विचार/विश्‍लेषण

भविष्यका लागि सम्पदा संरक्षण

- अलाइना बी. टेपलेट्ज, काठमाडौं
नेपालका सांस्कृतिक सम्पदा स्थलको जीर्णोद्धार र पुनर्निर्माणलाई निरन्तरता दिँदै गर्दा भौतिक पूर्वाधारको निर्माणमाथि पनि जोड दिनुपर्छ ।

आश्विन १८, २०७३-नेपालको समृद्ध सांस्कृतिक सम्पदा दैनिक जनजीवनको तानमा बुनिएको छ । पाटन दरबार क्षेत्रका मन्दिर र दरबारदेखि लिएर काठमाडौंभर व्यस्त सडक छेउछाउका खोपीहरूमा स्थापित आराध्य देवीदेवताका मूर्तिसम्म फैलिएको नेपालको अनुपम वास्तुकला र सांस्कृतिक सम्पदा विश्वभर सुपरिचित छ । यस अपूर्व सम्पदाले नेपाललाई पर्यटनका लागि लोकप्रिय गन्तव्यस्थल बनाएको छ । तर यसलाई उचित जगेर्ना, मर्मत—सम्भार र संरक्षण गर्न जरुरी छ । अनि मात्र भावी सन्ततिले पनि हामीले आज यसबाट जति आनन्द लिइरहेका छौं, त्यति नै आनन्द लिन पाउनेछन् ।

दुई दशकभन्दा लामो समयदेखि संयुक्त राज्य अमेरिकाले सक्रिय रूपमा नेपालभर सांस्कृतिक सम्पदा स्थलहरूको संरक्षण गर्ने प्रयत्नहरूलाई सहयोग गर्दै आएको छ । संरक्षणका लागि जीर्णोद्धार र प्रबलीकरण गर्ने प्रक्रियामा सम्भावित प्राकृतिक विपद्को प्रभाव न्युनीकरण हुनुका साथै पर्यटनको सम्भावनामा समेत योगदान पुग्छ । साथै मूर्तिकला र काष्ठकला जस्ता परम्परागत शिल्पमा निर्भर मानिसहरूको जीविकोपार्जनको दिगोपनमा पनि टेवा पुग्छ । अमेरिकी सरकारको सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) ले विभिन्न १९ परियोजनामा गरी २२ लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ । यस्ता प्रयत्न अन्तर्गत नेपालभरका मुख्य सांस्कृतिक सम्पदा स्थलहरूलाई भूकम्पीय सुरक्षाका हिसाबले बलियो बनाइएको छ । २०७२ सालको भूकम्पपछि धेरै क्षति हुनबाट जोगिएको पाटन दरबार क्षेत्रका केही भागहरूमा समेत प्रबलीकरण गरिएको छ । यो प्रबलीकरण प्रभावकारी सावित भएको छ र यसले भविष्यमा नेपालका सांस्कृतिक सम्पदा स्थलहरूको अझै राम्रो संरक्षणका लागि अग्रगामी मार्गसमेत प्रस्तुत गरेको छ ।

संयुक्त राज्य अमेरिका आफ्नो सबभन्दा पछिल्लो एएफसीपी परियोजना कार्यान्वयनका लागि अमेरिकी मुनाफारहित संस्था मियामोटो ग्लोबल डिजास्टर रिलिफसँग साझेदारी गर्न पाएकोमा खुसी छ । ७ लाख अमेरिकी डलरको उक्त अनुदानले हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकको मर्मत गर्नेछ र दरबारको संरचनागत सुरक्षा र भूकम्प प्रतिरोध क्षमतामा सुधार गर्नेछ । गद्दी बैठक नेपालीहरूका लागि सांस्कृतिक महत्त्वको स्थान हो भने विश्वका लागि नेपालको प्रतीक हो । हामी यस जीर्णोद्धार कार्यको हिस्सा हुनगइरहेकोमा मलाई गर्व लागेको छ । साथै यो जीर्णोद्धार कार्य नेपालमा सांस्कृतिक संरक्षणलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धताको समेत निसानी बन्नेछ भन्ने आशा छ । 

नेपालमा भूकम्पबाट ऐतिहासिक स्मारकमा पुगेको क्षतिबाट के देखिन्छ भने हरेक राष्ट्र र समुदायको एकीकृत आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी योजनामा सांस्कृतिक सम्पदाले स्थान पाउन जरुरी छ । तर त्यस्ता योजनामा सांस्कृतिक सम्पदालाई प्राय: बिर्सने गरेको पाइन्छ । ऐतिहासिक भवन र अन्य प्रकारका सांस्कृतिक सम्पदा हाम्रो जीवनका पृष्ठपट हुन् र तिनले हाम्रो मौलिक थलोको कथा बोकेका हुन्छन् । विगत केही दशकमा विश्वभरका समुदाय र सरकारहरूले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी आपत्कालीन अवस्था र भूकम्प लगायतका विभिन्न प्राकृतिक विपद्हरूका लागि पूर्वतयारी र प्रतिकार्य सम्बन्धी योजना बनाउने दिशामा प्रगति गरेका छन् ।

भूकम्पमा किन कुनै भवनमा क्षति भएन, तर कुनै भवन भत्किए ? भन्ने कुरा बुझ्नका लागि आर्किटेक्ट, इन्जिनियर र भूकम्प विज्ञहरूले क्षतिग्रस्त र ध्वस्त ऐतिहासिक भवनहरूको अध्ययन गरिरहेका छन् । उत्तरको खोजी गर्दैगर्दा उनीहरूले महत्त्वपूर्ण जानकारी पत्ता लगाएका छन् र परम्परागत नेवारी तथा यस क्षेत्रका अन्य मौलिक वास्तुकलाको संरचनागत बल र सीमितता सम्बन्धी हाम्रो ज्ञान बढाएका छन् । जीर्णोद्धार तथा पुनर्निर्माणका प्रयत्नले तीव्र गति लिँदा उनीहरूको सिकाइ निकै लाभदायी हुने आशा गर्न सकिन्छ । सर्वोत्तम परिस्थितिमा समेत ऐतिहासिक भवनहरूको जीर्णोद्धारका लागि समय लाग्छ । नेपाल र विश्वभरका स्वयंसेवकहरूको सहयोग लिएर नेपालको पुरातत्त्व विभाग भूकम्पपछि चाँडै नै काठमाडौं उपत्यकामा दर्ता भएका ऐतिहासिक स्मारकहरूमा भएको क्षतिको प्रकृति र हदको मूल्याङ्कन गर्न सफल भयो । गैससका साथै काठमाडौं उपत्यका संरक्षण कोष, स्मारक तथा स्थलसम्बन्धी अन्तर्राष्ट्रिय परिषद् र वासिङटनस्थित स्मिस्थसोनियन इन्स्टिच्युसन जस्ता व्यावसायिक संस्थाहरूले घटनास्थलमा टोली परिचालन गरे । यी टोलीहरूले क्षतिग्रस्त भवनहरूको स्थिरीकरण गर्दै ऐतिहासिक मूर्ति र वास्तुकला तत्त्वहरू भेटी तिनको अभिलेख राख्दै जीर्णोद्धार र पुनर्निर्माणमा अन्तत: पुन: प्रयोगका लागि तिनलाई सुरक्षित स्थानमा सारे ।

भूकम्पमा परी ऐतिहासिक सामुदायिक संरचनाका साथै ऐतिहासिक क्षेत्रका थुप्रै निजी घरहरू क्षतिग्रस्त भए । अद्वितीय ऐतिहासिक वास्तुकलाको प्रयोग गरी बनेका यी घरहरूका यस्ता महत्त्वपूर्ण सांस्कृतिक वस्तुहरूलाई ती समुदायले यथावत कायम राख्न सक्नेगरी पुनर्निर्माणको प्राथमिकीकरण गर्नु जरुरी छ । तर घरधनीहरूलाई कसैले पनि सांस्कृतिक अखण्डताका साथ घर पुनर्निर्माण गर्नका लागि स्रोत उपलब्ध नगराउने हुँदा यो काम गर्न कठिन छ । यद्यपि केही परम्परागत विधि र वास्तुकला वस्तुको प्रयोगद्वारा सुरक्षित पुनर्निर्माण सम्भव छ, जसबाट नेपालको ऐतिहासिक छविको संरक्षण हुनेछ । उदाहरणका लागि कतिपय परम्परागत घरहरूमा प्रयोग भएको काठको बन्धन शैलीले भवनलाई भूकम्प थेग्न सक्नेगरी बलियो बनाउँछ । बाहिरबाट हेर्दा प्राय: कुँदिएको सर्पजस्तो देखिने यस शैलीलाई सजावटका रूपमा बुझिने गरिए पनि यसको मौलिक उद्देश्य भवनका गाराहरूलाई बलियोसँग बाँध्नु थियो ।

नेपालका सांस्कृतिक सम्पदास्थलहरूको जगेर्ना र संरक्षण गर्दा व्यापार व्यवसायका हिसाबले पनि राम्रो हुन्छ । उदाहरणका लागि गत असारमा मुस्ताङ जाँदा मैले छोर्तेन, गुम्बा र असाधारण चित्रकला देखँे, जुन मैले संसारका अन्य ठाउँमा देखेभन्दा फरक थिए । अपसोच, यस्ता धेरै सांस्कृतिक स्थलहरू जीर्ण अवस्थामा छन् । यस्ता महत्त्वपूर्ण स्मारकहरूको संरक्षण र स्तरोन्नति भएमा मलाई लाग्छ, मुस्ताङ अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यस्थल बन्न सक्छ । धेरै पर्यटकलाई आकर्षित गर्न पूर्वाधार सुधारका लागि एकत्रित प्रयत्न आवश्यक छ । महत्त्वपूर्ण पर्यटकीय स्थल पोखरा र भैरहवामा सरकारले विमानस्थल सुधार गर्न कदम चाल्नु उत्साहजनक कुरा हो र मलाई आशा छ, मुलुकभर सडक सुधारको कार्यले पनि निरन्तरता पाउनेछ । यातायातको राम्रो सुविधा भएमा धेरैभन्दा धेरै मानिसहरूले नेपालको अभूतपूर्व सांस्कृतिक सम्पदासम्म पुगी त्यसको सराहना गर्ने मौका पाउनेछन् ।

नेपालका सांस्कृतिक सम्पदा स्थलको जीर्णोद्धार र पुनर्निर्माणलाई निरन्तरता दिँदै गर्दा भौतिक पूर्वाधारको निर्माणमाथि पनि जोड दिनुपर्छ, अनि मात्र स्मारक र सांस्कृतिक सम्पदा स्थलमा शारीरिक सीमितता, अपाङ्गता र उमेरका बाबजुद सबै व्यक्ति पुग्न सक्छन् । जीर्णोद्धारको क्रममा परम्परागत सामग्री र निर्माण विधि प्रयोग गरी पहुँचलाई समाहित गर्ने अवसर नेपालसँग छ । यस्ता स्थलहरू सबैका लागि पहुँचयोग्य बनाउँदै नेपालले नवआगन्तुकहरूलाई आकर्षित गर्न सक्छ । अपाङ्गता भएका पर्यटकहरूले बजारको ठूलो हिस्सा ओगट्न थालेकाले यस्ता स्थल सबैका लागि पहुँचयोग्य बनाए पर्यटन राजस्व वृद्धि गर्न सकिन्छ । यस्तो पहुँचले अपाङ्गता भएका व्यक्तिहरू लगायत सबै नेपालीहरूले आफ्नो सम्पदालाई अझै राम्रोसँग चिन्ने मौका पाउनेछन् ।

संसारभरका पर्यटकहरू नेपालमा घुम्न आउँछन् । सन् २०१५ मा संयुक्त राज्य अमेरिकाबाट मात्र ५० हजार पर्यटक नेपाल आए । केही पर्यटक पदयात्राका लागि नेपाल आउँछन् भने अन्य पर्यटक नेपालको वास्तुकला, परम्परा र चाडपर्वमा प्रतिविम्बित धार्मिक, जातीय र सांस्कृतिक विविधताको अनुभव सँगाल्न आउँछन् । विश्व यात्रा तथा पर्यटन परिषद्का अनुसार सन् २०१५ मा पर्यटनबाट नेपालको अर्थतन्त्रमा १ अर्ब ७० करोड अमेरिकी डलरको योगदान भयो, जुन मुलुकको कुल गार्हस्थ्य उत्पादनको नौ प्रतिशतजति हो । यद्यपि सुधारको लागि यथेष्ट ठाउँ छ । सन् २०१५ मा करिब ५ लाख ५० हजार पर्यटक नेपाल आए भने अन्य एसियाली मुलुकमा अझ धेरै पर्यटकले भ्रमण गरे । संयुक्त राष्ट्र संघको विश्व पर्यटन सङ्गठनका अनुसार श्रीलङ्कामा १८ लाख, लाओसमा ३५ लाख, म्यानमारमा ४७ लाख, क्याम्बोडियामा ४८ लाख र मलेसियामा २ करोड ५० लाखभन्दा बढी पर्यटकहरूले भ्रमण गरे । नेपालका स्मारक तथा परम्पराहरूको संरक्षण र पुन:स्थापना गर्दै त्यहाँसम्म पुग्न आवश्यक संरचना निर्माण गरी नेपालमा पर्यटक आकर्षित गर्न सकिन्छ । साथै सांस्कृतिक सम्पदामा लगानी गर्नाले नेपालले थप परम्परागत कलाशिल्पीहरूलाई प्रशिक्षित तुल्याउँदै यी परम्परालाई जीवित राख्नेछ र रोजगारीका नयाँ अवसर सिर्जना हुनेछन् । नेपालको इतिहासले भावी समृद्धिको जगका रूपमा काम गर्न सक्छ ।

टेपलेट्ज नेपालका लागि अमेरिकी राजदूत हुन् ।

प्रकाशित: आश्विन १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार