भिडियो

कसले लग्यो एक करोड मूल्य बराबरको च्याङग्रा ?

- मकर श्रेष्ठ, भक्तपुर

आश्विन २१, २०७३- दसैंमा पशुबली रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले बुधबार भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघयाङ लगेको बताएका छन् । 

बुधबार पाँच सय ७२ वटा च्याङग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लगिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन् । १४ वटा कन्टेनरमा राखेर लगिएका च्याङग्रा तार्किघयाङको जीवन दानका लागि बनाएको ठाउँमा राखिएको उनको भनाई छ । ‘गुरुको नाममा यस्तो काम गरेका हांै । बिगतमा थोरै कलेक्सन गथ्र्यौ,’ उनले भनिन्, ‘यसपाली फ्रि लाइफ एशोसियन भन्ने संस्था पनि सहभागि छ ।’  

बुधबार झण्डै ६ सय च्याङग्रा लैजाने टोली शुक्रबार बिहान पुन: तीन सय च्याङग्रा किन्न सल्लाघारी पुगेका थिए । यसअघि १८ हजार प्रतिगोटा च्याङग्रा लगेकोमा व्यापारीहरुले शुक्रबार २० हजार मागेपछि उनीहरु बार्गेनिङ गरिरहेका थिए । ‘तीन सय वटा च्याङग्रा लैजान सवारी साधनको व्यवस्था गरेर आएका थियौ । अस्ति १८ हजार लग्यौ । अहिले त २० हजार भनिरहेको छ,’ शुक्रबार सल्लाघारीमा भेटिएका उर्गेन जिग्मेले भने । सल्लाघारीमा दसैंका लागि च्यांग्रा किन्न आउने सर्वसाधारणले उनीहरुलाई कालो बजारी गरेको आरोप लगाएका थिए । विवाद बढेपछि टोली च्यांग्रा किन्न भन्दै कलंकी हानिएको थियो । 

सल्लाघारी चौरमा १४ हजार ५ सयमा किनेको च्याङग्रा त्यही काट्न थालेपछि ‘हिंसा गर्न हुँदैन’ भन्दै डोलकर लामासहितको समूहले ३० हजार दिएर काट्न रोकेका थिए । आफूले खरिद गरेको च्याङग्राको दोब्बरभन्दा बढी पैसा पाएपछि सर्वसाधरण पनि खुसी हुदै फर्किए । ‘काटमार गर्न हँुदैन भनेर गएको ठाउँमा आफनै अगाडि काट्न लागेपछि महंगो रकम दिएको हो,’ डोलकरले भनिन् । लुगा र जुत्ता किन्ने पैसा जोगाएर हिंसा रोक्न ५० हजार रुपैयाँको च्याङग्रा किन्न आएको उनले बताइन् । 

तर, उनीहरुले जथाभावी मूल्य तिरेर च्यांग्राको भाउ बढाएको भन्दै च्यांग्रा किन्न पुगेका सर्वसाधरण भने आक्रोशित भएका थिए । झडप हुने अवस्था भएपछि सल्लाघारी चौरमा सुरक्षाका लागि प्रहरी समेत परिचालन गरिएको थियो । च्याङग्रा किनेर भ्याक्सिन लगाएर लैजाने तयारी साथ लामा टोली आएको थियो । धेरै अवधि बचाउन भ्याक्सिन लगाएर लैजाने गरेको उर्गेन जिग्मेले बताए । ‘यसअघि भ्याक्सिन नलगाउँदा धेरै च्यांग्रा मरे,’ उनले भने, ‘यसपाली पशु डाक्टरसहितको टोली लिएर आएका छौं ।’ उनले आफूहरुले ९ वर्षदेखि दसैंमा बिक्री गर्न ल्याएका खसी बोका खरिद गरेर लैजाने गरेको बताए । गत बर्ष ४३ लाख रुपैयाँको खसी, च्याङग्रा खरिद गरेर जीवन रक्षा गरेको उनले बताए । बज्राचार्यले विगतमा तराईबाट ल्याएका खसीबोका किनेर हेलम्बु लाने गरेकोमा हावापानी नमिलेर मरेकाले यसपालि च्यांग्रा किनेको बताइन् । ‘यति धेरै लगानी गरेपछि बाचुन् भनेर च्यांग्रा लगेको,’ उनले भनिन् । 

दसैंमा काटमार गर्न बिक्री गरिने च्याङग्रालाई खरिद गरेर आफूहरुले जीवन दान दिएको पनि बज्राचार्यले बताइन् । राजधानीबाट लगेको च्याङग्राको रेखदेख गर्न हेलम्बुमा आठ कामदारको व्यवस्था गरेको उनी सुनाउँछिन् । ‘गुरुले जीवन दानका लागि छुटटै ठाउँ बनाउनु भएको छ,’ उनले भनिन्, ‘यहाँबाट लगेको च्याङग्रा आफैं नमरेसम्म राख्छौं,’ उनले भनिन् । कामदारहरुले च्यांग्रालाई दिउसो वनमा चराउने र रेखदेख गर्ने उनले बताइन् । जनावरको हत्या हिंसा रोक्न छेटलको छोरी पनि सक्रिय भएर लागेको उनीहरुले बताए । जनावरको जीवन दानमा तिब्बती भाषाको सग्लु नामक संस्थाले उनीहरुले सहयोग गरिरहेको छ । ‘हाम्रो अभियानमा सहयोग गर्न डोनरहरु हुनुहुन्छ,’ बज्रचार्यले भनिन् । 

प्रकाशित: आश्विन २१, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार