गन्तब्य

घुमघामको रोजाइ कोठियाघाट

- कान्तिपुर संवाददाता , गुलरिया

कार्तिक ३, २०७३-चाडपर्वका समय मुलुककै सबैभन्दा लामो पुल कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीस्थित पुल हेर्न आउनेको संख्या बढ्दै गएको छ ।

राजापुर नगरपालिकालगायत ५ गाविसको प्रवेशद्वार गेरुवा नदीमा १ हजार १४ मिटर लामो पक्की पुल दुई वर्षअघि उद्घाटन भएको हो । मुलुककै लामो पुल भएका कारण आन्तरिक पर्यटक चाडपर्व र बिदाका समय बढी आउने गरेका छन् । विशेषगरी तिहारपछि वनभोज जानेको संख्या दैनिक हजारभन्दा बढी हुने स्थानीयले जनाए ।

दसैं सेरोफेरोमा पुल अवलोकन गर्न करिब पाँच हजार आन्तरिक पर्यटक आएको प्रहरी चौकी कोठियाघाटले जनाएको छ । सडक जीर्ण भएकाले कतिपय पर्यटक यहॉ आउँदा सास्ती भएको बताउँछन् । ०६७ असारदेखि थालिएको पुल निर्माण ०७१ भदौमा सकिएको थियो । चिसापानीको आधुनिक पुल, दुर्लभ वन्यजन्तु कृष्णसार र बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षण भइरहेका बेला पुल पनि गन्तव्य बन्न थालेको छ । अन्तर्राष्ट्रिय जैविक मार्ग खातासँग जोडिएकाले पुलको महत्त्व बढेको हो । कैलाली लम्कीका टहलसिंह कडायतले पुल हेरेपछि दंग परेको जनाए । पहलवानपुरका रञ्जन कुँवरले पुल हेर्न लायकको भएको प्रतिक्रिया दिए । 

सडक विभागले करिब १ अर्ब खर्च गरेर पुल बनाएको हो । प्रिस्ट्रेट प्रविधिबाट निर्माण भएको पुलमा २० पिलर र १८ वटा स्ल्याब छन् । सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा निर्माण भएको पुलको लम्बाइ १ हजार १४ मिटर, चौडाइ ९ मिटर १० सेन्टिमिटर तथा डबल लेनको फुटपाथ छ । 

प्रकाशित: कार्तिक ३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार