देश

यार्चा टिप्ने बहानामा वन्यजन्तु सिकार

- वसन्तप्रताप सिंह, बझाङ

जेष्ठ ४, २०७३- यार्चा संकलनको बहानामा लेक छिरेका सिकारी समूहले धमाधम दुर्लभ वन्यजन्तु मार्न थालेका छन् । वैशाख अन्तिम साताबाट लेकमा हिउँ पर्न थालेपछि सिकारी समूह बढी सक्रिय भएका हुन् ।

काडा गाविसमा पर्ने स्याङवन र चाल्नावन क्षेत्रमा मात्र वैशाख महिनामा १३ बढी कस्तूरी र ३ वटा चितुवा मारिसकेको स्थानीयवासीको दाबी छ । भरुवा बन्दुक प्रयोग गरेर र पासो थापेर कस्तूरीको सिकार हुने गरेको काडाका रामबहादुर बोहराले बताए ।

कस्तूरीलाई सरकार तथा साइटिस र आईयूसीएनले दुर्लभ वन्यजन्तुको सूचीमा राखेको छ । यस्तै झारल, नाउरलयायत अन्य जनावरहरू ६० वटाको हाराहारीमा वैशाख महिनामा मात्र सिकार भएको नाम उल्लेख नगर्ने शर्तमा एक सिकारीले बताए । ‘हिउँ परेपछि सजिलो भएको छ,’ उनले भने, ‘कस्तूरी, झारल, नाउरजस्ता जनावरहरू हिउँमा छिटो दौडिन सक्दैनन् । यही मौका छोपेर मार्ने गरेका छन् ।’

 काडा क्षेत्रमा वर्षमा कम्तीमा २ सयभन्दा बढी वन्यजन्तु यार्चा संकलन गर्ने समयमा मारिने गाविस सचिव धनबहादुर घर्तीले बताए । कस्तूरी, हिमाली चितुवा, भालु, झारल नाउर र मृगलगायत वन्यजन्तुहरू बर्सेनि हुने चोरीसिकारका कारण घटदै गएको उनले बताए ।

यार्चा संकलनको समयमा हुने चोरीसिकार नियन्त्रणका लागि पहल गरिदिन गाविस कार्यालयले वैशाख पहिलो साता नै प्रशासन र जिल्ला वन कार्यालयलाई पत्र लेखेको भए पनि ती निकायबाट कुनै पहल नभएको सचिव घर्तीको भनाइ छ ।

सुर्मा, दौलीचौर काँडा, दहवगरलगायत गाविसमा पर्ने तपोवन, विरु, कुण्ड, धानसेरा, जलजला, ठाडे, चुपी, माल्या, धपौन, मधुखर्क, धौला, स्याङवन, चाल्नावन, राइढुङ्गीलगायत संकलन क्षेत्रमा सयौं व्यक्ति बन्दुक, पासो र सिकारी कुकुरसहित पुगेर वन्यजन्तुको सिकार गर्ने गरेको दौलिचौरका लालबहादुर बोहराले बताए । सुर्मा र दौलिचौर क्षेत्रमा मात्र यार्चा संकलन समयमा २ देखि ३ सयसम्म वन्यजन्तुको सिकार हुने गरेको स्थानीयवासीको दाबी छ ।

ठूलो क्षेत्रमा निगरानी गर्न कठिनाइ भएकाले चोरीसिकार गर्नेहरू सक्रिय भएका हुन् । अवैध सिकार नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरीले जनाएको छ । जेठको दोस्रो सातासम्म चौगाउँ र काडा क्षेत्रमा प्रहरीको दुई वटा टोली पठाउने तयारी भइरहेको डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।

‘हाम्रो टोलीले सिकारी फेला पारे कसैलाई छाड्दैन,’ उनले भने । अहिले सिकार गरिएका चितुवाका छाला र हड्डी, कस्तूरीको विना तथा भालुको पित्तजस्ता अंग काडाकै बाटो भएर तिब्बतको ताक्लाकोट पुर्‍याउने गरिन्छ । झारल, नाउर, मृगलगायतको मासु यार्चा संकलन क्षेत्रमै भाग लगाएर बिक्री गरिएको छ ।

सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति नहुँदा उक्त नाका तस्करहरूका लागि राम्रो ट्रान्जिट बन्दै गएको काडा गाविस सचिव घर्तीले बताए ।

  •     वैशाखमा मात्र १३ कस्तूरी र ३ वटा चितुवा मारिए
  •     चोरीसिकार नियन्त्रणका लागि गाविसको अनुरोध
  •     वन्यजन्तुका अंग तिब्बतको ताक्लाकोट पुर्‍याइन्छ
  •     झारल र नाउरको मासु यार्चा संकलन क्षेत्रमै भाग लगाएर बिक्री

प्रकाशित: जेष्ठ ४, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार