फोटोफिचर

माछा मार्न जोखिम मोल्दै महिला (फोटो फिचर)

- हरि गौतम, रुकुम

पुस २५, २०७३- बाँफिकोट–७, कि २१ वर्षीया गीता पुरी आइतबार बिहान स्यार्पू तालको उत्तरपट्टीको स्यार्पू गाउँबाट डुङ्गा खियाउँदै दक्षिण तिरको तीरमा आइन्  । दक्षिणमा गीता र डुङ्गा कुरेर बसेका बाँफिकोट–७, कै खिमकुमारी दाहाल र ३ कि डम्मरकुमारी चन्द गीताले चलाएको डुङ्गमा बसेर स्यार्पू तालको चारैतिर चहारे । 

यी ३ महिलाको यो दैनिकी आइतबारको मात्रै भने होइन । स्यार्पू तालमा जाल हान्नु र हानिएका जालबाट माछा निकाल्नु ३ महिलाको मुख्य काम हो । उनीहरुको हरेक बिहानको ४ घन्टा यसैगरी वित्ने गरेको छ । २०७० को सुरुवातदेखि गीता,खिमकुमारी र डम्मरकुमारीले स्यार्पू तालमा पालिएका माछा मार्न पालै पालो डुङ्गा खियाउदै आएका छन् । 

चुलाचौकोमै सीमित महिलाहरुले अवसर पाए जोखिम काम पनि गर्न सक्छन् भन्ने गतिलो उदाहरण हुन् गीता, खिमकुमारी र डम्मरकुमारी । भदौ महिना बाहेक अन्य ११ महिनाका प्रत्येक चिसा बिहान ४ घण्टा उनीहरुको स्यार्पू ताल भित्र बित्ने गरेको छ । उनीहरुले बिहानै स्यार्पू तालको चिसो पानीमा जोखिम नमोल्ने हो भने बाँफीकोट सहित पीपल, मग्मा तथा सदरमुकामका ग्राहक तथा होटल व्यवसायीको चुलामा माछा पाक्दैन । 

२०६९ सालमा स्यार्पु तालमा माछा पालन थालेदेखि नै माछा मार्ने जिम्मा तीनै महिलाले लिएका छन् । बेला बेला पुरुषहरु माछा मार्ने काममा जोडिएपनि टिकाउ भने महिला नै भैरहेका छन् । ४ वर्षको अवधिमा केही पुरुष आएपनि टिक्न नसकेको गीताले बताइन् । ‘खोइ किन हो उहाँहरुले यो काम लामो समय गर्न सक्नु भएको छैन,’ गीताले भनिन्, ‘तालले माछाको उत्पादन दिन थालेखि नै निरन्तर हामीहरुले नै जाल हान्ने र माछा मार्ने काम गरि रहेका छौं ।’ 

बिहानै चिसो तालमा पसेर उपभोक्ताको चुलो सम्म माछा पुर्‍याउनु कार्य कम चुनौतीपूर्ण भने छैन । पूरानो काठको डुङ्गाको सहायताले ३ जनाले तालको चारैतिर जाल हान्ने र माछा मार्ने गर्दछन् । लामो समय डुङ्गाको छेउमा बसेर जोखिमको साथ काम गरिरहेको खिमकुमारीले बताइन् । 

काम गर्न थालेको लामो समय भइसक्दा पनि त्यस्तो नराम्रो घटना नभएको उनको भनाइ छ । ‘अहिले सम्म त्यस्तो केही भएको छैन,’ खिमकुमारीले भनिन्, ‘यदी केही भैहाल्यो भने तालबाट उम्कने सम्भावना पनि कमै छ ।’ 

उनका अनुसार ३ जना मध्ये गीता मात्रै राम्ररी पौडिन सक्छिन् । उनीहरुले लाइभ ज्याकेट विनै जाल हान्ने र तान्ने काम गरिरहेका छन् ।  यस अघि घाँस, दाउरा र चुलो, चौकोमै सीमित उनीहरु आम्दानी हुने काम पाइएकोमा भने खुशी छन् । ‘यस अघिको कामबाट खासै आम्दानी हुँदैनथियो,’ डम्मरकुमारीले भनिन्, ‘एक बिहान मात्रै काम गर्दा पनि महिनाको ४ हजार पारिश्रमिक आइरहेको छ।’ 

महिनामा आउने ४ हजार र बढी माछा मारेको दिन पाइने बोनसले घर खर्च टार्न सहज भइरहेको भनाइ उनको छ । उनीहरु मासिक ४ हजार पारिश्रमिक पाउने यत्तिकै भएका भने होइनन् । काम थालेको २ वर्ष सम्म प्रति घण्टा ५० रुपैयाँ पारिश्रमिक पाउँदै आएका उनीहरुको काम राम्रो भएपछि तलबे भएका हुन् । हरेक बिहान माछा मार्ने उनीहरु दिउसो घरको काम गर्न भ्याइरहेका छन् । 

युनाइटेड मिशन टू रुकुम क्लष्टरले स्यार्पू तालमा माछाका भुरा छाडेर स्यार्पू ताल कृषि सहकारी संस्थालाई त्यसको उत्पादन लिन दिएको थियो । स्यार्पू ताल कृषि सहकारी मार्फत ३ दिदी बहिनीले माछा मार्ने र आम्दानी गर्ने काम गरिरहेको सहकारीका अध्यक्ष चन्द्रबहादुर केसीले बताए । माछा मार्ने काम हामी गछौं भनेर महिला दिदी बहिनी अघि सरेपछि जिम्मा दिइएको उनले बताए । ‘उहाँहरुले आँट गर्नुभो र सफल पनि भैरहनु भएको छ,’अध्यक्ष केसीले भने, ‘चाहेपछि महिला पनि कम छैनन् भन्ने कुरा उहाँहरुको कामबाट प्रष्ट भएको छ ।’

प्रकाशित: पुस २५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार