समाचार

‘कि भारतले छक्यायो, कि हाम्रै नेताले कुरो बुझेनन्’

- बसन्त बस्नेत, काठमाडौं
अहिले मोर्चाका शीर्ष नेताहरू स्तब्ध छन्, ‘नाकाबन्दी आह्वान गर्न हामीलाई पटक–पटक आग्रह गर्ने भारत नाका खोल्ने बेला किन आफैं अघि सर्‍यो ?’

माघ २७, २०७२- ‘भारतको नाक जोगाइदिन हामीले असोज ७ गते राजविराज बैठकबाट नाकाबन्दीको जिम्मा लियौं, हाम्रो नाक काटेर भारतले माघ २२ गते वीरगन्ज नाका खोल्न सादा पोशाकका सुरक्षाकर्मी परिचालित गर्‍यो ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक उच्च नेताले बुधबार अपराह्न कान्तिपुरसँग भारतले अपमानजनक ढंगले मोर्चालाई सीमा नाकाबाट हटाउन भूमिका खेलेको स्वीकारे । उनले थपे, ‘आज यही कारणले सिंगो मधेसमा भारतविरोधी भावना बढेको छ । कार्यकर्ता, समर्थक र आम सर्वसाधारण भारतमात्रै होइन, हामीसँग समेत रिसाएका छन् ।’

अनामनगरमा भएको करिब एक घण्टाको कुराकानीमा ती नेताका दुई मोबाइल सेट तारन्तार बजिरहे । अधिकांश फोन उठाउँदै उठाएनन् । उठाएका फोनमा पनि झर्कोफर्को गरिरहे । भने, ‘केही दिन पर्खनूस् न । हामी बसेर सामूहिक पहल गर्छौं ।’

सरकारी कागजात, लाइसेन्स, उद्योग कारखाना नवीकरण गर्ने अन्तिम म्याद हरेक वर्षको साउन मसान्त हो । त्यस बेलासम्म मोर्चा संविधान निर्माण प्रक्रिया र सीमांकनप्रति आपत्ति जनाउँदै आमहड्तालमा ओर्लिइसकेको थियो । मधेसका सरकारी कार्यालय ठप्प थिए । यस्तोमा कसरी कागजात नवीकरण हुनु ? कार्यकर्ता, समर्थकहरु यसबीचका छ महिनामा सरकारले तिराउन खोजेको जरिवाना मिनाहा गराइदिन नेताहरुलाई फोन गरेको गर्‍यै छन्, उठाइसक्नु छैन ।

अनि ती आम नागरिक, जसको आफ्नो भन्नु जीवनमात्रै छ । परिवार, बालबच्चा र अलिकति जग्गा छ । तीमध्ये कतिपय घाइते, अंगभंग छन् । आन्दोलनमा ठयाक्कै कति मारिए, कति अंगभंग भए, मोर्चासँग वास्तविक आँकडा छैन ।

‘वार्ता निश्चित विन्दुमा पुगेर सहमति भएको भए हामी यी सबै कुरा दाबी गर्न सक्ने अवस्थामा हुने थियौं,’ ती नेताले भने, ‘तर सरकारसँग यी कुरा माग्न हामीलाई आफ्नो आत्मसम्मानले दिँदैन । आखिर हामी आन्दोलनकारी न पर्‍यौं ।’

साउन ३० गतेदेखि तत्कालीन संघीय समावेशी मधेसी मोर्चा (हाल गठबन्धन) र साउन ३१ देखि मधेसी मोर्चाले मधेसमा आमहड्ताल घोषणा गरेका थिए । उनीहरुको असहमति र भारतीय दबाबबीच असोज ३ गते संविधान निर्माण भएपछि भारत सीमा नाकाबाट पेट्रोलियम ढुवानी बन्द गराउने निर्णयमा पुगेको थियो । असोज ५ देखि भारतको नाकाबन्दी सुरु भएपछि मोर्चा दबाबमा पर्‍यो । मधेसी मोर्चाका नेताहरुसँग अनौपचारिक कुराकानीका आधारमा भारतले मोर्चालाई नाकाबन्दीको औपचारिक घोषणा गर्न आग्रह गरेको थियो । ‘खासमा मधेसमा धेरै हिंसा हुन थालेपछि हामीले नै नाका अवरोध गर्नुपर्छ भन्ने प्रस्ताव बैठकमा राखेका थियौं, रक्सौल गएर भारतीय अधिकारीलाई ढुवानी रोक्न आग्रहसमेत त्यही बेला गरिएको हो,’ मोर्चाका अर्का नेताले भने, ‘सुरुमा आम्दानी गुम्ने डरले भारतीय अघि सरेनन् । पछि बाध्यकारी निर्णय उनैले गराइदिए ।’

गरौं कि नगरौंको द्विविधामा मोर्चाले राजविराज बैठक लम्ब्याउँदै अन्तत: असोज ७ गते नाकाबन्दी आह्वान त गर्‍यो, तर त्यस अगावै सबै सीमा नाकाबाट पेट्रोलियम ढुवानी बन्द भइसकेको थियो । छठ अगाडिसम्म सबै नाका बन्दै रहे, केही मात्रामा फलफूल र अन्नपात पठाउनेबाहेक । त्यसपछि भने वीरगन्ज–रक्सौल नाकामात्रै पूर्ण रुपमा बन्द थियो, अरु नाका खुलिरहे ।

मोर्चाका शीर्ष नेताहरु स्तब्ध छन्, ‘नाकाबन्दी आह्वान गर्न हामीलाई आग्रह गर्ने भारत खोल्ने बेला किन आफैं अघि सर्‍यो ?’

दोस्रो पंक्तिका नेताहरु त्यो भन्दा बढी छक्क परेका छन्, ‘माघ १८ पछि आन्दोलनको स्वरुप बदल्ने भनेर हाम्रा शीर्ष नेताहरुले बिजुलीबजारमा बैठक गरेर माघको पहिलो साता नै घोषणा गर्नुभएको थियो । तर भारतले उहाँहरुलाई किन छक्यायो ? कि हाम्रै नेताहरुले भारतको संकेत बुझेनन् ?’

सद्भावना पार्टीका एक नेताका अनुसार भारतको कुटनीतिक असावधानीका कारण अहिले मोर्चाभित्र खटपट बढेको हो । भारतले अरु नाका खुला राखेर वीरगन्जमात्रै किन त्यति लामो अवधि बन्द राखिरह्यो, बुझ्नै नसकिएको उनी खुलाउँछन् ।

मोर्चाले फागुन पहिलो सातासम्म आन्दोलनको नयाँ कार्यतालिका निकालेको छ, तर ती सांकेतिक किसिमका मात्रै छन् । बरु मोर्चाभित्र अन्तर्विरोध चर्केको छ । माघ २० गते तमलोपा अध्यक्ष महन्थ ठाकुर स्वयं वीरगन्ज–रक्सौल नाकास्थित मितेरी पुलमा उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनलसहित धर्ना दिन पुगेका थिए । उनले नाकाबन्दी अझै जारी रहने दाबी गरेका थिए । यता सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने भोलिपल्ट २१ गते विराटनगर पुगेर वीरगन्ज बन्द गरिराख्नुको कुनै तुक नभएको टिप्पणी गरेपछि मोर्चाभित्र खैलाबैला भएको थियो । माघ २५ गतेको मोर्चा बैठकमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपाका नेताहरुले महतोले माफी माग्नुपर्ने अड्डी लिएपछि उनी उठेर हिँडेका थिए । उनले अलग्गै महागठबन्धन वा मोर्चा बनाएर देखाइदिने चेतावनी दिएका छन् ।

तमलोपा महामन्त्री सोनलले तत्कालै महतोले अर्को मोर्चाबन्दी गर्ने सम्भावना नरहेको जिकिर गरे । ‘हामीले उहाँसँग सच्चिन र साझा आन्दोलनमा अघि बढ्न आग्रह गरेका छौं, भित्र कुराकानी जे भए पनि बाहिर उहाँले मुख खोल्नुभएको छैन,’ सोनलले भने, ‘हामी विगतको अझै गहिरो समीक्षा गर्छौं र जनतामा जान्छौं ।’

सद्भावना महासचिव मनिषकुमार सुमनले मोर्चाभित्र केही असमझदारी रहे पनि आफ्नो दल आन्दोलनबाट विचलित नहुने प्रष्टीकरण दिए । नाकाबन्दीलाई भारतले गरेको भनी प्रचार भइरहे पनि मोर्चाले नै गरेको उनको दाबी थियो । ‘यो नाका धर्ना र आमहड्तालबाट मधेसी जनतालाई केही फाइदा भएको भए जस हामी लिन्छौं, घाटा भएको अपजस हामीलाई नै जान्छ, किन अरुको कुरा गर्ने ?’ सुमनले भने, ‘नाकाबन्दी फिर्ता लिएकामा निराश हुनुपर्ने कारण छैन । सद्भावना अध्यक्ष राजेन्द्र महतोभन्दा पहिले नै आन्दोलनको स्वरुप बदल्ने भनेर त अरु नेताहरुले नै भनिसक्नुभएको थियो । त्यसलाई बिर्सन मिल्दैन ।’

प्रकाशित: माघ २७, २०७२

अर्को समाचार

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

मुख्य समाचार