ब्लग

गाउँलेको नजरमा ‘बिग्रेकी केटी’

  • राष्ट्रिय मानव अधिकार पुरस्कार प्राप्त नजबुल खानको 'स्वतन्त्रता' संघर्षको कथा
- फातिमा बानु, काठमाडौं

पुस २८, २०७३-जव उनले छोरीलाई पढाउन कर गरिन् । अनि महिलाले रोग लुकाएर बस्न हुन्न अस्पताल जानु पर्छ भनिन् । जव उनले सुत्केरी हुँदा सात दिनसम्म एकै ठाउँमा खाने बस्ने र दिशापिसाव गर्ने संस्कारको बिरोध गरिन् । समाजले उनलाई एउटा उपमा दियो, ‘बिग्रेकी केटी’। गाउँलेहरुले उनलाई ‘आफु त बिग्री बिग्री अरुलाई पनि बिगार्ने भइ’ भनेर गाउँबाटसमेत लखेटे । 

तिनै ‘बिग्रेकी केटी’ नजबुल खानलाई राष्ट्रय मानव अधिकार आयोगले यस बर्षको राष्ट्रिय मानव अधिकार पुरस्कार प्रदान गरियो । उनले पीडित मुस्लिम महिला र बालबालिकाहरुको अधिकारका लागि लड्ने एक अधिकारकर्मीको परिचय बनाएकी छन् । पुरस्कारले उनलाई आफुले गरेको कामले मान्यता पाएको लागि रहेको छ, त्यसमाथी अझ धेरै गर्नुपर्ने जिम्मेवारी थपिएको पनि महसुस । त्यसो त अहिले उनको अभियानमा साथ दिने सहयोगी हातहरु धेरै छन् ।

 

तर, उनले अहिले स्थानीय र राष्ट्रिय तहमा जुन परिचय बनाएकी छन्, त्यसका लागि उनको संघर्षको यात्रा लामो छ । नेपाली समाजमा महिलाले आफ्नो फरक पहिचान बनाउन गाह्रो छ नै त्यसमा पनि उनी जुन समुदायबाट आएकी हुन् त्यहाँ उनले गरिरहेको काम कल्पनाभन्दा बाहिरको हो । 

उनको समुदायमा अझै पनि महिला घरबाहिर जानु, जागिर खानु फिल्ममा मात्रै सम्भव मानिन्छ । आफ्ना इच्छा आंकक्षा दबाएर परिवारको सेवामा खटिनु उनको समाजमा स्थापित आदर्श नारीको चरित्र मानिन्छ । हो, यही मुस्लिम समाजमा हुर्केकी नजबुलको स्वतन्त्रताको लडाई घरबाटै सुरु भयो । अवरोधहरुसंग मुकाविला गरिन्, अनि हिम्मतका साथ मेहनत गरिन् । 

‘इच्छा–आंकक्षा मनमा गुम्साएर पाएको सुख भन्दा आफुले रोजेको काम गर्दा भोग्नुपर्ने दु:ख नै प्यारो लाग्छ’ नजबुल यही आदर्शमा अडिएकी छन्, भन्छिन्, ‘यसका लागि अझै कति दु:खको पहाड चढ्नुपर्ने हो, म चढ्न तयार छु ।’

उनले महिला र बिशेष गरेर बालिकको अधिकारका लागि गाउँ घर चहारेकी छिन् । उदयपुरको आफ्नै क्षेत्रका बालविवाह, दाइजोप्रथाको बिरोध मात्र गरिनन् । आफै खटिएर निरक्षर महिलाहरुलाई अक्षर चिनाइन् । तर, उनको यो अभियानमा समाजले अनेक लाञ्छाना त लगाए नै उनलाई आफ्नै घरपरिवारले पनि सघाएनन् ।

 

सुरुमा उनले आफै अक्षर चिन्नका लागि संघर्ष गर्नु पर्यो । शिक्षाका लागि उनले परिवारका सदस्यसँग झगडा मात्र गरिनन्, घरै पनि छाडिन् । उनले एक्लोपन स्वीकारिन्, सामाजिक बहिष्कार सहिन् । तर, स्वतन्त्रताको लडाइलाई छाडिनन् ।  । 

सत्र वर्षको उमेर उनले पहिलो पटक उनले अक्षर चिनिन् । त्यस उमेरसम्म उनलाई परिवार र समाजले घरमै बसाए,  कुर्तासुरवाल र कपाल छोप्ने हिजाब लगाएर घरैभित्र बस्नु नजबुलको बाध्यता थियो । टोलका आफ्नै उमेरका साथीहरु स्कुल गएको देखेपछि उनमा पनि पढ्ने रहर जाग्यो । तर, परिवार र समाज अजंगको पहाड बनेर अवरोध बने । 

उनले गाउँमै प्रौढ शिक्षा पढ्न थालिन् । त्यो पनि लुकीलुकी जानु पर्थ्यो । घरमा थाहा पाएपछि दिनहुँ गाली खाइन्, कुटाइ खाइन् ।  राती–राती घरबाट निस्केर पढेको भन्दै उनका जेठा दाइले सबै कापीकिताब जलाइदिए । लाल्टिन फुटाइदिए । उनले पढ्न जाने ढिपि नछोडेपछि घरबाटै निकालिदिए । यो ०५३ साल तिरको कुरा हो । मुलुकमा प्रजातन्त्र आइसकेको थियो । तर, उनी शिक्षाप्रति यति दृढ थिइन् की पढ्नलाई निरन्तरता दिइन् ज्यालामजदुरीबाट कमाएको रकम पढाईमै खर्च गरिन्, स्नातक तहसम्म अध्ययन गरिन् ।

आफु त शिक्षित बनिन् । अव आफु जस्तै छोरीहरुको बारेमा काम गर्नु थियो उनलाई । कहिल्यै स्कुल र मद्रसा नदेखेका मुस्लिम छोरीलाई मदरसा पुर्याइन्, स्कुलमा भर्ना गरिन् । छोरीलाई पढाउनुपर्छ भन्ने अभियानको नेतृत्व गरिन् । उनकै पहलमा उदयपुर जिल्लाका ६ वटा मदरसा दर्ता प्रक्रियामा गए र सरकारी सेवा सुविधा पाए । नजिकका अरू जिल्लाले उनको अभियान पछ्याए । एकपछि अर्को संघर्ष र सफलताका कारण अहिले परिवारले उनलाई स्वीकारेछ । 

छोरीको कमाइ खानु हुँदैन भन्ने मानसिकता राख्ने समाजमा उनले परिवारै पालेर देखाएकी छन् । दुइ जना भाइबहिनीलाई आफ्नै खर्चमा पढाएकी छिन् । आमालाई सकेको सेवा गरेकी छन् । अर्थोपार्जनका लागि कुनै बेला उनले टेम्पो चलाउने गर्थिन् । उनी पहिलो मुस्लिम महिला टेम्पो चालक भनेर पनि चिनिइन् । त्यसबाहेक तरकारी बेच्ने, माछा बेच्ने, इँटा बोक्ने, नेताका भरिया बन्ने । सबै काम गरिन् । आत्मनिर्भर हुन सिकिन्, भइन् ।

मदरसा शिक्षा र महिला शिक्षामा योगदान गरेबापत नजबुलले ‘प्रेम सागरीदेवी निधि पुरस्कार’ र भारतबाट ‘महिला शक्ति शिरोमणि अवार्ड’ पाइसकेकी छन् ।

छोराछोरी सबैले समान अधिकार पाउनुपर्छ । यसका लागि उनले घरैदेखि आवाज उठाइन्, पहिले घरमै विद्रोह गरिन् । अहिले त उनी विद्रोही छोरीकै नाममा पनि चिनिन्छिन् ।

मुस्लिम महिलाले टाउको छोप्नु पर्ने, परिवार र समुदायको प्रतिष्ठा बचाउनुपर्ने जस्ता रेखा कोरिएको समाजमा नजबुलले लगाउने पहिरनको चर्को आलोचना हुन्छ । जिन्स पाइन्ट, सर्ट र स्पोर्टस् सुजमै उनी आफुलाई सहज ठान्छिन् । त्यस्तै लगाउँछिन्, भन्छिन्, ‘पहिरन हेरेर मान्छेप्रति दृष्टिकोण बनाएको मन पर्दैन ।’

उनी बाल्यकालतर्फ नोस्टाल्जिक हुन्छिन् । उनको समुदायमा महिलाले गर्न नहुने भनिएका धेरै कुरामध्ये एक थियो – साइकल चढ्नु हुँदैन । महिला भएकै आधारमा साइकल हाँक्न नहुने मान्यतालाई भत्काउन उनले मोटरसाइकल नै  चलाइन् । छोरी सँधै नरम हुनुपर्छ, प्रतिकार गर्नुहुन्न भन्ने कुरालाई तोड्न करातें सिकिन् । उनी करातेंको ‘ब्ल्याकबेल्ट’ हुन् । 

आफ्ना सारा समय समाज परिवर्तनका लागि खर्चिएकी नजबुलले बिहे गर्न भने भ्याएकी छैनन् । भन्छिन्, ‘फुर्सद भयोभने सोचौंला ।’ उनी उदयपुरमा मूलधार महिला सेवा केन्द्र नामक संस्था चलाउँछिन् । जहाँ पुरुषलाई आरक्षणको व्यवस्था गरिएको बताइन् । 

लैगिंक समानताका लागि थालिएको उनको अर्को अभियान ‘नोट अफ डिसेन्ट’ सफल पार्नका लागि आजभोलि उनलाई देशभर घुमेर फुर्सद छैन । यसै शिलशिलामा देशका  गाउँ–गाउँसम्म पुगिरहेकी छिन् । भन्छिन्, ‘१८ वटा जिल्ला पुगिसकेँ ।’ नजबुलका जिवनबारे नलेखिएका र नसुनिएका धेरै पाटाहरु छन्, अनुभूति छन् । सबै अनूभूतिलाई जोडेर आत्मकथा लेख्ने तयारीमा रहेको उनी बताउँछिन् ।

प्रकाशित: पुस २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार