समाचार

विकराल बन्दै दाइजो

- भुषण यादव, वीरगन्ज

जेष्ठ २२, २०७३- 

  • वीरगन्ज उपमहानगरपालिका–१५ मुर्ली बगैंचाका सुवास साह कानुसँग बारा गढिमाई नगरपालिका–१ का जितेन्द्र साहकी बहिनी राधादेवीको गत फागुन १० गते बिहे भएको थियो। बिहेको ३ महिनापछि गत शुक्रबार राधा मृत अवस्थामा फेला परिन्। सुवासको परिवारले राधाले आत्महत्या गरेको बताउँदै आएको छ। राधाका माइतीले दाइजोको निहुँमा हत्या गरिएको आरोप लगाएका छन्। माइतीका अनुसार दाइजोमा कबुल गरिएको १३ लाख नगदमध्ये २ लाख दिन बाँकी थियो। ‘२ लाख नदिएकैले बहिनीलाई मारे,’ गत साता पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा राधाका दाइ जितेन्द्रले भनेका थिए। कुटेर हत्या गरेपछि आत्महत्या देखाउन पंखामा झुन्ड्याएको उनको दाबी छ। यसअघि पनि बहिनीलाई विभिन्न बहानामा यातना दिने गरेको उनको उजुरीपछि प्रहरीले अनुसन्धान गरिरहेको छ।

                                                 ...

  • गत वैशाख १७ गते पर्साको महुवन–३ बस्ने गणेश साहका कान्छा छोरा हरिशंकर साहको लखनपुर–४ की युवतीसँग विवाह तय भएको थियो। तर, दाइजोबापत दिने भनिएको खेत नपाएपछि उनी तोकिएको दिन जन्ती लिएर नै गएनन्। बेहुला नआएपछि विवाह भाँडियो। दुलही पक्षको उजुरीका आधारमा प्रहरीले दुलाहाका बाबुलाई पक्राउ गरेको छ।

                                                ...

  • गत फागुन २७ मा भारत बेतियाकी २३ वर्षीया सोनी वर्णवालको वीरगन्ज उपमहानगरपालिका–१८ लक्ष्मनवाका युवकसँग तय भएको विवाह मण्डपमै पुगेपछि रोकियो। कारण थियो, सुनको औंठी।दाइजोमा दिने भनिएको औंठी नपाएको भन्दै बेहुलाले सिन्दूर हाल्न नमानेपछि प्रहरीले हस्तक्षेप गर्‍यो। यो घटनाले आफ्नो समुदाय र देशकै इज्जतमा प्रश्न उठेको भन्दै वीरगन्जकै एक युवाले बिनादाइजो सोनीसँग विवाह गरे।

पर्सा प्रहरीसँग यस्ता अरू पनि कैयौं उजुरी छन्। उजुरी यो जिल्लामा मात्रै होइन, अरू जिल्लामा पनि छन्। कतिपय ठाउँमा प्रहरीसम्म उजुरी नै नआइपुग्ने भए पनि पर्सामा भने आउने गरेका छन्। शिक्षा र चेतनाको अभावका कारण दाइजो प्रथा चलेको मानिए पनि अहिले शिक्षित र सम्पन्न परिवारमै झन् दाइजोको विकृति बढ्न थालेको देखिन्छ।

केही दशकअघिसम्म साइकल, घडी र रेडियोसम्म लिएर विवाह गरेको पुस्ताले अहिले आफ्ना शिक्षित छोरीको विवाहका लागि जिन्सी, गरगहनासँगै लाखौं रुपैयाँ दाइजोका रूपमा दिन बाध्य छन्।

मध्यम वर्गमा छोरीलाई पढाइलेखाइ सक्षम बनाए पनि बिहेमा दिइने दाइजोको चिन्ताले बढी पिरोल्ने गरेको छ। परम्परा धान्न र समाजमा बस्नका लागि भए पनि घर/घडेरी बिक्री गरेर वा ऋण लिएर विवाह गर्ने चलन बढेको छ। जानकारहरू दाइजोका रूपमा ५० लाख रुपैयाँसम्म माग्ने गरिएको बताउँछन्।

छोरालाई चिकित्सक अध्ययन गराएका अभिभावकले अध्ययन खर्च जोडेर दाइजो लिन थालेका छन्। प्रहरीमा इन्सपेक्टर र अधिकृत स्तरमा पुगेका केही दुलाहाले २५ देखि ३० लाख रुपैयाँसम्म दाइजो माग्ने गरेको बताइन्छ। यसको अलावा गरगहना, जिन्सी, दुई र चार चक्के सवारी साधन पनि ‘लिस्ट’मा पर्ने गरेको स्थानीयहरू बताउँछन्।

दाइजोबापत कबुल गरेका केही धनमाल विवाह मण्डपमै नदिइँदा विवाह सम्पन्न नहुने मात्र हैन, विवाहपछि पनि महिलाहरूले अनेक शारीरिक र मानसिक प्रताडना खेप्न बाध्य भएका छन्।

प्रहरी अनुसन्धानले पनि अधिकांश घरेलु हिंसाका घटनाहरू दाइजोका कारण हुने गरेको देखाएको छ। दाइजोको सवालमा दुलहीले हासिल गरेको शिक्षाको खासै अर्थ नहुने गरेको देखिएको छ। केटी जतिसुकै शिक्षित र सक्षम भए पनि दाइजोका अगाडि यसको ‘मूल्य’ नहुने देखिएको एक प्रहरी अधिकृतले बताए।

अधिकांश घरेलु हिंसा दाइजोकै कारण हुने गरेका प्रहरी अनुसन्धानले देखाएको छ। बेहुली पक्ष धनी छ भने विवाहको बेला कबुल गरेको दाइजो लिएर पनि बेहुला पक्षबाट अन्य ‘फरमाइस’ आउने गरेका छन्। ‘फरमाइस’ पूरा नहुँदा बुहारीले अनेक यातना पाउने गरेको महिला सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक राजकुमारी थापाले बताइन्।

‘सातामा ३ दर्जनभन्दा बढी यस्ता उजुरी आउँछन्,’ उनले भनिन्, ‘अधिकांश दाइजोकै कारण भएका हुन्छन्।’

६ वर्षअघि विवाह गरेर दिएकी छोरी गायब भएको भन्दै पर्सा घोडदौड पिपराकी चम्पादेवीले प्रहरीले उजुरी दिइन्। छोरीका घरकाले दाइजोको निहुँमा आफ्नी छोरीलाई गायब बनाएको भन्दै उजुरी दिएकी उनले भनिन्, ‘साउनदेखि छोरीको अत्तोपत्तो छैन, प्रहरीले समेत अनुसन्धान गर्न सकेको छैन।’

५० भन्दा बढी जन्तीलाई सर्ट पाइन्टको कपडा, बेहुलालाई सुनको सिक्री, टीभी, साइकल र तय भएको १ लाखमध्ये ५० हजार रुपैयाँ दिएर पठाएको उनले बताइन्। साउन १७ मा उनले छोरीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको अभिलेखमा उल्लेख छ।

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ कानुनले दाइजोलाई गैरकानुनी ठहर गरे पनि दाइजो संस्कारका रूपमा विकसित हुँदै गएको टिप्पणी गर्छन्। बिहेमा हुने प्रतिस्पर्धात्मक तडकभडक र फजुल खर्चमा नियन्त्रण गरी सुधार गर्न ‘सामाजिक व्यवहार सुधार ऐन’ २०३३ मै निर्माण भएको थियो।

दाइजो नियन्त्रणका लागि ऐनमा ‘विवाह हुँदा वा विवाहपछि दुलही पक्षबाट दुलाहालाई यति नगद, जिन्सी, दाइजो, दान, बकस, भेटी, बिदाइ उपहारसमेत जुनसुकै रूपमा दिनुपर्छ भनी दुलाहा पक्षले कर लगाउन वा यति लिने/दिने भनी दुवै पक्षले अगावै तय गर्न हुँदैन र दाइजो दिएन भनी दुलाहा पक्षले टन्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा विवाह भइसकेको भए दुलही बिदाइ गराई साथ नलग्न वा दुलहीपछि मात्र बिदाइ गराई लग्ने प्रथा भएकाहरूले पछि बिदाइ गराई लग्न इन्कार गर्न हुँदैन’ भनी उल्लेख छ।

‘विवाह हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुसीले दिनेले पनि बढीमा १० हजार रुपैयाँसम्म मात्र दाइजो दिन हुन्छ... दुलाहाको पढाइमा लागेको वा लाग्ने खर्च वा निजलाई व्यापार वा व्यवसायमा लगाउन चाहिने पुँजी वा दुलाहातर्फको विवाह खर्च दुलही पक्षबाट लिन हुँदैन,’ ऐनमा उल्लेख गरिएको छ। तर, यो कानुन बनेको झन्डै ४ दशकपछि पनि अवस्था झन् विकराल बन्दै गएको छ।

‘यो सामाजिक अपराध हो,’ एसपी राजुबाबु श्रेष्ठ भन्छन्, ‘समाजले नै बहिष्कार गर्नुपर्छ। शिक्षित वर्ग, सामाजिक संस्था र प्रहरी मिलेर यसको विरुद्ध अभियान थाल्नुपर्छ। प्रहरी प्रशासन एक्लैले चाहेर दाइजो प्रथा हटाउन सकिँदैन।’

‘शिक्षित वर्गले यस विकृतिलाई सानका रूपमा लिएका छन्,’ उनले भने, ‘दाइजोको नाममा समाजमा लोभ पलाएको छ। यो सामाजिक विकृति हटाउन सामाजिक अभियानको खाँचो छ।’

पछिल्लो समय प्रहरीले ‘हाम्रो साथी प्रहरी’ अभियानअन्तर्गत गाउँका विद्यालयमा गएर बालबालिकालाई घरेलु हिंसा र यसका कारक तत्त्वबारे जानकारी गराउन थालेको छ। सामुदायिक सुरक्षा सबलीकरण परियोजनाका सामाजिक परिचालक शिवनाथ यादवले हालै सार्वजनिक मञ्चमै दाइजो नलिई विवाह गर्ने घोषणा गरे।

‘दाइजो प्रथा उन्मूलनमा लागेका संघसंस्थाका परिचालकहरू पनि समाजमा उदाहरणीय बन्नुपर्छ,’ कान्तिपुरसित उनले भने, ‘छोरीको विवाहमा दाइजोको विरोध गर्नेहरू आफ्नो छोराको विवाहमा अप्ठ्यारो नमानी रकम तय गर्छन्। जनचेतना फैलाउने मात्र हैन कि सामाजिक परिचालकहरूले दाइजो नै नलिई विवाह गरेर समाजलाई देखाउनुपर्छ। होइन भने दाइजो प्रथाले आत्मसम्मानको रूप ग्रहण गर्दै जानेछ।’

ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जका उपप्राध्यापक तथा समाजशास्त्री वीरेन्द्रप्रसाद साह वैदिककालमा छोरीलाई खाली हात पठाउनु हुँदैन भन्ने परम्परा विकृत हुँदै छोरीचेलीको ज्यानै लिने गरी दाइजोमा परिणत भएको बताउँछन्।

‘हात खाली नराख्ने कोसेलीले अहिले पुँजीको रूप लिएको हो। उपहारका रूपमा छोरीलाई धान, चामल दिएर पठाइन्थ्यो। पहिले आत्मीय रूपले दिइने कोसेली अहिले बाध्यात्मक बनेको छ,’ उनले भने। दाइजोको मारमा मध्यम वर्ग सबभन्दा बढी परेको पनि उनी बताउँछन्।

‘अहिलेको पुँजीवादी समाजमा धान र चामल पैसामा परिवर्तन भएको छ। पैसा नदिएकै भरमा अरूका छोरीलाई जलाउने, मार्ने, कुट्ने, पीडा दिने काम भइरहेको छ,’ उनले भने, ‘यो सामाजिक विकृतिको पराकाष्ठा हो।’

पढेलेखेका, राम्रा जागिरे र हैसियत भएकाहरूले दाइजो बहिष्कार गर्नुपर्ने र आफूलाई बिक्रीको साधन बनाउनबाट जोगाउनुपर्ने समाजशास्त्री साह बताउँछन्। पछिल्लो समय बढ्दो अन्तरजातीय विवाह र दाइजो बिना विवाह गर्न अग्रसर हुने युवाहरूका कारण राम्रा संकेत देखिएको पनि उनी बताउँछन्।

सामाजिक उत्तरदायित्वको कमीले राज्यले कानुन बनाए पनि व्यवहारमा यस्ता विकृतिहरू कायम छन्। यसबाट बच्ने एउटै उपाय भएको साह बताउँछन्, ‘कानुनको कडाइसाथ पालना गर्नु आवश्यक छ। साथै, यस्ता विकृति शिक्षित वर्गले नै हो हटाउने। युवाहरूले यो कुरा आत्मसात गरे भने यो विकृति पनि क्रमश: हट्दै जानेछ।’

प्रकाशित: जेष्ठ २२, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार