समाचार

खोइ १२५ बालबालिका ?

- अमृता अनमोल, बुटवल

वैशाख २९, २०७३- रूपन्देहीको मणिग्रामका १४ वर्षीय बालक प्रवीन गैरे गत वैशाख २० मा स्कुल जान भनेर घरबाट निस्किए तर फर्किएनन् । एक साताभन्दा बढी समय बितिसक्दा पनि उनी कहाँ छन् केही थाहा छैन । मणिग्रामस्थित शान्ति नमुना स्कुलमा कक्षा ९ मा पढ्ने आफ्ना भाइ त्यस दिनदेखि सम्पर्कमा नआएको दाजु विष्णु खनालले बताए ।

उनका बाबु कतारमा छन् । छोरा हराएदेखि आमा पनि बोल्न सक्ने अवस्थामा छैनन् । खोजबिनका लागि आफन्तले बुटवल र भैरहवास्थित प्रहरी कार्यालयमा निवेदन दिए पनि कुनै अत्तोपत्तो छैन । विद्यालयका सहायक प्राचार्य कुलप्रसाद लामिछानेले वैशाख १६ देखि नै प्रवीन विद्यालयको सम्पर्कमा नरहेको बताए । उनका अनुसार पहिले पढाइ राम्रो भए पनि यसपटक ध्यान नदिँदा फेल भएका थिए । पढाइमा असफल हुनु र कक्षा दोहोर्‍याउनुपर्दा घर छाडेको हुन सक्ने आफन्तको आशंका छ ।

रूपन्देहीबाट बालबालिका हराउने क्रम बढ्दै गएको छ । आफन्त, संघसंस्था र प्रहरीले खोज्दासमेत बालबालिका कहाँ जान्छन्, अधिकांश पत्ता लाग्न सकेका छैनन् । जिल्ला प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र ७५ बालबालिका हराएका छन् । तिनमा ४५ बालिका र ३० बालक छन् ।

बालबालिका हराउने क्रम हरेक वर्ष बढ्दो छ । २०६९/७० मा ५ बालक र १६ बालिका गरी २१, २०७०/७१ मा १५ बालिका र २३ बालक गरी ३८ र २०७१/७२ मा ३६ बालिका र २९ बालक गरी ६५ बालबालिका हराएका छन् ।

यसरी हेर्दा ४ वर्षमा १ सय ९९ बालबालिका जिल्लाबाट हराएको उजुरी परेको छ । हराएकामध्ये ७४ मात्र भेटिएका छन् । बाँकी १ सय २५ को पत्तो छैन । हराउने अधिकांश ८ देखि १२ वर्षका छन् । बालिका भने १२ वर्षदेखि माथिका बढी छन् ।

‘प्रलोभनको सिकार’
प्रहरीका अनुसन्धानअनुसार धम्क्याउन र प्रलोभनमा पार्न सजिलो हुने भएकाले धेरै बालबालिका परिवारबाट टाढिने गरेको पाइएको छ । त्यस्ता धेरै बालबालिका विभिन्न माध्यमबाट भारतीय बजारमा पुग्छन् ।

त्यस्तालाई खोजी गर्न र भेट्टाउन समस्या छ । कतिपयलाई बिनापारिश्रमिक मुलुकभित्रका विभिन्न रेस्टुरेन्ट तथा डान्सबारमा जोखिमपूर्ण काममा लगाउने गरिएको पाइएको छ । किशोरीलाई लोभ देखाएर वा अन्य बहानामा लगेर बिहे गर्ने र गर्भवती बनाएपछि मात्रै सम्पर्कमा आउने पनि छन् ।

महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख लालुमाया श्रेष्ठले भनिन्, ‘धेरैजसोमा किशोरावस्थामा प्रवेश गर्न लागेका बालिकालाई माया गरेको बहानामा घरपरिवारबाट टाढा लगिएको छ । बालकहरू भने अभिभावकको रेखदेखको अभाव र रमाइलोको प्रलोभनमा घर छाडेका धेरै भेटिएका छन् ।’

अभिभावकले धेरै कडाइमा राखेका या धेरै स्वतन्त्र छाडेका बालबालिका बढी हराउनेमा पर्छन् । बालबालिकाको संरक्षणका लागि सरकारी स्तरबाट सञ्चालित जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय छन् । हराउने र खोजी गर्नेबारेमा उजुरी धेरै पर्दैनन् ।

जिल्ला बालअधिकार अधिकृत राज्यलक्ष्मी गुप्ता पारिवारिक वातावरणका कारण बालबालिका बढी हराउने बताउँछिन् । उनका अनुसार आमाबाबुबीच राम्रो सम्बन्ध नभएका, आमा मरेका वा आमाले दोस्रो विवाह गरेर छाडेका, सौतेनी आमा भएका, बाबु कुलतमा लागेका बालबालिका बढी हराएका छन् ।

परिवारबाट दिक्क भएका यस्ता बालबालिकालाई दलालले सजिलै प्रलोभनमा पार्ने गरेका छन् । अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली कामको खोजीमा अभिभावकले सहर पठाउने बालबालिका काम गर्ने ठाउँमा तलब नपाउने र यातना पाउने कारण पनि विरक्त भएर हिँड्ने र हराउने गरेको बताउँछन् ।

धेरै सडक बालबालिका त्यसका उदाहरण हुन् । ‘घर र विद्यालयमा नैतिक शिक्षाको अभावले पनि धेरै बालबालिका विचलनमा पर्ने र हराउने गरेका छन्, ’ज्ञवाली भन्छन् ।

प्रकाशित: वैशाख २९, २०७३

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार