समाचार

घर बनाउन जंगलमा बास

  • गोरखाका भूकम्पपीडित
- सुदीप कैनी, गुप्सीपाखा (गोरखा)

पुस २८, २०७३-हिउँ पन्छाउँदै लाप्राक, गुप्सीपाखाका मानबहादुर गुरुङ र पत्नी दुमनी जंगलको जग्गामा घडेरी बनाउँदै छन् । भूकम्पको डेढ वर्षपछि पनि घडेरी खोज्नुको उद्देश्य घर निर्माण भने होइन, उनले अझै अस्थायी टहरो नै बनाउनु छ ।

लाप्राकवासी ओत लागेको गुप्सीपाखाका अस्थायी टहरा भत्काइएपछि उनीहरू आसपासको जंगल क्षेत्रमा पुन: टहरा उभ्याएर बस्न थालेका छन् । गुप्सीपाखामा उनीहरूका लागि घर बनाइने भएकाले नयाँ ठाउँ खोज्नुपरेको हो । 

गत साताको हिमपातले वृद्धवृद्धा र बालबालिकाको जनजीवन कष्टकर छ । गैरआवासीय नेपाली संघ (एनआरएन) ले गुप्सीपाखामा भूकम्पपीडितका लागि घर बनाउन भिरालो जग्गामा डोजर लगाएको छ । संघले घडेरी खार्न डोजर लगाएपछि पुराना टहराहरू भत्काएको मानबहादुरले बताए । ‘पहिले बनेको टहरा भत्काएर अर्को ठाउँमा बनाउन लागेका हौं,’ उनले भने । भूकम्पपछि मानबहादुर तीन ठाउँमा अस्थायी टहरा बनाएर सरिसके । पीडितहरू गुप्सीपाखा आसपास जंगल, ठूलो र सानो रिङजुलङमा बसेका छन् । घर पुनर्निर्माण नभएकाले प्लास्टिक, त्रिपाल र जस्तापाताका टहरामा छन् ।

लाप्राकमा गत वर्षभन्दा यस पटक कम हिमपात भए पनि जाडोचाहिँ बढी भएको ७२ वर्षीय कामबहादुर गुरुङले बताए । ‘हिउँ थोरै परे पनि तुषारो बढी परेको छ,’ उनले भने । छोरीछोरीलाई पहिरोको जोखिममा रहेको पुरानो बस्तीमा छाडेर उनी जंगलकै टहरामा बसेका छन् । उनले भने, ‘धेरै चिसो छ । टहराका सामान कुर्न म एक्लै बसेको छु ।’ अधिकांश गाउँलेले बसोबास गर्न गुप्सीपाखा आसपासकै जंगल क्षेत्रमा टहरा बनाएको स्थानीय गणेश गुरुङले बताए । 

‘टहरा गुप्सीपाखातिरै छ,’ उनले भने, ‘अत्यधिक जाडो भएकाले धेरै मान्छेचाहिँ पहिलेकै तल्लो बस्तीमा बस्छन् ।’ पुरानो बस्ती ठूलो पहिरोको जोखिममा छ । चिसोका कारण स्थानीय विद्यालय पनि बन्द गरिएको छ । नयाँ ठाउँमा अस्थायी टहरो बनाएर विद्यालय सार्ने तयारी भइरहेको छ । बस्ती बसाउने भनिएको ठाउँमा यतिबेला एउटै टहरा छैनन् । गत वर्ष हिमपातले टहरै पुरेपछि यस पटक स्थानीयवासी जाडो सुरु भएलगत्तै पुरानो बस्तीमा सरेको ६७ वर्षीय बासिन्द्रा गुरुङले बताए । ‘टहरा भत्कियो, गुप्सीपाखामा भन्दा लाप्राक गाउँमै न्यानो हुन्छ,’ उनले भने । वर्षात्मा पहिरोको डर भए पनि खेतीपातीका लागि तल्लो गाउँ नै जानुपर्ने बाध्यता रहेको उनले सुनाए । गुप्सीपाखामा हिमपातले खानेपानी पनि अभाव हुने गरेको छ । ‘हिउँले पानी जमेर घाम नलागी पग्लिँदैन,’ उनले भने ।

गुप्सीपाखामा एनआरएनले ५ सय ७३ परिवारका नयाँ घर निर्माण गर्ने अनुमति पाएको छ । एनआरएनले लाप्राकमा एकीकृत बस्तीसहितका घर निर्माण गर्न सरकार र भूकम्प पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरिसकेको छ । गुप्सीपाखाको १८.२ हेक्टर क्षेत्रफलमा १० महिना अर्थात् आगामी अक्टोबरसम्म घर निर्माण गरिसक्ने लक्ष्य छ । ‘आउँदो एनआरएन डे अक्टोबर ११ मा घरहरू बनाएर हस्तान्तरण गरिसक्ने लक्ष्य लिएका छौं,’ बस्ती निर्माणका इन्चार्ज राजेन्द्र भट्टले भने । पाँच सय ७३ घर निर्माण गरिने उनले बताए । एनआरएनले घर पुनर्निर्माण गर्न गुप्सीपाखामा क्याम्प खडा गरिसकेको छ । ‘नमुना बस्ती बसाउन लागेका हौं,’ भट्टले भने । ३ आना ३ पैसा जग्गामा दुईतले चारकोठे एउटै प्रकृतिका घर निर्माण गरिने उनले बताए । ‘प्रत्येक घरमा होमस्टेका लागि पनि कोठा छुट्याइएको डिजाइन छ,’ उनले भने । 

गुप्सीपाखालाई पर्यटकीय थलोका रूपमा विकास गर्न विशेष ध्यान दिएर पुनर्निर्माण गरिने एनआरएनले जनाएको छ । पुनर्निर्माणलाई तीव्रता दिन स्थानीय लघु जलविद्युत्को २६ किलोवाट बिजुली गुप्सीपाखासम्म ल्याएर जडान गरिएको छ । घर निर्माणका लागि आवश्यक इँटा बनाउन मेसिन ल्याइएको छ । 

चाइनिज प्रविधिको मेसिनले दैनिक ९ हजार इँटा बनाइने जानकारी उनले दिए । बस्तीमा पुग्ने बाटो र घडेरी प्लटिङको काम डोजरले गरिरहेको छ । लाभग्राही सूचीमा नाम छुटेका ३९ घरपरिवारलाई पनि घर निर्माण गरिदिनुपर्ने स्थानीय अगुवा गणेश गुरुङले बताए । स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक घर र गुरुङ संग्रहालयसहित सोलार, पानी, बत्ती र बाटो एनआरएनले पुनर्निर्माण गर्न लागेको हो । 

बारपाकमा मापदण्डबिनै पुनर्निर्माण

बारपाकमा थरीथरी जस्तापाता र रङरोगन गरेका घरहरूले झिलिमिली बढ्दै छ । भूकम्प स्मृति दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको गोपाल विकको घर पनि पुनर्निर्माण सुरु भएको छ । प्राविधिकहरूका अनुसार ती घर सरकारले तोकेको १७ प्रकारका नक्साअनुसार छैनन् । सबैजसो मापदण्डविपरीत छन् । विकले फलामै फलामको ट्रस प्रकृतिको घर निर्माण थालेका हुन् । ‘सरकारले दिएको पैसाले पक्की घर बनाउन ढुवानी पनि पुग्दैन,’ उनले भने, ‘टहरामा बस्न गाह्रो भएपछि जस्तो सकिन्छ त्यस्तै बनाउन लागेका हुँ ।’ 

पहिलो किस्ता लिएका एक हजार तीन सय ३८ मध्ये दुई सय ७१ घरधुरीले मात्रै प्राविधिक सल्लाह लिएका छन् । ‘निर्माण भइरहेको घरको संख्या थोरै छ,’ बारपाकमा खटिएका इन्जिनियर अधिकार ढकालले भने । एक सय ७० घर निरीक्षण गर्दा थोरै घरले मात्र सरकारले तोकेको मापदण्ड पूरा गरेको भेटिएको उनले बताए । 

निर्माण भएका घरहरू भूकम्प प्रतिरोधीसमेत नभएको प्राविधिकहरूको भनाइ छ । दुई सयभन्दा बढी घरहरू स्थानीयवासीले आफूखुसी निर्माण गरिसकेका छन् ।

‘अधिकांश घर निर्माणमा केही न केही कमजोरी देखिएको छ,’ सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने । न्यूनतम मापदण्ड पूरा नगरेको घर धेरै रहेको उनले बताए । 

स्थानीयले पुरानो बस्ती र नयाँ जग्गामा समेत घरहरू निर्माण गरिरहेका छन् । ‘नयाँ र पुरानो बस्तीमा कसरी बस्ती विकास गर्ने भनेर अध्ययन सकिएर प्रतिवेदन आएको छ,’ उनले भने । तीन प्रकारका प्रतिवेदन तयार गरेर स्थानीयवासीसँग छलफल गरिएको छ । जग्गा अभावले विस्थापित भएका करिब एक सय घरपरिवारले घर निर्माण गर्न जग्गासमेत पाएका छैनन् । सरकारले जग्गा उपलब्ध नगराएको स्थानीय उत्तम विकले गुनासो गरे । विद्यालय, स्वास्थ्य चौकी बनाउने काम भने टेन्डर प्रक्रिया सकिएर सुरु हुन लागेको जगबहादुर गुरुङले बताए । भूकम्प स्मृति पार्क निर्माणका लागि भने सरकारले बजेट विनियोजन नै गरेको छैन ।

जिल्लाका सरकारी कार्यालयहरूले बारपाकका पीडितका लागि लक्षित गरी एकीकृत घुम्ती शिविर सञ्चालन गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । ‘बारपाकलगायत जिल्लाभर पीडितले अनुदानको पहिलो किस्ता लिए पनि घर बनाउने कामले तीव्रता पाउन सकेको छैन,’ उनले भने । 

प्रकाशित: पुस २८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार