । फलस्वरूप उनले आफू जस्तै प्रेम र जातका कारण अपहेलित भएकाहरूसँग मिलेर ‘चन्द्रागिरि मानन्धर गुठी’ खोले, जसको अध्यक्ष अहिले उनै छन् ।

विसं २०४० मा लगनगाँठो कसिएपछि शिक्षक लक्ष्मीको जीवनमा निकै उतारचढाव आए । घर, शिक्षिका र आमाको भूमिका एकैसाथ निभाउँदा साहित्यमा उनले कलम चलाउन बिर्सिसकेकी थिइन् । स्नेह भने बेलाबखत साहित्यिक माहोल सिर्जना गराएर लक्ष्मीलाई लेख्न अभिप्रेरित गर्थे ।

‘विभिन्न साहित्यिक गतिविधि घरमै गर्नुहुन्थ्यो उहाँ,’ लक्ष्मीले सुनाइन्, ‘त्यहाँ मैले पनि सहभागी हुने मौका पाउँथें ।’

विसं २०४६ को राजनीतिक आन्दोलनमा लक्ष्मी छोरी पिठयुँमा बोकेर सडकमा उत्रिइन् । त्यही बेला उनले ‘आमा तिम्रो नाम के हो ?’ कविता सुनाएकी थिइन् । ‘उहाँको साथ नभएको भए कहाँ त्यति हिम्मत जुटाउँथें र ?’ उनले भनिन्, ‘हाम्रो समाजमा महिला अगाडि बढ्न पुरुषको साथ हुनैपर्छ ।’ 

तीन दशक लामो वैवाहिक यात्रामा हिँडिरहेका स्नेहको मनमा यति बेला भने अपुरो हनिमुनले सताउने गर्छ । बिहेलगत्तै लक्ष्मीले पोखरा घुम्न जाऔं भनेकी थिइन् । ‘बाउको खर्चमा बिहे गरेको थिएँ, जागिर थिएन अनि पैसा पनि,’ स्नेहले सम्झिए, ‘लक्ष्मीले पैसा मसँगै छ जाऔं भन्दा पनि गइनँ ।’ अहिले त्यो क्षण उनी खोजेर पनि पाउँदैनन् ।

लक्ष्मीलाई स्नेहको क्रियाशील, सहयोगी र खाना मिठो मानेर खाइदिने स्वाभाव अत्यन्त मनपर्छ । तर, सानो कुरामा पनि झनक्क रिसाइहाल्ने, असाध्यै छिटो खाने र तुरुन्तै प्रतिक्रिया दिइहाल्ने बानी मन पर्दैन । लक्ष्मीका पनि केही व्यवहार स्नेहलाई राम्रो लाग्दैन । धेरै बोल्ने, आफ्नो केयर नगर्ने र खानापानमा आफैं बेवास्ता गर्ने लक्ष्मीको स्वभाव स्नेहलाई मन पर्दैन । लक्ष्मीको विश्वसनीयता, सञ्चय गर्ने र स्वतन्त्र बन्न दिने स्वाभावले स्नेह अझै पनि प्रभावित छन् ।

पारिजात स्मृति केन्द्रको अध्यक्ष समेतको भूमिका गरेकी लक्ष्मीका ‘आगोको याम’ र ‘आरुका फूलहरू’ गरी दुई कविता संग्रह प्रकाशित छन् । स्नेहका पनि ‘पुल र पर्खालहरू’ र अंग्रेजी अनुवाद कृति ‘ब्रिज एन्ड वाल’ कविता संग्रह छन् ।

प्रकाशित: माघ २५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार