जीवनशैली

पुण्यप्रसादकाे पाउदन प्रेम

  • हाते हार्मोनियम छरितो हुन्छ । पाउदनको पनि आफ्नै ऐतिहासिक विशेषता छ । हाते हार्मोनियम भित्रिनुअघि कलाकर्मीहरू पाउदनले नै काम चलाउँथे ।
- सजना बराल

माघ १, २०७३-पुण्यप्रसाद खड्गी पाउदनवादक हुन् । उनले यो बाजा दिन नबिराई बजाउन थालेको ५५ वर्ष नाघ्यो । सिकेको सानैमा हो । बीचमा डेढ वर्ष बजाएनन् । आँखाको शल्यक्रिया गरेर घर फर्केपछि शौचालयमा लडे । उच्च रक्तचापले सतायो । हिँडडुल गर्न सकेनन् । बाजा थन्कियो ।

टंकेश्वरस्थित खड्गी निवासका ५ वटा हार्मोनियमको मात्रै कुरा गरिँदै छैन यहाँ । उनी थला परेपछि श्री भद्रकाली भजनमण्डलीको पाउदनसमेत उसै बस्यो । ‘उहाँबाहेक अरूले बजाउँदैनन्,’ मण्डलीका कोषाध्यक्ष गंगालाल खड्गीले भने, ‘हाते हार्मोनियम त थन्केका बेला कसले बजाओस् पाउदन ? पैसा दिन्छु भन्दा पनि वादक पाइँदैन ।’ 

कसैले नबजाएपछि भजन टोलीले पुण्यप्रसादलाई नै गुहार्‍यो । के–के सम्झेर मन मारिसकेका उनी गएको जेठदेखि फेरि जुर्मुराए । सदाझैं बिहान ४ बजे ओछयान छोड्न लागे । साढे ५ मा घरबाट निस्किए । थला पर्नुअघि एक्लै हिँड्ने उनले पछि श्रीमतीलाई साथी बनाए । ‘यसलाई लगेर के हुन्थ्यो र हुन त ?’ छेउमै बसेकी ७७ वर्षे श्रीमती, चिनीमायालाई औंल्याउँदै उनले भने, ‘तैपनि आड मिल्दो रैछ ।’

वृद्ध दम्पती झिसमिसेमै टंकेश्वर महादेवको दर्शन गरी विष्णुमतीपुल तर्छन् । परोपकार स्कुलको उकालो चढेर काष्ठमाण्डपबाट खिचापोखरी हुँदै सहिद गेट छिचोलेपछि भद्रकाली मन्दिर आइपुग्छन्, ठयाक्कै ६ बजे । ‘भजन गाउने मान्छेमा शील–स्वभाव र अनुशासन हुनुपर्छ’, पुण्यप्रसादले भने, ‘अबेला पुग्दिनँ । चाँडो फर्किन्नँ । दिन बिराएर जान्नँ ।’ थला परेको डेढ वर्षबाहेक उनले भद्रकाली नटेकेको कुनै बिहानी छैन । बिहेसमेत यही मन्दिर गरेका थिए, विसं २०११ सालमा । 

बुबा, बाउकाजी खड्गीका पालामा पेरिसबाट झिकाइएको पाउदनमा हात–गोडा चाल्दै पुण्यप्रसाद भगवान्का स्तुति गाउन थाल्छन् । उनलाई साथ दिनेको आवाज र वादन थपिएपछि भद्रकाली गुन्जिन्छ, तिख्खर धुनमा । बारैपिच्छेका भजन गाइन्छ । ६०/७० नाघका वृद्धवृद्धाको टोली ८ नबजुन्जेल चलमलाउँदैनन् । जस्तै आपत्–विपत् आइपरे पनि बिहानीको यो नित्य कर्म टुट्दैन । 

दैनिक जुट्ने ५/६ जनाको टोलीमा पुण्यप्रसाद एक मात्र सदस्य हुन्, जो कुर्सीमा बसेर गाउने/बजाउने गर्छन् । उनको बाजा छ नै त्यस्तो, भुइँमा बस्न नदिने । खुट्टाले प्याडल मार्दै पियानोझैं दुवै हातले बजाउनुपर्ने । हार्मोनियमकै प्राचीन स्वरूप हो, पाउदन । यसलाई देखेर मान्छेहरू झुक्किने गर्छन् । ‘यो सानो पियानो बिहेअघि बजाउन थालेको कि पछि ?’ नाकाबन्दीका बेला भद्रकालीमा पेट्रोल भर्न आएका एक युवाले सोधेछन् । पुण्यप्रसाद प्रश्नको आशय नबुझेर अवाक् बने ।

०००

भजनमण्डलीमा आवद्ध वरिष्ठ वाद्यवादक भगतसिंह बागदासका अनुसार पाउदन अर्गान बाजाकै एउटा प्रकार हो । ‘हाते हार्मोनियममा एक हातले हावा भर्दै अर्कोले पर्दा थिच्नुपर्छ,’ उनले भने, ‘पाउदनमा खुट्टाले दम दिँदै दुवै हात पर्दामा राखिन्छ । दुइटैको धुन उस्तै हुन्छ, बजाउने तरिका मात्रै अलग हो ।’ झट्ट हेर्दा यो बाजा लुगा सिलाउने मेसिनजस्तो पनि देखिन्छ । 

भद्रकाली भजनमण्डलीका अध्यक्षसमेत रहेका पुण्यप्रसादसँग तीनवटा पाउदन छन् । घरमा भएका दुइटा इटालीबाट ल्याइएका हुन् । न्युरोडका वाद्ययन्त्र व्यापारी हार्मोनियम माइलाले झिकाएको उक्त ‘सेकेन्ड हयान्ड’ बाजा, कति वर्ष पुरानो हो यकिन छैन । पुण्यप्रसाद नै ८२ वर्ष भइसकेकाले बाजाको उमेर हिसाब लाउन गाह्रो पर्छ । ‘मेरा बाले यही बाजा बजाएका थिए’, उनी भन्छन्, ‘उहाँले बजाएको देखेरै मैले सिकेको हो । हाते हार्बिन (हार्मोनियम) भन्दा पाउदन सजिलो लाग्छ ।’

पाउदनको विशेषता के हो भने यसका पर्दा (की) हरू हात्तीका दाँतले बनाइएका हुन्छन् । दाँत दुर्लभ हुने भएकाले अचेल प्लास्टिककै पर्दा राख्न थालिएको छ । भद्रकालीको पाउदनका ४२ मध्ये १८ पर्दा सक्कली नै हुन् । बाँकी प्लास्टिकका । ‘उहाँले नबजाएपछि बाजा बिग्रेको थियो,’ मण्डलीका कोषाध्यक्ष गंगालालले भने, ‘पर्दा खिइएर गयो । सक्लली लगाउन सम्भव भएन । दस हजार खर्चेर मर्मत गर्‍यौं ।’

यो लोपोन्मुख बाजालाई पुण्यप्रसाद र उनको समूहले जतनसाथ राखेको छ । सानोतिनो मर्मत वादक स्वयंले गर्छन् । जटिलै भए न्ह्याक टोलका हार्मोनियम मिस्त्रीलाई डाक्नुपर्छ । वादकको अभावमा यो बाजा हराएर गइसक्यो । स्वयम्भूको भजनमण्डलीसँग एउटा छ भन्ने पुण्यप्रसादले सुनेका छन् । ‘यी बाजा हामी बूढाहरू बाँचुन्जेल मात्रै बज्छन् अब,’ उनले भने, ‘नाति पुस्ताले (बजाउने) चलन गरेका छैनन् ।’

बोकेर हिँड्न अप्ठयारो हुनु यो बाजाको एउटा जटिलता हो । डयाम्म बसेर आनन्दले बजाउन मिल्दैन । यसको तुलनामा हाते हार्मोनियम छरितो हुन्छ । यद्यपि, पाउदनको आफ्नै ऐतिहासिक विशेषता छ । हाते हार्मोनियम भित्रिनुअघि कलाकर्मीहरू पाउदनले नै काम चलाउँथे । यसको स्वरूप सुन्दर छ । बजाउने बेला घुँडा खुम्च्याएर बस्नु पर्दैन । दुवै हात–खुट्टाले जागिर पाउँछन् । हार्मोनियममा जस्तो एकै हातलाई धपेडी हुँदैन । 

‘प्याडल थिच्दा होस पुर्‍याउनुपर्छ,’ पुण्यप्रसादले वादन तरिका सिकाए, ‘भाँती पुर्‍याएर प्याडल मारिएन भने ताल बिग्रिन्छ । जानेर बजाएपछि चाहिँ धुनको स्तरै अर्को हुने ।’ नेवारी र हिन्दी फिल्म हेर्न रुचाउने उनी फिल्मका गीतहरू पाउदनकै लयमा गाउँछन् । ६०/७० वटा त उनका मौलिक लय नै छन् । भजनहरूमा लय भर्न उनलाई कसैले सिकाउनु पर्दैन । हिन्दी गीतलाई नेवारीमा उतार्न उत्तिकै सिपालु छन् । 

‘बिरामी भएको बेलासमेत दाइले पाउदन बजाउन छोड्नुभएन,’ बुबालाई दाइ भनेर सम्बोधन गर्ने पुण्यप्रसादकी माहिली छोरी, सुर्मिला श्रेष्ठले भनिन्, ‘हामीले पनि बजाइदिए हुन्थ्यो भन्ठान्नुहुन्छ । तर, हामीले चाख दिन सकेनौं ।’ तीन छोरा र तीन छोरीका बाबु, पुण्यप्रसादलाई कान्छा छोराबाट निकै आशा थिएछ । उनी वादनमा रुचि देखाउँथे । तर, छोरा आफ्नै कामकाजमा व्यस्त भएपछि त्यो आशा बिलायो ।

०००

कालीमाटीस्थित टंकेश्वर मन्दिरको ठीक अगाडिपट्टिको साँघुरो गल्लीबाट छिरेपछि खड्गीको घर आइपुग्छ । तीनतले घरका दुई कोठा भाडामा दिइएको छ । बाँकी ‘अंशबन्डा’ गरिएका छन्, छोराहरूबीच । पहिलो फ्लोर उक्लिनासाथ पुण्यप्रसादको बेडरुम देखिन्छ । बेडरुम पुरानो घडी पसलजस्तै छ । 

भित्ताभरि जापानी, चिनियाँ, बेलायती घडीका अनेक नमुना झुन्डयाइएका छन् । साना अलार्म क्लक र पेन्डुलम वाच त कति हो कति । ब्याट्रीबाट चल्नेभन्दा हप्ता–हप्ता दिनमा दम दिनुपर्ने घडी धेरै छन् । यस्तै दमवाला एउटा घडी भद्रकाली मन्दिरको भजन पाटीमा पनि राखिएको छ । 

पुण्यप्रसादको कोठामा बस्दा घडीको स्यार–स्यार आवाजले निकाल्ने एकतमासको धुन सुन्न पाइन्छ । बेला–बेला घडीहरू टयार्र–टुरर्र, झ्याइँ–झुइँ बज्न थाल्छन् । ‘पाहुना कहिलेकाहीँ तर्सिन्छन् पनि’, सुर्मिलाले भनिन्, ‘घडीलाई धेरै माया गर्नुहुन्छ हाम्रो दाइ । हप्तैपिच्छे दम दिँदै बस्नुहुन्छ ।’ 

पुण्यप्रसादको असली पेसा घडी मर्मत गर्ने हो । भीमसेनथानमा उनको पसल थियो । अहिले छोराले चलाउँछन् । आँखा नबिग्रिउन्जेल उनले घडी बनाइरहे । बिग्रेका घडी मर्मत गर्ने मात्र होइन, नयाँ घडी बनाउनसमेत खप्पिस ! ‘हार्मोनियम बजाउन र घडी बनाउन सँगसँगै जानेको हुँ,’ उनले भने, ‘दुवैको बराबर माया लाग्छ ।’ 

उनका बाजे, कुलमान मास्टरले दस कक्षा पढेका थिए । तर, जागिर पाएनन् । ‘अछुत जात भनेर बाजेलाई राणाकालमा जागिर दिएनछन्,’ पुण्यप्रसादले भने, ‘पढेर पनि काम नपाएपछि बाजेले मेरा बाहरूलाई पढ्नै दिनुभएन । बाले मलाई पढाएनन् ।’ पुण्यप्रसादले पनि छोराछोरीलाई उति पढाएनन् । सबैले १० सम्म पढेका छन् । पढाउनुभन्दा इलम सिकाउनपट्टि लागे । 

‘हाम्रो जीउलाई चाहिने भनेको परिश्रम नै रैछ,’ बिरामी भएर डेढ वर्ष थन्किँदा पुण्यप्रसादलाई आभास भएछ, ‘जीउ त रबरजस्तै पो रहेछ । तन्काए तन्किने, नतन्काए खुम्चिने । खुम्च्याएर किन राख्नु भनेर यो उमेरमा पनि जोश देखाउँछु ।’ अब सकुन्जेल भद्रकाली गएर पाउदन बजाइराख्ने सोच बनाएका छन् । कोही सिक्न आए ८० नाघेका यी वादक सिकाउन तम्तयारै छन् । 

प्रकाशित: माघ १, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार