गन्तब्य

बुराउँसेको बसाइ

- कञ्चन अधिकारी

मंसिर १७, २०७३-भोटे लामाको बाक्लो बस्ती छ बुराउँसे गाउँमा । हुम्ला सदरमुकाम सिमकोट बजारबाट करिब ४५ मिनेट पैदल पुग्न सकिन्छ यो ठाउँ । हुन त बुराउँसे र सिमकोट बजार एउटै गाविसमा पर्छन् । सिमकोट गाविस वडा नं. ७ र ८ को बस्ती हो यो । यसको उचाइ छ २९६० मिटर । जनसंख्या ६०० ।

६ दिनको लगातार हिँडाइले लखतरान भएका हामीलाई स्थानीयले ३० मिनेटमा पार गर्ने दूरी १ घण्टै लाग्यो । सहरमा जस्तो धूलो, धूवाँ थिएन । बिहानैदेखि छ्याङ्ग खुलेको नीलो आकाश थियो । चारैतिर खुलेकाले हामी रमाइलो मान्दै तर पाँयातरपाँया बुराउँसे जाँदै छौं ।

 बुराउँसे पुग्दा भोटे पहिरनमा सजिएर, हातमा खादा लिएर बसेका रहेछन् आमा–बा स्वागत गर्न । अघिल्लो दिन सिमकोटका स्थानीय पत्रकार राजन रावतले ‘बिहानै खान खान आउँछौं है’ भनेर फोनबाटै खबर गरेका थिए । त्यही भएर असोजको दोस्रो साता कामको चटारो हुने भए पनि उनीहरू काममा नगईनगई हामीलाई कुरेर बसेका थिए । 

हामीलाई खादा लगाइदिएर स्वागत गरे उनीहरूले । गाउँ बीचमा सामुदायिक भवन छ । बच्चा जन्मेदेखि मर्दासम्म गरिने विभिन्न रीतिरिवाजको सजिलाका लागि गाउँले सबै मिलेर पायक पर्ने ठाउँमा भवन बनाएका रहेछन् । बच्चा जन्मेपछि गरिने पहिलो कर्म होस् या विवाह वा मरेपछिको, सबै यही भवनमा गर्छन् उनीहरू ।

यही भवनभित्र हामीलाई भोटे नाच अर्थात् स्याब्रु देखाए । उनीहरूले आफ्नै भाषामा गाएको गीत मीठो थियो । गाउँका अगुवा पामा तेन्जिङ लामा भने हामीलाई गीत अथ्र्याउँदै थिए । उनले भोटे गीतको भावानुवाद नेपालीमा गरिदिए । 

‘टाढा–टाढाबाट आउनुभएको यहाँहरूलाई स्वागत छ, अरू जिल्लामा विकास भइसक्यो, हाम्रो हुम्लामा कहिले विकास हुन्छ ? उकालो–ओरालो चढेर आयो होला, धेरै दु:ख पायो होला’ गीतको भाव यस्तै यस्तै छ,’ उनले छ्याङ घुट्क्याउँदै हामीलाई प्रस्ट्याए । 

परम्परागत गहनागुरियाले सजिएका गाउँलेहरू ४० जना जति थिए । महिला र पुरुष आलोपालो गाउँदै नाचे । नाच्ने सबै अलि उमेर ढल्केका पाकाहरू थिए । लामा भन्दै थिए, ‘गाउँका तरुनी तन्नेरी सहर पसिगाया, गाउँमा हामी बूढाबूढी मात्रै ।’ 

स्याउ बगान बुराउँसेको अर्काे विशेषता हो । स्याउ पाक्ने सिजन भएकाले हामी बोटबाटै टिपेर खान चाहन्थ्यौं । जिब्रो रसायो । हिँड्दाहिँड्दै टिप्न सकिने, घरको छतैबाट पनि टिपेर खान सकिने । मैले मन थाम्नै सकिन, हत्तपत्त घरको छतबाटै स्याउ टिपें र कोपरिहालें ।

आहा १ क्या रसिलो, मीठो स्याउ । गाउँले प्रतिगोटा ५ रुपैयाँमा बेच्छन् । गाउँमा आइपुग्ने पाहुनाले दुई–चार वटा सित्तैमा पनि दिन्छन् । मन ठूलो छ गाउँलेहरूको । 

गाउँमा उवा, गहुँ, चिनु, फापर, आलु, फर्सी, मूला, काउली, सागलगायत खाद्यान्न उत्पादन हुन्छ । पशुपालनमा झुमा, झोप्पा, गाई, घोडा आदि पाल्छन् । ओखर पनि राम्रै उत्पादन हुन्छ यहाँ । 

हुम्लाकै पहिलो सामुदायिक होमस्टे हो बुराउँसे । ग्रेट हिमालय ट्ेरल विकास कार्यक्रमले ६ वर्ष अघि आवश्यक तालिम दिएर हौस्याएपछि गाउँलेहरूले चार घरबाट होमस्टे शुभारम्भ गरेका थिए । 

अहिले दर्जन घरमा त्यस्तो सुविधा छ । गाउँलेले सफा ओढ्ने–ओछ्याउनेसहितका कोठा पाहुनालाई छुट्याएका छन् । चिटिक्क भाँडावर्तनले सजाएका छन् भान्छा । अर्गानिक खाना । फापरको लगड (रोटी), चिनोको भात, सिमीको दाल, तरकारी, मासु, छ्याङ, रक्सीदेखि दूध, दहीसम्म पाइन्छ । गाउँलेले हामीलाई चिनोको भात र च्याङ्ग्राको मासु खुवाए । एक जनाले एकछाक खाएको १ सय ५० रुपैयाँ लिन्छन् उनीहरू ।

युनेस्को, जिविस र गाविसको सहयोगमा बनाइएको सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाउँछन् । त्यसमा स्याब्रु, बाक्पा, महांकाल नाच देखाउँछन् । यसको मूल्य तोकिएको छैन । 

पाहुनाले स्वेच्छाले दिएको रकम स्वीकार गर्छन्, गाउँबाट देखिने पञ्चमुखी हिमालझैं अनुहार उज्यालो पार्छन् ।  बुराउँसे पुग्न काठमाडौंबाट अलि कठिन छ । काठमाडौंबाट नेपालगन्ज बस वा हवाई यात्रा गर्नुपर्छ । नेपालगन्जबाट ५५ मिनेट हवाई यात्रा गरेर सिमकोट पुगेपछि करिब एक घण्टा पदयात्रा गरेर बुराउँसे पुगिन्छ । सिमकोटदेखि बुराउँसेसम्म सडक ट्रयाक खुलेको छ । 

प्रकाशित: मंसिर १७, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार