समाचार

इन्डोनेसियामा नेपाल गन्तव्य

- -सुरज कुँवर, जकार्ता (इन्डोनेसिया)

भाद्र २३, २०७३- इन्डोनेसियाको राजधानी जकार्तामा बुधबारदेखि यस वर्षको तीन दिने पाटा ट्राभल मेला सुरु भएको छ ।

 
३९ औं संस्करणको मेलामा पर्यटन बजार प्रर्वद्धन गर्न नेपालसहित ६३ वटा मुलुक सहभागी छन् । एसियाली मुलुकहरुमा दीगो पर्यटन विकास हुनुपर्ने अभियानलाई अघि सारेर मेला आयोजना गरिएको हो । 

बुधबार साँझ यहाँका उपराष्ट्रपति महोम्मद यूसुफ कालाले राजधानी जकार्ताकै सबैभन्दा ठूलो प्रर्दशनी हल जकार्ता कन्भेन्सन सेन्टरमा रैथाने बाजा आङकुलुङ्ग बजाउँदै मेला उद्घाटन गरेका थिए । 
 
नेपालको पर्यटन प्रचार गर्न प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र पर्यटन बोर्डको नेतृत्वमा १० व्यवसायी यहाँ आइपुगेका छन् । मेलाको दोस्रो दिन बिहीबार इन्डोनेसियाका पर्यटनमन्त्री आरिफ याया नेपाल पभिलियनमा आइपुगेका थिए । उनलाई पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र नेपाल वायुसेवा निगमका संस्थागत विभागका निर्देशक रामहरी शर्माले सगरमाथा र माछापुच्छ्रे हिमालको पम्पलेट उपहार दिएका थिए । नेपालबारे सुनेको तर घुम्ने मौका नपाएको बताउँदा पर्यटनमन्त्री यायालाई बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भम्रणको निम्तो दिएका थिए । 

नेपाल पभेलियनमा ध्वजाबाहक वायुसेवा निगमसहित सोल्टी होटल, नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर, एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चर, साँग्रीला ट्राभल, होटल मस्र्याङ्दी, हिमालयन गाइड नेपाल ट्ेरक एण्ड एक्सपिडिसन प्रालि, नेपाल इजी ट्राभल, टिडल्लुएक्स, लाङटाङ रि ट्रेकिङ्ग एण्ड एक्सपिडिसन, डिभाइन इन्टरनेसनल एण्ड टेकलगायतका नेपाली पर्यटन व्यवसायी सहाभागी छन् । 

बैंककमा मुख्यालय रहेको पाटा च्याप्टरले आयोजना गरेको मेलामा विभिन्न पर्यटकीय गन्तव्य खरिद गरी बिक्री गर्ने २ सय ६० क्रेता र आ–आफ्नो मुलुकका टुरिजम प्रोडक्ट बिक्री गर्ने २ सय २० वटा प्याकेज बिक्रेता सहभागी छन । 

ट्राभल मेलामा बिहीबार १२ सय बढी व्यवसायीहरु प्रत्यक्ष सहभागी भएको आयोजक पाटा च्पाप्टरका मिडिया फोकल पर्सन पावेल पीले जानकारी गराए । 

प्रकाशित: भाद्र २३, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार