विचार/विश्‍लेषण

फिडेल क्यास्त्रो : क्रान्तिको अध्याय

- रमेशनाथ पाण्डे
साना, कमजोर एवं भूराजनीतिक स्थापन वा प्राकृतिक स्रोतका कारण असुरक्षित रहेका देशहरूका लागि राष्ट्रवादको शक्ति मात्रै भरपर्दो हुन्छ, अजर र अजय रहन्छ भन्ने क्यास्त्रो जीवनको निष्कर्ष सधैं प्रेरणादायी रहनेछ ।

मंसिर १४, २०७३-इतिहासले नेता बनाउँदैन, नेताले इतिहास बनाउँछ । तर इतिहासले इतिहास निर्मातालाई विशेष कालखण्डमा मात्रै फेला पार्छ । यसैले इतिहासले कोल्टे फेर्नुलाई असामान्य ऐतिहासिक घटना भनिएको हो । बिसौं शताब्दीको आधा अवधिको इतिहासलाई प्रभाव पार्ने एक्लो फिडेल क्यास्त्रो क्रान्तिको सिङ्गो अध्याय थिए । अति शक्तिशाली छिमेकीको अहङ्कारपूर्ण हैकम अस्वीकार गर्दै ५२ वर्ष लामो आर्थिक नाकाबन्दी खपेर पनि सानो, कमजोर देशले आफ्नो राजनीतिक स्वामित्व कसरी बचाउन सक्छ भन्ने जीवन्त इतिहासको साहसिला नायक भए । गत शनिबार ९० वर्षको उमेरमा क्युबाका नेता, असंलग्न अभियानका संस्थापकहरू मध्येका एक क्यास्त्रोको निधनमा विश्वले नेताहरूमध्ये पनि कीर्तिशाली नेतालाई गुमाएको छ । 

क्यास्त्रोका तीनवटा छविहरू मेरो स्मरणको पर्दामा ताजा छन् । पहिलो हो– २०१६ सालमा क्युबाका शक्तिशाली तानाशाह बतिस्ता विरुद्ध सशस्त्र विद्रोह गरेर ३३ वर्षका क्रान्तिकारी नेता फिडेल क्यास्त्रो सत्तामा आएका थिए । अमेरिकी आड र भरोसामा निश्चिन्त रहेको तानाशाह अपदस्थ भएको घटनाले विश्वमा नै सनसनी फैलाएको थियो । सरकारको नेतृत्व सम्हालेको चौथो महिनामा नै अमेरिका गएका उनलाई भेट्न राष्ट्रपति आइजनहावरले अस्वीकार गरे, तर उनको क्रान्तिकारी छविलाई सञ्चार माध्यम र आम जनताले भने मनपराए । म त्यसबेला दैनिक जनताको सम्पादक थिएँ । काठमाडौंकै समाचारहरूले भरिने त्यसबेलाका नेपाली अखबारहरूमा विदेशी समाचारले बिरलै स्थान पाउँथ्यो । तर अधिकांश नेपालीले नामै नसुनेको देश क्युबामा युवा क्रान्तिकारीहरूले सत्ताकब्जा गरेको खबरले भने निकै प्रमुखता पायो । केही महिना पहिलेमात्रै पहिलोपटक आमनिर्वाचन सम्पन्न गरी जनताले छानेको विश्वेश्वरप्रसाद कोइरालाको सम्मोहनकारी नेतृत्वमा संसदीय प्रजातन्त्रको अभ्यास सुरु भएको नेपालमा फिडेल क्यास्त्रोको नेतृत्वमा भएको क्रान्तिका रोचक सामग्रीहरू पाठकहरूका लागि निक्कै रुचिकर बनेका थिए । क्यास्त्रो कसरी विद्रोही भए, उनको नेतृत्वमा कसरी आठ सय छापामार सेनाले राज्यका तालिम प्राप्त तीस हजार सेनालाई पराजित गरेर राष्ट्रपति बतिस्तालाई सत्ताच्युत गरे, कसरी सरकारमा पुग्ने बित्तिकै लिएको पहिलो निर्णयबाट क्यास्त्रोले आफ्नै बाबुको उखु फार्म राष्ट्रियकरण गरे भन्ने विवरण धारावाहिक रूपमा जनतामा छापियो । सामन्ती परिवारमा जन्मिएका, वैभवशाली जीवनमा हुर्किएका क्यास्त्रोले सत्तासिन हुने बित्तिकै क्युबामा शतप्रतिशत साक्षर बनाउने अठोट गरेको सामग्रीहरू धारावाहिक रूपमा छाप्न थालेपछि अखबारको बिक्री बढेको थियो ।

दोस्रो छवि हो, २०४० सालमा नयाँदिल्लीमा भएको असंलग्न देशहरूको शिखर सम्मेलनमा अध्यक्षता भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई हस्तान्तरण गर्नु अघि क्यास्त्रोले दिएको भाषण । फिडेल क्यास्त्रोको वक्तृत्वकला विश्वविख्यात थियो । उनको भाषणमा अनुभव, आदर्श, दूरदृष्टि र व्यवहारशीलता तथा अभिव्यक्ति शैली र स्वरको तरङ्ग श्रोताहरूलाई मुग्ध पार्ने खालको हुन्थ्यो । गिनिज बुक्स अफ रेकर्डअनुसार सन् १९६० मा भएको संयुक्त राष्ट्र संघ महासभाको बैठकमा क्यास्त्रोले दिएको चार घन्टा २९ मिनेट लामो भाषण नै अहिलेसम्मको सबैभन्दा लामो भाषण हो । सन् १९६९ मा संयुक्त राष्ट्र संघ महासभाको अधिवेशनमा भाग लिन न्युयोर्कमा तीन महिना बस्दा ड्याग ह्यामरसोल्ड पुस्तकालयमा मैले यो भाषणको अध्ययन गरेको थिएँ । शीतयुद्धले विश्वलाई पुरै गाँजेर खतरनाक बिन्दुमा पुगेको बेलामा दिएको क्यास्त्रोको यो भाषणमा इतिहासको गहिरो अनुभूति तथा आफ्नो देशको विशिष्ट पहिचानप्रतिको संवेदनशीलता व्यक्त भएको थियो ।

शिखर सम्मेलनको उद्घाटन समारोहमा एक घन्टा लामो क्यास्त्रो भाषण वास्तवमा संक्षिप्त अंशमात्र रहेछ भन्ने कुरा त्यसबेला मात्रै थाहा पाइयो, जब पूर्णविवरणलाई असंलग्न अभियानको अध्यक्षको हैसियतमा फिडेल क्यास्त्रोद्वारा लिखित ‘दि वल्र्ड इकोनोमिक एन्ड सोसल क्राइसिस’ शीर्षकको किताब मैले पाएँ । यसको सार थियो, ‘जीवित रहने हो भने आत्मसुरक्षाको नैसर्गिक प्रतिभामा विश्वास जोगाएर अविकसित राष्ट्रहरूले निरन्तर संघर्ष गर्नुपर्छ ।’ सिगारका शौखिन राजा वीरेन्द्र र क्यास्त्रो सम्मेलनस्थल विज्ञान भवनको लबीमा पटक—पटक सरसल्लाह गरिरहेको तेस्रो छवि मेरो स्मरणको पर्दामा ताजा छ । धैर्यवान स्रोता राजा वीरेन्द्र र हात हल्लाएर चर्को स्वरमा बोल्ने राष्ट्रपति क्यास्त्रो बीचको कुराकानीको दृश्य केही पर उभिएर म हेरिरहेको थिएँ । दस वर्षअघि अल्जेरियामा यी दुई नेताहरूबीच निकटता स्थापित भएको थियो । त्यसबेला क्युबामा क्यास्त्रोले निरक्षरता उन्मूलन र बाल मृत्युदर घटाउन प्रभावकारी जनअभियान सफलतापूर्वक सञ्चालन गरेका थिए । यसैबाट प्रभावित भएर राजा वीरेन्द्रद्वारा स्नातक उपाधि हासिल गर्नुअघि विद्यार्थीहरूले एक वर्ष गाउँमा बसेर शिक्षा स्वास्थ्य लगायतका क्षेत्रहरूमा जनचेतना वृद्धि गर्ने राष्ट्रिय विकास सेवा सुरु गरिएको थियो । यो सेवा गाउँ र सहर बीचको सोचमा रहेको दूरी कम गर्न, युवाहरूमा देश सेवाको भाव जगाउन र स्थानीय तहमा सेवा पुर्‍याउन निक्कै प्रभावकारी सिद्ध भयो । २०३६ सालपछि राजनीतीकरणले विकृत भएर यसलाई बन्द गरियो । विश्वका सिगार शौखिनहरूमा लोकप्रिय रहेको रोमियो जुलियट सिगार सन् १९७५ मा अल्जेरियामा मित्रता कायम भएपछि नै क्यास्त्रोले राजा वीरेन्द्रलाई नियमित रूपमा पठाउन थाल्नुभएको थियो । सन् २००१ को दरबार हत्याकाण्डमा मारिनु अघिसम्म राजा वीरेन्द्र क्यास्त्रोले पठाएको यही ब्रान्डको सिगार पिउनुहुन्थ्यो । 

दोस्रो विश्वयुद्धको समाप्तिपछि पनि स्थायित्व हासिल गर्न नसकेको विश्व ६० औँ दशकमा शीतयुद्धमा होमिएको थियो । सैनिक शक्तिमा समान तर वैचारिक रूपमा धारिलो प्रतिस्पर्धी दुई महाशक्तिहरू विश्वमा एकाधिकार कायम गर्न धारिलो द्वन्द्वमा संलग्न भए । ठिक यसैबेला अल्पविकसित देशहरूले आफ्नो राजनीतिक स्वामित्वको रक्षाको लागि वैचारिक रूपमा असंलग्नता र प्रभावकारी नेतृत्वमा मुक्ति आन्दोलन सुरु गरे । यसमा भियतनामका होचिमिन्ह, अल्जेरियाका बेनबिल्ला, कङ्गोका पैट्रिस लुमुम्बा, क्युबाका फिडेल क्यास्त्रोजस्ता विद्रोही पुस्ताका नेताहरूसँगै भारतका जवाहरलाल नेहरू, युगोस्लाभियाका जोसेफ टिटो, इजिप्टका गमाल अब्दुल नासेर, इन्डोनेसियाका सुकार्नो र घानाका एनक्रुमा जस्ता सम्मानित एवं प्रभावशाली नेताहरू संलग्न रहे । साना वा ठूला सबै देशको सार्वभौमिकता समान रूपमा सम्मानित हुन्छ, सानो राष्ट्रको देशभक्तिको ताकतलाई महाशक्तिले पनि पराजित गर्न सक्दैन भन्ने दुईवटा मूल्यवान आदर्शबाट इतिहासलाई निर्देशन गर्ने सारयुक्त प्रयास सुरु भयो । यही ऐतिहासिक पुस्ताका एक( फिडेल क्यास्त्रो बिसौं शताब्दीका अन्तर्राष्ट्रिय राजनीतिका अन्तिम पुज्य व्यक्तित्व थिए । 

क्रान्तिद्वारा सत्तासिन भएको सात महिनापछि नै छिमेकी अमेरिकाद्वारा क्यास्त्रोलाई अपदस्थ गर्न क्युबा विरुद्ध आर्थिक नाकाबन्दी र अन्य सबै किसिमको कारबाही गर्ने गुप्तचर योजना लागु गरियो । क्युबा सोभियत संघको सामरिक साझेदार बन्यो । यसैले आज छपन्न वर्षपछि पनि इतिहासमा एउटा अनुत्तरित प्रश्न छ– राष्ट्रपति आइजनहावरले आफ्नो सानो छिमेकीको यो युवा नेतालाई भेटेर समझदारी बनाएको भए अक्टुबर १९६२ मा आणविक हतियारसहित युद्ध सुरु हुने जोखिममा विश्व पुग्दैन थियो कि ? नियतिको प्रपञ्च बुझिनसक्नु हुन्छ । ‘क्युबन मिसायल्स सङ्कट’को निहुँमा विश्वलाई आणविक युद्धको मुखमा उभ्याउने राष्ट्रपति केनेडीले नै वार्ता सुरु गर्न क्यास्त्रोसित एक फ्रेन्च पत्रकारमार्फत सम्पर्क गरे । तर फिडेल क्यास्त्रोद्वारा लिखित पुस्तक ‘माई लाइफ’ अनुसार अमेरिका र क्युबाबीच सम्बन्ध सुधारको सम्भावना बनेकै बेलामा केनेडीको हत्या भयो ।

दस जना अमेरिकी राष्ट्रपतिहरूले क्यास्त्रोलाई सत्ताबाट हटाउन भरमग्दुर प्रयास गरेकै हुन् । उनको हत्याको ६३८ पटक प्रयासहरू भएपछि ‘क्यास्त्रोलाई मार्ने ६३८ उपायहरू’ शीर्षकको सिनेमा नै बनेको थियो । उनले खाने सिगारमा समेत विशेष प्रकारको शक्तिशाली विस्फोटक पदार्थ मिसाएर सल्काउने बित्तिकै पड्किएर मार्ने षडयन्त्रदेखि पौडी खेल्दा उनले लगाउने लुगामा प्राणघातक किटाणु राख्ने जस्ता अकल्पनीय कपट पनि अमेरिकी गुप्तचर संस्थाद्वारा गरिएकै हो । क्यास्त्रोको हत्या र क्युबामा शासन पद्धति परिवर्तनको लागि अमेरिकाले एक अर्ब डलरभन्दा बढी खर्च पनि गरेकै हो । स्वयम् फिडेल क्यास्त्रोले नै भनेका थिए, ‘यदि हत्याका प्रयासहरूबाट बाँच्नु पनि ओलम्पिक खेल भएको भए स्वर्ण पदकमा मेरो विश्व रेकर्ड नै हुन्थ्यो ।’ यी सबै षड्यन्त्रहरूलाई असफल तुल्याएर क्यास्त्रोले विश्वमा सबैभन्दा लामो समय शासन गरे ।

विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिकालाई पाँच दसकसम्म निरन्तर चुनौती दिँदै राजनीतिक स्वामित्व र आत्मसम्मान बचाएर सानो क्युबालाई विश्व राजनीतिको केन्द्रभागमा स्थापित गर्न समर्थ क्यास्त्रोले इतिहासलाई टिपाएको मुख्य दुई बुँदा छन्– राष्ट्रवाद कसैले कहिल्यै हराउन नसक्ने ताकत हो, दृढनिश्चयी नेतृत्व पायो भने सानो देशले पनि शक्तिशाली हेपाहा र इष्र्यालु ठूलो छिमेकीबाट आफ्नो राष्ट्रिय राजनीतिको स्वामित्व आफ्नै हातमा सुरक्षित राख्न सक्छ । आधा शताब्दीसम्म प्रतिस्पर्धी बिनाको शासक भएर पनि फिडेल क्यास्त्रोको सालिक बनाइएको छैन, उनको हुलाक टिकट वा मुद्रा पनि जारी भएको छैन । व्यक्ति पूजालाई अस्वीकार गरिएकाले उनी क्युबामा परिचित भएका हुन् । यसैले पछिल्लो ५६ वर्षको विश्व इतिहासले क्यास्त्रो र उनले नेतृत्व गरेको क्युबाको क्रान्तिलाई इतिहासको फुटनोट मात्र भनेर अवमूल्यन गर्नै सक्दैन । देशभक्तिबाट प्रेरित, राष्ट्रको आत्मसम्मानलाई सर्वोपरी ठान्ने, साना देशहरूले अनुभव गर्ने सुरक्षामा नै ठूला देशहरूको सुरक्षा तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वको भविष्य निर्भर गर्छ भन्ने सोच स्थापित गराउने क्यास्त्रोप्रति इतिहास सधैं आभार रहन्छ । 

अमेरिकी राष्ट्रपति ओबामाले क्यास्त्रोको मूल्याङ्कन इतिहासले गर्ने बताए पनि उनका उत्तराधिकारी ट्रम्पले ‘बर्बर तानाशाहको मृत्यु’ भनेर डेढ महिनापछि सुरु हुने नयाँ अमेरिकी प्रशासनको सोच र स्वभावको सूचना दिएका छन् । समकालीन विश्व सानो देशप्रति दयालु छैन । यसैले साना देशका लागि देशभक्तियुक्त दृढता नै जीवित रहने अचुक अस्त्र हो । पँुजीवादी विश्वको मुखिया अमेरिकाकै ढोका सामुन्ने कम्युनिष्ट राज्य स्थापित गरेर पनि क्युबा अड्न सक्नुको मुख्य ताकत यही नै थियो । सामरिक महत्त्वको सम्वेदनशील भूस्थापन भएको देशका लागि तिखार्नुपर्ने अस्त्र यही नै हो । तर यसको लागि इमानदार, दूरदृष्टिवान, सत्ताको लागि पराइको खुसामद र पैसाको लागि अपराधको संरक्षण नगर्ने जनताले पत्याएको, इतिहास र भूगोललाई रक्षा गर्न एकलव्य नेता चाहिन्छ । साना, कमजोर एवं भूराजनीतिक स्थापन वा प्राकृतिक स्रोतका कारण असुरक्षित रहेका देशहरूका लागि राष्ट्रवादको शक्तिमात्रै भरपर्दो हुन्छ, अजर र अजय रहन्छ भन्ने क्यास्त्रो जीवनको निष्कर्ष सधैं प्रेरणादायी रहनेछ । 

पाण्डे पूर्व परराष्ट्रमन्त्री हुन् । 

 

प्रकाशित: मंसिर १४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार