समाचार

बाबुलाई उन्मुक्ति, आमालाई जेल

- कृष्ण ज्ञवाली, काठमाडौं
अनिच्छित वा अवैध गर्भधारणबाट जन्मिएका शिशुको हत्या गर्ने आमाले जेल सजाय पाउँदा त्यसमा संलग्न पुरुषहरू भने कारबाहीबाट बच्ने गरेका छन्

माघ १९, २०७३-सल्यान सिद्धेश्वरीकी दिलमाया चलाउनेले आफैंले जन्माएको बच्चालाई तत्काल प्लास्टिकले बेरेर खाल्डो खनी नजिकैको ओडारमुनि गाडिदिइन् । बाख्रा चराउन जाने गोठालाहरूले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरे । २०६९ असार ४ गते शव भेटिएपछि स्थानीय बासिन्दाको उजुरीका आधारमा प्रहरीले चलाउनेलाई पक्राउ गर्‍यो । 

‘नाताले देवर पर्ने स्थानीय स्कुलका शिक्षक गेहेन्द्रले मोबाइल चार्ज गर्ने निहुँमा घरमा आई मलाई जबर्जस्ती गरेको हो । ऊसँग २०६८ साल साउन र भदौमा गरी मेरो दुई पटक उठबस भएको हो,’ २५ वर्षीया दिलमायाले बयानका क्रममा भनिन्, ‘मलाई विवाह गरेर लैजा भन्दा ऊ मानेन । सुरुमा कताकता गयो, पुसमा आएपछि नेपालगन्ज गएर मेडिकल गर्दा डाक्टरले गर्भपतन गर्न मिल्दैन भन्यो ।’

उनले पछि आफूले बच्चालाई जन्माएको र जन्मिने क्रममा बच्चा नचलेको र निष्क्रिय रहेकाले मरेको ठानेर सालनालसहित फालेको बयानमा बताएकी छन् । दिलमायाले बयानमा आफूले गल्ती गरेको स्विकार्दै गेहेन्द्रलाई पनि कारबाही हुनुपर्ने माग राखिन् । मुलुकी ऐनको ज्यानसम्बन्धी महलअनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने ठहर्‍याएको सल्यान जिल्ला अदालतले ‘लोग्ने विदेशमा रहेका बेला परपुरुषसँग सम्पर्क गरी सामाजिक लोकलाजका कारण बच्चा फालेकाले कैद चर्को हुने ठहर गरी १० वर्ष कैद हुने’ फैसला गर्‍यो । 

फैसलाप्रति विमति राखी उनले आफूले नवजात शिशुको हत्या नगरेको र हत्या गरेको प्रमाण पनि प्रहरीले पेस गर्न नसकेको भन्दै ‘बच्चा जन्मेपछि हातगोडा नचलाई मरेजस्तो देखिएकाले फालेको हुँ’ भन्ने दाबी दोहोर्‍याइन् । पुनरावेदन अदालत तुलसीपुरले २०७० साल साउनमा १० वर्ष कैद ‘चर्को पर्न जाने’ ठहर्‍याई ७ वर्ष कैद फैसला गर्‍यो । फैसलामा चित्त नबुझाई कडा सजायको माग गरेको प्रहरी र आफू निर्दोष दाबी गरेकी दिलमाया दुवै सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले पुनरावेदन अदालतकै फैसला सदर गरिदियो । 

‘दिलमायाले गेहेन्द्र र आफ्नो उठबस भएको बताएकी छन् । अवैध गर्भधारणबाट बच्चा जन्मेको देखियो,’ न्यायाधीशहरू गोपाल पराजुली र ओमप्रकाश मिश्रले गरेको फैसलामा भनिएको छ, ‘दिलमायाले बच्चा मरेको अवस्थामा जन्मेको थियो भनेर पुष्टि हुने कागजात र देख्ने साक्षीसमेत उपस्थित गराउन सकेको पाइँदैन । अवैध गर्भ र शिशुलाई लुकाउने उद्देश्यका साथ गाडेकाले मरेको शिशु नै जन्मेको थियो भनी पुष्टि हुन सकेको छैन ।’

सर्वोच्च अदालतले हालै पूर्णपाठ तयार पारेको तनहुँको घटनामा पनि आमाले सजाय पाइन् । तनहुँको माझकोट गाविसकी छिमा रानाले २०६७ मंसिर २१ गते राति ५ महिनाकी छोरीलाई ३ पटक चुम्बन गरिन्, उनको घाँटीमा रुमाल कसिन र हातले नाकमुख थुनिदिइन् । घटनाबारे थाहा पाएपछि प्रहरीमा छिमाविरुद्ध उजुरी पर्‍यो । 

‘नाताले भाइ पर्ने केशरबहादुर रानाका कारण मेरो गर्भ रहन गएको हो,’ १७ वर्षीया अविवाहित छिमाले बयानका क्रममा भनेकी छन्, ‘इच्छाविपरीत गर्भधारण भई जन्मेको बच्चाको न्वारान पनि नभएको, बाउ को हो भनी खुलाउन सक्ने अवस्था पनि नभएको र आफू भर्खरै १७ वर्षमा लागेकाले भविष्य पनि अन्धकार हुने सोची बच्चीलाई पन्छाउन उपयुक्त हुने ठानी हत्या गरेको हुँ ।’ 

उनले आफूले गर्भवती भएपछि केशरबहादुरलाई त्यसबारे थाहा दिएको बयानमा बताएकी छन् । सुरुमा ‘मिलाउँछु’ भनेका केशरबहादुर र छिमाको विषयमा गाउँभर हल्ला चलेपछि समाज बसेर घटना मिलाएको भेटियो । उक्त मुद्दामा जिल्ला अदालत तनहुँले २०६९ जेठ महिनामा फैसला गरी १० वर्ष कैद सुनायो । 

‘सामाजिक तिरस्कारका कारण बाध्य भई आवेशमा छोरीको हत्या गरेको हुँ, कसुर चर्को भयो’ भनी छिमा पुनरावेदन अदालत पोखरा पुगिन् । पुनरावेदन पोखराले ‘सजाय चर्को पर्न जाने’ भन्दै ७ वर्ष कैद सजाय हुने फैसला गर्‍यो । सर्वोच्चमा पनि तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद साह र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले पुनरावेदनको फैसला सदर गर्‍यो । 

बाबुबिनाको सन्तानले समाजमा भोग्नुपर्ने समस्या र कठिनाइका कारण कतिपय आमाले ‘कठोर’ निर्णय लिने गरेको बताउँछिन्, समाजशास्त्रकी अध्यापक ज्ञानु क्षत्री । ‘शिशुलाई विद्यालयमा भर्ना गर्नेदेखि नागरिकता लिनसमेत कठिनाइ झेल्नुपर्छ,’ क्षत्रीले भनिन्, ‘कठिन परिस्थिति सामना गर्न नसकेर कतिपय महिला अपराधको स्थितिसम्म पुग्ने गरेका छन् ।’ सन्तानलाई नै काखी च्यापेर आत्महत्या हुने घटना पनि देखिएको भन्दै उनले पारिवारिक कानुन परिमार्जनका क्रममा यस्ता समस्या सम्बोधन हुनुपर्ने बताइन् । 

माथि उल्लिखित दुवै घटनामा शिशुका बाबुहरूले उन्मुक्ति पाएका छन् । सल्यानको घटनामा दिलमायाले गेहेन्द्रलाई २ महिनापछि घटनाबारे जानकारी गराएकी थिइन् । नजिकैको स्वास्थ्य चौकीमा देखाउन सल्लाह दिएका गेहेन्द्र त्यसपछि सम्पर्कविहीन भई पुसमा मात्रै दिलमायालाई लिएर नेपालगन्ज पुगी स्वास्थ्य परीक्षण गराएका थिए । स्थिति गम्भीर भएपछि गेहेन्द्रले ‘जेसुकै गर’ भनेको दिलमायाले बयानका क्रममा खुलाएकी छन् । ‘मेरो गल्ती भएकै हो, मेरो जत्तिकै गल्ती गेहेन्द्रको पनि छ, उसलाई पनि कारबाही हुनुपथ्र्यो’ दिलमायाको बयानमा उल्लेख छ । 

हरेक महिना यस्ता फौजदारी मुद्दाको बहस गर्ने सरकारी वकिलहरू अवैध सम्बन्धपछि पुरुषको तुलनामा महिलाले नै चुनौती र कठिनाइ सामना गर्नुपर्ने अवस्था भएकाले त्यसले गलत परिणाम निम्त्याएको बताउँछन् । 

‘अवैध सम्बन्धका घटनाहरूपछि सबै चुनौती महिलाले सामना गर्नुपर्दा कतिपय गलत नतिजा हुने काममा अग्रसर हुन्छन्,’ सहन्यायाधिवक्ता रमादेवी पराजुली भन्छिन्, ‘त्यो स्थिति आउनुमा पुरुष जिम्मेवार ठहरिए पनि त्यस्ता फौजदारी घटनामा संलग्नहरूमात्रै कानुनी दायरामा परेका छन् ।’ 

नेपालकै पारिवारिक कानुनका कतिपय पक्षमा भएका खाडलले पनि सामाजिक प्रतिष्ठाका कारण शिशुको हत्या गर्नेसम्मका घटना भएकाले तिनलाई पनि सम्बोधन गर्नुपर्ने उनले बताइन् । तर हत्यामा संलग्न भेटिए पुरुषहरू पनि कानुनी दायरामा आएका छन् ।  

तनहुँको हाडनाता जोडिएको घटनामा दुवै पक्ष एकै परिवारको भएको हँुदा अपराध लुकाई राखी घरमै क्षतिपूर्ति दिलाई छिमाले बच्चाको स्याहारसुसार गर्दै आएकी थिइन् । ‘मेरै माइला बाबुका छोराले घरमा कोही नभएका बेला मलाई जबर्जस्ती गरी गर्भ बोकाएको हो,’ उनले भनेकी छन्, ‘पछि बताउँदा तिमीले यो कुरा कसैलाई नभन म व्यवस्था गर्छु भनी उसले भनेको हो ।’ 

रकम अभावले गर्भपतन गर्न नसकी उनले छोरी जन्माएको खुलेको थियो । त्यसक्रममा केशरबहादुरको नाममा म्याद जारी भए पनि गुज्रिएर बसेको रहेछ । शिशु हत्याबाहेक हाडनाता करणीको मुद्दा पनि अदालतमा विचाराधीन थियो । प्रहरीले केशरबहादुरलाई पनि विपक्षी बनाएको थियो तर उनको हकमा भने अदालतको फैसलामा उल्लेख छैन । 

प्रकाशित: माघ १९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार