फोटोफिचर

महको सिकार

- डम्बरसिं राई, खोटाङ

पुस २३, २०७३- केही दिनअघि खोटाङको सुङ्देल–७ का वर्षीय मनोराज कोयी राईलाई भीरमाहुरीको मह निकाल्न भ्याइनभ्याइ थियो । फेदी–३ माखाम्लाका हस्तराम राई र तेराहाका तीर्थमणि राईलाई पनि फुर्सद थिएन । किन भने जाडो बढ्नासाथ भीरमाहुरीले मह सकेर बसाइ सर्ने डरमा मह निकाल्न हतारो थियो । 

सुङ्देल र फेदी गाविसका विभिन्न भीरहरूको भीरमाहुरीको चाका निकाल्न चटारो थियो । जिल्लाको उत्तरी गाविस सुङ्देलमा पर्ने देवीखर्क, दयालु हुबमालगायतका सामुदायिक वन क्षेत्रमा पर्ने धुरुखाम, ङजपु, पालाप्चुलगायतका दुई दर्जन बढी ठूला भीरहरूमा भीरमाहुरीले मह लगाउने गरेको छ । सुङ्देलमा मात्र भीरमाहुरीको महबाट वार्षिक दस लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको सुङ्देलस्थित सूर्य माविका प्रधानअध्यापक दलितचन्द्र राईले बताए ।

फेदी–६ को छिमालुङ सामुदायिक वन क्षेत्रको महभीर, फलाटे, आभर, भस्मेतिम्माली, जरमहभीर, खोलाखर्क, कुइरेछाँगा महभीरलगायतका भीरमा माहुरी पाइन्छन् । फेदीको वडा–४ स्थित बगाले सामुदायिक वनको बगालेमहभीर, थाकुमहभीर र वडा नंं. ३ स्थित चिलिम–लाहुरे सामुदायिक वन क्षेत्रभित्रका माखाम्लाको महभीर छाँगा, तेराहा सेतीभीर, घोप्टेमहभीर, चिलिमधाप, लोहुरेलगायतका भीरमा माहुरी पाइन्छन् । एउटै भीरमा दस–बाह्र गोला भीरमाहुरी बस्ने फेदी–६ का धनकुमार राईले बताए । महबाट राम्रो आम्दानी हुने राईको भनाइ छ ।


भीरमाहुरीले विभिन्न जडीबुटीबाट मह बनाउँछ । त्यसैले यसको महलाई औषधिका रूपमा सेवन गरिन्छ । यस्ता महुरीले पाखानवेद, पदमचाल, ठूलो ओखती, वृषजरा, सुगन्धवाल, चुथ्रो, कटुस, चिराइतो, मान्द्रे, बलु, हतिचुड, विभिन्न सुनाखरी प्रजातिका वनस्पतिलगायत विभिन्न जडीबुटीको फूलको रसबाट मह बनाउने गर्छ । स्थानीय बासिन्दा भीरमाहुरीको महलाई शक्तिबद्र्धक तथा यौनबद्र्धक मान्छन् ।

यस्तै, पाठेघर समस्या, निमोनिया, पिनास, विष नाशक, पेट रोक, हड्डीसम्बन्धी समस्यालगायतका लागि मह सेवन गरिने स्थानीयको भनाइ छ । औषधीय गुण हुने भएकैले यस्तो महको माग बढेको छ । प्रतिकेजी १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँमा बिक्री हुने सुङ्देल–९ का भुपेन्द्र कोयी राईले सुनाए ।

डोरीको भर्‍याङ मार्फत भीरमा पसेर मह निकालिन्छ । डोरीकै सहारामा बाँसको थुम्से वा भुनेमा मह थापिन्छ । मह भरिएपछि डोरीकै सहारामा भुइँमा झारिन्छ । मह निकाल्न मुख्य सिकारीबाहेक अन्य दस जना सहयोगी आवश्यकता पर्छ । वर्षमा दुईचोटि (मंसिर–पुस र वैशाख–जेठमा) मह निकाल्ने गरिन्छ । यसमध्ये वैशाख–जेठको महले मात लाग्ने भएकाले त्यति बेलाको मह बढी औषधीय गुण भएको मानिन्छ । त्यतिखेर जडीबुटी फुल्ने समय भएकाले त्यसबाट बनेको मह औषधीय गुणले भरिपूर्ण भएको फेदीका ज्ञानकुमार राईले बताए ।


यस क्षेत्रमा भीरमाहुरीको संख्या बढ्न थालेको छ । वन विनाश र जलवायु परिवर्तनले घटेको भीरमाहुरी केही वर्षदेखि फस्टाउन थालेको हो । सुङ्देल–९ का भुपेन्द्र कोयी राईका अनुसार सुङ्देलका विभिन्न ठाउँको भीरहरूमा २० वर्षपछि माहुरी आएका हुन् । जालपा र खार्मी गाविसको बीचमा पर्ने महभीरमा पनि २० वर्षपछि नै तीन वर्षअघि भीरमाहुरी आएको स्थानीयले बताएका छन् । त्यसपछि भने भीरमाहुरी फस्टाउन थालेको स्थानीयको भनाइ छ ।

जिल्लाको उत्तरी क्षेत्रमा भीरमाहुरी प्रशस्त पाइने भएकाले पर्यटन प्रवद्र्धन गर्नु पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लयालुले बताए । जैविक तथा पर्यापर्यटनको राम्रो सम्भावना भए पनि त्यसको प्रवद्र्धन गर्न नसक्नुले जिल्लाको आयस्रोत वृद्धि गर्न नसकिएको लयालुले सुनाए । ‘हामीसँग यति धेरै सम्भावना छन् ।’ लयालुले भने, ‘कस्तुरीले बिना थाहा नपाएजस्तै हामीले पनि सम्भावनाहरू थाहा पाएका छैनौं ।’

प्रकाशित: पुस २३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार