जीवनशैली

राम्री देखिन माइक्रोब्लेडिङ

- कान्तिपुर संवाददाता , काठमाडौं
‘आँखीभौं राम्रो भए रूपै राम्रो देखिन्छ, उमेरको असरलाई पनि घटाउँछ यसले’

माघ १९, २०७३- आँखीभौं पातलो हुनुको पीडा महिलाहरूलाई भलिभाँती थाहा छ । घरबाट बाहिर निस्किँदैपिच्छे पेन्सिलले कोर्नुपर्छ । पिग्मेन्ट जेल दल्नुपर्छ । रौं बाक्लो देखाउन कोहीले त टयाटु नै खोपाएका हुन्छन् । तर टयाटुले आँखीभौं बनाउँदा केही समयपछि रङ बदलिएर कुरूप देखिन सक्छ । 

ब्युटी थेरापिस्ट रुसिया राईले आइब्रो बाक्लो बनाउने एउटा नयाँ विधि सुरु गरेकी छन् । लन्डनको फिब्रोज कम्पनीमा तालिम लिएकी उनले ‘माइक्रोब्लेडिङ’ भन्ने शैली नेपालमा अपनाउन आँटेकी छन् । यसमा पिग्मेन्टलाई छालाभित्र छिराइन्छ । हुन त यो सेमी पर्मानेन्ट टयाटु नै हो, तर पर्मानेन्टभन्दा निख्खर प्राकृतिक र सुन्दर देखिन्छ । विदेशमा यसको लोकप्रियता बढ्दो छ । 
‘माइक्रोब्लेडिङ गर्दा सबै डिस्पोजेबल यन्त्र प्रयोग गर्नुपर्छ,’ धुलिखेल अस्पतालमा नर्ससमेत गरेकी रुसियाले भनिन्, ‘छालाको मध्य भागमा पिग्मेन्ट राखिने भएकाले कुनै प्रकारको साइड इफेक्ट हुँदैन ।’ उनका अनुसार टयाटु दुई वर्ष ढुक्कैले टिक्छ । माइक्रोब्लेडिङ गरिसकेपछि ट्रिटमेन्ट क्रिमहरू भने लगाइरहनुपर्छ । 

छाला र अनुहारको बनावटअनुरूप आइब्रोको सेप मिलाएपछि मात्रै ब्लेडिङ सुरु गरिन्छ । यसो गर्दा आँखीभौंको हड्डी ख्याल गर्नुपर्ने रुसियाले बताइन् । भनिन्, ‘हड्डीअनुसारकै सेप निकाल्नुपर्छ । सुहाउँदो सेप निकालेपछि खोप्न सुरु गरिन्छ । एक जनाको माइक्रोब्लेडिङ गर्न दुई घण्टाजति लाग्छ ।’ 

यो विधिले आइब्रो मिलाइराख्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ । पातलोलाई भनेजस्तै बाक्लो बनाइदिन्छ । अनुहार सुहाउँदो सेप निकालिने भएकाले टयाटुको अवधि सकिएपछि पनि थ्रेडिङ गर्न सहज हुन्छ । ‘आँखीभौं राम्रो भए रूपै राम्रो देखिन्छ,’ रुसियाले भनिन्, ‘एजिङ (उमेर) को असरलाई पनि घटाउँछ यसले ।’

नेपालमा खासै प्रचलनमा नआएको यो विधिबारे जानकारी दिन यी थेरापिस्ट तीन महिनाका लागि स्वदेश आएकी छन् । फेब्रुअरी १ बाट उनले लाजिम्पाटको सिटी स्पामा केही इच्छुकको माइक्रोब्लेडिङ गराउने बताइन् । आफ्नै दिदीको समेत गराइसकेकी छन् । ‘पातलो आइब्रो थियो मेरो’, दिदी चाहिँले भनिन्, ‘भी सेप थियो । सुहाएकै थिएन । अहिले अनुहार नै फेरिएजस्तो लागेको छ ।’

प्रकाशित: माघ १९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार