नेपाली कांग्रेस महाधिवेशन

जनजातिमा बहादुरको अग्रता, एक मतले चीनकाजी पछि परे

- कान्तिपुर संवाददाता , काठमाडौं

फाल्गुन २८, २०७२-नेपाली कांग्रेसको जारी मत गणनामा आदिवासी जनजाति सिटमा ६ सय मत गणना हुँदा बहादुरसिंह लामाले अग्रता लिएका छन् । उनले २४२, चीनकाजी श्रेष्ठले २३७ मत पाए ।  महादेव गुरुङले १९७, कल्याण गुरुङले १९५, आङगेलु शेर्पाले  १७२ र तुलसी सुब्बा १५०  मत पाए ।

........................................

नेपाली कांग्रेसका केन्द्रीय सदस्यको मतगणना सुरु भएकाे छ । बुधबारदेखि सुरु गरिएको मतगणना आज पनि जारी रहने निर्वाचन अधिकृत धर्म खनालले बताए ।

उनका अनुसार हिजो रोकिएको खुल्ला २५ तर्फका सहित आरक्षणतर्फका महिला, दलित, मधेसी र जनजातिको पनि मतगणना कार्य सुरु भएकाे छ ।

कांग्रेसको खुला २५ सिटमा बिहीबारसम्म चार सय तीन मत मात्र गणना भएको छ । त्यसमा खुमहादुर खड्का अग्रस्थानमा छन् । पार्टीभित्र छुट्टै समूह बनाएका खड्का र तत्कालीन महामन्त्री प्रकाशमान सिंहबीच पहिलो नम्बरमा रहने प्रतिस्पर्धा चलेको छ । कहिले खड्का त कहिले सिंह अघिपछि हुने गरेका छन् ।

खड्का नवनिर्वाचित सभापति शेरबहादुर देउवा र सिंह रामचन्द्र पौडेल नेतृत्वको प्यानलबाट निर्वाचन लडेका हुन् । हालसम्मको मतगणनामा बढी मत ल्याएका २५ जनामा देउवा प्यानलका १४ र पौडेलका ११ जना छन् । डा. शेखर कोइराला, प्रदीप पौडेल, प्रदीप गिरी, बालकृष्ण खाँड, विमलेन्द्र निधि, महेश आचार्य, रमेश लेखक र पूर्णबहादुर खड्का अग्र १० स्थानमा छन् ।

२५ भित्र आउने नयाँ अनुहारमा पूर्वमन्त्री रमेश लेखक, नेविसंघका पूर्वअध्यक्षहरू प्रदीप पौडेल र विश्वप्रकाश शर्मा मात्र छन् । अरू सबै यसअघि केन्द्रीय सदस्य भएकाहरू नै छन् ।

१२ औं महाधिवेशनमा आरक्षण कोटाबाट निर्वाचित महालक्ष्मी उपाध्याय (डिना), सूर्यमान गुरुङ र धनराज गुरुङ यसपटक खुला २५ बाट प्रतिस्पर्धामा छन् । डिना महिला र गुरुङद्वय आदिवासी जनजाति कोटाबाट १२ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन् । धनराज खुला २५ मा चौधौं स्थानमा देखिएका छन् ।

सूर्यमान गुरुङ २५ भित्र पर्न सकेका छैनन् । खुला २५ बाट निर्वाचन लड्ने महिला नेतृमा सुजाता कोइराला र डिना मात्रै हुन् । सुजाता १६ औं स्थानमा छिन् भने डिना २६ औं स्थानमा । पूर्वमन्त्री एनपी सावद २५ औं नम्बरमा छन् ।

२५ भित्र पर्नेहरूमा लेखक, शर्मा, रामशरण महत, धनराज गुरुङ, प्रकाशशरण महत, सुजाता कोइराला, केबी गुरुङ, शंकर भण्डारी, गोपालमान श्रेष्ठ, बलबहादुर केसी, मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, नारायण खडका, ज्ञानेन्द्रबहादुर कार्की, बद्री पाण्डे र सावद छन् ।

यसअघि केन्द्रीय सदस्य रहेका पद्मनारायण चौधरी, मनमोहन भट्टराई, सूर्यमान गुरुङ २५ भन्दा पछि छन् । पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री गोविन्दराज जोशी र लक्ष्मणप्रसाद घिमिरे पनि २५ भन्दा धेरै पछि परेका छन् ।

प्रकाशित: फाल्गुन २८, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार