समाचार

प्रधानमन्त्री दाहालबाट सचिवहरूलाई परिणाममूलक काम गर्न निर्देशन

काठमाडौं

मंसिर ६, २०७३-प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका हुन् । 

यसअघि उनले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ । 

प्रधानमन्त्री दाहालका प्रशासकीय सल्लाहकार नारायण दाहालले परिणाममूलक कामका लागि तत्काल कदम चाल्न कडा निर्देशन दिएको बताए । 'जुन ढंगले काम हुनुपर्थ्यो, त्यो रुपमा भएन । यसका लागि मेरो कार्यालयबाट के सहयोग चाहिन्छ त्यो गरिन्छ । तर सन्तोषजनक रुपमा काम हुनुपर्छ,' प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनले भने । आफ्ना निर्देशन पालनाबारे प्रधानमन्त्री कार्यालयबाट अनुगमनसमेत गरिने प्रधानमन्त्रीले बताएका थिए । 

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएको ४५ दिनभित्र भूकम्पपीडितको निजी आवास निर्माणको अनुदान पीडितको हातमा पुर्‍याउन र तीन महिनाभित्र ग्रामीण भेगमा चिकित्सक पठाई सेवा दिन निर्देशन दिएका थिए । रासस 

प्रकाशित: मंसिर ६, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार