विचार/विश्‍लेषण

विरोधाभासमा जेलिएको लैङ्गिक बहस

- उषा थपलिया
प्रतिद्वन्द्वीको भावनाभन्दा परस्पर सहयोगी भावनाले लैङ्गिक समानताको गन्तव्यलाई सुनिश्चित बनाउँछ।

कार्तिक ११, २०७३-लैङ्गिक हिसाबले महिला भेदभाव र हिंसाका विरुद्ध विश्वमा आवाज उठ्न थालेको १८ औं शताव्दीदेखि हो। त्योभन्दा सयौं वर्ष अघिबाट महिलाहरू शोषण, अन्याय र अत्याचारबाट पीडित हुँदै आएका थिए।

जंगली फिरन्ते युगको समाप्तिपछि जब मान्छे एउटा निश्चित परिवेशभित्र परिवारसहित स्थायी बसोबासमा लागे र पुरुष सदस्य परिवारको मालिक बने, महिलामाथिको भेदभाव त्यहींबाट सुरु भयो। तर आफूले भोगेका असमानता र ज्यादती अमानवीय हुन् र तिनको विरोध गर्नुपर्छ भन्ने चेत नभएकै कारण त्यतिबेलाका महिलाले स्त्रीधर्मकै रूपमा त्यस्ता कर्मलाई चुपचाप आत्मसात गरिरहे।

समय फेरिँदै आयो। नेपालको सन्दर्भमा कुरा गर्दा समाज विकासको क्रमसँंगै शिक्षा र चेतनाको घेरा पनि फैलन थाल्यो। फलस्वरुप शिक्षामा थोरै संख्यामा भए पनि महिलाहरूले आफ्नो पहुँच विस्तार गर्नसके र यो क्रम बढ्दै गयो। शिक्षाले चेतनाको पाटो उघार्दै लग्यो र त्यही चेतनाले महिलाहरूलाई आफ्नो स्थान र हैसियतबारे विश्लेषण गर्नसक्ने बनायो।

मानव मर्यादाको हिसाबले महिला–पुरुष समान हुने भए तापनि समाजले अंगिकार गरेको पितृसत्तात्मक सोच र व्यवहारले पुरुषको तुलनामा आफू र आफ्नो समुदाय हेपिएको, थिचिएको निचोड निकाल्न ती चेतनशील महिला सक्षम हुँदै आए। त्यससंँगै समाजमा महिलामाथि अन्याय, भेदभाव छ र यसलाई न्युनीकरण गर्दै लानुपर्छ भन्ने सन्देश फैलाउन कतिपय विवेकशील पुरुषहरूको पनि महत्त्वपूर्ण भूमिका रहँदै आयो। 

जनसंख्याको आधा भाग ओगट्ने महिलाको स्तर उन्नति नभई समग्र देशको विकास सम्भव छैन भन्नेमा राजनीतिक दल र सरकार सञ्चालकहरू एकमत भए र महिला शक्तिलाई अग्रदिशातर्फ उन्मुख गराउन उनीहरूको पनि सहयोग जुट्न थाल्यो। यसरी सबैतिरको चासो र प्रयत्नका कारण लैङ्गिक समानताको दिशामा सकारात्मक तथा प्रभावकारी परिणाम हासिल हुँदै आयो।

सदियौंदेखि शिक्षा, चेतना, प्रोत्साहन, अवसर आदिबाट खुम्च्याइएका महिलाहरूलाई समान गतिमा हिँडाउन विशेष प्राथमिकताका उपाय पनि अवलम्बन नगरी नहुने स्थिति देखियो। यसका लागि सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाउन आरक्षणको व्यवस्था, शिक्षामा प्रोत्साहनका कार्यक्रम, विशेष प्रावधानसहित कानुनमा समयानुकूल परिमार्जन, लैङ्गिक हिंसा अन्त्य गर्ने कानुनको निर्माण, समानताको संस्कृति अभिवृद्धि गर्ने सरकारी कार्यक्रम, सकारात्मक विभेदको नीति लगायत उपायद्वारा पछाडि पारिएका महिलाहरूलाई पुरुषकै समान गतिमा हिँडाउने प्रयत्न भैरहेका छन्। यी विभिन्न प्रक्रियाले विगतको तुलनामा लैङ्गिक विषमताका खाडलहरू पुरिँदै गरेका छन्। तर पनि पूर्णरूपमा लैङ्गिक समतामूलक समाज बन्ने क्रममा अझै थुप्रै खाले चुनौती र व्यवधान बाँकी नै छन्।

पुरुषको तुलनामा नेपाली महिला असमान त छन् नै, महिला समुदाय भित्रका सबै महिलाको हैसियत पनि एकसमान छैन। अधिकार र शक्तिको उपभोगको हिसाबले केही महिला आमनेपाली पुरुषहरूभन्दा धेरै माथिसमेत रहेका छन् भने महिला जगतको ठूलो हिस्सा अझै पनि दासकालीन नियति खेपिरहेको छ। पुरुषसँंग काँधमा काँध मिलाएर सरकार सञ्चालन गर्ने, नीति निर्माण गर्ने तहमा पुगेका महिलादेखि अझै पनि छाउपडीमा पशुतुल्य जीवनलाई स्वीकार्ने महिलाहरू बीचको फरकपना हाम्रो परिवेशमा सजिलै देख्न सकिन्छ। 

कानुनले दिएको विशेष अधिकारको कतिपय महिलाबाट दुरुपयोग हुँदा पुरुषहरू पीडित भएका दृष्टान्त एकातिर छ भने अर्कोतिर पुरुषकै कारण परिवारभित्र विखण्डन आएको छ। त्यसको कारकतत्त्व महिलालाई ठानी विश्लेषण गर्ने आम सामाजिक परिपाटी छ। त्यसैगरी कमाइको लागि विदेश गएका पुरुषले आफ्नो दु:खको आम्दानी छोराछोरीको राम्रो पढाइ—लेखाइ, घरघडेरीको उचित प्रबन्ध, गार्‍होसार्‍होमा बचत लगायत सपना साँचेर पठाउँछन्।

परिवारप्रतिको त्यो कर्तव्य निर्वाहमा उनीहरूले आफ्ना सारा दु:खसमेत भुलेका हुन्छन्। तर तीमध्ये कतिपय व्यक्तिले साँचेको सपना महिला सदस्यको गलत कदमले चकनाचुर पारिदिएको पनि बेला—बेलामा सार्वजनिक हुने गरेको छ। यस्ता घटनाबाट पीडित हुने पुरुषहरूको दर्द र बर्बादीलाई पनि कम आँक्न मिल्दैन। तर संख्यामा गन्न सकिने महिलाबाट भएका यी र यस्ता गलत कदमका कारण समग्र महिला जगतमाथि नै कलंक लगाउनु सुहाउने कुरा हुनसक्दैन।

हरेक मान्छेमा व्यक्तिगत प्रवृत्ति फरक—फरक हुन्छ, महिला भएकै आधारमा उनका सबै प्रवृत्ति असल हुन्छ भन्न नसकिएझैं पुरुष भएकै आधारमा उसको सबै प्रवृत्ति खराब नै हुने जिकिर पनि गर्न सकिन्न। तर महिलाका कारण पीडा खेपिरहेका कतिपय पुरुषको दृष्टान्त पेस गरेर समग्र महिलाप्रति नकारात्मक धारणा बनाउने मान्छेहरूको संख्या दिनानुदिन बढ्दैछ। त्यसैले त्यस्तो खाले पीडा खेप्ने पुरुष र त्यस वरपरका मान्छेहरू महिलाहरू पीडित छन् भन्ने कुरा सुन्नसमेत चाहँदैनन्। उनीहरूको बुझाइमा लैङ्गिक विभेद अन्तर्गत अब महिलाद्वारा पुरुषहरू पीडित भएको चर्चा हुनुपर्छ, महिलाका पीडाबाट पुरुषहरूलाई मुक्त गर्न पुरुषकेन्द्रित प्रावधान राखी कानुन परिमार्जन हुनुपर्छ भन्ने रहेको हुन्छ। 

अहिले महिलाहरू आत्मनिर्भर र स्वावलम्बी हुँदै गएका छन्। तर उनीहरू जति आत्मनिर्भर र सशक्त भए पनि आफ्नो नाजायज नियन्त्रण र बन्धनबाट कहिल्यै उन्मुक्त हुनुहुँदैन भन्ने पुरुष मानसिकता अझै हटेको छैन। अझ जस्तोसुकै हिंसात्मक अवस्था भए पनि श्रीमती भएको आधारले चुपचाप सहेर बस्नुपर्छ भन्ने परिपाटीबाट शिक्षित भनिएकै व्यक्तिसमेत ग्रसित भएको देखिँदै आएको छ। यस्तो स्थितिमा त्यस पारिवारिक संरचनाबाट आफूलाई अलग नगरी बाँच्न नसक्ने बाध्यात्मक अवस्थामा कतिपय महिला आइपुग्छन्। तर समाजले उनको बाध्यताप्रति आँखा चिम्लिन्छ, अनि उनको आत्मनिर्भर र स्वावलम्बी स्थितिलाई मात्र दोषी देख्छ। यसैलाई आधार बनाएर महिलाबाट पुरुष पीडित हुने गरेको सन्देश प्रवाह गरिएको हुन्छ।

चाहे सन्दर्भ पुरुषको होस् या महिलाको कतिपय बेला अनपेक्षित अपवादका घटनाले समाजमा नयाँ तरंग ल्याइदिन्छ। तर त्यस्ता एकाध घटनालाई अपवादकै रूपमा बुझ्नुपर्छ। केही छिटफुट खालका घटनामा महिलाका कमी-कमजोरी देखिए भन्दैमा सदियौंदेखि उनीहरूले भोग्दै आएको विभेदको अन्त्यका लागि भइरहेको प्रयास रोक्नुपर्छ भन्ने होइन। समाजको पूर्ण विकासको लागि महिला र पुरुष दुवैको गति समान हुनुपर्छ। र प्रतिद्वन्द्वीको भावनाभन्दा परस्पर सहयोगी भावनाले लैङ्गिक समानताको गन्तव्यलाई सुनिश्चित बनाउँछ। 

प्रकाशित: कार्तिक ११, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार