समाचार

लक्ष्मी परियार मृत्यु प्रकरण- मानवअधिकार आयोगको टोली घटनास्थलमा

- नगेन्द्र अधिकारी, काभ्रे

मंसिर २७, २०७३- ‘बोक्सीको आरोपमा मलमुत्र खुवाएर कुटपिटपछि मृत्यु भएको भनिएकी’ सानो वाङथली–७ की लक्ष्मी परियारको मृत्यृबारे थप जानकारी लिन राष्ट्रिय मानवअधिकार आयोगको टोली घटनास्थल पुगेको छ । 

घटनाबारे चासो लिँदै आयोगले मुलमुत्र ख्वाएर कुटपिट भएको भनिएको घटनास्थल सुर्योदय मावि र मेलडाँडामा पुगेर सरोकारवालाहरुसँग घटनाबारे जानकारी लिएको हो । मानवअधिकार अधिकृत नेतृत्वको टोलीले दुबै पक्षसँग घटनाको बारेमा जानकारी लिएको छ । 

आयोगको टोलीले आइतबार नै जिल्ला प्रहरी प्रमुख एसपी सहकुल थापा, कुटपिट पछि प्रहरीले गराएको मिलापत्रका हस्ताक्षरकर्ता आदिसँग अन्तरक्रिया गरेको थियो । घटनापछि राष्ट्रिय दलित आयोगले पनि ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

मंसिर २० गते पनि मेलाबाट फकर्ने क्रममा स्थानीय शिक्षक हिरा तामाङ र उनकी आमा काइलीसँग विवाद भएपछि दुबैले कुटपिट गरेका थिए । मृतक पक्षका १० वर्षीय छोरा र आफन्तले आमालाई स्थानीय सुर्योदय माविको खेलमैदानमा बाँधेर मलमुत्र खुवाएर पिटेको दाबी गर्दै आएका छन् । त्यसपछि लखेट्दै मेलडाँडामा आएका हिरा र उनको आमा बाटो छेकेर चिर्पट र खुट्टाले प्रहार गरेको छोराले दाबी गरे । 

प्रत्यक्षदर्शी कान्छी तामाङले भने लक्ष्मीले अपशब्द बोलेकोले लठ्ठीले पिटे पनि मरणासन्न हुने गरी नपिटेको दाबी गरेकी थिइन् । २१ गेत काइली तामाङ र छेडुप तामाङले लक्ष्मी विरुद्ध भंैसी काटेको आरोपमा उजुरी दिएपछि २३ गते प्रहरीले दुबै पक्षलाई राखेर लक्ष्मीले १ हजार र पुरानो ५ हजार उपचार खर्च गरी ६ हजार तिर्ने शर्तमा मिलापत्र गरेको कागज तयार गरेको थियो । 

२०७१ सालमा स्थानीय माइली विकालाई कुटपिट गरेको विषयमा उपचार खर्चबापत ५ हजार दिने गरी मिलापत्र भएपनि रकम चुक्ता नगरेको भन्दै ६ हजार तिर्ने शर्तमा मिलापत्र भएको थियो । मिलापत्र कागजमा दुवै पक्षले सही गरेका छन् । तर, मिलापत्रको कागजमा सही गरेकी एक हस्ताक्षरकर्ताले प्रहरीले पढेको मुचुल्कामा आफूले सही मात्रै गरेको बताइन् । 

मृतक लक्ष्मीकी सासु विष्णुमाया दमिनीले भने प्रहरीले नै ‘नमिले झन् समस्या हुने’ बताएपछि आफूले मिलापत्रमा सही गरेको बताइन् । प्रहरी चौकी चौवासका इञ्चार्ज प्रहरी सहायक निरिक्षक प्रेमपुकार चौधरीले ‘मिल्नुहुन्छ भने मात्रै कागज गरिदिन्छौं, नत्र जिल्ला प्रहरी वा अदालत जानु भनेकाले’ आफूहरु मिलेको पीडित पक्षले बताउँदै आएका छन् । 

उनले मिलापत्र गर्दा कुटपिट आदीको कुरा नै नउठेको दाबी गरे । उनले २३ गते उपस्थित हु्ँदा लक्ष्मी सही अवश्थमा रहेको र कुटपिटबारे कुनै कुरा नराखेको दाबी गरे । २४ गते बिहान उनी मृत अवस्थमा फेला परेकी थिइन् । प्रहरीको घटनास्थल मुचुल्कामा लक्ष्मीको घरमा आलो रगत, दाया आँखा मुनी निल डाम, निधारमा निलडाम, नाकको डाडिमा निलडाम तथा बाँया प्वालबाट रगत बगेको अवस्थामा फेला परेको उल्लेख छ । 

श्रीमान् मिलनले प्रहरी चौकी चौवासलाई श्रीमती मृत फेला परेको सूचना दिएका थिए । प्रहरीका अनुसार, श्रीमान्ले पनि विवाद भएपछि एक लट्टी हानेको स्विकारेका छन् । माइती पक्षले श्रीमान् विरुद्ध पनि किटानी जाहेरी दिएको छ । प्रहरीले दुबै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रकाशित: मंसिर २७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार