समाचार

दुई वर्षको लक्ष्य आठ वर्षसम्म अधुरै

  • जाजरकोट- डोल्पा सडक
- भीमबहादुर सिंह/विष्णुलाल बुढा, जाजरकोट/डोल्पा

चैत्र २९, २०७२- दुई वर्षभित्र डोल्पा सदरमुकाम दुनैमा सडक पुर्‍याउने लक्ष्यका साथ सरकारले २०६४ सालमा जाजरकोट–डोल्पा–भेरी करिडोर मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दियो। तर आठ वर्ष बित्दा डोल्पा सिमानामा पनि सडक पुगेको छैन। राष्ट्रिय महत्त्वको आयोजना भए पनि बजेटमा प्राथमिकतामा नपारिँदा १ सय १८ किलोमिटर लम्बाइको यो सडक निर्माणमा ढिलाइ भएको सम्बद्ध अधिकारीहरूले बताएका छन्।

सेनालाई जिम्मा दिइए पनि सुरुका २ वर्ष जाजरकोट र रुकुमबीचको रेखांकन विवादले सडक निर्माण अलपत्र बन्यो। सेनाले निर्माण सुरु गरेको पनि ६ वर्ष बित्यो। तर सरकारले हरेक वर्ष न्यून बजेट छुट्याउने र प्राथमिकता नदिँदा निर्माण कार्य सुस्त बनेको छ। सरकारले चालु आर्थिक वर्षमा पनि २ वर्षमा दुनैमा सडक पुर्‍याउने योजना अघि सारेको छ। तर यो वर्ष यो आयोजनाले जम्मा १५ करोड रुपैयाँ मात्र पाएको छ। सरकारी लक्ष्य र बजेटको तालमेल नमिल्दा निर्माण कार्य ढिलाइ भएको स्थानीयको भनाइ छ। डोल्पा दुनैकी उर्मिला विकले उत्तर–दक्षिण लोकमार्गका रूपमा परिणत हुने सडकलाई बजेट विनियोजनमा कम प्राथमिकता दिइएको बताइन्। ‘यो मार्ग माथिल्लो डोल्पा हुँदै तिब्बतको नाका जोड्ने उत्तर–दक्षिण लोकमार्ग बन्नेछ,’ विकले भनिन्, ‘तर राज्यले कर्णालीवासीलाई उपेक्षा गर्नुका साथै भौगोलिक बनोटलाई बेवास्ता गरेर बजेट विनियोजन गरिएको छ।’
डोल्पा रंगका ओमलाल बुढाले पनि कर्णालीको समस्या र भूबनोटलाई अध्ययन नगरेरै बजेट छुट्याउने गरिएको बताए। यो सडकलाई अन्य आयोजनाको तुलनामा थप महत्त्व दिनुपर्ने उनको भनाइ छ। ‘दुनै सडक पुर्‍याउने सरकारी प्रतिबद्धता व्यवहारमा लागू नभएसम्म सडक निर्माणमा ढिलासुस्ती नै हुन्छ,’ बुढाले भने, ‘यो सडक राष्ट्रिय प्राथमिकतामा छ, तर बजेट प्राथमिकतामा पर्दैन।
सेनाको सडक निर्माण कार्यदलले जाजरकोटतर्फ ४६, रुकुमको ३१ र डोल्पाको १३ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य पूरा गरेको छ। प्रमुख सेनानी इन्जिनियर विश्वबन्धु पहाडीले अब डोल्पाको १६ किमि ट्रयाक खोल्न बाँकी रहेको बताए। ‘डोल्पा खण्डको बजारे भीर, साङ्ले भीर, चिन्डे, ओडारे, करपगारलगायत २२ वटा भीरको कडा चट्टान काट्न बाँकी छ। जुन निकै कठिन छ,’ पहाडीले भने, ‘यी भीरमा यसै वर्ष काम सुरु गर्दैछौं।’
जाजरकोट र रुकुममा पर्ने २ दर्जन कडा चट्टान काटेर १ सय २ किलोमिटर सडक निर्माण गरिएको उनले बताए। मनकाभीर, तिर्मेले, डोली तरा र त्रिवेणी भीर काटेर सकिने भएकाले चालु आर्थिक वर्षमै सडक डोल्पा सिमानामा पुग्ने उनले दाबी गरे। जाजरकोट–डोल्पा सडकमा ६४ किलोमिटर कडा चट्टान काट्नु परेको र सडकमा विनियोजित बजेट न्यून भएकाले निर्धारित अवधिमा कार्यसम्पन्न गर्न चुनौती भएको प्रमुख सेनानी पहाडी बताउँछन्।

जाजरकोट र रुकुम खण्डको निर्माण सकिएसँगै ७३ किलोमिटर सडकमा यातायात सञ्चालन भएको छ। यसबाट सामान ओसारपसार सहज भएको छ। यातायात सञ्चालनले जाजरकोटका विकट गाविस खगेनकेट, रग्दा र भगवती, रुकुमको खदी र गोतामकोट तथा तल्लो डोल्पाका बासिन्दालाई आवतजावतमा सहज भएको प्रमुख सेनानी पहाडीले बताए। यो सडक निर्माणमा ८० करोड खर्च भइसकेको छ।
प्रधानसेनापतिको निर्देशन
प्रधानसेनापति राजेन्द्र क्षत्रीले चालु आर्थिक वर्षमा नै डोल्पाको सिमानामा सडक पुर्‍याउन निर्देशन दिएका छन्। प्रधानसेनापति क्षत्रीले सडक निर्माणमा ढिलाइ भएकोप्रति लक्षित गर्दै अब युद्धस्तरमा जुट्न कार्यदललाई निर्देशन दिएको पहाडीले बताए। सेनाले जाजरकोटको मनमई, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको खदाङलगायत ५ स्थानमा सुरक्षा बेसक्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई तीव्रता दिएको छ।
चट्टानबाहेकका स्थानमा कच्ची कटान पूरा भइसकेको छ। ‘पर्याप्त बजेट उपलब्ध भएको भए तीनै जिल्लाबाट चट्टान काट्न सुरु हुन्थ्यो,’ पहाडीले भने। बजेटकै कारण डोल्पा खण्डमा चट्टान काट्न सुरु नभएको उनले बताए।

प्रकाशित: चैत्र २९, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार