विचार/विश्‍लेषण

दलित महिलामाथि विभेद

- सरिता परियार

नेता, राज्य र समाजलाई प्रश्न गर्ने कि नगर्ने ? शास्त्र, सिद्धान्त र विचारमाथि सवाल उठाउने कि नउठाउने ? राम्रो ‘म’लाई पनि प्रश्न गर्ने कि नगर्ने ? कि टाउको काटिन्छ भनेर मौन बस्ने ? काभ्रेकी लक्ष्मी परियार प्रश्न उठाएकै कारण मारिएकी त होइनन् ?

पुस ३, २०७३-‘एगार्गी, अति प्रश्न नगर, तेरो टाउको नखसोस् ! अति प्रश्न गर्न नहुने देवताबारे अति प्रश्न गर्छेस्, अति प्रश्न नगर् ।’ यो याज्ञवल्क्यको धम्की हो, विक्रमपूर्व १३०० मा गार्गीलाई दिइएको । अति प्रश्न गरेमा टाउको खस्ने धम्की सुनेर पनि प्रश्न गर्न नछोड्ने शाकल्यको टाउको काटिएको र त्यसका अस्थिपञ्जरसित समेत दुव्र्यवहार गरिएको मदनमणि दीक्षितको मत छ । एक विदुषीलाई धम्की दिइएको र अर्को विद्वान्को टाउकै काटिएको प्रसंगले प्रश्नलाई निषेध गर्न खोजेको देखिन्छ । त्यस्तो धम्की र हिंसाको प्रभाव आजको समाजमा पनि उत्तिकै छ । त्यसैले इतिहासकार रोमिला थापरले भनेझैं प्रश्न गर्ने कि नगर्ने भन्ने प्रश्न नै यस समयको ठूलो चुनौती हो । 

आजका गार्गी र शाकल्यहरूले प्रश्न गर्ने कि नगर्ने ? बाबुआमालाई प्रश्न गर्ने कि नगर्ने ? पतिलाई प्रश्न गर्ने कि नगर्ने ? गुरुलाई प्रश्न गर्ने कि नगर्ने ? नेता, राज्य र समाजलाई प्रश्न गर्ने कि नगर्ने ? शास्त्र, सिद्धान्त र विचारमाथि सवाल उठाउने कि नउठाउने ? राम्रो ‘म’ लाई पनि प्रश्न गर्ने कि नगर्ने ? कि टाउको काटिन्छ भनेर मौन बस्ने ?

काभ्रेकी लक्ष्मी परियार प्रश्न उठाएकै कारण मारिएकी त होइनन् ? उनको घटनालाई मिडियाले भिन्नाभिन्नै ढंगले प्रस्तुत गरेका छन् । तर स्थलगत भ्रमण गरेका जागरण मिडिया सेन्टरका अनुसन्धानकर्ताका अनुसार लक्ष्मी परियार दलित समुदायकी जुझारु युवती थिइन् । उनी दलित समुदायको विरोधमा हुने उत्पीडन, दमन र शोषणको प्रतिवाद गर्थिन् । उनी वडा नागरिक मञ्चका संयोजक र नागरिक सचेतना केन्द्रका सदस्य थिइन् । त्यसै केन्द्रका संयोजक रहेका शिक्षक हिरा लामासँग उनको द्वन्द्व थियो । उनी स्रोतसाधनलाई त्यहाँको प्रभुत्वशाली तामाङ समुदायमा केन्द्रित गर्ने प्रक्रियाविरुद्ध उभिने गर्थिन् । उनी स्थानीय स्तरमा दलितहरूको आवाज थिइन् । र, लामाका अनुचित कामबारे प्रश्न उठाउँथिन् । 

अनुसन्धानका क्रममा प्रश्न उठेको छ, यस्तै प्रश्न र आवाजलाई दबाउन हिंसात्मक आक्रमण गरिएको हुन सक्छ । नागरिक मञ्च र केन्द्रमा दलित महिलाको उपस्थिति र उनका प्रश्न लामालाई सह्य नभएको हुन सक्छ । राजनीतिक र प्रशासनिक संरचनामा महिलाको, त्यसमा दलित महिलाको उपस्थिति, सक्रियता, सहभागिता र उनीहरूका प्रश्न बिझ्ने, उनीहरूसामु आफूलाई सानो वा हीन ठान्ने ‘दलित महिला सिन्ड्रोम’ प्रतिनिधित्वबारे अध्ययन गर्दा देखेकी छु । पदमा भएका प्रतिष्ठित व्यक्तिहरूले जिम्मेवारी पूरा नगर्दा, स्रोतसाधनको समुचित वितरण नहुँदा उठ्ने प्रश्न र विरोध धेरैले स्विकार्दैनन् । यसरी प्रश्न उठाउनेहरू गाउँठाउँमा दबाइन्छन् वा मारिन्छन्, सहरबजारमा ‘कोअप्ट’ गरिन्छ । 

दलित महिला ‘सिन्ड्रोम’का विभिन्न आयाम छन् । एउटा आयाम छुवाछूत र विभेद गर्ने चलन हो, जो धेरैजसो दलित महिलाले बेहोरेका छन् । अर्को आयाम हो, अपमान र असुरक्षाको घेरामा राख्ने प्रवृत्ति । अर्काे आयाम दलित महिला भएकै कारण अक्षम, अयोग्य, असमर्थ मान्ने वा सोच्न नसक्ने, प्रतिस्पर्धा गर्न नसक्ने ठान्ने मानसिकता हो । ‘दलित महिला सिन्ड्रोम’ जस्ता सिन्ड्रोम अन्य देशमा पनि पाइन्छन् । विशेष गरी पोर्टाेरिकन समुदायलाई पनि अमेरिकी समाजका श्वेत प्रभुत्वशालीहरू अक्षम र अयोग्य ठान्ने गर्छन् । उनीहरूमा ‘हिस्टेरिकल पोर्टाेरिकन सिन्ड्रोम’ रहेको सोनिया सोतोमायरले उल्लेख गरेकी छन् । त्यस्तै, अमेरिकी समाजमै पनि काला जातिलाई यसरी नै हेप्ने र गिराउने चलन अझै रहेको उदाहरण बेल हुक्सले लेखेकी छन् । 

लक्ष्मी परियारको सन्दर्भमा नेपालको प्रभुत्वशाली समुदायका होइन, प्रभुत्वमा परेको समुदायकै एक शिक्षक संलग्न रहेको देखिन्छ । नेपाली समाजमा तामाङ र दलितको अवस्था लगभग उस्तै छ । उक्त समुदायमा पनि दलितहरूलाई छुवाछूत र विभेद गर्ने चलन छ । यो तथ्य तामाङ समुदायबीच हुर्कंदा म आफैंले पनि देखेभोगेकी छु । छुवाछूत र विभेद भोग्दा खस आर्य र तामाङ समुदायका व्यवहारमा खासै भेद पाइनँ । उनीहरूले पनि पानी नचलाउने, तल्लो जातका रूपमा हेप्ने, अनेक ढंगले अपमान गर्ने, तर स्थितिअनुसार मात्रै भातभान्छा चलाउने गर्थे । 

धर्म र संस्कृतिका हिसाबले तामाङहरू खस आर्य समुदायजस्तै मन्दिर हैन, गुम्बा जाने गर्छन् । मन्दिरमा नगए पनि दसैं, तिहार र तीज मनाउँछन् । उनीहरूमा हिन्दु मूल्यमान्यताको प्रभाव कम छैन । नेपालका अल्पसंख्यक समुदायबारे अध्ययन गरेकी मल्लिका दस्तिदारका अनुसार तामाङलगायत अन्य जनजाति समुदायमा पनि हिन्दुकरणको असर व्यापक छ । नेपाली राज्य र त्यसमा शासन गर्ने कुलीनहरूमा धेरै शताब्दीसम्म ब्राम्हणवादी रूपको हिन्दु धर्मको प्रभाव छ । हिन्दु धर्म, परम्परा र संस्कारले राज्य, धर्म र कुलीनहरूबीच उच्च सम्मान पाउँदै आएका छन् । उनीहरूका विधान, नीति र व्यवहारसँगै संगतका कारण तामाङलगायत अन्य धार्मिक र जातीय समुदाय पनि हिन्दुकरण भएको छ । हिन्दु धर्मको सबैभन्दा नकारात्मक आयाम वर्ण/जातमा आधारित विभेद हो, छुवाछूत हो, त्यसका आधारमा हिंसा हो । यसको दुष्प्रभाव सबै समुदायमा फैलिएको छ क्यान्सरजस्तै ।

म बाँचेको तामाङ समुदायलाई पनि डरलाग्दो समुदायका रूपमा हेरिन्छ । उसो त सुरो समुदायका रूपमा पनि व्याख्या गरिन्छ । हामीले बेहोरेको विभेद, छुवाछूत र हिंसाले पनि यस्ता व्याख्यालाई असत्य देखाउँदैनन् । तर उनीहरू पनि खस आर्य समुदाय र त्यस समुदायका कुलीनको राज्यबाट अनेक विभेद र उत्पीडन भोग्दै आएको देखेकी छु । सायद उनीहरूले हामीमाथि गर्ने दलन र उत्पीडनसँगै हिंसा पनि त्यसकै परिणाम हुन सक्छ । आफूभन्दा माथि वा शक्तिशालीहरूले गर्ने हिंसाकै विस्तार हुन सक्छ दलितमाथि गरिने विभेद र हिंसा पनि । यी विभेद र हिंसाको चक्रले सबै समुदायलाई गाँजेको छ, विशेष गरी दलित समुदाय प्रताडित छ । 

मानवशास्त्री डेविड होम्बर्गका अनुसार तामाङ समुदाय र हिंसाको चित्रणबारे दुइटा भाष्य (न्यारेसन) छन् । पहिलो, तामाङहरूलाई त्यस्ता खतरनाक समुदाय र हिंसात्मक बाहिरियाका रूपमा हेरिन्छ । दोस्रो, राज्यद्वारा थोपरिएको हिंसालाई आत्मसात् गर्ने र त्यसलाई प्रतिकार गर्ने समुदायका रूपमा पनि हेरिन्छ । तर, प्रतिकार आपराधिक क्रियाकलापका रूपमा पनि देखिएको छ । लक्ष्मी परियारको सन्दर्भमा यस्तै विभेद, छुवाछूत र हिंसा पोखिएको हुन सक्छ । 

सोसल मिडियामा व्यापक रूपमा छाएको टिप्पणी हेर्दा दुई थरी भिन्न विश्लेषण पाइन्छ । पहिलो, सामाजिक शिक्षाका शिक्षकले त्यस्तो असामाजिक र अमानवीय व्यवहार कसरी गर्न सके भन्ने । दोस्रो, नेपाल कुन युगमा छ, यस्ता घटना किन दोहोरिँदो छ भन्ने । शिक्षा र ज्ञानको पुरातत्त्व (आर्कियोलोजी अफ नलेज) खोजियो भने सायद यी प्रश्नको उत्तर पाउन सकिन्छ । नेपालका शिक्षा र ज्ञान जातीय संरचनामा आधारित छन् । कमलप्रकाश मल्लका अनुसार लिच्छविकालदेखि यसको अभ्यास हुँदै आएको छ । यहाँ पहिले संस्कृतकरण भएका हिन्दु र बौद्ध पुरोहितलाई नै बौद्धिक वर्ग मानिन्थ्यो । उनीहरू मूलत: नेपाली भाषा बोल्ने ब्राह्मण, नेपालभाषा (नेवारी) बोल्ने जोशी, मैथिली र भोजपुरी बोल्ने ब्राह्मण थिए । उनीहरूले धर्म, शास्त्र, ईश्वर, पूर्वजन्म र पुनर्जन्मको डर देखाएर प्रश्नलाई छेक्ने परम्परा चलाए । मल्लको ठहर छ, यहाँको परम्परा भनेकै धार्मिक विधिको निरन्तरता वा संरक्षण भएको छ, जब कि प्रश्न, सिर्जनशीलता र अवज्ञालाई रोक लगाइएको छ । त्यस्तो परम्पराबाट हुर्केका नेपालका अधिकांश बुद्धिजीवी त्यसकै वाहक भएका छन् । अबको युवा पुस्ता ‘संस्कृटाइज्ड प्रिस्टहुड’ को उत्पादन र पुन:उत्पादनको दुश्चक्रमा फसिरहने कि आलोचनात्मक प्रश्न गर्नतिर लाग्ने ? नयाँ संविधानले समेत ‘सनातन धर्मको रक्षा र संरक्षण’ गर्दै यस्तै दुश्चक्रलाई बढाएको बेला शाकल्यले जस्तो सवाल उठाउने हिम्मत गर्ने कि नगर्ने ?

प्रकाशित: पुस ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार