अर्थ / वाणिज्य

ऋणमा चर्को ब्याज

  • बचतमा ब्याज बढाएर तरलता अभाव कम गर्न प्रयास नगरी बैंकहरूले धमाधम ऋणको ब्याज बढाउन थालेका छन्
- यज्ञ बञ्जाडे, काठमाडौं

माघ १९, २०७३-सर्वसाधारणको बचतमा न्यून प्रतिफल दिइरहेका बैंक र वित्तीय संस्थाले सानाठूला सबै ऋणको ब्याज भने धमाधम बढाउन थालेका छन् । तरलता अभाव भएको भन्दै ३ प्रतिशत विन्दुसम्म ऋणको ब्याज बढाइरहेका वित्तीय संस्थाले साधारण र अन्य नाममा ल्याइएका बचत (सेभिङ्स) मा भने बढाएका छैनन् । 

यसबाट सर्वसाधारण सबैभन्दा बढी मर्कामा परेका छन् । गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा व्यक्तिगत (सर्वसाधारण) को अंश करिब ५३ प्रतिशत छ । त्यसमध्ये १०/१२ प्रतिशत मुद्दतीमा रहेको मान्दा पनि कुल निक्षेपमा करिब ४० प्रतिशत सर्वसाधारणको बचत देखिन्छ । यसले पनि बैंक तथा वित्तीय संस्थाको निक्षेपमा सर्वसाधारण बचतको योगदान महत्त्वपूर्ण रहेको स्पष्ट हुन्छ । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूको योगदान बेवास्ता गर्दै ३ प्रतिशतभन्दा कम ब्याजदर दिइरहेका छन् । उक्त ब्याजदर करिब एक वर्षअघि (वित्तीय प्रणालीमा अधिक तरलता हुँदा) को हो ।

लगानीयोग्य रकम नभएर ऋण प्रवाह नै रोक्नुपर्ने अवस्था आउँदा पनि सर्वसाधारणको निक्षेपको ब्याजदर नबढ्नु गम्भीर भएको पूर्वबैंकर शोभनदेव पन्तले बताए । ‘नेपालको वित्तीय प्रणालीमा सर्वसाधारण बचतकर्ताहरू सधैंभरि अन्यायमा पर्दै आएका छन्,’ उनले भने, ‘अहिलेको अवस्था पनि त्यही हो ।’ न्यून ब्याजदर दिएकै कारण सर्वसाधारण बचतकर्तालाई बचत गर्न प्रोत्साहन गर्न नसकिएको उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाहरू प्रत्यक्ष मुनाफामा मात्र लागेकाले बचतको ब्याज नबढेको हो,’ उनले भने । यो मुद्दामा नियामक निकाय पनि चुकेको जनाउँदै उनले भने, ‘बचतको ब्याजदर वृद्धि गरी बृहत् रूपमा सर्वसाधारणबाट निक्षेप संकलन गर्नुपर्छ । यो सही तरिका भएन ।’

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढीमा ५ प्रतिशत कायम गर्नुपर्छ । दबाबमै भए पनि अधिकांश बैंकहरूले उक्त सीमा कायम गरेको देखिन्छ । यद्यपि केही बैंकहरूको स्प्रेड दर पाँच प्रतिशतभन्दा माथि पनि पुगिसकेको छ । तर, सर्वसाधारणले भने बढेको ब्याजदरको लाभ पाउन सकेका छैनन् । केही बैंकले सामान्य दरमा बढाए पनि बचतको ब्याजदर तिनमा पनि ५ प्रतिशतमुनि नै छ । तर यसअघि अधिक तरलता हुँदा कम ब्याजमा ऋण लिएका सबै प्रकारका ऋणीको ब्याजदर बढेको छ । 

बचत नबढेको मात्रै नभई पुराना मुद्दती निक्षेपका ग्राहकको पनि अधिकांशको ब्याज बढेको छैन । ब्याजदर बढाएका केही बैंकहरूले पनि पुरानाको दर यथावत् राखी नयाँ निक्षेपमा मात्र हो भनिरहेका छन् । ‘उनीहरूले नयाँ बचत गरे भइहाल्यो नि, किन पुरानो भनेर कराउनुपर्‍यो,’ एक बैंकरले भने । तर मुद्दती निक्षेपमा राखेको बचत तोकिएको समयअगावै निकाल्दा ग्राहकले हर्जाना (जरिवाना) तिर्नुपर्छ । यही कारण पनि अधिकांश ग्राहक सस्तो दरमा भए पनि पैसा बचत गर्न बाध्य छन् । 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २२ खर्ब १३ अर्ब रुपैयाँ छ । त्यसमध्ये करिब ११ खर्ब ७६ अर्ब रुपैयाँ व्यक्तिगत बचतमा छ । यो कुल निक्षेपको ५३ दशमलव २ प्रतिशत हुन आउँछ । अधिकांश बैंक तथा वित्तीय संस्थाले यस्तो बचतमा ब्याज बढाएका छैनन् । यद्यपि ब्याजदर बढे/नबढे पनि सर्वसाधारणबाट छिट्टै कुनै प्रतिक्रिया नआउने भएकाले बैंकहरूले बचतमा ब्याजदर नबढाएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘अहिले यो कुरा बोल्दा धेरैलाई नराम्रो लाग्ला तर बचतमा ब्याजदर नबढाएर बैंकहरूले ठूलो गल्ती गरेका हुन्,’ ती बैंकरले भने, ‘बैंक तथा वित्तीय संस्थाले आफ्नो मुनाफामात्रै हेरेकाले ब्याज नबढाएका हुन् । मुनाफामा असर पर्ने कुनै पनि काम गर्दैनन् ।’ अहिले बचतको ब्याजदर बढाउँदा लगानीकर्ता उत्साहित हुने भएकाले बंैकिङ प्रणालीबाहिर रहेको बचत बैंक तथा वित्तीय संस्थामा आउने उनको तर्क छ । ‘सबै प्रकारका दर बढ्दा बचतको दर बढाउनुपर्छ कि पर्दैन ?’ उनले प्रतिप्रश्न गरे । 

कोषको लागत (कस्ट अफ फन्ड) बढेसँगै बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर बढाइसकेकाले बिस्तारै बचतमा पनि बढाउने तयारी भइरहेको बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले बताए । उनले भने, ‘केही बैंकले बचतको ब्याजदर पनि बढाइसकेका छन् । बाँकी पनि बढाउने तयारीमा देखिन्छन् ।’ एकैपटक बचतको ब्याज बढाउँदा कर्जाको दर पनि बढाउनुपर्ने भएकाले लागत बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा समस्या ल्याउने उनले जनाए । 

‘तरलता अभावको सुरुको अवस्था भएकाले बैंकहरू तरलता अनुपात सन्तुलित बनाउन लागिपरेका छन् । त्यसका लागि ठूलो रकम निक्षेप चाहिएकाले यसो भएको हो,’ पौड्यालले भने, ‘बिस्तारै अन्य बचतको दर पनि बढ्छ ।’ 

बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई बचतमा न्यून ब्याज दिएकाले केही बैंकरलाई चित्त बुझेको छैन । अधिक तरलताका कारण अघिल्लो वर्ष ऋणको ब्याजदर र निक्षेपको ब्याजदर दुवै तल झर्नु न्यायसंगत नभएको ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बताए । ‘बचतमा सर्वसाधारणले पाउँदै आएको ब्याजदर न्यायोचित होइन,’ उनले भने, ‘यद्यपि ब्याज बढाउँदैमा एकै पटक ठूलो निक्षेप आउला र विद्यमान समस्या समाधान होला जस्तो लाग्दैन ।’ यसैकारण बैंकले बचतको ब्याजदर एकैपटक नबढाएका होलान् ।  

बैंकहरूलाई लामो समयका लागि तरलता चाहिएको हो । सर्वसाधारणको बचत अल्पकालीन हुने भएकाले अपेक्षित रूपमा ती योजनामा ब्याजदर नबढेको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । सर्वसाधारणको बचतको प्रकृति उतारचढावपूर्ण हुने भएकाले बैंकहरूले ब्याजदर नबढाएको पूर्वबैंकर परशुराम खत्रीले बताए । ‘राष्ट्र बैंकले दिएको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बीचमा रहेर व्यवसाय गर्न छुट छ,’ उनले भने, ‘त्यसैले बचतको दर नबढाएका होलान् । ब्याजदर बढ्दैमा एकैपटक सिस्टममा आउँछ भन्ने हुँदैन ।’ समस्या समाधान गर्न व्यापारिक उद्देश्यले खरिद हुने जग्गामा कर्जा विस्तार रोक्न र सरकारी खर्च बढाउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित: माघ १९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार