अर्थ / वाणिज्य

पुनर्निर्माणसँगै राइनासकोटमा ‘होमस्टे’

- आश गुरुङ, लमजुङ

श्रावण २५, २०७३- ऐतिहासिक एवं पर्यटकीयस्थल राइनासकोटमा भूकम्पपछिको पुनर्निर्माणसँगै घरबास (होमस्टे) सञ्चालनको तयारी गरिएको छ ।

विनाशकारी भूकम्पले क्षति पुर्‍याएका १५ घरको पुनर्निर्माण गरी सबैमा होमस्टे सञ्चालन गर्न लागिएको हो । गत वर्षको भूकम्पले यहाँका सबै घरमा क्षति पुर्‍याएपछि सहयोग रकम भित्र्याएर स्थानीयवासी आफैं पुनर्निर्माणमा जुटेका हुन् । १५ घरमध्ये पाँचको निर्माण पूरा भएको स्थानीयवासीले बताएका छन् । १० घरको जग उठाएर गारो लगाउन थालिएको छ ।

 पुनर्निर्माण अभियानअन्तर्गत एउटा तातो र चिसोपानीले नुहाउन मिल्ने भवनसहित पर्यटक सूचना केन्द्र तथा आरोग्य भवन, एउटा आमा समूहको भवन र अर्को खरले छाएको घुमाउने घरलाई जीर्णोद्धार गरी संग्रहालय स्थापना गरिनेछ । भूकम्पले क्षति पुर्‍याए पनि नभत्किएका केही घर सम्झनाका लागि राखिनेछ ।

पुनर्निर्माणका लागि अमेरिकी नागरिक नतासा वजनियकले सहयोग गरेकी छन् । उनले अमेरिकामा ‘फन्ड फर लमजुङ’ वेबसाइट सञ्चालन गरी सहयोग रकम संकलन गरिरहेकी छन् । उक्त रकमलाई ‘सँगसँगै’ नामक गैरसरकारी संस्थामार्फत राइनासकोटको पुनर्निर्माणमा खर्च गरिरहेकी छन् । राइनासकोटको १५ घर पुनर्निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

जगसहित भुइँमा ढुंगा, इँटाको गारो र छानो रातो जस्ताको हुनेछ । जग खन्ने, काठ, गिटी, ढुंगाको व्यवस्थापन, कामदारको ज्याला र श्रमदान स्थानीयवासीले गरिसकेका छन् । इँटा, सिमेन्ट, बालुवा, जस्तालगायत किन्ने र ढुवानीमा दाताले सहयोग गरेका छन् । हरेक घरमा पाँचवटा कोठा हुनेछन् । दुईवटा कोठा घरधनीका लागि र एउटा कोठा होमस्टे । एउटा डाइनिङ र एउटा किचन ।

घरमा धूवाँरहित सुधारिएको चुल्हो, पिंढीमा फलैंचा, गोबरग्याँस, आँगन तथा बाटोमा सडकबत्तीको उज्यालो रहने डिजाइन गरिएको छ । स्थानीय कृष्णराज ओलियाले आगामी दसैंसम्म पाँचवटा घरको निर्माण पूरा हुने र पुससम्ममा सबै बनाइसक्ने लक्ष्य रहेको बताए । पहिलो चरणअन्तर्गत शम्भु गुरुङ, बित्तीकुमारी गुरुङ, प्रसाद गुरुङ, रामप्यारी गुरुङ र बुनमाया गुरुङको घर निर्माण भइरहेको छ । ‘घर उभिइसक्यो । दसैंसम्म आफू बस्ने र होमस्टे पनि बनाउने हो,’ स्थानीय बित्तीकुमारीले भनिन् ।

गुरुङ समुदायको बस्ती रहेको उक्त ठाउँमा उनीहरूको कला, संस्कार तथा संस्कृति जोगाउन खरले छाएको घुमाउने घरमा संग्रहालय स्थापना गरिनेछ । वैशाख १२ गतेको भूकम्पलाई सम्झना गर्दै स्मारकसमेत निर्माण गरिएको छ । ‘प्रत्येक घरमा ग्रीन हाउसमार्फत तरकारी फलाउने र पशुपालनको पनि सुरुवात हुँदैछ,’ उनले भने, ‘तल्लो क्षेत्रमा अलैंची खेती गरिएको छ ।

माथिल्लो क्षेत्रमा चियाखेती गरिने योजना छ ।’ राइनासकोट नमुना गाउँ निर्माण समिति एवं थानीमाई आमा समूहकी अध्यक्ष विष्णु गुरुङका अनुसार पुनर्निर्माण सुरुसँगै सहर गएकासमेत गाउँ आएर बस्न थालेका छन् ।

स्थानीय खड्कबहादुर गुरुङका अनुसार १५ औं शताब्दीमा तत्कालीन लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रव्य शाह बसेको ठाउँ राइनासकोट हो । राइनासकोटभन्दा पारिपट्टि गोरखाको लिगलिगकोटमा दौड जितेपछि उनी उक्त क्षेत्रको राजा बनेको इतिहासमा उल्लेख छ ।

यहाँ बाइसी, चौबीसी राज्य शासनकालमा निर्माण गरिएका किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट तथा गढी छन् । यहाँबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, डा. हर्क हिमाल, गणेश, माछापुच्छ्रे, लमजुङलगायत करिब दुई दर्जन हिमशृंखला देख्न सकिन्छ ।

जिल्लाको पूर्वी क्षेत्रका बासिन्दाको सक्रियतामा राइनासकोटमा ०६४ सालमा पहिलोपटक महोत्सवको आयोजनासमेत गरिएको थियो । राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट करिब ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ । हिउँदमा २ घण्टाको सवारी यात्रापछि राइनासकोट पुग्न सकिन्छ ।

प्रकाशित: श्रावण २५, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार