समाचार

हराएका १८ नेपाली खोज्दै इन्टरपोल

- कान्तिपुर संवाददाता , काठमाडौं

जेष्ठ ९, २०७३-हराएका १८ नेपालीको खोजीका लागि इन्टरपोलले उनीहरूको नाममा एल्लो नोटिस जारी गरेको छ । नेपाल र अन्य देशबाट हराएकाहरूको खोजीमा विभिन्न देशको सहयोगका लागि नेपालमा रहेको इन्टरपोल शाखा (एनसीबी) को आग्रहमा इन्टरपोलले ४ वर्षको बीचमा आफ्ना १ सय ९२ सदस्य राष्ट्रलाई खोजीमा सघाउन नोटिस जारी गरेको हो ।

इन्टरपोलले नोटिस जारी गरेकामा कोस्टारिका, भारत र नेपालबाट हराएकाहरूको संख्या बढी छ । कोस्टारिका पुगेका चार नेपाली सन् २०१३ मा हराएपछि सन् २०१४ जुन ३० मा इन्टरपोलले तीन जनाको नाममा एकै दिन नोटिस जारी गरेको थियो ।

‘विदेशमा हराएका नेपाली र नेपालभित्र हराएका तर दोस्रो देश पुग्न सक्ने देखिएकाहरूको खोजीका लागि एल्लो नोटिस जारी गराउने गरेका छौं,’ एनसीबी प्रमुख डीएसपी बसुन्धरा खडकाले भनिन्, ‘नोटिस जारीपछि इन्टरपोलका सदस्य राष्ट्रमा खोजी सहज हुन्छ ।’

प्रहरी प्रधान कार्यालयमा रहेको एनसीबीको २०१६ जनवरीसम्मको तथ्यांकअनुसार कोस्टारिका पुगेका पर्वतका वीरेन्द्र मल्ल, झापाका नरेन्द्रकुमार डाँगी, सुवास कार्की र इलामका फिरोज चौहान सम्पर्कविहीन भएका थिए । उनीहरू २०१३ को १० जुनमा कोस्टारिकाबाट हराएका थिए ।

भारतको गुजरातबाट हराएका हुन्तराज कोइरालाको खोजीमा इन्टरपोलले नोटिस जारी गरेको छ । सूचीअनुसार कामको खोजीमा गोवा हिँडेका राजु परिवार मुम्बईमा हराएका थिए । उनी कामका लागि गोवा जान मुम्बई पुगेका थिए ।

उत्तर प्रदेशको कुशीनगर हिँडेका मीनबहादुर श्रेष्ठसमेत फेला परेका छैनन् । उनी मुम्बईको रेल्वे स्टेसनबाट हराएका थिए । भारतको सिलिगुडीबाट हराएका बाँकेका जगतसिंह तामाङको नाममा पनि एल्लो नोटिस जारी भएको छ । बेल्जियमबाट हराएकी पार्वती ढुंगाना र आयरल्यान्डबाट हराएका केन्द्र एमसीलाई पनि ४ वर्षदेखि इन्टरपोलका सदस्य राष्ट्रले खोजी गरिरहेका छन् ।

नेपालमै हराएका ४ जना नोटिसमा

नेपालमै हराएका ३ नेपाली नागरिकको खोजीका लागिसमेत इन्टरपोलबाट नोटिस जारी भएको छ ।

एनसीबी काठमाडौंको सूचीअनुसार बानेश्वरबाट हराएकी रञ्जना घिमिरे र छोरीमाया महर्जन, स्याफ्रुबेसी ट्रेकिङ जाँदा हराएका सर्वेश्वर अधिकारीको नाममा समेत इन्टरपोलले नोटिस जारी गरेको छ । एनसीबी काठमाडौंको सूचीमा नभए पनि इन्टरपोल केन्द्रको सूचीमा नेपालमा हराएका सुवास कार्कीको नाम एल्लो नोटिसमा छ ।

डीएसपी खड्काले नेपालमा हराए पनि दोस्रो देश जान सक्ने, व्यक्ति राहदानीसँगै हराएको या विमानस्थल पास भएको जानकारीका आधारमा स्वदेशमा हराएका नागरिकको खोजीमा समेत इन्टरपोलको सहयोग मागिने गरिएको बताइन् ।

‘हराएको व्यक्ति नेपाल बाहिर पुग्न सक्ने सम्भावना छ भने निवेदन आए एल्लो नोटिस जारी हुन सक्छ,’ खडकाले भनिन्, ‘नेपालभित्र हराएको तर नेपालबाहिर जाने सम्भावना नदेखिएका नेपालीको हकमा भने जारी हुन्न ।’

हराएका भेटिएनन्

खडकाका अनुसार इन्टरपोलको नोटिसमा परेका व्यक्तिबारे अन्तर्राष्ट्रिय विमानस्थलमा अलर्ट जारी हुने हुँदा पहिचान र हुलिया नबदलिए एक देशबाट अर्को देश जाँदा सहजै ट्रयाक हुन सक्छ । नेपालबाट हालसम्म खोजीका लागि एल्लो नोटिसमा परेकाहरू फेला परेका छैनन् ।

मानवशास्त्री डोरबहादुर विष्ट हराएपछि इन्टरपोलले उनको खोजीमा सहयोगका लागि एल्लो नोटिस जारी गरेको थियो । उनी फेला नपरेपछि इन्टरपोलको सूचीबाट हटाइए ।

नोटिस जारी भएको ५ वर्षसम्म पनि फेला नपरेपछि इन्टरपोलले नोटिस नवीकरण गर्ने विषयमा जानकारी माग गर्ने र परिवारसँगको परामर्शमा विविध कारणले भेटिने सम्भावना नदेखिए नाम हटाउने गरेको खडकाले जानकारी दिइन् । उनका अनुसार सोही प्रक्रियाबाट इन्टरपोलको नोटिसबाट विष्टको नाम हटेको हो ।

एकाएक हराएकी छोरीमैयाको खोजीमा सामाजिक दबाब बढेपछि चार वर्ष अगाडि इन्टरपोलले नोटिस जारी गरेको थियो । उनको अवस्था अझै अज्ञात नै छ ।

डीएसपी खडकाका अनुसार आयरल्यान्डमा हराएका एमसीको खोजीमा चासो दिँदै आयरल्यान्ड सरकारले उनीबारे थप विवरण मागेको छ । कोस्टारिकाबाट हराएका तीन नेपाली नागरिकको अवस्थाबारे थप जानकारी भने आएको छैन ।

प्रकाशित: जेष्ठ ९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार