विचार/विश्‍लेषण

दार्शनिकका विश्लेषणमा महिला

- उषा थपलिया
अहिलेको विकसित राजनीतिक परिवेशमा महिला अधिकारप्रति प्राचीन दार्शनिकहरूले प्रतिपादन गरेका दर्शन र सिद्धान्तको प्रतिच्छाया महसुस गर्न सकिन्छ ।

मंसिर १६, २०७३-आफ्नो अधिकार स्थापनाका लागि विश्वभरका महिलाले विभिन्न समयमा ठूलठूला आन्दोलन अन्तर्राष्ट्रिय स्तरमै सञ्चालन गरे । त्यस्ता आन्दोलनको सफलताको कारण महिला अधिकारको सवाल पनि मानवअधिकारकै अभिन्न पाटो बनेर राष्ट्रसंघीय प्रक्रियामा स्थापित हुन सफल भयो । महिलाहरू स्वयंको निरन्तरको संघर्ष र राष्ट्रसंघीय निकायहरूको सहयोगात्मक सक्रियता, यी दुवैका कारण विगतको तुलनामा प्राय: सबै देशका महिलाको अवस्थामा निरन्तर सुधार आइरहेको छ । तर पुरुषसरह महिला पनि समान हैसियतका हिस्सेदार छन् भन्ने सवालमा भने अति विपन्नदेखि अति समृद्धशाली देशका नागरिकमा समेत थुप्रै दृष्टिदोष रहेको पाइन्छ ।

अमेरिका जस्तो चेतना र विकास दुवै किसिमले समृद्ध मुलुकको राष्ट्रपतीय निर्वाचनमा दमदार राजनीतिक छवि भएकी हिलारी क्लिन्टनको २/२ पटकको पराजयले पनि यस कुरालाई धेरै हदसम्म पुष्टि गर्छ । त्यसैले लैङ्गिक विभेदरहित सह–अस्तित्वको पूर्ण प्रत्याभूतिको लागि हरेक देशका महिला आफ्नै देशको परिधिभित्र र अन्तर्राष्ट्रिय स्तरमै आज पनि संघर्षरत नै छन् । 

नेपाली महिलाले अघि बढाएको स्वतन्त्रता र सह–अस्तित्वको संघर्षले लामो इतिहास तय गरिसकेको छ । यिनै संघर्षका कारण महिला हक—अधिकारका पक्ष धेरै हदसम्म संस्थागत भइसकेका छन् । यी उपलब्धि हासिल हुन महिलाहरूको क्रमबद्ध आन्दोलनले जति महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ, महिला सशक्तीकरणका लागि राजनीतिक दल तथा सरकारी तवरबाट भएका प्रयासले पनि उत्ति नै भूमिका निर्वाह गरेको छ ।

नेपालमा मात्र होइन, महिला आन्दोलनको क्रम विश्वभरि नै जारी छ । विकास र समृद्धिको चरम चुलीमा पुगिसकेकादेखि कट्टर धार्मिक संकीर्णताले महिलालाई मान्छेको रूपमा समेत हेर्न नचाहने सबै खाले देशका महिला आफ्नो परिवेश सुहाउँदो जीवन मर्यादा कायम राख्न संघर्षरत नै देखिन्छन् । महिलाहरूले अघि सारेका कदम यदि जायज नहुँदो हो त हरेक देशका राजनीतिक दलले महिला आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्ने थिएनन् र प्रगति पनि यही तहमा हासिल हुनसक्ने थिएन ।

त्यसैले विभेद तथा असमानताको अन्त्यका लागि राज्यसत्ता सञ्चालनको हैसियत राख्ने प्रभावशाली दल तथा नेताहरूले त्यस विषयप्रति कति सकारात्मक धारणा राख्छन् र कति सहयोगी भूमिका निर्वाह गर्छन् भन्ने कुराले विशेष महत्त्व राख्छ । नेपालको सन्दर्भमा साना–ठूला सबै दल लैङ्गिक समानताको मुद्दाप्रति सहमत हुँदै महिलाले अघि सारेका आन्दोलनलाई जायज अनि अपरिहार्य मान्दै आइरहेका छन् । यसकारण महिलालाई आफ्नो आन्दोलन अघि बढाउन नैतिक बल मिलिरहेको छ । 

अहिले हरेक देशले अंगिकार गरिरहेको आधुनिक राजनीतिक संस्कार एकाएक यही रूपमा स्थापित भएको होइन, यसको निरन्तर विकासको क्रम जारी छ । अहिलेको विकसित राजनीतिक परिवेशमा प्राचीन दार्शनिकहरूले प्रतिपादन गरेका दर्शन र सिद्धान्तको प्रतिच्छाया महसुस गर्न सकिन्छ । त्यसैले राजनीतिक संस्कारको जग बसाउने ती दार्शनिकले आफ्नो समयमा महिलालाई कसरी हेर्ने गरेका थिए या महिलाहरूको भूमिकाप्रति उनीहरू कुन हदसम्म उदार या संकीर्ण थिए भन्ने बुझ्नु सान्दर्भिक हुन्छ ।

पूर्वीय चिन्तकहरूमध्ये उच्चस्थान हासिल गरेका महान अर्थशास्त्री कौटिल्यको समय विक्रम पूर्वको तेस्रो शताव्दीलाई मान्ने गरिन्छ । उनको विश्व प्रसिद्ध कृति ‘अर्थशास्त्र’ अर्थसँग मात्र सम्बन्धित नभएर राजनीतिशास्त्रसँग बढी सम्बन्धित थियो । उनले आफ्नो ग्रन्थमा नारी समाजका लागि महत्त्वपूर्ण भएकाले उनीहरूको सर्वाङगिण विकास र प्रतिष्ठा वृद्धिका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

विवाह र सम्बन्ध—विच्छेदबारे पनि नारीको यथेष्ट सम्मान गरिनुपर्ने, विशेष परिस्थितिमा स्त्रीले पुनर्विवाह गर्न पाउने, कन्याहरूको सहमतिबेगर सहवास गर्ने र व्यभिचार गर्नेहरूलाई आर्थिक दण्ड दिनुपर्ने, स्त्री र पुरुषले एकअर्काप्रति क्रूर व्यवहार गर्न नहुने लगायत तत्कालीन परिवेशमा महिलाका लागि सम्मानजनक विश्लेषण गरेका थिए । तर गलत बाटोमा हिँड्ने र खराब नजर भएका महिलालाई गाली—बेइज्जती मात्र नभई नियमन गर्नुपर्ने, महिलाले खराब व्यापारीसँग मालसामान किनेमा आर्थिक दण्ड दिनुपर्ने, सरकारी काममा गएको पतिलाई जीवनभर पर्खिनुपर्ने लगायत केही नियम अघि सारेर महिलामाथि बन्देज र नियन्त्रण हुनुपर्ने पनि उनको धारणा थियो । 

एथेन्सका अर्का दार्शनिक प्लेटो, जो इसापूर्वको चौथो शताव्दीमा आफ्नो न्याय सिद्धान्त, सम्पत्ति र श्रीमतीको साम्यवाद आदिका कारण निकै चर्चित रहे । सम्पत्ति र स्थायी परिवारको संसर्गले संकुचित, लालची र झगडालु भएर देशलाई ठूलो क्षति हुनसक्ने भन्दै देशका शासक र सैनिक वर्गलाई पत्नी र सम्पत्तिको घेराबाट टाढा राख्नुपर्छ भन्ने उनको धारणा थियो ।

ती दुई वर्गका नर–नारीबीच सुन्दर र सुयोग्य सन्तान उत्पादनको लागि व्यक्तिगत तवरमा नभई राज्यद्वारा उचित व्यवस्थापन हुनुपर्ने उनको सुझाव थियो र त्यसरी जन्मिएका सन्तान राज्यको संरक्षणमा हुर्काइनुपर्ने र ती कुनै बाबुआमाका मात्र सन्तान नभई सबैका सन्तान ठहरिने बताएका थिए । घरायसी व्यस्तता स्त्री जातिको प्रगतिको बाधक हुने भन्दै महिलाहरूले भान्साभन्दा माथि उठेर समग्र राष्ट्रतर्फ सोच्न उनले आग्रह गरेका थिए । उनले कल्पना गरेको आदर्श राज्यमा स्त्रीजाति कसैको विशेष अधिकारभित्र रहने कुरालाई निषेध गरिएको थियो । त्यसैगरी उनले सबै स्त्रीमा सबै मनुष्यलाई आफ्नो पति ठान्ने अधिकार हुने, तर प्रेम जालमा बाँधिन नहुने सीमाङ्कन कोरिदिएका थिए । 

इसापूर्वको तेस्रो शताव्दीको मध्यतिर ग्रीसमा अर्का महान दार्शनिक अरस्तुले आफ्नो प्रभाव जमाएका थिए । उनकी पत्नी मृदुभाषी र सद्गुणी भएकीले त्यसको प्रभाव परेर अरस्तु महिलालाई सम्मानजनक स्थानमा राखेर हेर्थे भन्ने अन्य दार्शनिकको भनाइ छ । उनले परिवारलाई प्राकृतिक संस्था मान्नुको साथै पति र पत्नीबीच सुमधुर सम्बन्ध हुनुपर्ने कुरामा जोड दिन्थे ।

स्त्री जातिको सन्दर्भमा उदार भावना राख्दाराख्दै पनि नागरिकताको सवालमा महिलाप्रतिको उनको सोचाइ संकीर्ण थियो । नारी जाति शारीरिक श्रम गर्ने भएकोले उनीहरूमा उत्तम गुणको अभाव रहन्छ र उत्तम गुण नभएको व्यक्तिमा शासन गर्ने क्षमता हुँदैन भन्दै महिलालाई नागरिकता दिन नहुने उनको तर्क थियो । यसर्थ नागरिकताबाट बञ्चित गर्नु भनेकै देश र शासन सञ्चालनको कुनै पनि विधि र प्रक्रियामा महिलाको भूमिकालाई अस्वीकार गर्नु भएकोले उनको धारणा महिला विरोधी थियो भन्न सकिन्छ ।

त्यसपछिका दार्शनिकहरूले पनि आ–आफ्नो प्रवृत्ति र परिवेश अनुरूप महिलाको विश्लेषण गर्दै आए । अन्य समसामयिक विषयमा निकै उच्चस्तरको धारणा राख्ने दार्शनिकहरू पनि महिलाको विषयमा भने संकीर्णताभित्रै रुमल्लिएको विश्व इतिहासमा धेरै उदाहरण छन् । त्यस्ता केही दार्शनिकले महिलाहरू मत दिने अधिकारका लायक नभएकाले मताधिकार उनीहरूको अधिकार होइन भनी व्याख्या, विश्लेषण गर्नसमेत हिच्किचाएनन् । 

पछि १८/१९ औं शताव्दीताका विश्वको राजनीतिक इतिहासमा बेग्लै खाले प्रभाव जमाउन सफल कार्लमाक्र्स, फ्रेडरिक एङ्गेल, लेनिन, माओ लगायत दर्शनशास्त्री र राजनेताहरूले वर्गविहीन समाजको धारणामार्फत नयाँ तरंग ल्याइदिए । उनीहरूले प्रतिपादन गरेको सर्वहारा र श्रमजीवी वर्गको उत्थानको सवालझैं महिलाको सवालले पनि विशिष्ट स्थान हासिल गर्‍यो । महिलाहरू उपभोगका साधन होइनन्, उनीहरूको पनि समान हैसियत र अस्तित्व समाज र राष्ट्रको हरेक तहमा स्थापित हुनुपर्छ भन्ने धारणाले विश्वभरका महिलालाई आफ्नो हक—अधिकारका लागि जागरुक बनाउन अभिप्रेरणा जगायो । उनीहरूले प्रतिपादन गरेका राजनीतिक ‘वाद’ देश र भूगोलअनुसार फरक—फरक रूपमा परिणत भइरहेका छन् । तर महिलाको हकमा आएको जागरुकता भने विश्वभरि नै समान गतिमा बढिरहेको छ ।

प्रकाशित: मंसिर १६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार