फिचर

हिज्जेको भूत

  • पुस्तक अंश
- जोन हल्ट, काठमाडौं

भाद्र १८, २०७३-पढाइका नाममा शब्दमै अड्काइदिएपछि र अर्थज्ञानका नाममा हुर्मत लिन थालेपछि केटाकेटीको पढ्ने इच्छा मर्न थाल्छ। उनीहरू आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुँदै जान्छन्। मराउमाथि कात्रो भनेझैं त्यसमाथि हिज्जेको भूतले लखेटेपछि उनीहरूको लेख्ने ऊर्जा समेत समाप्त हुन्छ।

कोलोराडोको रकी माउन्टेन स्कूलमा कक्षा पाँचका मेरा विद्यार्थी निकै तीव्र बुद्धिका र सुशिक्षित परिवारका थिए। लाग्थ्यो, उनीहरू स्कूलमा सफल हुन्छन्। तर तीमध्ये अधिकतर केटाकेटीलाई आफ्नो कुरा लेखेर अभिव्यक्त गर्न ज्यादै मुश्किल लाग्थ्यो। यो निकै आश्चर्यलाग्दो कुरा थियो। किन भने, उनीहरूको भाषा–ज्ञान निकै सुस्पष्ट थियो। कति जनाको त माथिल्लो कक्षाका विद्यार्थीको भन्दा राम्रो। तैपनि केही भन्न लगाउँदा यिनीहरू हिचकिचाउँथे, लजाउँथे र कतिले त सोझै ‘नाइँ’ भन्थे। लेख्न लगाउँदा कैयौं मिनेटसम्म चूपचाप कापीमा हेरिरहन्थे। कक्षामा कसैका लागि पनि आफ्नो रुचिको र आफैंले छानेको विषयमा आधा पाना लेख्नु पनि महाभारत थियो।

एकदमै निराश भएपछि मैले एउटा उपाय सोचें र त्यसको नाम राखें- निबन्ध दौड। कक्षालाई दुई टोलीमा बाँडिदिएँ र कुरो बुझाएँ : मैले ‘शुरू’ भन्नासाथ तिमीहरू आआफ्ना कापीमा जे मन लाग्छ त्यही लेख्न थाल। आफ्नो इच्छाले कुनै पनि कुराका बारेमा जे लेखे पनि हुन्छ तर कुनै वस्तु, मानिस, जनावर आदिका बारेमा लेख्नुपर्छ। एउटै शब्द, जस्तै ‘कुकुर, कुकुर, कुकुर’ मात्र लेखेर हुँदैन। कुनै कथा, घटना, मानिसको अथवा ठाउँको वर्णन, आफ्नो इच्छा, सपना- जे–जेका बारेमा लेखे पनि हुन्छ। हिज्जे मिल्छ कि मिल्दैन, वास्ता गर्नुपर्दैन। जस्तो आउँछ त्यस्तै लेख्नू। तर फटाफट लेख्नू। मैले ‘बन्द’ भनेपछि लेख्न छोड्नू र आफूले लेखेका शब्द गन्ती गर्नू। जुन टोलीका सदस्यले सबभन्दा बढी शब्द लेख्छन् त्यही टोली विजयी हुनेछ।

यसमा मैले निकै सफलता पाएँ। त्यसका विभिन्न कारण थिए। अचम्मको कुरा त के थियो भने, जुन दुई बच्चाले पटक–पटक सबैभन्दा बढी शब्द लेखे उनीहरूको गन्ती कक्षाका सबैभन्दा असफल विद्यार्थीमा हुन्थ्यो। उनीहरू तीक्ष्ण बुद्धिका थिए तर स्कूलमा तिनले निकै कठिनाइको सामना गर्नुपथ्र्यो। दुवै जना लेख्ताखेरि हिज्जेका थुप्रै गल्ती गर्थे जसको डरले उनीहरूको लेखाइ मन्द हुन पुग्थ्यो र हिज्जे पनि भरमार बिग्रिन्थ्यो। जब उनीहरू हिज्जेको डरबाट मुक्त भए, त्यस बेला लुकेको प्रतिभा प्रकट गर्न समर्थ भए।

ती दुई मध्ये सानो चाहिं केटो पर्याप्त उत्साही थियो र निकै चिन्तित पनि रहन्थ्यो। ऊ लामा–लामा रोमाञ्चक कथा लेख्थ्यो जसमा म मुख्य मात्र हुन्थें र शीर्षकमा पनि मेरो नाम हुन्थ्यो। जस्तै, ‘जोन जेल परेको दिन’, अथवा ‘जोन खाल्डामा खसेपछि’, अथवा ‘जोनलाई ट्रकले किचेपछि’ आदि। यी कथा एकदमै रमाइला हुन्थे र मैले कक्षामा ठूलो स्वरमा पढेर सुनाउँदा सबै केटाकेटी बीचबीचमा ताली बजाउँथे, हाँस्थे, चिच्याउँथे र रमाउँथे। एक दिन मैले ‘निबन्ध दौड’ को विषय म आफैं दिन्छु भनें। केटाकेटी ‘नाइँ, नाइँ’ भन्न थाले। ‘पहिले विषय त सुन’, मैले भनें, ‘विषय हो- स्कूलमा आगलागी भएको दिन।’

केटाकेटी खुशीले चिच्याए र दंग परेर तत्काल आआफ्नो कापीमा घोप्टिए। उनीहरूले बीस मिनेटसम्म सासै नफेरी लेखिरहे र लेख्तालेख्तै हाँसिरहे। सबैका निबन्ध–कथा लगभग उस्तैउस्तै थिए किन भने स्कूलबारे सबैका अनुभूति उस्तै थिए। कथाहरूमा सबै केटाकेटी बलिरहेको स्कूल भवन सामु नाचिरहेका थिए र आफ्ना पुस्तक, कापी र झोला आगोमा फ्याँक्तैथिए। उनीहरू म र अन्य शिक्षकहरूलाई आगोबाट बाहिर आउन निरन्तर रोकिरहेका थिए।

पहिलो ‘निबन्ध दौड’ मा केटाकेटीले औसत दश शब्द प्रति मिनेट लेखेका थिए।

केही महीना पछि उनीहरू औसत बीस शब्द प्रति मिनेट लेख्न थाले। सबैभन्दा मन्द गतिका केही बच्चाले तेब्बर प्रगति गरे। सबैभन्दा ढीला लेख्ने बच्चा, जो कक्षाको सबैभन्दा चलाख विद्यार्थी थियो, पन्ध्र शब्द प्रति मिनेटको दरले लेख्ने भयो।

सबैभन्दा महत्त्वपूर्ण कुरा त के थियो भने, सबै केटाकेटीलाई ‘निबन्ध दौड’ रमाइलो लागेको थियो र उनीहरू बिल्कुलै नहिचकिचाई रोचक कुरा लेखिरहेका थिए।

भाषाका शिक्षक आफ्नो अत्यन्त मूल्यवान समय र ऊर्जा हिज्जेमा खर्च गर्छन्। यो व्यर्थको काम हो। यसबाट केही फाइदा छैन, उल्टो नोक्सान हुन्छ। हामीले आफू स्वयंसँग सोध्नुपर्छ, ‘मानिसले सही हिज्जे कसरी लेख्छन्? कुनै शब्दको सही हिज्जे थाहा भएन भने उनीहरू के गर्छन्?’ मैले यो प्रश्न त्यस्ता थुप्रै मानिसलाई सोधेको छु, जो हिज्जेमा निकै राम्रा छन्। हरेकले मलाई एकैखाले जवाफ दिएका छन् : उनीहरू तत्काल शब्दकोश पल्टाइहाल्दैनन्, न त हिज्जेको नियम नै सम्झने प्रयास गर्छन्। उनीहरू त्यस शब्दलाई कैयौं फरक–फरक तरीकाले लेख्छन्, ध्यान दिएर हेर्छन् अनि त्यस शब्दलाई चुन्छन् जसको हिज्जे बाँकी अरूको भन्दा सही प्रतीत हुन्छ। प्राय: त्यो सही नै हुन्छ।

हिज्जेमा कुशल मानिसहरूलाई थाहा हुन्छ- शब्द कस्ता देखिन्छन्। कतिसम्म भने, उनीहरू तिनलाई आफ्ना मांसपेशीमा महसूस समेत गर्न सक्छन्। शब्दका बिम्ब तिनको मस्तिष्कमा अंकित हुन्छन् र उनीहरू ती बिम्बमा विश्वास गर्छन्। केटाकेटीलाई हिज्जे ‘सिकाउँदा’ हामी उनीहरूमा यस प्रकारको कुशलता विकसित गर्दैनौं, उल्टो त्यसलाई नष्ट गर्छौं अथवा त्यसको विकासलाई रोक्छौं।

सबैभन्दा पहिलो र सर्वाधिक खराब काम हामी के गर्छौं भने, केटाकेटीमा हिज्जेका बारेमा चिन्ता पैदा गरिदिन्छौं। कुनै शब्दको हिज्जे गलत लेखियो भने त्यसलाई अपराध मान्छौं र गल्ती गर्नेलाई भारी सजाय दिन्छौं। धेरै शिक्षक केटाकेटीमा ‘हिज्जेप्रति चेतना जगाउने’ कुरा गर्छन्। उनीहरू विद्यार्थीले लेखेका राम्रा निबन्धमा फेला परेका हिज्जेका केही गल्तीका कारण तिनलाई फेल गरिदिन्छन्। लेखाइमा विद्यार्थीको मौलिकता, उसको शैली, इमानदार विचार र अन्य विशेषताको कसैले मूल्यांकन नै गर्दैन। यसरी शिक्षकहरूले स्वयं हारको सामना गर्नुपर्छ।

चिन्ताको अवस्थामा हाम्रो बोध र बुद्धि कुण्ठित हुन्छ। भावनात्मक दबाबमा सरलभन्दा सरल कुरालाई पनि सम्झन ज्यादै मुश्किल हुन्छ। धेरै चिन्तित भएको वेला हामी आफ्नो मस्तिष्कले प्रेषित गरेका सन्देशहरूमा पनि विश्वास गर्दैनौं। थुप्रै–थुप्रै केटाकेटी हिज्जेको गल्ती किन गर्छन् भने, आफ्नो अनुमान सही हुँदाहुँदै पनि तिनलाई त्यसमा विश्वास हुँदैन। मैले केटाकेटीको कापी जाँच्ता प्राय: पाएको छु, उनीहरू पहिले सही हिज्जे लेख्छन् अनि त्यसलाई काटेर गल्ती लेख्छन्।

एक चोटि पहिलो कक्षालाई पढाउँदा पढाउँदै मलाई लाग्यो- यिनले पनि मेरा पाँच कक्षाका विद्यार्थीले झैं निर्बाध लेखनको आनन्द लिनुपर्छ। दिउँसो टिफिन भन्दा अघिल्लो घण्टीमा मैले उनीहरूलाई कागजमा पेन्सिलले आफूलाई मन लागेको कुरा लेख्न भनें। केटाकेटीलाई मेरो कुरा मन पर्‍यो। परन्तु एक जनाले अलि चिन्तित भएर मलाई सोध्यो, ‘हामीले कुनै शब्दको हिज्जे ठीकसँग लेख्न सकेनौं भने नि !’

‘त्यसको चिन्ता बिल्कुलै नगर। जस्तो जान्दछौ त्यस्तै लेख्नू।’ मैले भनें।

कोठामा एकदमै शान्ति छायो। केटाकेटीका अनुहार चिन्तित देखिन्थे र तिनका पेन्सिल स्थिर। मलाई लाग्यो, मेरो तरीका ठीक भएन। अनि मैले भनें, ‘पख, यसो गर्ने है त? तिमीहरूलाई जुन शब्द लेख्न गाह्रो लाग्छ त्यो मलाई भन्नू, अनि म त्यो शब्द ब्ल्याकबोर्डमा लेखिदिन्छु।’

अब उनीहरूको अनुहारबाट चिन्ता हरायो र उनीहरू लेख्न थाले। तुरुन्तै उनीहरू शब्द ब्ल्याकबोर्डमा लेखिदिन आग्रह गर्न थाले। मैले एउटा शब्द लेख्न भ्याएको हँुदैनथें, अर्को बच्चाले अर्को शब्द लेख्न भनिहाल्थ्यो। टिफिनको घण्टी लाग्दासम्म लगभग पूरै ब्ल्याकबोर्ड शब्दहरूले भरिइसकेको थियो। रमाइलो कुरा के थियो भने केटाकेटीले हिज्जे सोधेका अधिकतर शब्द उनीहरूको पुस्तकमा लेखिएका शब्द भन्दा बेग्लै, लामा र कठिन थिए। अर्थात्, हिज्जेको झमेलाबाट मुक्ति पाएपछि उनीहरू निकै कठिन र रोचक शब्दहरूको समेत प्रयोग गर्न लालायित भएका थिए।

भोलिपल्टसम्म ब्ल्याकबोर्डमा ती शब्द जस्ताका तस्तै थिए। मैले भनें, ‘हेर, यी शब्द अब मैले मेट्नुपर्छ। मेट्नुभन्दा अघि भन, तिमीहरूलाई यीमध्ये केही शब्दको सही हिज्जे याद छ?’

परिणाम आश्चर्यजनक थियो। मलाई लागेको थियो, जसले मलाई ब्ल्याकबोर्डमा शब्द लेख्न लगाए र तिनको प्रयोग गरे, उनीहरूलाई मात्र आफूले प्रयोग गरेको शब्दको हिज्जे याद होला, अरूलाई होइन। तर अरू तमाम केटाकेटीलाई पनि ब्ल्याकबोर्डमा लेखिएका थुप्रै शब्दको हिज्जे याद रहेछ। तिनले ती शब्द कसरी सिके त? शायद, मैले ब्ल्याकबोर्डमा एक जनाले भनेको शब्द लेखिरहँदा अरू थुप्रै केटाकेटीले आफ्नो टाउको उठाएर त्यो शब्दलाई बडो शान्ति र उत्सुकताका साथ हेरे होलान्। उनीहरू शब्दको हिज्जे मात्र हेर्न चाहन्थे होलान्। तर ती शब्दको बिम्ब र तिनको उच्चारण उनीहरूको दिमागमा राम्ररी अंकित हुन पुग्यो होला। त्यसैले भोलिपल्ट पनि याद रहिरह्यो होला। मलाई केटाकेटीले लेखाइ र हिज्जे सिक्ने यो नै सबैभन्दा राम्रो तरीका हो जस्तो लाग्छ।

(शरच्चन्द्र वस्तीद्वारा अनूदित ‘असफल स्कूल’ नामक पुस्तकबाट। विख्यात अमेरिकी शिक्षाविद् जोन काल्डवेल हल्टको पुस्तक ‘द अन्डरअचीभिङ स्कूल’ को नेपाली संस्करण हो यो ।)

प्रकाशित: भाद्र १८, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार