जीवनशैली

बहसमा थकाली संस्कृति

- कान्तिपुर संवाददाता , काठमाडौं
कला र जीवन फरक फरक हुँदैनन् । गाउँबेसी गर्दागर्दै, कोदो र गहुँबारी गोड्दागोड्दै र पँधेरोमा पानी भर्दाभर्दै पनि शरीरले कलात्मक भाषा निर्माण गरिसकेको हुन्छ ।

माघ ४, २०७३- यति बेला थकाली समुदायलाई बल्ल फुर्सद मिलेको छ । हरेक  १२ वर्षमा मुस्ताङमा लाग्ने ल्हफेव (भगवान् उदाउने) मेला भर्खरै सकिएको छ । संसारभरबाट आफ्नो थातथलो फर्किने यो मेलाकै बीच नेपाल संगीतनाटय प्रज्ञा प्रतिष्ठानले भने बहस चलायो । 

मुस्ताङकै कोबाङ, थासाङलगायतका थलोमा पुगेर थकाली संस्कृतिमाथि प्रतिष्ठानले बहस चलाएको हो । ‘पछिल्लोपटक मुस्ताङ फिल्म सुटिङको थलोको रूपमा पनि विकास हुँदै गइरहेको छ,’ मुस्ताङबाट हालै फर्किएका प्रतिष्ठानका प्राज्ञ पुष्कर गुरुङले भने, ‘तर, स्थानीय संस्कृतिमाथि खासै कुनै पनि फिल्मको विषयले छुन सकेको छैन । खाली प्रकृतिमात्रै खिचेर फर्किन्छन् धेरैजसो चलचित्रकर्मी । यस्तोमा प्रतिष्ठानले मुस्ताङको मौलिक कलाको खोजी गर्ने प्रयत्न गरेको हो ।’ 

मुस्ताङको कोबाङमै छायांकन गरिएको ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ दुवैमा समेत कलाकारको भूमिका गरेका प्राज्ञ पुष्करले क्यामेराले प्रकृति खिच्दैमा समाज र संस्कृतिको प्रवद्र्धन नहुने दाबी गरे । ‘त्यही भएर हामीले संस्कृतिको जरा खोतल्ने प्रयास थालेका हौं ।’

प्रतिष्ठानले मंगलबार ‘थकाली संस्कृति, संस्कार र प्रदर्शनकारी कला’ माथि मुस्ताङकै होटल रिभर भ्यूमा अन्तरक्रिया गरेको थियो, जसमा अर्का प्राज्ञ रमेशरञ्जन झाले ‘प्रदर्शनकारी कला’ को महत्त्व प्रस्टयाएका थिए । 

‘कला र जीवन फरक फरक हुँदैनन्, गाउँबेसी गर्दागर्दै, कोदो र गहुँबारी गोड्दागोड्दै र पँधेरोमा पानी भर्दाभर्दै पनि शरीरले कलात्मक भाषा निर्माण गरिसकेको हुन्छ,’ उनले भने, ‘प्रतिष्ठानले यसपटक मुस्ताङको थकाली समुदायको जीवनसित जोडिएको यस्तै कलाको महत्त्वलाई प्रस्टयाउने र त्यहीअनुरूप संरक्षणको मार्गनिर्देश गर्ने कोसिस गर्‍यो ।’

उनका अनुसार कार्यक्रममा बाह्रवर्षे मेला ‘ल्हफेव’ देखि थकाली समुदायको प्राचीन प्रदर्शनकारी कलासम्म पहिल्याउने काम भयो । ‘ल्हफेव थकाली संस्कृति र समाज’ विषयक प्रस्तुतिमा वसन्त भट्टचन र विमल शेरचनले चार चन समुदायका भगवान्हरू ‘ल्ह लाङवा न्हुर्बु’, ‘ल्ह क्हाङलासिंकी कर्पो’, ‘ल्ह छुयुरिन ग्याल्मो’ र ‘ल्ह हावार्‍हाङज्युङ’ को उत्पत्ति, अर्थ र यसको सांस्कृतिक वैज्ञानिकताको पक्षमाथि प्रकाश पारेका थिए भने ‘थकाली जातिमा प्राचीन प्रदर्शनकारी कला’ माथि पूर्णप्रसाद तुलाचनले प्रस्टयाए । 

यी प्रस्तुतिहरूमाथि डा. किशोर शेरचन, प्रा. सोमप्रसाद गौचन, वसन्त शेरचन, डा. ज्योति शेरचनलगायतले टिप्पणी गरे । उनीहरूले हरेक १२ वर्षमा मन्दिरबाट देउता निकालेर नुवाउने, गाउँ घुमाउने, पूजा गर्नेजस्तो संस्कृति निरन्तर अघि बढिरहेको भए पनि थाहै नपाई मौलिक शैलीमा निकै ठूलो परिवर्तन आइरहेको दाबी गरे ।

‘आजभन्दा ३६ वर्ष अगाडिको मेला र अहिलेको मेलामा ठूलो अन्तर आइसकेको रहेछ,’ प्राज्ञ झाले भने, ‘थाहै नपाई हुने यस्तो परिर्वतनले मौलिक सांस्कृतिक पहिचानमा के कस्तो असर गरिरहेको छ भन्ने आजको ताजा बहस हो । हिमाली जिल्ला पहिलोपटक यस्तो बहस हुनुले निकै ठूलो अर्थ राख्न सक्छ ।’

कार्यक्रममा थकाली समुदायका विभिन्न कला प्रस्तुतिसमेत गरिएको प्राज्ञ झाले बताए । थकाली सेवा समितिकी अध्यक्ष कृष्णकुमारी शेरचनले पनि ल्हफेवको महत्त्वमाथि प्रकाश पारेकी थिइन् । उनले यसपटक ल्हफेवलाई नयाँ ढंगले प्रवद्र्धन गर्न कविता प्रतियोगिता, न्होकोन चोली क्हयोव त्हुर्व (फेसन सो), खुल्ला म्याराथन दौड, तारा खेललगायत कार्यक्रम पनि सम्पन्न भएको बताइन् । 

प्रकाशित: माघ ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार