समाचार

कान्तिपुर निगरानी : मालपोतमा खुलेआम घूस

- कान्तिपुर टिम, काठमाडौं

पुस २३, २०७३- डोटीका एक कानुन व्यवसायीले ५ सय रुपैयाँ घूस दिएपछि मात्र मालपोत कार्यालय कैलालीको कम्प्युटर फाँटमा उनको काम अघि बढ्यो । धनगढीमा घडेरी किनेका कानुन व्यवसायीले राजस्वबाहेक मालपोतका विभिन्न फाँटमा गरी ३ हजारभन्दा बढी घूस दिएपछि लालपुर्जा उनको हातमा पर्‍यो ।

कैलाली गदरियाका धर्म चौधरीले अंशबन्डाको जग्गा आफ्नो नाउँमा पास गर्न ३ साताभन्दा बढी कुर्नुपर्‍यो । कहिले कर्मचारी नहुने, कहिले जग्गा विवादित भएको भन्दै फर्काउने र कहिले मुचुल्का आवश्यक छ भन्दै अल्झाउने गरियो । त्यसो गर्दागर्दै ३ साता दु:ख दिइयो । अन्तिममा लेखापढी व्यवसायीमार्फत ५ हजार घूस दिएपछि उनको जग्गा पास भयो ।

कान्तिपुरले बुधबार मालपोत कार्यालयका विभिन्न शाखामा एकसाथ गरेको अनुगमनका क्रममा कैलालीमा भेटिएका यी दुई उदाहरण मात्र हुन् । सेवाग्राही सर्वसाधारणको भीडभाड लाग्ने यो सरकारी कार्यालयमा ‘पैसाबिना कामै नहुने’ गरेको पाइएको छ । पश्चिम नेपालमा सबैभन्दा बढी जग्गा कारोबार हुने कैलाली मालपोतका कर्मचारी घूसबिना बोल्नसमेत मान्दैनन् ।

एउटा फाँटदेखि अर्कोसम्म फाइल पुर्‍याउने सहयोगीदेखि अधिकारीसम्मलाई तोकिएको रेट दिएपछि मात्र प्रक्रिया अघि बढ्छ । ‘भ्रष्टाचार लुकीछिपी हुँदैन, खुला हुन्छ’, मसुरियाका सेवाग्राही पुष्प जोशीले भने, ‘कानुन व्यवसायीले नै तिर्नुपर्‍यो भने अरूको के कुरा ?’

लेखनदासमार्फत लेनदेन
सबैजसो मालपोत शाखामा कर्मचारीले सीधै घूस माग्दैनन् । त्यसमा पुलको काम गर्छन् लेखापढी व्यवसायीले । तिनले लगेको कागजपत्र फटाफट अघि बढाइन्छ । एक व्यवसायी भन्छन्, ‘साँझमा हिसाबकिताब हुन्छ ।’ सेवाग्राहीले आफैं लिएर गएमा महिनौं 
अड्काइदिन्छन् ।

बाँकेको नरैनापुर–२ का यज्ञराम आफ्नो जग्गाको लालपुर्जा श्रेस्ता हेर्न मंगलबार मालपोत कार्यालय आए । फाँटवाला कर्मचारीले ‘फुर्सद छैन’ भन्दै त्यो दिन बिताइदिए । त्यतिका लागि नेपालगन्जमा बास बसे । बुधबार लेखापढी व्यवसायीलाई समाएपछि काम बन्यो । ‘रकम दिएपछि छिनभरमा कागज हेर्न दिइहाले । पहिले थाहा भएको भए यति सानो कामका लागि नेपालगन्जमा बास बस्नुपर्ने थिएन,’ उनले भने, ‘पैसा नदिएसम्म कागजै खोजेनन् ।’

कानुनअनुसार लालपुर्जाको श्रेस्ता हेर्न शुल्क लाग्दैन । मालपोतको नागरिक बडापत्रमा उक्त काम बढीमा एक घण्टामा हुनुपर्ने उल्लेख छ । तर, त्यही कामका लागि व्यवसायीमार्फत एक सय ५० रुपैयाँ घूस खुवाउनुपर्‍यो । ‘गाउँका अगुवाको हैसियतले यज्ञरामको कामका लागि निकै अनुरोध गरे,’ उनलाई सघाउन आएका दयाराम भन्छन्, ‘पैसा दिएपछि मात्रै सुनुवाइ हुने रहेछ ।’

बाँकेकै कनकटवा गाविस पेडारीका कोहलवा चौधरी जग्गा बिक्री गर्न मालपोत आए । किन्ने थिए गाउँकै दशरथ चौधरी । लेखापढी व्यवसायीले राजीनामा लेखेर फाँटमा पेस गरेपछि रकम तिर्न सुरु भयो । पुर्जाअनुसार जग्गा छ/छैन, रोक्का छ वा छैन भनेर यकिन गर्न सुरुमा फाँटमा गएर मोठ भिडाइन्छ । मालपोत कर्मचारीले मोठ हेराइको रेट बनाएका छन् सय रुपैयाँ । पैसा नदिँदासम्म काम अगाडि बढेन । उनले तिर्न बाध्य हुनुपर्‍यो । 

त्यसपछि कागज पुग्यो रजिस्ट्रेसन फाँटमा । त्यहाँ सरकारी राजस्व बुझाउनुपर्छ । एउटा लिखतको कम्तीमा ४ सय रुपैयाँ शुल्क राखिएको रहेछ । राजस्वमा कमिसन शुल्क थपेर लेखापढी व्यवसायीले बुझाउने रहेछन् । ‘सबै कागजात पुगेको छ भने चार सय रुपैयाँ दिनुपर्छ । कागज मिलेको छैन वा प्रमाण अभाव छ भने थप लाग्छ,’ एक व्यवसायीले भने, ‘सेवाग्राहीले छिटै काम होस् भन्ने चाहन्छन् तर पैसा हेर्दैनन् । त्यसैले मालपोतमा पैसा लिनेदिने प्रवृत्ति बढेको हो ।’ 

रजिस्ट्रेसनपछि लालपुर्जा बनाउन कम्प्युटर फाँटमा पुग्नुपर्छ । लालपुर्जा कागजको मूल्य मालपोतले २५ रुपैयाँ तोकेको छ । ‘तर, त्यति रुपैयाँले कर्मचारीहरू कहाँ मान्नु ? एक सय रुपैयाँ मुखै खोलेर माग्छन् । नदिएपछि आउन भन्छन्,’ सेवाग्राही दशरथ भन्छन्, ‘हरेक ठाउँमा पैसा तिर्नुपर्ने रहेछ ।’ 

भक्तपुर मध्यपुरथिमिका एक सेवाग्राही बिहीबार च्याम्हासिंहस्थित जिल्ला मालपोत कार्यालयमा भेटिए । उनी अभिलेख खोज्न पाँच दिन धाएछन् । तामेली फाँटका फाइल खोज्ने कर्मचारीले फाइल खोज्न आनाकानी गर्दै टारिरहे । छैटौं दिन उनले लेखनदासलाई समाए, १५ मिनेटमै फाइल भेटियो । ‘यत्तिका दिन आउने/जाने बाहेकको केही काम हुन सकेन,’ उनले गुनासो गरे, ‘लेखनदासलाई लिएर तामेली फाँट पुगेको १५ मिनेटमा काम भयो ।’

बिचौलियाको बिगबिगी
चितवनको भरतपुरस्थित मालपोत कार्यालयमा बुधबार बिहान १० नबज्दै चहलपहल थियो । सेवाग्राहीभन्दा लेखापढी व्यवसायी र बिचौलिया (दलाल) को भीड लाग्यो । सर्वसाधारण कार्यालय पुग्न नपाउँदै उनीहरूलाई बिचौलियाले ‘कब्जा’ गरे । सेवाग्राहीहरू मन्दिर, चौतारो, होटलमा बसिरहेका देखिन्थे । उनीहरूका कागजपत्र भने दलाल र लेखापढी व्यवसायीले पालैपालो बोकेर कर्मचारीसमक्ष पुर्‍याउँथे । 

कर्मचारी पनि दलाल र लेखापढी व्यवसायीबाट गएका कागज चाँडो हेर्थे । आफैं काम गराउन पुगेका सेवाग्राहीलाई भने एकछिन समय लाग्छ भन्दै कुराउँथे । तर घण्टौं कुर्दा पनि उनीहरूको पालो आएन । ‘हामीले पैसा दिएनौं कसरी हाम्रो काम चाँडो गर्थे,’ एक सेवाग्राही आक्रोश पोख्दै थिए, ‘यहाँ सेटिङ मिलाएर काम हुन्छ, कार्यालयमा पैसा नलिने, पछि कार्यालय समय सकिएपछि हिसाब गरेर कर्मचारी पैसा बुझ्छन ।’ 

जग्गाको रातो बुक पुर्जा लिन नागरिक बडापत्रमा २५ रुपैयाँ उल्लेख गरिएको छ । तर मठ फाँटका कर्मचारीले मनलाग्दी पैसा लिएको देखिन्थ्यो । कसैले १ सय, कसैले २ सय, कसैले ५० रुपैयाँ फाँटमा कुचुक्क पारेर फालेको देखिन्थ्यो । कसैले ढड्डाभित्र पैसा राखेर दिने गर्थे । 
 

पहिला पैसा अनि छाप !
भक्तपुर मालपोतमा पैसा नतिरी पुर्जामा छापै लाग्दैन । नगरकोट ताथलीका राजभाइ गिरीको अनुभव छ, ‘जग्गा पाससम्मको त कुरै नगरौं, पैसा नबुझी कर्मचारीले बनेको पुर्जामा छाप लगाउँदैनन् ।’ त्यसका लागि सय रुपैयाँ रेट राखिएको छ । ‘कुनै समस्या नभएको ४ आना जग्गा पास गर्न ७ हजार खुवाउनुपर्‍यो,’ गिरीले गुनासो गरे । 

‘लेखापढीमार्फत गयो भने नमिल्ने काम पनि मिल्छ,’ सूर्यविनायक सिपाडोलका विष्णु थापाले भने, ‘स्रेस्तामा नागरिकता र सामान्य त्रुटि भएमा थप रकम बुझाउनुपर्छ, नत्र भाका राख्छन् । फाँटैपिच्छे दुई चार सय तिर्ने सिस्टमै बसिसक्यो ।’ 

मालपोत कार्यालयले भने ९० प्रतिशत काम व्यक्ति विशेषले गर्न सम्भव नभएको र लेखापढीकै सहायतामा चल्ने भएकाले पनि नकारात्मक आरोप लागेको जनाएको छ । ‘मालपोतमा हुने अधिकांश काम परम्परागत फाइलबाट हुन्छ, जुन लेखापढीकै सहायताबिना गर्न सम्भव छैन,’ प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिनाले भने, ‘लेखनदासले लिने पारिश्रमिकको फिक्स रेट छैन, सेवाग्राहीलाई ठग्न पनि कर्मचारीको नाममा तिनले बढ्ता असुल्ने गरेका छन् ।’

 

केही दलाल भने सेवाग्राहीलाई लुट्न तल्लीन थिए । छेउमै सेवाग्राहीलाई छाडेर कर्मचारीलाई कानेखुसी गर्न पुग्थे । पैसाको कुरा मिलाई सेवाग्राहीलाई सुनाइरहेका हुन्थे । ‘अरूले भए २ हजार लिन्थे,’ एक दलाल सेवाग्राहीलाई भन्दै थिए, ‘काम नै नहुने भनेर बसेका कर्मचारीलाई बल्ल–बल्ल फकाएर १ हजार ५ सयमा मिलाएको छु, आज जग्गाको सबै काम सकिन्छ ।’

समयमै काम नहुँदा तनाव व्यहोरिरहेका सेवाग्राही छिटो काम होला भनेर दलालको कुरामा सहमत हुन्छन् । अधिकांश सेवाग्राही कार्यालयका कर्मचारीप्रति असन्तुष्ट देखिन्थे । भनेको समयमा सेवा नपाएको भन्दै निराशा पोखिरहेका थिए । ‘आफैंले काम गर्न यो ठाउँमा सकिँदैन,’ एक सेवाग्राहीले भने,‘ फाँट पत्ता लगाउँदैमा दिन जान्छ, बरु अलि–अलि खर्च गरे दलालमार्फत चाँडै काम हुन्छ, उनीहरूमार्फत काम गर्दा चाँडो हुन्छ ।’ 

कार्यालय परिसरमा झोक्राएर बसेका राप्ती नगरपालिका–११, वीरेन्द्रनगरका कमलापति कँडेलको जग्गा टेढो भएर मिलाउनु थियो । त्यसका लागि उनी छोरासहित सोमबार बिहान मालपोत कार्यालय आइपुगे ।

‘जहिले आए पनि भोलि हुन्छ भन्दै सधैं टार्छन्,’ उनले भने, ‘अहिलेसम्म काम भएन ।’ त्यही भीडमा ‘पण्डित दाइ भनेपछि सबैले चिन्छन्’ भन्दै एक व्यक्ति परिचय बलियो बनाइरहेका देखिए । ती व्यक्तिले उनलाई प्रलोभनमा पारे । उनले भन्दै थिए, ‘भरे भेट्नुपर्छ, के हुन्छ म गर्छु ।’ यस्तो पनि देखियो– जग्गा पास गर्न आएका एक वृद्धलाई दुईतिरबाट दलालहरू तानातान गरिरहेका थिए । जता गए पनि जग्गा खरिद बिक्री र कमिसनका कुरा मात्र हुन्थे ।

‘बागलुङबाट जग्गा पास गर्न आएको ४ दिन भयो,’ एक सेवाग्राहीले भनिन्, ‘अहिलेसम्म काम भएन ।’ चितवन मालपोतका प्रमुख दिवाकर पौडेलले कार्यालयलाई सुधार गर्दै लगेको दाबी गरे । ‘पहिला सेवाग्राहीको काम गर्न आएकाहरू मठभित्रै पस्थे,’ उनले भने, ‘अहिले त्यो रोकेका छौं ।’ उनले कर्मचारीले घूस लिने गरेको घुमाउरो ढंगले स्विकारे । ‘तपाईंले नै देख्नुभएको हो भने साँचो होला,’ उनले भने । 

जता छिर्‍यो उतै घूस 
सप्तरी मालपोतमा लालपुर्जा उतारसम्बन्धी काम लिएर आएका मौवाहाका वृद्ध ब्रहमदेव पासवानको निवेदन दर्ता गरेबापत कर्मचारी जामुन यादवले १० रुपैयाँ भारुको नोट लिए । केबापत यो रकम लिनुभएको ? भनी जिज्ञासा गर्दा उनले भने, ‘लालपुर्जा किताबबापत लिएको ।’ लालपुर्जा किताबको मूल्य २५ रुपैयाँ हो । पासवानको काम त्यहाँसम्म पुगेकै थिएन । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत इकाईका अध्यक्ष जयनारायण देवले भने, ‘कामको हतारोले सेवाग्राहीले दर्ताचलानी फाँटमा १०–१५ रुपैयाँ खुसीसाथ दिने चलन छ ।’

सेवाग्राही पासवानको टिप्पणी थियो, ‘फाँटैफाँटमा पैसा दिनुभयो भने हुन्छ काम, नत्र जय श्री राम ।’ दर्तापछि मोठमा पुगिन्छ, जहाँ ५० देखि १०० रुपैयाँ हाकाहाकी लिन्छन् । लेखापढी गर्नेले कर्मचारीलाई इसारा गर्नेबित्तिकै तुरुन्तै काम हुन्छ । त्यसपछि यहाँ हाकाहाकी घूस लेनदेन हुने फाँट हो रजिस्ट्रेसन । जहाँ खटिएका छन् खरिदार मनोज खतिवडा । उनले रसिद काटेर दिने रकमभन्दा ५० बढी रुपैयाँ हरेक रजिस्ट्रेसनमा लिने गर्छन् । दैनिक सयदेखि १ सय ५० सम्म रजिस्ट्रेसन हुने सप्तरी मालपोतको रजिस्ट्रेसन फाँटमा राजस्वको रसिदबाहेक लिइने रकममा कार्यालय प्रमुखसम्मको भाग लाग्ने गरेको स्रोतले बतायो । 

कार्यालय समय सकिन लाग्दा मालपोत अधिकृत सूर्यबहादुर थापालाई लिएर रजिस्ट्रेसन दस्तुरको रसिद काटने खरिदार खतिवडासमक्ष पुग्दा उनले खुद्रा नहुँदा फिर्ता नदिने गरेको बताए । दिनभरि रसिद कटाउन आउनेसित बढी पैसा असुलियो नि ? भन्ने पुस्ट्याइँ गर्दा उनी मात्र होइन, मालपोत अधिकृत थापा पनि अवाक् भए ।

रजिस्ट्रेसन फाँटमै अर्को हाकाहाकी घूस लेनदेन गर्ने व्यक्ति हुन् सेवानिवृत्त कार्यालय सहयोगी तीर्थनारायण झा । उनी २ वर्षअघि सप्तरी मालपोतबाट सेवानिवृत्त हुन् । पुराना फाइल खोज्न सजिलो होस् भन्ने उद्देश्य र कर्मचारीको अभावका कारण सहयोगीमा उनलाई कार्यालयले राखेको छ । रजिस्ट्रेसन फाँटमा उनका लागि छुटै कुर्सी/टेबल छ । उमेरले जीवनको उतराद्र्धमा रहेका उनी कागजपत्र छुट्याइदिने काम गर्छन् । जसबापत सीधा १० रुपैयाँका दरले सेवाग्राहीबाट लिन्छन् ।

बुधबार दिनभरि उनले सेवाग्राहीबाट रकम असुली गरेपछि कार्यालय समयको अन्तमा मालपोत अधिकृत थापासहितलाई लिएर उनीकहाँ पनि पुगियो । केबापतको पैसा लिएको हो ? भनी प्रश्न गर्दा उनी बोल्न सकेनन् । ‘दर्ता, मोठ, कम्प्युटर, रजिस्ट्रेसन, लालपुर्जा सहितका गरी दैनिक ५० हजार रुपैयाँभन्दा बढी घूस संकलन हुन्छ,’ एक कर्मचारीले भने, ‘त्यसमा कार्यालय प्रमुखसम्मको भाग लाग्छ ।’ 

यसबाहेक छुट जग्गा दर्तालगायत ‘ठूला’ काममा कार्यालय प्रमुख र सम्बन्धित फाँटवालाको मिलेमतोका लाखौंको कारोबार हुने गरेको ती कर्मचारीले बताए । मालपोत अधिकृत थापाले कार्यालयमा घूस चल्ने गरेको स्विकारे । ‘घूस लेनदेन नहुने गरेको त म भन्न सक्दिनँ, चलेको हुन सक्छ,’ उनले भने, ‘तर कसैले गुनासो गर्न पनि आउँदैनन् ।’ उनले त्यस्तो रकममा आफूले कुनै भाग नलिने गरेको दाबी गरे । बरु आफूहरूको नाममा बिचौलियाले लाखौं रुपैयाँ असुल्ने गरेको सुनाए ।

उनले भने, ‘३ हजारसम्म लाग्ने काममा हाकिमलाई दिनुपर्छ भन्दै १५–१६ हजारसम्म असुलेको सुनेको छु, हामीले के गर्ने ?’ यो यस्तो कार्यालय हो, जहाँ मागेको घूस नदिएपछि ६ महिनाअघि राजविराज–१० का श्यामप्रसाद साहलाई कर्मचारीले कुटेका थिए । रजिस्ट्रेशन फाँटका कर्मच ारी धर्मेन्द्र खडका र योगेन्द्र अधिकारीले चाँडो काम अगाडि बढाइदिने भन्दै उनीसँग दुई सय रुपैयाँ मागेका थिए । 

घूस नदिने अडान लिएपछि कागज फाल्दै उनीहरूले हातै हाले । साहको अञ्चल अस्पतालमा उपचार भएको थियो । त्यही घटनामा स्थानीय बासिन्दाले दुई दिनसम्म कार्यालयको कामकाज ठप्प पारेका थिए । पछि प्रमुख जिल्ला अधिकारीले माफी मगाएर मिलाएका थिए । 

कर्मचारी चिन्नै गाह्रो 
मालपोतमा दलालको यस्तो राज चल्छ– कर्मचारी को हुन् चिन्नै गाह्रो पर्छ । २८ कर्मचारी दरबन्दी रहेको कैलाली मालपोतमा १ सय १२ भन्दा बढी लेखपढी व्यवसायी र तिनका २–३ जनाका दरले दलाल छन् । ती कार्यालयभित्रै हैसियतवालासरह क्रियाशील हुन्छन् । सेवाग्राहीलाई पहिला तिनैले समाउँछन् । जति रकम भन्यो दिँदै जानुपर्ने सर्वसाधारणको नियति नै भइसकेको छ । 

‘लेखापढी व्यवसायीको सम्पर्कमा नआउँदासम्म सेवाग्राहीले सेवा लिउँला भन्ने नचिताए पनि हुन्छ,’ सेवाग्राही धनगढी–७ का देवबहादुर थापा भन्दै थिए, ‘कार्यालयको गेटदेखि नै अवैध असुली सुरु हुन्छ । काम सकिँदासम्म असुली जारी रहन्छ । काम सकिएपछि कार्यालय सहयोगीले समेत चियापानी भन्दै रकम माग्ने गरेका छन् ।’

चार महिनादेखि हालसाविकको लालपुर्जा लिन धाइरहेका गदरियाका कुलमान डंगौराले भने, ‘म पढेलेखेको मान्छे हुँ, सबै काम आफैं गर्न सक्छु । चार महिनापछि बल्ल मेरो काम भयो । लालपुर्जा लिने समय ३ सय नदिई सुखै पाइनँ ।’

कैलालीमा हालसाविकको लालपुर्जा लिनेको घुइँचो लागेको छ । पुरानो नापीअनुसार भोगचलनमा रहेको जग्गा जसको पनि तलमाथि हुन सक्छ, त्यसलाई आधार बनाएर अमिन, लेखापढी व्यवसायी र मालपोत कर्मचारीले ठूलो रकम असुल गर्छन् । सरकारी दस्तुरबाहेक एकजना अमिनले फिल्डमा गएको १५ सयदेखि माथि ५ हजारसम्म लिने गरेको सेवाग्राहीले बताएका छन् । कागजपत्र खोजेकै ३ सयदेखि १५ सयसम्म तिर्नुपर्ने बाध्यता छ । 

कैलाली मालपोतका प्रमुख बिसनसिंह थापाले पनि कर्मचारी र दलालले घूस माग्ने गरेको स्विकारे । ‘कार्यालयका कर्मचारीभन्दा पनि सेवाग्राही र दलालले सबै कुरा फिक्स गर्ने गरेका छन्,’ उनले भने, ‘घूस दिएपछि मात्र काम हुन्छ भन्ने सेवाग्राहीको मानसिकता, कर्मचारी, लेखापढी गर्ने र दलालहरूको मिलोमतोमा हुने लेनदेनले कार्यालय नै गन्हाएको छ ।’

नेपाल कानुन तथा लेखापढी व्यवसायी एसोसिएसन कैलालीका अध्यक्ष जीतबहादुर थापाले घूस खानेभन्दा खुवाउने प्रवृत्तिले समस्या बढेको दाबी गरे । उनले भने, ‘घूस कर्मचारीले खान्छन्, दोष लेखापढी व्यवसायीलाई दिन्छन् ।’ दैनिक ५ देखि १० लाखसम्म राजस्व उठ्ने गरेको यस मालपोतमा त्यही हाराहारीमा घूस लेनदेन हुने गरेको एक कर्मचारीले बताए । 

बाँके मालपोतका अधिकृत मुक्तिप्रसाद शर्माले आफूलाई देखाएर अरूले पैसा असुली गरेको दाबी गरे । ‘कुनै सेवाग्राहीले हालसम्म उजुरी गरेका छैनन्,’ उनले भने, ‘कसैले घूस मागे उजुर गर्नुहोस्, तुरुन्त कारबाही हुन्छ ।’ जबकि बाँकी लेखापढी व्यवसायी संघका अध्यक्ष हृदयराम यादवले मालपोतभित्र विकृति बढेको बताए । 

व्यवसायीलाई विशेष सम्मान
सप्तरी मालपोतमा लेखापढी व्यवसायीको मनोमानी छ । तिनलाई कार्यालय परिसरमै टेबुल/बेञ्च लगाउन घर बनाइएको छ । ‘लेखापढी व्यवसायीले कार्यालय बाहिर फर्म खोल्नुपर्ने हो, तर यहाँ भित्रै राखिएको छ’, मालपोत अधिकृत थापाले भने, ‘पुरानो निर्णय भन्छन्, हामी के गर्नु ?’ मालपोत कार्यालय सप्तरीमा ३ सय ५० जना लेखापढी गर्नेहरू रहेको नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मालपोत इकाईका अध्यक्ष जयनारायण देवले बताए ।

‘नियम कानुनले त भित्र बस्न मिल्दैन तर जनताको सेवाका लागि बस्या हौं,’ उनले भने । सबै लेखापढी गर्नेहरूको टेबुल/कुर्सी र साइकल मोटरसाइकलको जथाभावी पार्किङले कार्यालय परिसर अस्तव्यस्त देखिने गरेको छ । टेबुल/कुर्सी लगाउन नपाएका व्यवसायीले भने कार्यालय परिसरमै रहेको चौतारामा गुन्द्रीमा लेखापढी गर्दै आएका छन् ।

सरकारी कागजात जिम्मेवार कर्मचारीबाहेक अरूलाई छुनसमेत निषेध गरिएको छ । तर बुधबार हेर्दा कर्मचारी र लेखापढी गर्नेबीच कुनै भिन्नता देखिएन । लेखापढी गर्नेहरू आफूलाई आवश्यक फाँटमा गएर जुनसुकै फायल, ढड्डा पल्टाएर हेर्ने र बाहिरै लिएर जाने गरेका थिए । मालपोत अधिकृत थापाले भने, ‘जबर्जस्ती छ । हटाउन सकेका छैनौं, एक वर्षअघिसम्म त बाहिर फलैँचासम्म कार्यालयका ढड्डाहरू लिएर जान्थे, अहिले केही घटाइएको छ ।’

बुधबार दिउँसो १ बजेदेखि अख्तियारको कार्यक्रममा राजविराज आएका प्रमुख मालपोत अधिकृत मदन घिमिरेलाई सोध्दा उनले आफ्नो कार्यालयमा घूस लेनदेनबारे थाहा नभएको बताए । उनले लेखापढी गर्नेहरूलाई सचिवस्तरबाटै निर्णय गरेर कार्यालय परिसरमा बस्न दिएको जानकारी दिए ।

डीआर पन्त (कैलाली), ठाकुरसिंह थारू (बाँके), विमल खतिवडा (चितवन), अवधेशकुमार झा (सप्तरी) र लीला श्रेष्ठ (भक्तपुर)

प्रकाशित: पुस २३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार