समाचार

रुन्छन् शिक्षक

- मकर श्रेष्ठ, काठमाडौं
शिक्षा नियमावलीको मापदण्डअनुसार एउटा कक्षामा न्यूनतम ४० विद्यार्थी हुनुपर्छ । यही आधारमा सामुदायिक विद्यालयमा शिक्षक तोकिएका छन् । तर पछिल्लो समय कैयन् स्कुलमा विद्यार्थी घटेर एक/दुई जनामा सीमित हुन थालेपछि यस्तो बेहाल खप्न नसकी कतिपय शिक्षक भक्कानिएर रुन्छन् । जिल्ला–जिल्लामा विद्यार्थी अनुपातमा सयदेखि हजारभन्दा बढी शिक्षक छन् । दरबन्दीभन्दा बढी शिक्षकका लागि मात्रै राज्यको २ अर्ब २३ करोड खर्च भइरहेको छ ।

पुस १८, २०७३- राजधानीको वसन्तपुर नजिकै याट्खाको कन्या माध्यमिक विद्यालयकी आधारभूत तहकी शिक्षक निर्मला श्रेष्ठले पढाउन थालेको ३७ वर्ष भयो । यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर पढ्थे । विद्यार्थी बढी भएपछि सेक्सनसमेत छुट्याइएको थियो । दुई साताअघि उनलाई भेट्न पुग्दा उनी कक्षा ६ मा दुई जनालाई स्वास्थ्य शारीरिक विषय पढाइरहेकी थिइन् । ‘उबेला कक्षाभरि विद्यार्थी पनि पढाएँ, अहिले दुई जना पढाउनुपरेको छ,’ उनले भनिन् । 

विद्यार्थी कम हुँदै गएपछि निर्मला कहिलेकाहीँ भक्कानिएर रुन्छिन् । विद्यालय र विद्यार्थीका बारेमा कुरा गर्दागर्दै उनी हामीसँग पनि भक्कानिएर रोइन् । ‘हेर्दाहेर्दै विद्यार्थी घट्यो । विरक्त लाग्छ,’ कक्षामा रुँदै उनले भनिन्, ‘यो के देख्नुपरेको जस्तो लाग्छ । विद्यालयको यस्तो अवस्था हेर्नुभन्दा छिटो रिटायर्ड हुन पाए हुन्थ्यो जस्तो लाग्छ । कक्षा १ मा एक जना पनि विद्यार्थी छैनन् । बालुवामा पानी हालेजस्तै भयो । जति गरे पनि राम्रो भएन । उनीहरूलाई मैले कुटेको पनि छैन । माया गर्छु । विद्यार्थी बढेनन् ।’ 

त्यस दिन कक्षा ६ मा दीपेन्द्र न्यौपाने, जयन्ती तामाङ र सपना मैनालीमध्ये मैनाली अनुपस्थित थिइन् । कहिलेकाहीँ तीन जना नआउँदा कक्षा सुनसान हुन्छ । विद्यार्थी नहुँदा निर्मला शिक्षकसँग दु:खेसो पोख्दै रुन्छिन् । ‘दिक्क लाग्छ अनि साथीहरूमाझ रुन्छु,’ उनले भनिन् । 

यही विद्यालयमा ०५८ देखि पढाइरहेकी माया महर्जनले न्यून विद्यार्थी हुँदा तालिममा सिकेको ज्ञान पनि प्रयोग गर्न नपाएको बताइन् । ‘पढाउन मन पनि लाग्दैन,’ उनले भनिन् । उनी कक्षा ४ मा दुई जना विद्यार्थी पढाइरहेकी थिइन् । त्यही कोठाको अर्को बेन्चमा सुशीला कोइराला कक्षा ३ का दुई जनालाई पढाइरहेकी थिइन् । त्यही कोठामा पढाइ हुने कक्षा २ मा त्यस दिन एक जना पनि विद्यार्थी थिएनन् । ‘विद्यार्थी नआएपछि पढाउने जोस पनि हराउँदै जाँदोरहेछ,’ उनले भनिन्, ‘तालिममा सिकेको त केही प्रयोग भएन । ब्लाकबोर्डमा नलेखेको पनि धेरै भइसक्यो । ट्युसन पढाइ जस्तै हो ।’ 

यो विद्यालयमा आधारभूत र माध्यमिकमा १९ जना शिक्षक छन् । नियमित आउने विद्यार्थी ४० को हाराहारी मात्रै छन् । हाजिरकापीमा ६२ जनाको तथ्यांक छ । 

कक्षा १ मा विद्यार्थी शून्य छ । भूकम्प गएपछि शान्ति निकुञ्ज मावि भवनमा सरेको थियो । त्यहाँ झन् विद्यार्थी घटेपछि आफ्नै भवनमा फर्कियो । 

एउटै परिसरमा दुई विद्यालय 
भूकम्पले भवन भत्किएपछि नजिकैको अरुणोदय आधारभूत विद्यालय भने अझै शान्ति निकुञ्जकै भवनमा छ । एउटै विद्यालय परिसरमा अहिले दुईवटा विद्यालय चलिरहेका छन् । दुवै विद्यालयका विद्यार्थी एउटै चौरमा खेल्छन् । तर, शिक्षक र कक्षा भने फरक छ । शान्ति निकुञ्जले विद्यार्थी तान्न अंग्रेजी माध्यमबाट समेत पढाउन थालेको छ । 

बोर्डिङकै जस्तो विद्यालय पोसाक छ । विद्यालय अवलोकनका क्रममा पुग्दा अरुणोदयका शिक्षकहरू विद्यालयको अन्तिम घण्टी लाग्नेबित्तिकै विद्यार्थीभन्दा अघिअघि लुरुलुरु घर हिँडे । विद्यार्थी जुन बेला जाओस्, वास्तै थिएन । तर, शान्ति निकुञ्जमा भने विद्यार्थीलाई पठाइसकेपछि मात्रै शिक्षकहरू बाहिर निस्के । एउटै परिसरमा विद्यार्थीलाई गर्ने व्यवहार फरक छ । 

शान्ति निकुञ्जबाट पाँच सय मिटर वरिपरि झन्डै एक दर्जन सामुदायिक विद्यालय छन् । कतिपयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन् । शिक्षकको अनुपातमा न्यून विद्यार्थी छन् । यसमध्येकै एक हो, सर्कटा आधारभूत विद्यालय । यो विद्यालयमा हामी पुग्दा पाँच जना शिक्षक थिए भने आठ जना विद्यार्थी थिए । कक्षा ४ र ५ मा एक जना थिए । दुवै जनालाई एकै ठाउँमा राखेर एउटा पिरियडमा आधा समय ४ कक्षाका एक जनालाई र आधा समय ५ कक्षाका एक जनालाई मिलाएर पढाइरहेका थिए । कक्षा ३ मा एक जना पढाइरहेका थिए । कक्षा १ मा दुई जना मात्रै थिए । विद्यार्थी न्यून भएको यो विद्यालयमा शिक्षा कार्यालयले सुनिता श्रेष्ठलाई ओखलढुंगाबाट अन्तरजिल्ला सरुवा गरेर ल्याएको छ । ‘यहीँ भएको शिक्षकलाई पढाउने विद्यार्थी छैन भन्दा पनि शिक्षा कार्यालयले जबर्जस्ती एक जना शिक्षक ओखलढुंगाबाट सरुवा गरेर ल्यायो,’ एक शिक्षकले भनिन्, ‘होम ट्युसन जस्तो पढाइरहेका छौं । तर, गुणस्तर दिन सकेनौं ।’ संकटा मन्दिर अगाडि फुटपाथमा फूल र अन्य व्यापार गर्नेका छोराछोरी त्यहाँ पढ्ने गरेका छन् । भर्ना गरिएका विद्यार्थी विद्यालय खुलेको धेरै समय नआएपछि शिक्षकहरू विद्यार्थी खोज्न निस्कन्छन् । ‘हामी उनीहरूलाई खोज्न गएपछि लुक्छन्,’ एक शिक्षकले भने ।

शिक्षा कार्यालय काठमाडौंका अनुसार विद्यालयमा २५ भन्दा कम विद्यार्थी भएका जिल्लाभरि २४ वटा विद्यालय छन् । विद्यार्थी न्यून भए पनि शिक्षक उत्ति नै छन् । शिक्षा मन्त्रालय, विभाग, शिक्षा कार्यालयका अधिकारीहरूलाई यस्ता विद्यालय आफन्तलाई जागिर खुवाउने ठाउँ पनि भएको छ । यसअघिको स्थायी विज्ञापन गरेर विस्थापित भएका भनिएका शिक्षकलाई यस्ता विद्यालयमा सरुवा गरिएको छ । यसमध्येकै एक हो, इटुमबाहल केशचन्द्र आधारभूत विद्यालय । अन्यत्र माध्यमिक तहमा पढाउने शिक्षकलाई स्थायी शिक्षकको पदस्थापन भएपछि उनलाई यो विद्यालयमा राखेर जागिर बचाइएको हो । 

ईसीडीसहित आठ जना विद्यार्थी रहेको यो विद्यालयमा चार जना शिक्षक छन् । विद्यालयका शिक्षकहरूले आमालाई दैनिक ज्यालादारीमा काम लगाइदिएर छोराछोरी भर्ना गरेका छन् । ‘जागिर बचाउनै पर्‍यो,’ एक शिक्षकले भने, ‘हामीलाई विद्यार्थी भएको विद्यालयमा सारिदिन आग्रह गर्‍यौं । कतैबाट सुनुवाइ नभएपछि विद्यार्थीको गोठालो हुनुपरेको छ ।’ विद्यालयकी शिक्षक फूलकुमारी केसीले विद्यार्थी नभएपछि चक नसमाएको एक वर्ष भएको बताइन् । ‘धेरै विद्यार्थी पढाउन मन लाग्छ नि, के गर्नु, यहाँ विद्यार्थी छैनन् । अन्यत्र सारिदिँदैन,’ उनले भनिन्, ‘यहाँ त पढाउनभन्दा बच्चा भुलाउन ध्यान हुन्छ । चाँडै रिटायर्ड भइदिए हुन्थ्यो जस्तो लाग्छ ।’ विद्यार्थी नभएपछि पढाउने जोस नै हराएको उनले बताइन् । विद्यालयमा एक जना भए पनि कार्यालय समय पूरै बस्ने गरेको उनले सुनाइन् । अन्यत्र विद्यालयमा पनि समायोजन गर्न नमान्ने गरेको उनको अनुभव छ । ‘अन्यत्र सार्दिए हुन्थ्यो जस्तो लाग्छ । तर, शिक्षक मात्रै लिँदोरहेनछ । विद्यार्थी पनि खोज्दोरहेछ,’ उनले भनिन् । 

विद्यालयको साइनबोर्डसमेत छैन । विद्यालयको अवस्थाबारे फोटा खिच्दा शिक्षकहरू बेइज्जत हुने डरले भाग्छन् । ‘स्कुलको वास्तविकता अरूले थाहा पाएपछि हल्ला हुन्छ । अनि अन्यत्र सरुवा गरिदेला भनेर बाहिरबाट आएका व्यक्तिसँग शिक्षकहरू डराउँछन्,’ न्यून विद्यार्थी भएको मख्खनको तारिनी आधारभूत विद्यालयबाट अवकाश लिएकी रेवती शर्मा सुवेदीले भनिन्, ‘विद्यार्थी कम भएको जानकारी पाएर शिक्षकलाई अन्यत्र सरुवा गर्दा घर पायक हुँदैन ।’ 

काठमाडौंमा ५० भन्दा कम विद्यार्थी भएका ४८ वटा विद्यालय छन् । यस्ता विद्यालयका पूर्वाधार पर्याप्त छन् । आवश्यकभन्दा बढी शिक्षक छन् । विद्यार्थी छैनन् । शिक्षा विभागले विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी मिलान गर्न सकेको छैन । विद्यार्थीको अनुपातमा प्राथमिक तहमा मात्रै मुलुकभर १३ हजारभन्दा बढी शिक्षक छन् । 

विभागले गरेको विद्यालयगत विद्यार्थी र शिक्षक दरबन्दी विश्लेषण गर्दा काठमाडौंमा १ हजार २ सय ५४, झापामा ८ सय ९५, मोरङमा ५ सय ५४, चितवनमा ५ सय ५४, ललितपुरमा ५ सय १६, स्याङ्जामा ५ सय ३, भक्तपुरमा ४ सय ८३ र पाल्पामा ४ सय २८ शिक्षक आवश्यकभन्दा बढी छन् । दरबन्दीभन्दा बढी शिक्षकका लागि २ अर्ब २३ करोड ९ लाख तलब भत्ताबापत खर्च हुने गरेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ । ‘जिल्ला र विद्यालयगत विद्यार्थी संख्याको आधारमा शिक्षकको दरबन्दी संख्या यकिन गरी बढी दरबन्दी भएको जिल्ला एवं विद्यालयबाट घटी दरबन्दी भएकामा मिलान गर्नुपर्ने हुन्छ,’ महालेखाको गत वर्षको प्रतिवेदनमा भनिएको छ । 

दरबन्दी बढी भएका जिल्लालाई प्राथमिक तहमा प्रतिविद्यार्थी कोष तलब अनुदान प्रदान गर्न महालेखाले सुझाव दिएको छ । विद्यालय समायोजन कार्यान्वयन निर्देशिका २०७० मा तोकिएबमोजिम विद्यार्थी संख्या नभएको देखिए जिल्ला शिक्षा अधिकारीको सिफारिसमा जिल्ला शिक्षा समितिले त्यस्तो विद्यालय बन्द गरी पायक पर्ने विद्यालयमा समायोजन गर्न सक्ने व्यवस्था छ । महालेखाले पाँच जिल्लामा विद्यार्थी र शिक्षक अनुपातको अध्ययन गरेको थियो । 

रूपन्देहीमा १३ वटा विद्यालयमा ३ सय ८२ विद्यार्थी अध्ययनरत छन् । नियमावलीअनुसार यति विद्यार्थीका लागि आठ जना शिक्षक भए पुग्छ । तर, फरक(फरक विद्यालय भएकाले ३० जना शिक्षक कार्यरत छन् । यी शिक्षकहरूले साउनअघिको तलबअनुसार वार्षिक ६ करोड ९० लाख बुझ्छन् । व्यवस्थापन हुने हो भने ३ सय ८२ जना पढाउने शिक्षकका लागि वार्षिक दुई करोड मात्रै खर्च गरे पुग्छ । 

महालेखाले दोलखाको २० वटा विद्यालयको पनि अध्ययन गरेको थियो । २० विद्यालयमा १ सय ९९ जना मात्रै विद्यार्थी पाए । त्यस्तै ललितपुरको ११ विद्यालयमा एक सय ८९ मात्रै विद्यार्थी भेटाए । शिक्षक संख्या भने २८ थियो । उनीहरूका लागि सरकारले बर्सेनि साढे ६ करोड रुपैयाँ खर्च गर्दै आइरहेको छ । त्यस्तै काभ्रेको ६ वटा विद्यालय अनुगमन गर्दा ४१ विद्यार्थी पढाउन १३ जना शिक्षक कार्यरत रहेको पाइएको थियो । उनीहरूका लागि पनि साढे तीन करोडभन्दा बढी खर्च भइरहेको छ । 

शिक्षा नियमावलीअनुसार विद्यार्थी(शिक्षक अनुपात हिमाली भेगमा ४० विद्यार्थीलाई एक शिक्षक, पहाडी भेगमा ४५ विद्यार्थीलाई एक र तराई भेगमा ५० जनालाई एक जना हुनुपर्छ । 
काठमाडौं उपत्यकामा एउटा विद्यालयमा ३० जना पनि विद्यार्थी नभएका सयभन्दा बढी विद्यालय छन् । त्यसमा भक्तपुरमा २९, काठमाडौंमा २५, ललितपुरमा ४५ भन्दा बढी विद्यालयमा ३० जनाभन्दा कम विद्यार्थी छन् । शून्य विद्यार्थी भएका विद्यालय पनि छन् । 

पायक पर्ने विद्यालय जान तयार 
भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीको टोली दुई साताअघि भक्तपुरकै कटुन्जेको सुशीला भैरव प्रावि पुग्दा एउटा कोठामा आठ जना विद्यार्थी राखेर दुई जना शिक्षकले परीक्षा लिइरहेका थिए । दुई जना कार्यालयमा थिए । एक जना बिदामा थिए । दुइटा ब्लकमध्ये तीन वटा कोठा मात्रै प्रयोग भइरहेको थियो । रायमाझीले शिक्षकहरूलाई नजिकका अरू विद्यालयमा सरुवाका लागि तयार हुन आग्रह गरे । चार जनालाई कुन विद्यालय जाने भनेर सोधे । पायक पर्ने जुनसुकै विद्यालयमा जान तयार भएको उनले बताए । हामी खटाएको ठाउँमा काम गर्न तयार छौं,’ प्रधानाध्यापक कुशला शर्माले भनिन्, ‘हामीलाई धेरै विद्यार्थी भएको ठाउँमा पढाउन मन छ । पायक पर्ने ठाउँमा सरुवा गर्दिए हुन्छ ।’ यो विद्यालयमा विद्यार्थी नभएपछि शिक्षकहरू कामै नगरी तलब खान्छन् भन्दै मिडियाले समेत समाचार प्रकाशन प्रसारण गरेपछि बेइज्जत भएको उनीहरू बताउँछन् । स्थानीयले पनि शिक्षकको जागिर खाने थलोका रूपमा लिन्छन् । पाँच कक्षामा विद्यार्थी शून्य छ । 

ललितपुरमा सहरी क्षेत्रको न्यून विद्यार्थी भएको विद्यालय नजिकैको अर्को विद्यालयमा गाभिएको छ । कक्षा ८ सम्म पढाइ हुने आधारभूत विद्यालय र माध्यमिकमा भने विद्यार्थी न्यून छ । आमनेसामने विद्यालय छन् । यस्ता विद्यालयको व्यवस्थापन हुन सकेको छैन । ललितपुरकै लुभु मावि र विश्वमित्र मावि आमनेसामने छ । दुवैमा विद्यार्थी न्यून छ । विद्यार्थी न्यून हुनुमा स्थानीय समुदाय, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई दोष दिइन्छ । तर, यो तथ्यले ‘सिस्टम’ को पनि दोष देखिन्छ । एउटै टोलमा दर्जनौं सामुदायिक विद्यालय छन् । आवश्यकभन्दा बढी शिक्षक खटाइएको छ । त्यस्तै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलाइएको छैन । दुई सय १८ विद्यार्थी रहेको आदर्श कन्या निकेतनमा ३० जना शिक्षकको दरबन्दी छ । सामाजिक र अंग्रेजीका शिक्षक दुई(दुई जना छन् । विज्ञान विषयको शिक्षक नै छैन । यसले पनि शिक्षक दरबन्दी भद्रगोल रहेको पुष्टि हुन्छ । 

कानुनमै सीमित 
शिक्षा नियमावली २०५९ को नियम ७७ को उपनियम १ मा सामुदायिक विद्यालयको प्रत्येक कक्षामा विद्यार्थी संख्या उपत्यकाभित्र ५०, तराईमा ४५ र हिमाली क्षेत्रमा ४० जना न्यूनतम हुनुपर्ने उल्लेख छ । नियमावलीमा उल्लेख भएबमोजिम विद्यार्थी नभए विद्यालय गाभ्न सकिने व्यवस्था छ । काठमाडौं उपत्यका, पहाड, हिमाल र तराईमा न्यून विद्यार्थी भएको विद्यालय र शिक्षक व्यवस्थापन गर्न एउटै आधार तय गर्नु हुँदैन । कम विद्यार्थी भए पनि अर्को विद्यालय पुग्न आधा घण्टाभन्दा बढी समय लाग्छ भने गाभ्नु हुँदैन । सुगम क्षेत्रमा विद्यालय व्यवस्थापन गर्दा नक्सांकन गर्न जरुरी छ । 

शिक्षकहरूले अन्यत्र व्यवस्थापन गरिदिन अघिल्लो शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई हारगुहार पनि गरे । शिक्षक व्यवस्थापन गर्न उनी लागिपरेका पनि थिए । प्राथमिक तहको शिक्षक दरबन्दी प्रक्रिया अघि बढाउने क्रममा उनी मन्त्रीबाट हटे । ‘न्यून विद्यार्थी भएको सुगम क्षेत्रमा नक्सांकन गरेर विद्यालय मर्ज गरेर शिक्षक व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ पोखरेलले भने, ‘हिमाली भेगमा आवासीय विद्यालय खोलेर व्यवस्थापन गर्न सकिन्छ ।’ हिमाली भेगमा छरिएको विद्यालयको सट्टा खाने, बस्नेसहितको सुविधा दिएर सबैलाई पायक पर्ने ठाउँमा आवासीय विद्यालय खोल्नुपर्ने उनले बताए । यस्तो व्यवस्था गर्न सके भइरहेका शिक्षकलाई अन्यत्र व्यवस्थापन गरेर हिमाली क्षेत्रमा अहिले गरेकै लगानीमा आवासीय विद्यालय खोल्न सकिन्छ । न्यून विद्यार्थी भएको विद्यालयका शिक्षकले सिकेको ज्ञान र सीपसमेत सदुपयोग हुन नसकेको पोखरेलले बताए । ‘शिक्षण साधना हो । ऊसँग भएको पेसागत ज्ञान र सीप प्रयोग गर्न सकिएन भने मन्द विष हुन्छ,’ उनले भने, ‘यो राज्यका लागि घाटा हो ।’

सिट सुरक्षित गर्न विज्ञापन, तर कक्षा खाली 
भक्तपुर इनाचोको समाज सेवा इन्स्टिच्युट प्राविमा कक्षा १ देखि ५ सम्ममा एक जना छन् । ती विद्यार्थी कक्षा ३ मा पढ्छन् । शिक्षक दुई जना छन् । विद्यालयको बाहिर ढोकामा विज्ञापन टाँसिएको छ, ‘नयाँ शैक्षिक सत्रमा शिशु कक्षा तथा तयारी कक्षाको भर्ना खुल्यो । अंग्रेजी माध्यमद्वारा अध्यापन गराइने भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्न अनुरोध गरिन्छ ।’ 

विज्ञापनमा भनिए जस्तो विद्यालयमा देखिँदैन । सिट पूरा त के, भएको डेक्स–बेन्च पनि प्रयोगमा छैन । तल्लो शिशु कक्षामा भने नौ जना छन् । स्थायी दरबन्दीका दुई जनाले ती नौ जनालाई हेर्नु पर्दैन । शिशु कक्षाकै शिक्षकले पढाउँछन् । १ रोपनी क्षेत्रफलमा रहेको सात कोठे भवन छ । एउटा कोठामा शिशु कक्षा चल्छ । अर्कोमा एउटा विद्यार्थी छन् । एउटामा पुस्तकालय नजिकैको अर्को कोठामा किचन बनाइएको छ । विद्यालयको डेक्स–बेन्च भर्‍याङमुनि थन्क्याइएको छ । विद्यालयमा विद्यार्थी नभएपछि शिक्षा कार्यालयले प्रधानाध्यापकलाई अन्यत्र सरुवा गरिसकेको छ । विद्यार्थी नै नभए पनि पुस्तक लगायत अन्य खर्च देखाएर अनियमितता गरेको ती प्रधानाध्यापकलाई आरोप छ । ‘एक जना विद्यार्थी छन् । उसलाई हामी दुई जनाले पढाउँछौं,’ प्रधानाध्यपक रामभक्त ठकुलवतले भने, ‘बिस्केट जात्रासम्म २० जना थियो । जात्रापछि आउनै छाड्यो ।’ उनी र अर्का शिक्षक सीता जोन्छे नियमित विद्यालय आउँछन् । एक जनाको गोठालो लाग्छन् । ती विद्यार्थी पनि नआएको दिन घाम तापेर दिन कटाउँछन् । विद्यालयको पक्की भवन छ । आवश्यक पूर्वाधार छ । डेक्स–बेन्च, लाइब्रेरी, शौचालय, भवन पनि छ । ‘हामीलाई खाँचो विद्यार्थीको छ,’ ठकुलवतले भने ।

विद्यार्थीको सिकाइ सुधार गर्न विद्यालयका शिक्षकले ईजीआरपीको तालिम पनि लिए । शैक्षिक सामग्री भएको बाकस दिएको छ । विद्यार्थी नभएपछि प्रयोग भएको छैन । ‘विद्यार्थी भए पो ताल्चा खोल्नु,’ उनले भने ।

प्रकाशित: पुस १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार