समाचार

न औषधि, न स्वास्थ्यकर्मी

  • गर्भवतीलाई आइरन चक्कीसमेत छैन
  • सिटामोल लिन सदरमुकामै धाउनुपर्ने बाध्यता
- पूर्वाञ्चल ब्युरो, विराटनगर

माघ २, २०७३-सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र नि:शुल्क औषधि पाइने प्रचार गरिरहे पनि पूर्वी जिल्लाहरूको अवस्था त्यस्तो छैन । गाउँका स्वास्थ्य संस्थाहरूमा न औषधि पाइन्छ, न त सल्लाह दिने स्वास्थ्यकर्मी भेटिन्छन् । नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्थाहरू बेकामेजस्ता भएका छन् । 

सर्वसाधारणले रुघाखोकीजस्ता सामान्य समस्या लिएर सदरमुकाम वा अरू निजी संस्थामा नपुगी सेवा नपाउने अवस्था छ ।

स्वास्थ्य संस्थाहरू सुनसान

औषधि हुँदा दिनहुँ बिरामीको भीड लाग्ने महोत्तरीका स्वास्थ्य संस्थामा अचेल चहलपहल देखिँदैन । कारण, औषधि छैन । ‘औषधि नपाइने भएपछि स्वास्थ्य संस्था किन जानु ?’ सर्वसाधारण उल्टै प्रश्न गर्छन् । भरतपुरस्थित स्वास्थ्यचौकीमा बुधबार भेटिएका स्थानीय युवा रामविनोद महतो सामान्य औषधि नपाएको भन्दै निराश देखिन्थे । ‘बिनासित्ती आएजस्तो भो,’ उनले भने, ‘लुतोको औषधि माग्दा पनि पाइएन ।’ 

सदरमुकामदेखि करिब ५० किमि दूरीमा रहेको भरतपुर स्वास्थ्यचौकीको प्रवेशद्वारमै नि:शुल्क वितरण गरिने २८ प्रकारका औषधिको सूची छ । तर सिनियर अहेव धर्मदेही चौधरीेले सिटामोलसमेत उपलब्ध नभएको बताए ।

उनका अनुसार असार १५ मा जिल्ला स्वास्थ्य कार्यालयले सूचीअनुसारकै २८ प्रकारको औषधि पठाएको थियो । त्यसपछि मंसिर १५ गते १३ प्रकारका मात्र औषधि आयो । ‘त्यो १३ प्रकार पनि मागको तुलनामा २५ प्रतिशत मात्र उपलब्ध गराए,’ चौधरीले भने, ‘अहिले हामीसँग न सिटामोल न आइरन चक्की, लुतोका सामान्य दबाई पनि सकियो ।’

दैनिक सरदर ४० बिरामी आउने भरतपुर स्वास्थ्यचौकीमा औषधि अभावसँगै बिरामीे संख्या पनि घटदो छ । औषधि छउन्जेल बिरामी जाँच्न र औषधि वितरण गर्न भ्याइनभ्याई हुने स्वास्थ्यचौकीका ४ कर्मचारी बिरामी संख्या पातलिएपछि घाम तापेर दिन कटाउँछन् । संस्थाको सम्पर्कमा रहेका ४० जना गर्भवती आइरन चक्कीबाट समेत वञ्चित रहेको चौधरीले जनाए । जिल्ला स्वास्थ्य प्रमुख डा. मनीष पाण्डेका अनुसार औषधि अभाव जिल्लाभरका ७६ स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उस्तै छ ।

भेटिँदैनन् स्वास्थ्यकर्मी 

औषधि अभाव त छँदै छ, बिरामीले सल्लाह लिनुपर्दा उदयपुरका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै भेटिँदैनन् । संस्था खुले पनि उनीहरू बस्दैनन् । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने ओपीडी सेवा दिनभर दिने भनिएको छ । तर डाक्टर, सिनियर अहेव, अहेव, स्टाफ नर्स, नर्स, अनमी पूरा समय बस्दैनन् । 

हडिया, सुन्दरपुर, तपेश्वरी, रामपुर ठोक्सिला, मैनामैनी, बबला, सिद्धिपुर, साउने, बलम्ता, ताम्लिछालगायत स्वास्थ्यचौकीमा मध्याहनपछि स्वास्थ्यकर्मी नबस्ने स्थानीयले गुनासो गरेका छन् । ‘स्वास्थ्यचौकी खुल्लै हुन्छ, तर कोही भेटिँदैनन्,’ बबलाका लोकमणि राईले भने, ‘दिउँसो २ बजे नै डाक्टर अस्पतालबाट हिँडेपछि सेवा पाउन सकिँदैन ।’

स्वास्थ्यकर्मीहरू दिउँसो २ बजेसम्म मात्रै सेवा दिएर बाँकी समय आफ्नै निजी क्लिनिक र अरूकोमा काम गर्न पुग्ने गरेको रामपुर ठोक्सिलाकी नर्वदा कार्कीले बताइन् । ‘त्यतिमात्र होइन, सेवा दिनुपर्ने स्वास्थ्यकर्मी राजनीतिक दलको भेलालाई सम्बोधन गर्न कार्यालय छाडेर हिँडेपछि सर्वसाधारणले कसरी सेवा पाउने ?’

जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत दुनियालाल यादव स्वयं पहाडी क्षेत्रमा पहिलेदेखि नै स्वास्थ्यकर्मी नबस्ने समस्या रहेको बताउँछन् । ‘तर पछिल्लो समय हडियालगायत सुगम र तराई क्षेत्रमा पनि पूरै समय स्वास्थ्यकर्मी भेटिँदैनन्,’ उनले भने ।  

स्वास्थ्य सेवाबाट वञ्चित

दैनिक २० भन्दा बढी बिरामी आउने सिरहाको मल्हनवा गोविन्दपुरस्थित स्वास्थ्यचौकीमा सामान्य ज्वरो र झाडापखालाको मात्रै औषधि छ । तर पर्याप्त छैन । ‘एक साताका लागि मात्र पुग्छ, जाडोमा लाग्ने डायरिया, रुघाखोकीका औषधि मात्रै छन्,’ अहेव गंगाराम साहले भने । 

‘पटक–पटक औषधि अभावको समस्या झेलिरहेका छौं,’ उनले भने, ‘जाँच गरेपछि औषधि माग्छन्, दिन सकिएको छैन ।’ हरेक स्वास्थ्यचौकीमा नागरिक बडापत्र राखिएको छ । त्यहीबमोजिम सेवा दिनुपर्ने भए पनि औषधि माग्दा दिन नसक्दा बडापत्र किन राखेको भनी बिरामीले सोध्ने गरेको उनले सुनाए ।

सिरहामा दुई अस्पताल, चार स्वास्थ्य केन्द्र, ९२ स्वास्थ्यचौकी र एउटा उपस्वास्थ्यचौकी छ । तर, ती सबैमा नि:शुल्क वितरण गर्नुपर्ने औषधि छैन । जनस्वास्थ्य प्रमुख डा. दयाशंकरलाल कर्ण विभागबाटै पर्याप्त औषधि नआएको बताउँछन् । 

विष्णुपुरकट्टी र तरेगनाका दुई दर्जन गाउँका बासिन्दा स्वास्थ्य सेवाको व्यवस्था नहुँदा सामान्य उपचारबाट समेत वञ्चित छन् । विष्णुपुरकट्टी दलमे, चकमके, हातीढुंगा, सर्रे र तरेगनाका रुम्जाटार, नागबेली, सोली ढुंगा, मैनाटार, धाब्रे, बरदमार, भसुवा, भमरे, आरिदमार लगायत दुई दर्जन गाउँका बासिन्दा सामान्य उपचारका लागि चार घण्टा पैदल हिँडेर १० किलोमिटर परको विष्णुपुरकट्टी–७ मा अवस्थित स्वास्थ्यचौकीमा धाउन बाध्य छन् । 

दलमेका लालध्वज तामाङका अनुसार सामान्य हातखुट्टा काटिँदा, शरीरमा चोटपटक लाग्दासमेत उपचारका लागि तीन घण्टा पैदल हिँडेर गाविस भवनस्थित उपस्वास्थ्यचौकीमा पुग्नुपर्छ । ‘हातखुट्टा मर्किदा, भाँच्चिँदासमेत समयमा उपचार पाउँदैनौं,’ उनले दुखेसो पोखे । विष्णुपुरकट्टी–३ दलमे, चकमके, हातीढुंगा, सर्रे अम्बास, महाजनीलगायत दर्जन गाउँमा ५ हजारभन्दा बढीको बसोबास छ । अधिकांश तामाङ, राई, मगर र दलित समुदाय छन् । 

‘सिटामोलसमेत छैन’

औषधि खोज्दै आउने बिरामीलाई सप्तरीको लौनिया स्वास्थ्यचौकीका सिनियर अहेव दीपक मण्डलले दिने उत्तर हुन्छ, ‘सकिएको छ, खै कहिले आउँछ †’ यसो भन्दा उनले सेवाग्राहीबाट पटक–पटक गाली सुन्नुपर्छ । प्रतिवाद गर्न सक्दैनन् । सिटामोल र जीवनजलसम्म दिन नसक्ने अवस्थामा उनी छन् । 

तोपास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर समेतका स्वास्थ्यकर्मी कार्यरत छन् । तर स्थानीय अशोककुमार यादव भन्छन्, ‘न समयमा केन्द्र खुल्छ, न त खुलेका बेला डाक्टर भेटिन्छन् ।’ केन्द्र व्यवस्थापन समिति सदस्यसमेत रहेका स्थानीय सफिक मन्सुरी भन्छन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. जयन्ती यादव कहिलेकाहीं देखा पर्छन्, उनी नआएपछि अरू स्वास्थ्यकर्मी पनि हेलचेक्र्याइँ गर्छन् ।’

सर्वसुलभ ढंगबाट गाउँमै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र खुले पनि औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण सप्तरीका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ । जिल्लामा ३ महिनादेखि औषधि अभाव  छ । 

‘स्वास्थ्यचौकी गयो कि सेवाग्राहीबाट गाली खानुपर्छ,’ मण्डलले भने, ‘औषधिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा आग्रह गर्दागर्दा थाकिसकें, तर आएको छैन ।’ स्वास्थ्यचौकी विषहरियाका सिनियर अहेव दीपेन्द्र यादवले भने, ‘जनस्वास्थ्यमा म्याद गुज्रिएर सिटामोल फालिएको छ, तर स्वास्थ्यचौकीमा बिरामीलाई दिन उपलब्ध हुँदैन, यो अवस्थामा कसरी गाउँमा काम गर्नु †’ 

कात्तिकयता जिल्लामा औषधि अभाव रहेको जनस्वास्थ्यका सूचना अधिकारी छेदीलाल यादवले जनाए । ‘केन्द्र र क्षेत्रबाट औषधि आएको छैन,’ उनले भने, ‘स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको टेन्डर पनि समयमा गर्न सकिएको छैन ।’

पालो गरी बस्छन् कर्मचारी

धनुषाका अधिकांश स्वास्थ्य संस्था बिहान ११ बजेपछि मात्रै खुल्छन् र २ बजे बन्द भइसक्छन् । एक मेडिकल अधिकृत (एमबीबीएस) सहित १३ स्वास्थ्यकर्मीको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहामा मस्किलले पाँच जना कर्मचारी कार्यस्थलमा भेटिए । 

हेल्थ असिस्टेन्टसहित ६ जनाको दरबन्दी भएको पचहर्वास्थित स्वास्थ्यचौकीमा कार्यालय सहायकसहित दुईजना मात्रै फेला परे । उपस्वास्थ्यचौकी पौडेश्वरमा २ बजे पुग्दा कोही थिएनन् । कार्यालयमा ताला लागेको थियो । कार्यालय सहायकको भरमा सञ्चालित सोनिगामास्थित आयुर्वेदिक औषधालयमा बिरामीहरू स्वास्थ्यकर्मी पर्खेर दिनभर बसिरहेको भेटिए ।

६ जनाको दरबन्दी भएका केही उपस्वास्थ्यचौकीका कर्मचारी दैनिक एक–एक जनाको पालो लगाएर कार्यालय जान्छन् । १८ वर्षीय छोरा सरदेव राउत करोडीलाई रुघाखोकी र ज्वरोले सताएपछि राजकुमारले स्वास्थ्य केन्द्र यदुकुहा ल्याए । तर भनेजस्तो सेवा नपाउँदा आक्रोशित भए । हेल्थ असिस्टेन्ट महेन्द्र साहले छोराको जाँचपछि रगत, पिसाब, खकार आदि परीक्षण गर्न सल्लाह दिए । केन्द्रकै ल्याब भए पनि कर्मचारी बिदामा बसेको भन्दै अन्तै परीक्षण गर्न भनिए पछि उनी रिसाए ।

‘गाउँमै स्वास्थ्य सेवा प्राप्त हुन्छ भनेर आएको थिए, तर जनकपुर जानैपर्ने भयो । गाउँमा स्वास्थ्य संस्था भएर के फाइदा ?’ राजकुमारले भने । स्वास्थ्य केन्द्र यदुकुहामा एमबीबीएस चिकित्सकको दरबन्दी भए पनि एक वर्षदेखि उनी बिदामा छन् । निमित्त कार्यालय प्रमुख महेन्द्र साहका अनुसार दरबन्दीका डा. अजयकुमार यादवले एमडी पढ्न अध्ययन बिदा लिएका हुन् ।

पचहर्वा उपस्वास्थ्यचौकी अगाडि भेटिएका स्थानीय सुरेश कापरका अनुसार स्वास्थ्यकर्मी नियमित कार्यालय आउँदैनन् । आए पनि औषधि दिँदैनन् । निमित्त प्रमुख अहेव सन्तकुमार मण्डलले भने औषधि नियमित रूपमा वितरण गरेको दाबी गरे । यदुकुहा, धनुषाधाम, महेन्द्रनगर, सबैला, परवाहामा मेडिकल अधिकृत (एमबीबीएस) को दरबन्दी भएको सुविधासम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र छन् । 

हेल्थ असिस्टेन्टसहित ६ स्वास्थ्यकर्मीको दरबन्दी भएको ९८ वटा स्वास्थ्यचौकी छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख सचिदानन्द देवले यस्तो समस्याबारे आफू जानकार रहेको स्विकारे । ‘केही स्वास्थ्यकर्मी नियमित कार्यालय नगएको हामीलाई थाहा छ, केहीलाई कारबाही पनि गरिएको छ,’ उनले भने, ‘अब नियमित अनुगमन गर्नुपर्ला ।’

महोत्तरीबाट रवीन्द्र उप्रेती, उदयपुरबाट डिल्लीराम खतिवडा, सिरहाबाट भरत जर्घामगर, सप्तरीबाट अवधेशकुमार झा र धनुषाबाट श्यामसुन्दर शशि

 

प्रकाशित: माघ २, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार